सिभिल बैंकको नाफा पाँच गुणा बढ्यो

  २०७१ माघ ९ गते ११:२७     विकासन्युज

९ माघ । गत त्रैमाशमा नोक्सानमा देखिएको सिभिल बैंकले नाफामा गुणात्मक वृद्धि गरेको छ । बैंकको गत आवको दोस्रो त्रैमाशको तुलनामा चालु आवको यो अवधिमा नाफा ५.२ गुणा अर्थात् ४२० प्रतिशतले बढेको छ । बैंकको खुद व्याज आम्दानी वृद्धिभएपछि नाफा बढेको हो । गत आवको दोस्रो त्रैमासमा तीन करोड ३९ लाख नाफा कमाएको बैंकले चालु आवको यो अवधिमा भने १७ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ ।
बैंकको खुद व्याज आम्दानी पनि ७८ प्रतिशतले बढेर ४२ करोड ३५ लाख पुगेको छ । बैंकले बैदेशिक बिनिमयबाट तीन करोड १२ लाख, फि कमिसनबाट दुई करोड ९४ लाख र अन्य आम्दानी तीन करोड २१ लाख गरेको छ ।
बैंकले राइट व्याक गरेको छैन । यसपाली बैंकको कुल कर्जामा खराब कर्जाको अनुपात केही बढेर १.९३ मा भएको छ । तर बैंकले गत बर्षको भन्दा यो पटक ७२ प्रतिशतले घटाएर सम्भावित जोखिम बापतको व्यवस्थामा तीन करोड २२ लाख रुपैयाँ राखेको छ । बैंकले कुल खराब कर्जाको लागि यो पटक रकम केही घटाएरु एक सय आठ प्रतिशत रकम व्यवस्था गरेको हो ।
बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेको छ । यी दुवै खर्च गरेर प्रशासनिक खर्च ४१ प्रतिशतले बढेर २१ करोड पुगेको छ । तरपनि बैंकको कोषको लागत घटेर ५.८५ मा सिमित भएको छ । बैंकसंग ५४ करोड ६३ लाख रुपैयाँ सञ्चिती छ । बैंकले प्रोभिजन अघि ५१ करोड सञ्चालन नाफा गरेको छ । बैंकको कुल सञ्चालन नाफा भने ४२० प्रतिशतले बढेर २७ करोड ८१ लाख भएको छ ।
बैंकको यो अवधिमा कर्जा लगानी ३८ प्रतिशतले बढेर २१ अर्ब १० करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप भने करिब २७ प्रतिशतले बढेर २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । निक्षेप वृद्धिको आधारमा बैंकले कर्जा लगानी बढाउन सकेको देखिन्छ । बैंकको कर्जा निक्षेप अनुपात बढेर ७९.७ प्रतिशत छ । बैंकको बेस रेट (व्याजको आधार दर) घटेर ८.६७ भएको छ । बैंकले कर्जा र निक्षेपको व्याज अन्तर (स्प्रेड दर) ४.२७ कायम गरेको छ ।
बैंकले रियल इस्टेट कर्जा १५ प्रतिशतले घटाएर एक अर्ब ५२ करोड रुपैयामा सिमति पारेको छ । तर कुल कर्जामा यो कर्जाको अनुपात बढि नै छ । यो अनुपात करिब ७.२१ प्रतिशत छ ।
बैंकको प्रतिसेयर आम्दानी १३.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.२२, प्रतिसेयर नेटवर्थ एक सय २० रुपैयाँ रहेको छ । बैंकको पुँजीकोष पर्याप्तता अनुपात ५.८५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.