धमलाले भने- हामीले भाडा तिर्यौं, तर रिपोर्टर्स क्लब अझै बन्द छ

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल ३ महिनादेखि बन्द रहेको भन्दै क्लबका सञ्चालक तथा अध्यक्ष ऋषि धमलाले सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार रिपोर्टर्स क्लब बाहिर आयोजित पत्रकार सम्मेलनमा धमलाले सम्झौता अनुसारको भाडा रकम ३८ हजार ७२१ रुपैयाँ समाज कल्याण परिषदलाई तिरेको एक महिना बितिसक्दा पनि क्लबको ताला नखोलिएको बताए । धमलाले रिपोर्टर्स क्लबले नेपालको लोकतान्त्रिक आन्दोलन तथा गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । राजाको शासनकालमा समेत क्लब बन्द नभएको उल्लेख गर्दै उनले अहिले भने क्लब बन्द हुनुपर्ने अवस्था आउनु दुःखद भएको बताए । उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति आफू सकारात्मक रहेको पनि स्पष्ट पारे । काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि आफूले बालेनलाई साथ दिएको र अहिले प्रधानमन्त्री बनेपछि पनि भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने अभियानमा पूर्ण साथ रहेको धमलाको भनाइ छ । ‘बालेनजी मेयर हुँदा पनि साथ दिएँ, आज प्रधानमन्त्री हुँदा पनि भ्रष्टाचारीलाई कारबाही गर्न र सुशासन कायम गर्न मेरो पूरा साथ छ,’ धमलाले भने, ‘तर आज जनताको आवाज बुलन्द गर्ने रिपोर्टर्स क्लब नै बन्द छ । उनले रिपोर्टर्स क्लबले विभिन्न आन्दोलन तथा राजनीतिक घटनाक्रममा नागरिकको आवाज सम्बन्धित निकाय र जनतामाझ पुर्याउने काम गर्दै आएको बताए । जेनजी आन्दोलनका क्रममा वर्तमान गृहमन्त्री सुधन गुरुङसहितका जेनजी अभियन्ताहरूलाई समेत रिपोर्टर्स क्लबले आफ्ना माग, धारणा र आवाज जनतामाझ पुर्याउन महत्वपूर्ण सहयोग गरेको धमलाले स्मरण गरे । कोरोना महामारीका क्रममा क्लब दुई महिनासम्म बन्द हुँदा समेत सरकारले भाडा तिर्न नपर्ने भनिए पनि आफूहरूले सम्झौताअनुसार भाडा तिरेको धमलाले बताए । ‘कोरोनाको समयमा दुई महिना क्लब बन्द भयो । सरकारले भाडा तिर्नुपर्दैन भनेको थियो, तर हामीले भाडा तिर्यौं,’ उनले भने । उनले रिपोर्टर्स क्लबलाई तत्काल सञ्चालनमा ल्याउने वातावरण बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्दै क्लब बन्द हुँदा पत्रकार, सञ्चारकर्मी र जनताको आवाज अभिव्यक्त गर्ने एउटा महत्वपूर्ण सार्वजनिक थलो प्रभावित भएको बताए ।

