वर्षा होइन, कमजोर पूर्वाधारले डुबाउँदैछ काठमाडौं
प्रगति ढकाल काठमाडौं । अहिले मनसुन याम, मौसमको कुनै भर हुँदैन । बिहान टन्टलापुर घाम लागिरहेको हुन्छ भने साँझ घर फर्कने बेला एक्कासी मुसलधारे वर्षा हुन थाल्छ । त्यसपछि सुरू हुन्छ, उपत्यकावासीको अर्को चिन्ता– कतै सडक जलमग्न त हुने होइन ? सवारी चालकलाई डुबेको सडक छिचोल्नुपर्ने बाध्यता हुन्छ भने पैदलयात्री सुरक्षित पाइला टेक्ने बाटो खोज्दै भौँतारिनुपर्छ । गत बिहीबार साँझको व्यस्त समय थियो । सरकारी तथा विभिन्न निजी कार्यालयका कर्मचारीहरू दिनभरको काम सकेर घर फर्कने तयारीमा थिए । विद्यालय र कलेजका विद्यार्थीहरू पनि पुस्तकका झोला बोकेर आफ्ना गन्तव्यतर्फ लागिरहेका थिए । सडकमा सवारीसाधनको चाप बढ्दो थियो र राजधानी आफ्नो नियमित गतिमा चलिरहेको थियो । एक्कासी आकाशमा कालो बादल मडारिएर केही क्षणमै झमझम पानी पर्न थाल्यो । वर्षा त्यति धेरै थिएन तर त्यसको असर भने केही मिनेटमै देखियो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नजिकैको माइतीघर र अनामनगर क्षेत्र नै जलमग्न हुन थाल्यो । यीलगायत उपत्यका अन्य सडकसमेत जलमग्न बने । सडकमा गुडिरहेका सवारीसाधन पानीमै रोकिन थाले, यात्रुहरू अलपत्र परे र पैदल यात्रुहरू सुरक्षित बाटो खोज्दै भौँतारिन बाध्य भए । कतिपय कर्मचारी समयमै घर पुग्न सकेनन् । कतिपयले जोखिम मोलेर पानीमाथि मोटरसाइकल कुदाइरहेका थिए । विशेषगरी दुईपाङ्ग्रे सवारी चालकहरूका लागि डुबानले थप चुनौती सृजना गरिरहेको थियो । सडकको खाल्डाखुल्डी पानीमुनि लुकेका थिए, जसले दुर्घटनाको जोखिम अझ बढाएको थियो । यो दृश्य बिहीबार साँझको मात्रै होइन, पछिल्ला वर्षहरूमा राजधानी बर्सेनि डुबानमा परेको छ । मनसुन समयमा भारी वर्षा नभए पनि सडक जलमग्न हुनु, सवारी आवागमन अवरुद्ध हुनु र जनजीवन प्रभावित हुनु उपत्यकावासीका लागि लगभग नियमित समस्याजस्तै बनेको छ । प्रश्न उठ्छ– भारी वर्षा नै नभएको अवस्थामा पनि किन डुबानमा पर्छ काठमाडौं उपत्यका ? विशेषज्ञहरूका अनुसार अव्यवस्थित सहरीकरण, साँघुरा तथा अवरुद्ध ढल प्रणाली, नदी–खोलाको अतिक्रमण, सडक निर्माणका क्रममा पानी निकासलाई बेवास्ता गर्नु र बढ्दो कङ्क्रिट संरचनाले वर्षाको पानी जमिनमा सोसिन नपाउनु यसका मुख्य कारण हुन् । केही वर्षाअघि सहज रूपमा बग्ने पानी अहिले सडक र बस्तीमै थुनिन थालेको छ । ढल प्रणालीमा बढ्दो चापले समस्या काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकामा पछिल्ला वर्षहरूमा देखिएको सडक डुबानको समस्या ठूलो वर्षाका कारणमात्र नभई ढल प्रणालीमा बढ्दो चाप, प्लास्टिकजन्य फोहर र पूर्वाधार निर्माणबीचको समन्वय अभावका कारण पनि जटिल बन्दै गएको जनाएको छ । केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार केयुकेएलले समय–समयमा ढल सफाइ तथा मर्मतको काम गर्दै आए पनि प्लास्टिकका झोला, बोतल, प्याकेजिङ सामग्रीलगायतका फोहर ढलमा फाल्ने प्रवृत्तिले समस्या समाधान हुनसकेको छैन । 