प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जित्दा समानुपातिकमा ५७, अन्य दलले कति सिट पाए ?
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत हासिल गरेको छ । प्रत्यक्ष र समानुपातिक दुवै गरेर रास्वपाले एक्लै दुई तिहाइ नजिकको सिट प्राप्त गरेको हो । प्रत्यक्षतर्फ कुल १६५ सिटमध्ये रास्वपाले १२५ सिट जितेको छ । बाँकी ४० सिट अन्य दलहरूले प्राप्त गरेका छन् । समानुपातिकतर्फ भने कुल ११० सिटमध्ये रास्वपाले ५७ सिट प्राप्त गरेको छ । बाँकी ५३ सिट अन्य राजनीतिक दलहरूले बाँडेका छन् । यसरी प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली जोड्दा प्रतिनिधि सभाका २७५ सिटमध्ये रास्वपाले १८२ सिट जितेको छ । निर्वाचन आयोगका अनुसार दोस्रो पार्टी नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट जितेको छ । कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी कुल ३८ सिट प्राप्त गरेको छ । तेस्रोमा नेकपा एमालेले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकमा १६ सिट जितेको छ । एमालेले प्रत्यक्ष र समानुपातिक दुवै गरी कुल २५ सिट प्राप्त गरेको छ । चौंथोमा नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकमा ९ सिट प्राप्त गरेको छ । नेकपाले प्रत्यक्ष र समानुपातिक दुवै गरेर कुल १७ सिट जितेको छ । त्यसैगरी, श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ र समानुपातिकमा ४ गरेर कुल ७ सिट प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सिट प्राप्त गरेको छ भने समानुपातिकतर्फ ४ सिट जितेको छ । राप्रपाले प्रत्यक्ष र समानुपातिक दुवै गरेर कुल पाँच सिट प्राप्त गरेको छ । प्रत्यक्षतर्फ कुल १ करोड ११ लाख ६८ हजार ३२ मतदान भएको निर्वाचन आयोगले जनाएको छ । त्यसमध्ये ६ लाख ९ हजार १५ मत बदर भएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएको थियो । सोमध्ये ४ लाख ४५ हजार ५९२ मत बदर भएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको हो । त्यस्तै, आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रत्यक्षतर्फ ९४.५५ र समानुपातिकतर्फ ९६.०५ प्रतिशत मत सदर भएको छ ।
चुनावमा १ भोटमात्रै पाउने ३५ उम्मेदवार, परिवारले पनि दिएन साथ
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यक्षतर्फको मतगणनामा रोचक र आश्चर्यजनक परिणामहरू सार्वजनिक भएका छन् । देशभर प्रतिस्पर्धामा उत्रिएका केही उम्मेदवार मतदाताबाट समर्थन नपाउँदा केवल एक भोटमै सीमित भएका छन् । निर्वाचन आयोगका अनुसार देशभरका ३५ उम्मेदवारले एक भोट मात्रै प्राप्त गरेका छन् । उनीहरुले प्राप्त गरेको परिणामले चुनावी प्रतिस्पर्धाको रोचक पक्ष समेत उजागर गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३ हजार ४०६ उम्मेदवार मैदानमा उत्रिएका थिए । तीमध्ये अधिकांश उम्मेदवारले हजारौं मत प्राप्त गरे पनि केही उम्मेदवार भने मतदाताको समर्थन जुटाउन नसक्दा एक भोटमै सीमित भएका छन् । निर्वाचन परिणामअनुसार ३५ जना उम्मेदवारले मात्र एक मत प्राप्त गरेका