आज हरिशयनी एकादशी तुलसी पूजा गरिदैं, ४ महिनाका लागि विष्णु शयनमा
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा डा. देवमणि भट्टराई बताउँछन् । भगवान विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।
काठमाडौं महानगरका लागि ७३७ जना प्राथमिक उपचारक तयार
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले आधारभूत प्राथमिक उपचार तालिमबाट ७ सय ३७ जना प्राथमिक उपचारक तयार गरेको छ । रेडक्रसको प्राविधिक सहयोगमा काठमाडौं महानगर पालिकाका ३२ वटै वडामा सञ्चालन गरेको आधारभूत प्राथमिक उपचार तालिमबाट ७ सय ३७ जना प्राथमिक उपचारक तयार भएका हुन् । तालिम प्राप्त जनशक्तिमा महिला ५७१ र पुरुष १६६ रहेका छन् । शुक्रबार तालिमको समीक्षा एवं प्रशिक्षकहरूलाई प्रशंसा पत्र हस्तान्तरणका गरिएको थियो । कार्यक्रममा जिल्ला सभापति श्यामकाजी डोटेलले उपचारकहरू तयार गरिएको जानकारी दिए । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, नेरेसो केन्द्रीय तदर्थ समितिका सदस्य प्रेम लामा, महानगर स्वास्थ्य विभाग प्रमुख दीपक कुमार के सी, नेरेसो बागमती प्रदेश महासचिव रामजी पौडेल, जिल्ला शाखा मन्त्री वृद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरले तालिमका सम्बन्धमा आफ्ना अनुभव राखेका थिए । समीक्षा कार्यक्रममा तालिमका सहभागी, प्रशिक्षक, उपशाखा प्रतिनिधिहरूले विभिन्न सुझावहरु राखेका थिए । महानगरसँग सम्झौतापश्चात् ९४ दिनको अवधिमा नेरेसो काठमाडौं जिल्ला शाखा महानगरका वडाहरू तालिम सञ्चालनका लागि परिचालन भएका १७ जना प्रशिक्षकहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
बागमती फनपार्क भ्रष्टाचारमा तत्कालीन अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयाेगले सर्लाहीको बागमती नगरपालिकाको ‘बागमती फनपार्क एण्ड रिसोर्ट’ निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गरेको हो । बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, मधेश प्रदेशका तत्कालीन अर्थसचिव गजेन्द्रकुमार ठाकुर, तत्कालीन उपप्रमुख लीला कुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन उपसचिव उद्धवराज न्यौपाने तथा बिकोई–धुलिखेल जेभी र उसका प्रतिनिधि युवराज पोखरेलविरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारका अनुसार बागमती नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा फनपार्क निर्माणको पहिलो चरण सुरु गरेको थियो । तर पहिलो चरणको काम पूरा नहुँदै दोस्रो चरणका नाममा नयाँ डीपीआर बनाएर अनियमितता गरिएको अनुसन्धानबाट खुलेको छ । आयोगले पहिलो डीपीआरमा नभएका काम थपेर राज्यलाई अनावश्यक आर्थिक भार पारिएको, निश्चित कम्पनीलाई फाइदा पुग्ने गरी ठेक्का प्रक्रिया मिलाइएको, बजेट सुनिश्चित नगरी लागत स्वीकृत गरिएको र ठेक्कामा फर्जी कागजातसमेत प्रयोग गरिएको आरोप लगाएको छ । यस प्रकरणमा तत्कालीन अर्थमन्त्री साह र तत्कालीन अर्थसचिव ठाकुरसँग जनही ३५ करोड रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ । तत्कालीन नगरप्रमुख थापा, उपप्रमुख मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पोखरेल तथा बिकोई–धुलिखेल जेभी र उसका प्रतिनिधि युवराज पोखरेलसँग जनही ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँ १३ पैसा बिगो असुल गर्न माग गरिएको छ । यस्तै, तत्कालीन उपसचिव उद्धवराज न्यौपानेसँग २० करोड रुपैयाँ बिगो असुल गर्न माग गरिएको आयोगले जनाएको छ । अख्तियारले सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही र बिगो असुलउपरको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।