'ढल प्रणालीमा यस्ता फोहर जम्मा हुँदा पानीको बहाव अवरुद्ध हुने र सामान्य वर्षामा समेत सडकमा पानी जम्ने अवस्था सृजना हुने गरेको छ', उनले भने, 'उपत्यकाका धेरै स्थानमा खोलातर्फ बग्नुपर्ने ढलको पानी उल्टै सडकमा फैलिने समस्या देखिएको छ । हामीले बेलाबेलामा ढल सफा गर्ने काम गरिरहेका हुन्छौँ, तर प्लास्टिकजन्य फोहर र निर्माण सामग्रीका कारण फेरि पनि ढल जाम हुने समस्या दोहोरिन्छ ।' राईका अनुसार विशेषगरी मनसुनको समयमा सडक विस्तार, मर्मत तथा अन्य निर्माण गतिविधिबाट बगेको माटो, बालुवा र धुलो ढलभित्र जम्मा हुँदा पानी निकास प्रणाली थप प्रभावित हुने गरेको छ । उनले सडक, ढल र अन्य सहरी पूर्वाधार निर्माण गर्ने निकायबीच पर्याप्त समन्वय नहुँदा पनि समस्या बढेको उल्लेख गरे । सडक निर्माण वा विस्तारका क्रममा आवश्यक ढलको क्षमता, आकार र निकास प्रणालीको पर्याप्त अध्ययन तथा योजना नबन्दा वर्षाको पानी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको राईको भनाइ छ । 'कुन क्षेत्रमा कति क्षमताको ढल आवश्यक पर्छ भन्ने विषयमा सम्बन्धित निकायबीच समन्वय आवश्यक छ । आवश्यकताअनुसार ढलको आकार विस्तार गर्नुपर्ने अवस्था छ', उनले भने । प्रवक्ता राईले काठमाडौं उपत्यकाको तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्याले पुरानो ढल प्रणालीमाथि थप दबाब सृजना गरेको बताए । विगतमा वर्षाको पानी जमिनले सोस्ने क्षमता धेरै भए पनि अहिले अधिकांश खुला क्षेत्र कङ्क्रिट संरचनाले ढाकिएका कारण पानी सिधैँ ढल प्रणालीमा पुग्ने गरेको उनले उल्लेख गरे । उनका अनुसार घरका छाना, आँगन र पक्की संरचनाबाट बग्ने वर्षाको पानी पनि ढलमै मिसिने भएकाले केही समयमै ढल प्रणालीको क्षमता नाघ्ने अवस्था उत्पन्न हुने गरेको छ । जलवायु परिवर्तनका कारण वर्षाको प्रकृतिमा आएको परिवर्तनले पनि समस्या थप गम्भीर बनाएको उनको भनाइ छ । 'पहिला वर्षा लामो समयसम्म मध्यम रूपमा हुन्थ्यो, अहिले छोटो समयमा धेरै पानी पर्ने प्रवृत्ति बढेको छ । यसले पुरानो ढल प्रणालीलाई थप चुनौती दिएको छ', राईले भने । उनले सहरी डुबानको समस्या समाधानका लागि ढलको क्षमता विस्तार, नियमित सरसफाइ, प्लास्टिक फोहर व्यवस्थापन, वर्षाको पानी सङ्कलन तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । साथै, दीर्घकालीन समाधानका लागि पर्याप्त आर्थिक स्रोतको व्यवस्था र आधुनिक ढल पूर्वाधार निर्माणमा लगानी बढाउनुपर्नेमा