बुद्ध एयरको आम्दानी १०.३१ अर्ब, लाभांश १ प्रतिशत

काठमाडौं । निजी क्षेत्रको वायु सेवा कम्पनी बुद्ध एयर प्रालिले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १० अर्ब ३१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो, जुन आर्थिक वर्ष २०८०/८१ को १३ अर्ब २२ करोड ६० लाख रुपैयाँको तुलनामा ३.३८ प्रतिशत अर्थात् ४४ करोड ८० लाख रुपैयाँले बढी हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ, आव २०७८/७९ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, आव २०७७/७८ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ, आव २०७६/७७ मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, आव २०७५/७६ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ र आव २०७४/७५ मा ६ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।  सन् १९९६ मा स्थापना भएको बुद्ध एयर नेपालका निजी क्षेत्रका सबैभन्दा ठूलो तथा सबैभन्दा लामो समयदेखि सञ्चालनमा रहेको वायुसेवा कम्पनी हो । कम्पनीले मुख्य रूपमा नेपालको प्रमुख आन्तरिक हवाई मार्गमा सेवा दिँदै आएको छ भने काठमाडौंबाट भारतको वाराणसी र कोलकातामा समेत अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ । हाल कम्पनीसँग एक एटीआर-४२ र १४ एटीआर-७२ गरी १५ वटा विमान छन् भने कम्पनीका अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत हुन् । तीन वटा विमान बिक्री तथा सेवामुक्त गरेपश्चात् १५ वटा विमानमा सीमित भएको हो । आन्तरिक हवाई यात्रु संख्याका आधारमा कम्पनीले करिब ५७ प्रतिशत बजार हिस्सा कायम राखेको जनाएको छ । अघिल्लो वर्ष यो हिस्सा करिब ६० प्रतिशत रहेको थियो । अघिल्लो वर्षको तुलनामा हिस्सा घटेपनि बजार नेतृत्व भने कायम रहेको जनाएको छ ।  कम्पनीले नाफाको अधिकांश हिस्सा सञ्चित गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा खुद नाफाको करिब १ प्रतिशत मात्र लाभांश वितरण गरी बाँकी रकम कम्पनीमै राखिएको जनाएको छ । अतिरिक्त नगद प्रवाहबाट दीर्घकालीन ऋणको नियमित भुक्तानी गर्नुका साथै अल्पकालीन ऋणसमेत घटाउँदै आएको कम्पनीको दाबी छ । भद्रपुरमा भएको विमान दुर्घटनापछि प्राप्त बीमा दाबी रकमबाट केही अल्पकालीन ऋण समयअघि नै चुक्ता गरिएको पनि कम्पनीले जनाएको छ । अप्रिल २०२६ को अन्त्यसम्म सञ्चालन आम्दानीको तुलनामा खुद कार्यशील पुँजीको अनुपात करिब ९ प्रतिशत रहेको छ । कम्पनीसँग ७१ प्रतिशत अप्रयुक्त ऋण उपयोग क्षमता (ड्रइङ पावर) रहेको छ, जसमा धितोका रूपमा रहेका ऋणमुक्त विमानहरूको मूल्य पनि समावेश छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा सञ्चालन नाफा मार्जिन ८.२ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यो १० प्रतिशत तथा त्यसअघिको वर्ष १९.४ प्रतिशत रहेको थियो । इन्जिन मर्मत तथा ओभरहोल खर्च बढ्नु र पश्चिम एसियाको भू-राजनीतिक तनावका कारण हवाई इन्धन (एटीएफ) महँगिनुले नाफामा दबाब परेको कम्पनीले जनाएको छ । प्रति उपलब्ध सिट-किलोमिटर आम्दानी (आरएएसके) अप्रिल २०२६ सम्म महामारीअघिकै स्तरमा पुगेर करिब २१.२ रुपैयाँ पुगे पनि कर्मचारी तथा मर्मत-सम्भार खर्च बढ्दा प्रति उपलब्ध सिट-किलोमिटर लागत (सीएएसके) पनि बढेको छ । यसका कारण आम्दानी र लागतबीचको अन्तर २.८ रुपैयाँमा सीमित भएको छ, जुन पछिल्लो पाँच-छ वर्षयताकै न्यून स्तर हो । सन् २०१९ मा यो अन्तर ८.९ रुपैयाँ थियो । गत आर्थिक वर्षको साढे ९ महिनामा यात्रु संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले घटेको छ । यात्रु भराइ दर (प्यासेन्जर लोड फ्याक्टर) पनि सन् २०२२ को करिब ९२ प्रतिशतबाट पछिल्ला वर्षमा ८३-८५ प्रतिशतमा झरेको कम्पनीले जनाएको छ। हाल कम्पनीसँग ३ अर्ब १२ करोड ६ लाख रुपैयाँ तथा १३.७५ मिलियन अमेरिकी डलर बराबर ऋण रहेको छ । यसमध्ये १ अर्ब १३ करोड ६ लाख रुपैयाँ र १३.७५ मिलियन अमेरिकी डलर दीर्घकालीन ऋण रहेको छ । त्यस्तै, कम्पनीले ८७ करोड रुपैयाँ अल्पकालीन ऋण, ८७ करोड रुपैयाँ ओभरड्राफ्ट सुविधा तथा २५ करोड रुपैयाँ बैंक ग्यारेन्टी उपयोग गरेको छ । कुल बैंक ऋणमध्ये करिब ६३ प्रतिशत अमेरिकी डलरमा रहेको तथा विमान मर्मत-सम्भार र स्पेयर पाट्र्ससम्बन्धी अधिकांश खर्च पनि डलरमै हुने भएकाले विनिमय दरको उतारचढाव कम्पनीका लागि प्रमुख वित्तीय जोखिमका रूपमा रहेको कम्पनीले जनाएको छ ।