राज्यका सबै शक्ति एकै ठाउँमा केन्द्रित हुँदा सर्वसत्तावाद मौलायो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । अध्यक्ष यादवले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा काम गर्न नसकी निष्प्रभावी (डिफङ्क्ट) भएको दाबी गरे । विगतका जनआन्दोलन, मधेस जनविद्रोह तथा आदिवासी जनजाति र थारूलगायतका आन्दोलनबाट प्राप्त सङ्घीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता उपलब्धिहरूमाथि राज्यकै तर्फबाट प्रहार भइरहेको उनको आरोप छ । ती उपलब्धिहरूको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि नै मोर्चा निर्माण गरिएको उनले प्रस्ट पारे । संविधान निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै पूर्वउपप्रधानमन्त्री यादवले विगतमा संविधानसभाबाट संविधान जारी नभई केही दलहरूले ‘संविधानको किताब’ मात्र पारित गराएको टिप्पणी गरे । हाल मुलुक संविधानभन्दा बाहिरबाट चलिरहेको जिकिर गर्दै उनले संविधान संशोधनमार्फत विभेद र असमानता अन्त्य गर्नुपर्नेमा जोड दिए । मुलुकमा सुशासनको अभाव, बढ्दो भ्रष्टाचार, कमजोर शान्ति–सुरक्षा र जर्जर आर्थिक अवस्थाप्रति सङ्केत गर्दै उनले वैदेशिक ऋणको भारले अर्थतन्त्र थप सङ्कटमा परेको बताए । उनले भने, ‘निर्णय प्रक्रिया र शक्तिको केन्द्रीकरण एकै ठाउँमा हुनु सर्वसत्तावादको परिचायक हो । यस्तो प्रवृत्तिले अन्ततः अधिनायकवादलाई जन्म दिन्छ र लोकतान्त्रिक मूल्य–मान्यतालाई समाप्त पार्छ । हामीले मेची–महाकाली सङ्घर्षमार्फत विभेदकारी प्रावधानहरू नराख्न र संविधानलाई समावेशी एवं न्यायपूर्ण बनाउन माग गरेका थियौँ, तर राज्यले दमन र हत्या गरेर जबर्जस्ती संविधान घोषणा गर्‍यो ।’ उनले यो मोर्चा कसैको सत्ता पल्टाउनका लागि मात्र नभई मुलुकमा सामाजिक न्याय, सुरक्षा र अग्रगामी परिवर्तन सुनिश्चित गर्नका लागि क्रियाशील रहने स्पष्ट पारे । सरकारमा रहेकाहरू मोर्चाको गठनबाट त्रसित हुनु नपर्ने भन्दै उनले स्पष्ट लक्ष्यका साथ आफूहरू अघि बढेको बताए ।

इमानदार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा गर्छु, भाग्नेलाई ठाउँ छैन : अध्यक्ष लिङदेन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीप्रति निष्ठावान् र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताएका छन् । राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन कार्यकर्ताहरूलाई आग्रह गरे । अध्यक्ष लिङदेनले पार्टी र देशको सेवामा समर्पित हुन चाहने हरेक व्यक्तिको राजनीतिक भविष्यको सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । अन्तरसङ्घर्ष वा विगतका कुनै पनि मतभेदका कारण कोही पनि त्रसित हुनु नपर्ने उल्लेख गर्दै उनले आफू सबैको अभिभावक भएर काम गर्ने बताए । यद्यपि, जिम्मेवारी लिएर काम नगर्ने र सङ्कटको समयमा पछि हट्नेहरूका लागि पार्टीमा कुनै स्थान नहुने उनले स्पष्ट पारे । उनले भने, ‘पार्टी अध्यक्षको हैसियतले म विश्वास दिलाउन चाहन्छु, राजनीतिमा लागेर पार्टी र देशको सेवा गर्न चाहने कसैले पनि अवसर पाउँदिनँ कि भनेर डराउनु पर्दैन । सबैको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी म लिन्छु । काम गर्ने साथीहरूका लागि पार्टीमा पूर्ण ठाउँ छ, तर पद मात्र ओगट्ने र लडाइँको बेला भाग्नेहरूलाई म आफैँ धकेलेर बिदा गरिदिन्छु ।’ पार्टीको सङ्गठन सुदृढीकरणका लागि अहिले सक्रिय सदस्यता अभियान चलिरहेको जानकारी दिँदै अध्यक्ष लिङदेनले यस कार्यमा तत्काल केन्द्रित हुन कार्यकर्ताहरूलाई निर्देशन दिए । अध्यक्ष लिङदेनले योजनाबद्ध ढङ्गले नातागोता र छरछिमेक हुँदै सङ्गठन विस्तारमा लाग्न आग्रह गर्दै निकट भविष्यमा राप्रपामा जनलहर आउने दाबीसमेत गरे । इमानदार भएर वडा जिताउने र पार्टीको जिम्मेवारी बहन गर्ने सङ्कल्पका साथ अघि बढ्न उनले कार्यकर्तालाई हौसला दिए ।