राईले जोड दिए । ढलको चाप घटाउन अकासेपानी पुर्नभरण आवश्यक काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष बरालले उपत्यकामा दीर्घकालीन ढल व्यवस्थापन र भूजल पुनर्भरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताएका छन् । उनका अनुसार उपत्यकामा ढललाई सिधैँ नदी तथा खोलामा मिसाउने परम्परागत प्रणालीलाई क्रमशः अन्त्य गर्दै प्रशोधनपछि मात्र पानी नदीमा प्रवाह गर्ने नीतिअनुरूप योजना कार्यान्वयन सुरु भएको छ । बरालले वर्षाको पानीलाई जमिनभित्र पुनर्भरण गर्ने उद्देश्यले विद्यालय, कलेज तथा सार्वजनिक भवनहरूमा वर्षाको पानी पुनर्भरण आयोजना सञ्चालन गरिएको जानकारी दिए । ती आयोजनामार्फत छत तथा खुला क्षेत्रबाट सङ्कलित वर्षाको पानी जमिनमुनि पठाएर भूजलको स्तर संरक्षण गर्ने प्रयास भइरहेको उनको भनाइ छ । बरालका अनुसार त्रिचन्द्र बहुमुखी क्याम्पसलगायतका सार्वजनिक क्याम्पस तथा विद्यालयमा पुनर्भरण प्रणाली स्थापना गरिएको छ । त्रिचन्द्र बहुमुखी क्याम्पसको छतबाट सङ्कलन गरिएको वर्षाको पानीलाई पुनर्भरण प्रणालीमार्फत रानीपोखरी क्षेत्रमा पठाउने व्यवस्था गरिएको उनले बताए । 'हालसम्म उपत्यकाका विभिन्न स्थानमा ३०० भन्दा बढी पुनर्भरण संरचना निर्माण भइसकेका छन्', बरालले भने । उनले वर्षाको पानीसँगै बगेर आउने धुलो, माटो र हिलो ढल प्रणालीभित्र प्रवेश गर्दा ढल जाम हुने समस्या बढ्दै गएको बताए । विशेषगरी मनसुनको समयमा सडक तथा निर्माणस्थलबाट बग्ने लेदो र फोहरका कारण ढलको पानी निकास प्रभावित हुने गरेको उनको भनाइ छ । बरालले ढल सफाइको काम नियमित रूपमा भइरहेको भए पनि फोहर तथा माटोको अत्यधिक चापले समस्या दोहोरिने गरेको उल्लेख गरे । उनले सहरी डुबानको समस्या समाधानका लागि सङ्घीय सरकार, स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताउँदै स्थानीय तहहरूले पनि ढल निकास सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । 'ढल व्यवस्थापनका लागि प्रभावकारी समन्वय, वर्षा पानी व्यवस्थापन र भूजल पुनर्भरणलाई सँगसँगै अघि बढाउन सके सहरी डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ', बरालले भने । पानी छिर्ने बाटो बन्द हुँदा सहरी डुबानको बढ्दो जोखिम भूगर्भविद् डा. सुवोध ढकालले भारी वर्षा नहुँदा पनि काठमाडौं उपत्यकामा बढ्दो सहरी डुबानको समस्या अव्यवस्थित सहरीकरण, भूजल पुनर्भरणमा आएको कमी तथा कमजोर ढल व्यवस्थापनका कारण सृजना भएको बताएका छन् । उनका अनुसार मनसुन सुरु हुनुअघि नै ढल, खोला र नाला सफा गर्ने कार्यलाई प्राथमिकता दिएको भए सडक डुबानका धेरै घटनालाई न्यूनीकरण गर्न सकिन्थ्यो । 