विश्वका १६९ देशका पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् ।  तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन सय ३१ रहेका छन् । सबैभन्दा बढी तीन लाख ७५ हजार सात सय ९७ भारतीय पर्यटक यहाँ आएका हुन् । दोस्रोमा चिनियाँ १२ हजार पाँच सय ३९ र तेस्रोमा अमेरिकाका नौ हजार आठ सय ८४ पर्यटक यहाँ आएका हुन् ।  यस्तै बेलायतका नौ हजार आठ सय ५९, फ्रान्सका सात हजार नौ सय ३९, मलेसियाका सात हजार आठ सय ४८, जर्मनीका सात हजार छ सय ३४, बङ्गलादेशका सात हजार चार सय ४८, अष्ट्रेलियाका सात हजार ९५ र इजरायलका छ हजार तीन सय ९८ पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले आव २०८१/८२ को तुलनामा गत आवमा दोब्बर बढी विदेशी पर्यटक यहाँ आएको बताए । उनका अनुसार आव २०८१/८२ मा दुई लाख ७८ हजार एक सय १३ जनाले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका दिए । पर्यटक आगमनमा गत आवमा नयाँ अभिलेख कायम भएको उनको भनाइ छ । गत जेठमा भारतसहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्या झण्डै तीन सय प्रतिशतले वृद्धि भएको प्रमुख डा कडारियाले बताए । भारतीय पर्यटक यति ठूलो सङ्ख्यामा आएका यो पहिलोपटक हो । भारतमा पोखरा, मुक्तिनाथलगायत यस क्षेत्रका गन्तव्यस्थलको प्रवर्द्धन हुनु, यातायातको सहजता, सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रसारलगायत कारणले भारतीय पर्यटक बढेका हुन् । उक्त याममा गर्मी छल्न भारतीय पर्यटक पोखरा र आसपासका गन्तव्यमा आउने गरेका छन् । वैशाख–जेठ महिनामा पर्यटकीय राजधानी पोखरामा होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको थियो । पोखरा आउने भारतीय पर्यटकमध्ये करिब ४० प्रतिशत मुक्तिनाथ जाने गरेको प्रमुख डा कडरियाले बताउनुभयो । पदयात्रा पर्यटनका लागि अन्नपूर्ण क्षेत्र विश्व प्रसिद्ध गन्तव्य मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग भएर पर्यटक अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थल पुग्ने गरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार छ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले प्रसिद्ध छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवा सुविधाका हिसाबले यस क्षेत्र घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।  

जावलाखेल चिडियाखानाको आम्दानी १८ करोड, बर्डफ्लुले ३ करोड घाटा

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द गर्नुपर्दा ३ करोड रूपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।  बर्डफ्लु सङ्क्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो ।  सङ्क्रमण नियन्त्रणमा आएपछि यही साउन १ गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ ।   चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सङ्क्रमण देखिएपछि नियमित सरसफाइ, सङ्क्रमित जीवजन्तुको उपचार तथा आवश्यक सावधानी अपनाएको थियो । त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । उनका अनुसार सामान्य दिनमा दैनिक १ हजार ७०० देखि १ हजार ८०० आगन्तुकले चिडियाखाना भ्रमण गर्ने गरेका थिए । शनिबार ५ हजारदेखि ७ हजार र आइतबार ३ हजार ५०० देखि ५ हजार जनासम्मले चिडियाखानामा समय बिताउने गरेका थिए । पुनः सञ्चालन भएको पहिलो दिन, साउन १ गते ८०० जनाले मात्र चिडियाखाना भ्रमण गरेका थिए । चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकका लागि १०० रूपैयाँ, विद्यार्थीका लागि १५० रूपैयाँ र अन्य आगन्तुकका लागि २५० रूपैयाँ प्रवेश शुल्क लिँदै आएको छ ।  गत आर्थिक वर्षमा चिडियाखानाले करिब १८ करोड रूपैयाँ आम्दानी गरेको थियो । आर्थिक वर्ष २०८२/८३ मा २१ करोड रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि बर्डफ्लुका कारण लामो समय बन्द रहँदा लक्ष्य पूरा गर्न चुनौती थपिएको प्रशासनले जनाएको छ । हाल चिडियाखानाको टिकट काउन्टर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुला रहने व्यवस्था गरिएको छ । सबै आगन्तुक साँझ ५ बजेसम्म बाहिरिनुपर्ने व्यवस्था छ । सङ्क्रमणअघि भने टिकट काउन्टर साँझ ६ बजेसम्म खुला रहने गरेको थियो ।