पोखरेललाई नागरिक लगानी कोषमा लगिँदै

  २०७१ कार्तिक २६ गते १४:३३     विकासन्युज

२६ कात्तिक । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रामकृष्ण पोखरेललाई नियुक्त गर्ने भएको छ । गत पुसदेखि खाली रहेको कार्यकारी निर्देशक पदमा कृषि विकास बैंकबाट अवकाश प्राप्त कर्मचारी पोखरेललाई नियुक्त गर्ने पस्ताब मन्त्रिपरिषद्मा पुगेको हो ।
‘पोखरेललाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्नका लागि अर्थ मन्त्रालयबाट फाइल आएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो– सम्भवतः भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद्ले उहाँलाई नियुक्त गर्ने निर्णय गर्छ । स्रोतका अनुसार सार्कको तयारीका कारण उनको नियुक्ति सार्क सम्मेलनपछि हुने सम्भावना पनि प्रबल छ । नियुक्ति केही ढिला भए पनि पोखरेललाई कोषको कार्यकारी निर्देशक बनाउने तय भने भइसकेको स्रोतले जानकारी दियो ।
गत पुसमा तत्कालीन कार्यकारी निर्देशक ऋषिराज लामिछानेले अवकाश पाएपछि कोषमा कार्यकारी निर्देशक नियुक्त हुन सकेको छैन । कोष सञ्चालक समितिले त्यहीका वरिष्ठ कर्मचारी अर्जुनलाल राजवंशीलाई निमित्त कार्यकारीको जिम्मेवारी दिएको छ । पोखरेल पुराना कांग्रेसी कार्यकर्ता हुन् । कृषि विकास बैंकमा रहँदा काँग्रेस भएर पञ्चायती ब्यवस्थाविरुद्ध अभियान चलाएको भन्दै उनको जागिर पनि गएको थियो । देशमा प्रजातन्त्र स्थापना भएपछि उनको जागिर पुनः जोडिएको थियो । पोखरेलले कृषि विकास बैंकको सहायक कम्पनी गोवरग्यास कम्पनी लिमिटेडमा करिब ४ बर्ष महाप्रवन्धकको जिम्मेवारी निर्वाह गरेका थिए । उनी कोषको कार्यकारी निर्देशक भएपछि कोषमा रहेको करिब ४० अर्ब रुपैयाँ ब्यवस्थापन गर्ने जिम्मेवारी पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.