'वर्षालाई रोक्न नसकिने भए पनि पानीको निकासलाई व्यवस्थापन गर्न खुला जमिन राखेको भए आकाशबाट परेको आधा पानी जमिनमुनि छिर्न पाउँथ्यो र क्षति घटाउन सकिन्थ्यो', उनले भने, 'विगतमा आकाशबाट परेको पानीको ठूलो हिस्सा जमिनभित्र सोसिने र भूजल पुनर्भरण हुने गरेको थियो तर अहिले कङ्क्रिट संरचनाको विस्तारले त्यो प्राकृतिक प्रक्रिया अवरुद्ध भएको छ ।' पछिल्लो समय सडक, पार्किङ क्षेत्र, घर तथा अन्य संरचनामा सिमेन्ट र कङ्क्रिटको प्रयोग बढेसँगै अधिकांश पानी सतहमै बग्ने गरेको भन्दै यसले छोटो समयमा धेरै पानी ढल प्रणालीमा पुग्ने र डुबानको समस्या बढाउने गरेको ढकालले बताए । भूगर्वीय बनोटका आधारमा जमिनको पानी सोस्ने क्षमता फरकफरक हुने उनले बताए । ग्राभेल र बालुवायुक्त क्षेत्रमा पानी सजिलै जमिनभित्र प्रवेश गर्न सक्ने भए पनि कुनै स्थानमा पानी कम मात्रामा सोसिने उनको भनाइ छ । डा. ढकालले बढ्दो सहरीकरणसँगै भूजलको अत्यधिक दोहन भइरहेको भए पनि पुनर्भरणका प्रयास पर्याप्त नभएको बताए । खाली जग्गा, खुला आँगन तथा सार्वजनिकस्थलहरूमा वर्षाको पानी जमिनभित्र पठाउने संरचना निर्माण गर्न सके भूजल संरक्षण र डुबान नियन्त्रण दुवैमा सहयोग पुग्ने उनले उल्लेख गरे । ढकालका अनुसार घर निर्माण गर्दा सबै भूभाग कङ्क्रिटले ढाक्नुको सट्टा केही भाग खुला छाड्ने र वर्षाको पानी जमिनभित्र पठाउने व्यवस्था गर्नुपर्छ । 'यदि प्रत्येक घरमा थोरैमात्र खुला जमिन राखेर पुनर्भरणको व्यवस्था गर्ने हो भने त्यसको सामूहिक प्रभाव निकै ठूलो हुनसक्छ', उनले भने । ढकालका अनुसार छतबाट खेर जाने वर्षाको पानी सङ्कलन गरेर ट्याङ्कीमा राख्ने र हिउँदको समयमा प्रयोग गर्न सकेमा पनि डुबानको समस्या न्यूनीकरण गर्न सकिन्छ । भविष्यमा नयाँ सहर तथा बस्ती विकास गर्दा खुला क्षेत्र, वर्षाको पानी व्यवस्थापन र भूजल पुनर्भरणलाई अनिवार्य मापदण्डका रूपमा समावेश गर्नुपर्नेमा उनले जोड दिए । 'सहरीकरणको गतिअनुसार ढल व्यवस्थापन प्रणालीको सुधार आवश्यक छ', उनले भने, 'अकासे पानीलाई सकेसम्म घरघरमै सङ्कलन र व्यवस्थापन गर्न सके सहरी डुबानका समस्या न्यूनीकरण गर्न सकिन्छ ।' काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले वर्षको पानी सहज रूपमा खोला पढाउनका लागि उपत्यकाका खोलाकिनार तथा ढलमा जम्मा भएका फोहर व्यवस्थापन भइसकेको जानकारी दिए । 'हामीले फोहर सफा गरे पनि एकैछिनमा धेरै वर्षा हुने भएकाले काठमाडौंमा डुबानको समस्या हट्न सकेको छैन', उनले भने, 'कसरी उपत्यका डुबान हुन नदिने भनेर प्रयास त गरेका छौँ । पछिल्लो वर्षाको प्रकृतिका कारण डुबान भएको छ ।' मानन्धरका अनुसार डुबान हुँदा काठमाडौं महानगरपालिका उद्धारका लागि तयारी अवस्था रहेको छ । जलवायुका कारण वर्षाको स्वरुप परिवर्तन जल तथा मौसम विज्ञान विभागको मौसमविद् विनु महर्जनले छोटो अवधिमा धेरै वर्षा हुँदा डुबानको समस्या हुने बताए । 