काठमाडौं । नेपाल लुडो लिगद्वारा आयोजित ‘इन्टर–स्कुल लुडो च्याम्प २०२६’ को पहिलो संस्करणको ग्रान्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ ।
प्रतियोगितामा जगत मन्दिर स्कुलकी रितिका मगर प्रथम, अरुणिमा शिक्षा सदनकी आर्यता देउजा द्वितीय तथा बेबिलोन स्कुलका आभाष साह तृतीय भएका छन् ।
साउन ९ गतेदेखि चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा करिब ४० विद्यालयका ८० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट आठ प्रतियोगीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
ग्रान्ड फिनालेमा प्याब्सन काठमाडौं महानगरका अध्यक्ष गगन सिंह ऐर, राष्ट्रिय क्रिकेट खेलाडी तिलकराज भण्डारी, विभिन्न क्षेत्रका अतिथि, विद्यालयका प्रतिनिधि तथा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेपाल लुडो लिगका अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक सुरज भट्टराईले परम्परागत लुडो खेललाई आधुनिक, व्यवस्थित र व्यावसायिक रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालयको उत्साहजनक सहभागिताले पहिलो संस्करणलाई ऐतिहासिक सफलता दिलाएको उनले बताए ।
प्रतियोगितालाई प्रभावकारी बनाउन प्याब्सन काठमाडौं महानगरसँग सहकार्य गरिएको थियो । डिजिटल पार्टनरका रूपमा साथी सोलुसन्स, सेलिब्रेशन पार्टनरका रूपमा काठमाडौं अनलाइन केक शप तथा रिफ्रेसमेन्ट पार्टनरका रूपमा श्री घः कुल्फी सहभागी थिए ।
कार्यक्रममा प्याब्सन काठमाडौं महानगरका अध्यक्ष गगन सिंह ऐरले लुडोजस्तो लोकप्रिय खेललाई व्यावसायिक रूपमा आयोजना गर्ने नेपाल लुडो लिगको पहल प्रशंसनीय रहेको बताउँदै आगामी संस्करण अझ व्यापक र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
नेपाल लुडो लिगले निकट भविष्यमै देशव्यापी राष्ट्रियस्तरको लुडो प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ । साथै संस्थाले आफ्नो ‘लुडो लिग’ मोबाइल एपसमेत सार्वजनिक गरिसकेको अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक सुरज भट्टराईले जानकारी दिए ।