एम्बाप्पेको पेनाल्टी गोलमा फ्रान्स क्वार्टरफाइनलमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को प्रतिस्पर्धामा फ्रान्सले पाराग्वेमाथि कठिन १–० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । फिलाडेल्फियास्थित फिलाडेल्फिया स्टेडियममा अत्यधिक गर्मीबीच सम्पन्न खेलमा दुवै टोलीबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सशक्त फ्रान्सलाई पाराग्वेले अनुशासित र आक्रामक रक्षात्मक खेलमार्फत लामो समयसम्म रोकिराखेको थियो । निर्णायक गोल ७०औं मिनेटमा आयो । फ्रान्सका युवा खेलाडी डिजिरे डुवेमाथि पेनाल्टी क्षेत्रमा फाउल भएपछि भीएआरको समीक्षापश्चात फ्रान्सले पेनाल्टी पायो । कप्तान केलियन एम्बाप्पेले कुनै गल्ती नगरी पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि पाराग्वेले बराबरी गोलका लागि दबाब बढाए पनि फ्रान्सेली गोलरक्षक माइक माइग्नाँको उत्कृष्ट बचाउ र फ्रान्सको सुदृढ रक्षापंक्तिका कारण खेलमा फर्किन सकेन ।  अन्तिम समयमा केही रोमाञ्चक अवसर सिर्जना भए पनि फ्रान्सले एक गोलको अग्रता जोगाउँदै अन्तिम सिटीसम्म कायम राख्यो । जर्मनीलाई स्तब्ध पार्दै अन्तिम १६ पुगेको पाराग्वेको ऐतिहासिक यात्रा यससँगै समाप्त भएको छ भने फ्रान्स उपाधितर्फको आफ्नो अभियानलाई निरन्तरता दिन सफल भएको छ । यस जितसँगै फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग भेट पक्का गरेको छ ।  साथै एम्बाप्पेको यो गोल विश्वकप २०२६ मा उनको सातौं गोल बनेको छ, जसले उनलाई गोल्डेन बुटको दौडमा थप मजबुत बनाएको छ ।

क्यानडालाई ३-० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा

काठमाडौं । सहआयोजक क्यानडालाई ३-० ले पराजित गर्दै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न राउन्ड अफ १६ को खेलमा मोरक्कोलाई जित दिलाउन अज्जेदिन ओउनाहीले दुई गोल गरे भने सुफियान रहिमीले एक गोल थपे । खेलको ५०औं मिनेटमा कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । त्यसपछि ८२औं मिनेटमा ओउनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल थपेपछि मोरक्को ३-० को सहज जितसहित अन्तिम आठमा पुगेको हो । खेलमा क्यानडाले मोरक्कोभन्दा बढी प्रहार गरे पनि गोल गर्न सकेन । बल पोसेसनमा भने मोरक्को हाबी रह्यो । सातौं पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टरफाइनलमा पुगेको हो । यसअघि उसले सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । साथै, दुई पटक विश्वकप क्वार्टरफाइनल पुग्ने मोरक्को पहिलो अफ्रिकी टोलीसमेत बनेको छ । पहिलो पटक नकआउट चरणमा पुगेको क्यानडा भने यस हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । क्यानडा विश्वकपबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ । अन्य आयोजक राष्ट्र अमेरिका र मेक्सिकोको क्वार्टरफाइनल पुग्ने सम्भावना भने कायम छ ।

सम्पादक समाजको भट्टेडाँडामा पत्रकार पदयात्रा

काठमाडौं । सम्पादक समाज नेपालको अभियान 'नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता' अन्तर्गत पदयात्रा सम्पन्न भएको छ । शनिबार ललितपुरको गोदावरी नगरपालिका-७, देवीचौर-देउराली हुँदै बागमती गाउँपालिकामा पर्ने नेपालको हवाई उड्डयन सुरक्षाका लागि महत्वपूर्ण भट्टेडाँडा राडार क्षेत्र तथा पाकिस्तान एयरलाइन्स विमान दुर्घटना भएको स्थलसम्म 'पत्रकार पदयात्रा' सम्पन्न भएको हो । करिब १०० जना पत्रकारको सहभागिता रहेको पदयात्रा टोलीलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख तथा सम्बन्धित वडाका अध्यक्षहरूले स्वागत गरेका थिए। सम्पादक समाज नेपालका अनुसार पदयात्राको उद्देश्य आम नागरिकका अपेक्षा र भावना नजिकबाट बुझ्ने, ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमार्फत स्थानीयको आयआर्जनमा टेवा पु¥याउने तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि सञ्चारकर्मीलाई थप जिम्मेवार र संवेदनशील बनाउने रहेको छ । सम्पादक समाज नेपालले विगत चार वर्षदेखि पत्रकारिता, पर्यटन प्रवद्र्धन र वातावरणीय सचेतनालाई जोड्दै नियमित रूपमा “पत्रकार पदयात्रा“ आयोजना गर्दै आएको छ । यसअघि समाजले नुवाकोटको सुइरेचौर र लौके झरना तथा सिन्धुपाल्चोकको गुफाडाँडामा समेत पत्रकार पदयात्रा सफलतापूर्वक सम्पन्न गरिसकेको जनाएको छ ।