'पहिला पहिला दुई–तीन दिनसम्म हल्का हल्का वर्षा भइरहन्थ्यो । तर दिनभरजस्तो हुने वर्षा अहिले एक घण्टा जतिमा हुने गरेको छ', उनले भने, 'उदाहरणका लागि, बबरमहलमा बिहीबार साँझ ४७ मिलीमिटर हाहाहारीमा वर्षा एक घण्टाको अवधिमै भयो, दिनभरिको समयमा ४७ मिलीमिटर वर्षा भएको भए डुबान नहुन सक्थ्यो । पछिल्लो समय वर्षाको स्वरुप परिवर्तन छ ।' कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता तथा जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालले पछिल्ला वर्षहरूमा छोटो समयमा अत्यधिक वर्षा हुने घटनामा वृद्धि हुनु जलवायु परिवर्तनको सम्भावित प्रभावका रूपमा लिन सकिने बताएका छन् । यद्यपि, यसबारे थप वैज्ञानिक अनुसन्धान र विश्लेषण आवश्यक रहेको उनको भनाइ छ । ढकालका अनुसार पछिल्ला वर्षहरूमा छोटो अवधिमा अत्यधिक वर्षा हुँदा बाढी, डुबान र पूर्वाधारमा ठूलो क्षति पुग्ने गरेको छ । यस्ता घटनाबाट भएको हानि–नोक्सानीको तथ्याङ्क र अनुभवले अन्तरराष्ट्रिय जलवायु वित्त तथा हानि–नोक्सानी कोषमा नेपालको पहुँच विस्तार गर्न आधार प्रदान गर्न सक्ने उनले बताए । ढकालले जलवायु परिवर्तनका कारण मौसमीय चरम घटनाको जोखिम बढिरहेका बेला गाउँबाट सहरतर्फको तीव्र बसाइँसराइले सहरी क्षेत्रमाथि थप दबाब सृजना गरेको बताए । 'तीव्र सहरीकरण भए पनि त्यसअनुसारको पूर्वाधार विकास र योजनाबद्ध व्यवस्थापन हुन नसक्दा जलवायुजन्य विपद्को जोखिम झन् बढ्दै गएको छ', उनले भने । रासस
क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन्
काठमाडौं । क्यामेराहरू जब क्रिस्टियानो रोनाल्डोको अनुहारमा केन्द्रित भए, उनका भावनाहरू स्पष्ट देखिन्थे । त्यतिबेला वातावरणमा एउटा कुरा लगभग निश्चितजस्तै महसुस भइरहेको थियो । सन् २०२६ को विश्वकपमा रोनाल्डोको यात्रा यस्तै एउटा भावुक दृश्यमा टुंगिने लगभग तय थियो । केवल उनी खुसीका आँसु बगाउँदै बिदा लिनेछन् कि निराशाका त्यो मात्रै अनिश्चित थियो । यद्यपि सुरुदेखि नै यो पोर्चुगल टोलीलाई विश्वकप जित्ने प्रमुख दाबेदारका रूपमा हेरिएको थिएन । त्यसैले धेरैले रोनाल्डोका लागि यो प्रतियोगिता अन्ततः निराशामै समाप्त हुने अनुमान गरेका थिए । कतिपयको तर्क छ कि यदि प्रशिक्षक रोबर्टो मार्टिनेजले साहस देखाउँदै रोनाल्डोलाई सुरुआती टोलीबाट बाहिर राखेका भए पोर्चुगल अझ आक्रामक र खतरनाक टोलीका रूपमा अघि बढ्न सक्थ्यो । ४१ वर्ष पुगेका रोनाल्डोको सीमित क्षमताबारे पछिल्ला केही वर्षदेखि लगातार बहस हुँदै आएको छ । कतारमा भएको २०२२ विश्वकपका बेला पनि यही विषय प्रमुख चर्चाको केन्द्र बनेको थियो । सोमबार २०२६ विश्वकपको अन्तिम १६ चरणमा स्पेनसँग पराजित भएर बाहिरिएपछि यो बहस फेरि चर्किने सम्भावना छ । तर अहिलेका लागि त्यो बहसभन्दा पनि पोर्चुगलको जर्सीमा रोनाल्डोले पुर्याएको असाधारण योगदानको सम्मान गर्नुपर्ने समय हो । डलास स्टेडियममा भएको उक्त खेल रोनाल्डोको करिअरको २३३औं अन्तर्राष्ट्रिय खेल थियो । पुरुष फुटबल इतिहासमै यो सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान हो । साथै उनले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १४६ गोल गर्ने विश्व कीर्तिमान पनि आफ्नो नाममा राखेका छन् । यी दुवै कीर्तिमानमा अझै थप हुनेछ कि हुँदैन भन्ने निश्चित छैन । तर सातौं विश्वकप खेल्ने सपना भने अब समाप्त भएको छ । उनले खेलेका छ विश्वकप पुरुष फुटबलको संयुक्त कीर्तिमान हो । खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा रोनाल्डोले भनेका थिए, ‘यो मेरो अन्तिम विश्वकप हुनेछ । तर आशा छ, भोलिको खेल मेरो अन्तिम खेल नहोस् ।’ आलोचनाका बाबजुद पनि डलासमा भएको स्पेनविरुद्धको खेलमा गोल गर्ने सम्भावना भएका खेलाडीमध्ये रोनाल्डो नै अगाडि देखिएका थिए । निकै सतर्क र कम अवसर सिर्जना भएको खेलमा उनले पहिलो हाफमै दुई पटक स्पेनका गोलरक्षक युनाई सिमोनलाई कठिन बचाउ गर्न बाध्य पारे । पहिलो अवसरमा साँघुरो एंगलबाट प्रहार गर्दा सिमोनले बल रोक्न सफल भए भने दोस्रो पटक रिबाउन्डबाट आएको गोलतर्फ उन्मुख प्रहारलाई पनि उनले उत्कृष्ट बचाउ गरे । यद्यपि रोनाल्डोले आफ्नो विश्वकप गोल संख्या ११ बाट बढाउन सकेनन् । उनले तीन प्रहार गरे पनि त्यसबाहेक खेलमा धेरै प्रभाव जमाउन सकेनन् । अन्ततः इन्जुरी समयमा मिकेल मेरिनोले गरेको निर्णायक गोलले पोर्चुगलको आक्रामक कमजोरीलाई महँगो साबित गर्यो । अन्तिम सिटी बज्नेबित्तिकै सबैको नजर फेरि रोनाल्डोमै थियो । वर्षौंदेखि विश्व फुटबलको केन्द्रमा रहेका उनी भावुक हुने क्षणको प्रतीक्षामा क्यामेरा टोलीहरू उनको पछि लागिरहेका थिए । रोनाल्डोको महानताको एउटा मुख्य कारण उनको अविश्वसनीय लामो करिअर पनि हो । उनी पुरुष विश्वकपमा छ संस्करण खेल्ने केवल दुई खेलाडीमध्ये एक हुन् । साथै सन् २००६ मा जर्मनीमा भएको विश्वकपबाट सुरु गरेर लगातार छ विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी पनि उनी नै हुन् । २००६ का युवा रोनाल्डो र अहिलेका रोनाल्डोबीच धेरै परिवर्तन आइसकेको छ । उनले समयअनुसार आफ्नो खेल शैली परिवर्तन गर्दै आफूलाई नयाँ भूमिकामा ढाल्दै लगे, जुन उपलब्धि धेरै खेलाडीका लागि सम्भव हुँदैन । उनले खेलेका छ विश्वकपमा औसत प्रत्येक २०१ मिनेटमा एक गोल गरेका छन् । साथै पोर्चुगलका लागि सबै प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा ५७ खेल खेल्दै २५ गोल गरेका छन् । विश्वकपमा उनका २७ खेल लियोनल मेसी (३० खेल) पछि दोस्रो सर्वाधिक हुन् । विश्वकपमा उनका ११ गोल पोर्चुगलका अन्य कुनै पनि खेलाडीले बनाएको गोलभन्दा दुई बढी छन् । यस विश्वकपमा उनले एउटा व्यक्तिगत अभिशाप पनि तोडे । नकआउट चरणमा पेनाल्टीबाट गरेको गोल उनको विश्वकप नकआउट चरणको पहिलो गोल थियो । साथै ४१ वर्ष १४७ दिनको उमेरमा समूह चरणपछिको खेलमा गोल गर्ने सबैभन्दा पाका खेलाडी पनि बने । तर अन्ततः विश्वकप उपाधि भने रोनाल्डोको चम्किलो करिअरमा अधुरै रहने देखिएको छ । सन् २०३० को विश्वकप आयोजना हुँदा उनी ४५ वर्ष पार गरिसकेका हुनेछन् । आफ्नै देश पोर्चुगलमा हुने विश्वकप खेल्ने कल्पना आकर्षक भए पनि ४५ वर्षको उमेरमा विश्वकप खेल्नु सम्भव नदेखिएकाले उनले आइतबार नै यो आफ्नो अन्तिम विश्वकप भएको स्वीकार गरेका थिए । यद्यपि अन्तर्राष्ट्रिय फुटबलमा उनले बनाएका कीर्तिमान र योगदानलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न सकिँदैन । उनका धेरै कीर्तिमान दशकौंसम्म अटुट रहन सक्छन्, कतिपय त कहिल्यै नटुट्ने सम्भावना पनि छ। रोनाल्डोको अन्तिम विश्वकपसँगै विश्व फुटबलको एउटा स्वर्णिम युगको अन्त्य भएको छ । तर त्यति नै स्पष्ट रूपमा पोर्चुगल अब नयाँ पुस्ता र नयाँ यात्रातर्फ अघि बढ्न तयार देखिएको छ । अन्य सान्दर्भिक सामग्रीहरू : हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को रोमाञ्चक भिडन्तमा बेल्जियमले घरेलु टोली अमेरिकामाथि ४–१ को प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । सियाटल स्टेडियममा आज बिहान सम्पन्न खेलमा बेल्जियमका चार फरक समयमा आएका गोलले अमेरिकाको यात्रा अन्त्य गरिदियो । खेलको नवौं मिनेटमै चाल्र्स डी केटेलाएरले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि अमेरिकाका मलिक टिलम्यानले ३१औं मिनेटमा बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्याए । तर अमेरिकाको खुसी धेरैबेर टिकेन । केटेलाएरले ३३औं मिनेटमै व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए । दोस्रो हाफको ५७औं मिनेटमा हान्स भानाकेनले गोल थपेपछि बेल्जियम ३–१ ले अघि बढ्यो । इन्जुरी समयमा रोमेलु लुकाकुले अर्को गोल गर्दै बेल्जियमको शानदार ४–१ को जित पक्का गरे । बेल्जियमले खेलभर आक्रामक प्रदर्शन गर्दै अवसरहरूलाई राम्रोसँग सदुपयोग गर्यो भने अमेरिका निर्णायक क्षणमा रक्षात्मक कमजोरीको सिकार बन्यो । चाल्र्स डी केटेलाएर दुई गोलसहित खेलका उत्कृष्ट खेलाडी बने । यस जितसँगै बेल्जियम विश्वकप २०२६ को अन्तिम आठ (क्वार्टरफाइनल) मा प्रवेश गरेको छ भने सहआयोजक अमेरिका भने नकआउट चरणबाटै बाहिरिएको छ ।