१ हजार २०० वर्ष पुरानो क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग
काठमाडौं । तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै १ हजार २०० वर्षदेखिको इतिहास र महत्त्वलाई उजागर गर्दै विश्वसम्पदा सूचीमा दर्ता गराउन माग गरेको हो । भ्रमण टोलीले चैत २५ देखि ३० गतेसम्म कास्कीको ताङतिङ, कर्पुडाँडा, तप्रोखर्क, क्व्होलासोंथार हुँदै सिक्लेससम्मको पदयात्रा गर्दै त्यहाँको धार्मिक तथा ऐतिहासिक महत्त्वका विभिन्न विषयबारे जानकारी लिएको सङ्घका अध्यक्ष तमुले जानकारी गराए । सङ्घले क्व्होलासांथारमा भएका महत्त्वपूर्ण सामग्रीहरू हराउँदै गएकाले सम्बन्धित निकायले नीति नियम बनाई संरक्षण गर्नुपर्ने माग गरेको छ । क्व्होलासोंथार भ्रमणमा जाने समयमा आकस्मिक उद्धारका लागि हेलिप्याड निर्माण गर्नुपर्ने, त्यस स्थलको प्रचारप्रसार गर्दै विश्वभरका मानिसलाई आकर्षित गर्नुपर्ने, क्होलासोंथार जाने मार्गमा ठाउँठाउँमा खानेपानी, शौचालयजस्ता पूर्वाधार विकास गर्नुपर्ने जनाएको छ । सङ्घका केन्द्रीय महासचिव हर्क गुरुङले क्व्होलासोंथारको ऐतिहासिकता उजागर गर्न सकिएमा त्यो तमु समुदायको मात्रै नभएर राष्ट्रकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुने बताए । सबैको सामूहिक प्रयासबाट यसको प्रवर्द्धन र विकास गरिनुपर्ने उनको भनाइ छ ।
कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने ८ आधार
काठमाडौं । प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने ८ आधार प्रस्तुत गरे । योग विज्ञानदेव संस्कृति विश्वविद्यालय हरिद्वारका पिएचडी शोधार्थी हरि उपाध्यायले आफ्नो प्रस्तुति राख्दै कर्णाली प्राकृतिक तथा आध्यात्मिक हिसाबले आरोग्य हबका रूपमा विकास गर्न सकिने आधार बलियो रहेको बताए । उनले भने, ‘जडीबुटी अर्थात् प्राकृतिक स्रोत, लोक चिकित्सा, योग ध्यान, सामुदायिक जीवन, पर्यावरणीय पक्ष, वैदिक पद्धति, आयुर्वेदक/प्राकृतिक चिकित्सा (सोवा रिग्पा) र खानपान तथा जीवनशैली आरोग्य हब बनाउन सकिने बलिया ८ आधार हुन् । यसका लागि कर्णालीलाई योग ध्यान आरोग्य केन्द्रित गन्तव्य बनाउने, परम्परागत र आधुनिक प्रणालीको समन्वय, स्थानीय स्रोत, संस्कृति र प्रकृतिमा आधारित विकास, दिगो पर्यटन र समग्र आरोग्यतामा योगदान पुर्याउनुपर्दछ ।’ युवा वैज्ञानिक राजेन्द्र विष्टले जडीबुटी र लोक उपचार पद्धतिमार्फत समृद्धिको आधार तयार गरी कर्णालीलाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने कार्यपत्र प्रस्तुत गरे । जडीबुटी केवल उपचार मात्र नभई मानिसलाई प्रकृतिसँग जोड्ने जीवन दर्शन भएको बताउँदै उनले योग ध्यान, जडीबुटी उपचार, आध्यात्मिक अभ्यास, स्वच्छ हावा, शान्त वातावरण, जैविक खानपानले पर्यटकलाई अद्वितीय अनुभव प्रदान गर्न सक्ने भएकाले यसलाई आरोग्य पर्यटनका रूपमा विकास गर्नुपर्ने सुझाव दिए । वैज्ञानिक विष्टले भने, ‘कर्णालीका जडीबुटी, लोक उपचार र सोवा–रिक्पा भविष्यका सम्भावनाका स्रोत हुन् । परम्परागत ज्ञान र आधुनिक प्रविधिको समन्वयबाट दिगो विकास गर्न सकिन्छ । तसर्थ, कर्णाली केवल जडिबुटीको भण्डार मात्र होइन, नेपालको हरित अर्थतन्त्र (ग्रिन इकोनोमी) निर्माण गर्ने आधार भूमि हो । यसमा तीनै तहका सरकार र सम्बन्धित सरोकार भएकाहरूको समन्वय र सहकार्य दुवै आवश्यक छ ।’ कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कार्यक्रममा प्रस्तुत सुझावका आधारमा नीति, योजना र कार्यक्रम निर्माण गरेर अगाडि बढ्ने बताए । उनले लुम्बिनी, सुदूरपश्चिम र कर्णालीको धार्मिक पर्यटकीय सडक निर्माणमा पहल गरिने जनाए । मन्त्रालयका सचिव धोलकराज ढकालले आरोग्यताका सन्दर्भमा धेरै कुराको जानकारी भएको र प्रदेश सरकारले आगामी आर्थिक वर्षमा नीतिसहित कार्यक्रम तथा बजेट तर्जुमा गर्न ध्यान दिने बताए । कर्णालीलाई ‘अग्र्यानिक’ प्रदेश बनाउने गरी यसअघि पनि नीति तथा कार्यक्रम ल्याइएको बताउँदै उहाँले अब आरोग्यको केन्द्र बनाउने गरी थप नीति अगाडि सारिने धारणा राखे । अन्तरक्रिया कार्यक्रममा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय राजयोग प्रतिष्ठान केन्द्र सुर्खेतका ब्रह्माकुमारी विष्णु, विश्व हिन्दू महासङ्घका परमानन्द रेग्मी, इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सस्नेस (स्कुन)का शक्ति विक, सत्य साई केन्द्रका कृष्णमाया पोखरेल र महायोगी शिद्धबाबा अध्यात्मिक प्रतिष्ठानका केन्द्रीय सदस्य ललित भट्टराईले प्रकृति, अध्यात्म, पुरातत्व, संस्कृति, सभ्यता र धर्मको जननी कर्णालीमा सबैलाई आकर्षण गर्ने नीति र कार्यदिशा निर्माण गरिनुपर्नेमा जोड दिए ।
३० रुपैयाँ बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगम अझै ७ अर्ब ८१ करोड घाटामा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्य राति अर्थात् अहिले १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिक तर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्य सूचीअनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजेल/मट्टितेलको प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रतिलिटर २.३२ रुपैयाँ, डिजलमा प्रतिलिटर ८७.९९ रुपैयाँ, मट्टितेलमा ३६.७० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१.२५ रुपैयाँ घाटा कायम रहेको निगमले जनाएको छ । पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।