छन् । चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले आफ्नै मतसमेत सुरक्षित गर्न नसकेको अवस्था देखिनुले राजनीतिक वृत्तमा पनि चर्चा सुरु भएको छ । सामान्यतया उम्मेदवारले कम्तीमा आफ्नै मत र परिवारजनको मत प्राप्त गर्ने अपेक्षा गरिए पनि केही उम्मेदवारको हकमा त्यो सम्भव हुन सकेन । निर्वाचनमा खटिएका कर्मचारीहरूका अनुसार यस्तो परिणाम आउनुका पछाडि विभिन्न कारण हुन सक्छन् । कतिपय उम्मेदवार आफैंले मतदान नगर्नु, मतदाता नामावली फरक स्थानमा हुनु वा मतदान प्रक्रियासम्बन्धी प्राविधिक कारणले पनि उम्मेदवारको मत अत्यन्त न्यून देखिन सक्छ । यद्यपि, चुनावी मैदानमा उत्रिएका हजारौं उम्मेदवारमध्ये केही उम्मेदवार मात्र एक मतमा सीमित हुनु भने प्रतिनिधिसभा निर्वाचनको रोचक तर अर्थपूर्ण संकेतका रूपमा पनि हेरिएको छ । यसले उम्मेदवारको स्थानीय पहुँच, संगठनात्मक बल र मतदाता आधार कति महत्वपूर्ण हुन्छ भन्ने तथ्यलाई पुनः उजागर गरेको चुनावका जानकारहरू बताउँछन् । यी उम्मेदवारले पाए १ भोट सिरहा क्षेत्र नम्बर १ बाट ३ जना उम्मेदवारले १ मत मात्रै पाएका छन् । ती सबै उम्मेदवार स्वतन्त्र उम्मेदवार हुन् । रामदेव ठाकुर, मञ्चन महतो, सतीश चन्द्र सिंहले एक मत पाएका छन् । सिरहा १ बाट रास्वपाका बब्लु गुप्ताले सबैभन्दा धेरै ४१ हजार ३२२ मत ल्याएर विजयी भएका छन् । महोत्तरी २ नम्बर निर्वाचन क्षेत्रबाट एक जना उम्मेदवारले एक मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार रेशमा देवीले १ भोट मात्रै पाएकी हुन् । महोत्तरी २ मा रास्वपाका दीपक कुमार शाहले ३२ हजार ७२२ मत ल्याएर विजय भएका छन् । सर्लाही २ बाट सत्य नारायण चौधरी कलवारले एक भोट मात्रै ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका रविन महतोले ४२ हजार ५१२ मत ल्याएर निर्वाचित भएका छन् । सर्लाही ३ बाट लोक बहादुर दर्लामीले १ भोट पाएका छन् । सो निर्वाचन क्षेत्रमा रास्वपाका नरेन्द्र साह कलवारले ४६ हजार ८९० मत ल्याएर विजयी भएका छन् । रौतहट १ मा ३ जना उम्मेदवारले एक भोट मात्रै प्राप्त गरेका छन् । स्वतन्त्रबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका दिनेश कुमार यादव, मुनिन्द्र कुमार ठाकुर र रवि अर्चनम् वर्माले एक भोट मात्रै पाएका हुन् । रौतहट १ मा रास्वपाका राजेश कुमार चौधरीले २८ हजार ९४६ मत ल्याएर विजयी भएका छन् । रौतहट ३ मा स्वतन्त्रबाट उठेका रतनेश महतो कोइरीले १ भोट मात्रै पाए । सो निर्वाचन क्षेत्रमा रास्वपाका रविन्द्र पटेलले २७ हजार ३१८ मत ल्याएर निर्वाचित भएका छन् । बारा २ मा स्वतन्त्रबाट जालमहम्मत अन्सारीले १ मत मात्रै प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा रास्वपाका चन्द्र कुमार सिंहले ३५ हजार ५९० मत ल्याएर विजयी भएका छन् । बारा ३ मा २ जनाले एक भोट प्राप्त गरेका छन् । स्वतन्त्रबाट उठेका पूर्ण प्रसाद पन्थ र मंगेश्वर पटेलले १ मत प्राप्त गरेका छन् । बारा ३ मा रास्वपाका रहबर अन्सारीले ४१ हजार २ सय मत ल्याएर विजयी भएका छन् । पर्सा १ मा २ जनाले एक मत पाएका छन् । स्वतन्त्रका प्रेम मेहता र सरोज प्रसाद यादवले १ भोट मात्रै पाएका हुन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका बुद्धि प्रसाद पन्थले २७ हजार २७४ मत ल्याएर विजयी भएका छन् । पर्सा २ मा रोशन प्रसाद अहिरले १ मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा सुशील कुमार कानुले ३० हजार ७४० मत ल्याएर विजयी भएका छन् । धादिङ २ मा रास्वपाका शिव निधि खनालले एक मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका बोध नारायण श्रेष्ठले २६ हजार १४५ मत ल्याएर निर्वाचित भएका छन् । काठमाडौं १ मा रास्वपाका रञ्जु न्यौपानेले सबैभन्दा धेरै १५ हजार ४५५ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका राजु भुजेल र शान्ति श्रेष्ठले १ मत पाएका छन् । काठमाडौं २ मा रास्वपाका सुनिल के.सीले ३४ हजार २३८ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका इरा श्रेष्ठले एक मत पाइन् । काठमाडौं ३ मा रास्वपाका राजु नाथ पाण्डेले सबैभन्दा धेरै १८ हजार ७५७ मत ल्याएर विजय हुँदा मितेरी पार्टी नेपालका जित बहादुर तामाङले एक मत प्राप्त गरे । भक्तपुर २ मा राजीव खत्रीले रास्वपाबाट ४२ हजार ३३४ मत ल्याएर विजयी हुँदा चार जनाले १ मत मात्रै प्राप्त गरेका छन् । प्रदीप कुमार रुपाखेती, अनिता भट्टराई, मधु प्रकाश साहुखल, श्याम कृष्ण धुख्खाले एक मत मात्रै पाएका छन् । ललितपुर १ मा राम खड्काले एक मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका बुद्ध रत्न महर्जन २३ हजार ३७३ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका राम खड्काले १ मत मात्रै ल्याएका छन् । मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमले ३६ हजार ३३ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका राम कुमार खड्काले सबैभन्दा कम १ मत ल्याए । गुल्मी १ मा २ जनाले सबैभन्दा न्यून मत ल्याएका छन् । कृष्ण बहादुर सुनार र सूर्य बहादुर सोनी सुनारले एक मत ल्याएका हुन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका सागर ढकालले २९ हजार ६४२ मत ल्याएर निर्वाचित भएका छन् । रुपन्देही २ मा उषा भट्टराई, कमला बोहरा र मधुसूदन पन्थीले सबैभन्दा न्युन मत प्राप्त गरेका छन् । तीनै जना स्वतन्त्रबाट उठेका हुन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका सुलभ खरेलले ५६ हजार ५५० मत ल्याई विजयी भएका छन् । कपिलवस्तु ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले २३ हजार ५३५ मत ल्याएर विजयी हुँदा २ जना उम्मेदवारले १ मत पाएका छन् । स्वतन्त्रबाट उठेका परमेश्वर दयाल मिश्र र हरिराम प्रसाद यादवले सबैभन्दा न्यून मत प्राप्त गरेका हुन् । दाङ ३ मा रास्वपाका कमल सुवेदीले सबैभन्दा धेरै ४४ हजार २४८ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका सुरेश नेपालीले सबैभन्दा कम मत प्राप्त गरे ।
मलेसिया जाने सोच थियो, सांसद बने
काठमाडाैं। वि.सं. २०६० साल । मुलुकको आकाशमा द्वन्द्वको कालो बादल मडारिइरहेको थियो । गाउँ–गाउँमा सन्त्रास थियो भने शहरहरूमा भविष्यको अनिश्चितता । अभावको रापले उदयपुरको एउटा मध्यमवर्गीय युवा पारसमणि गेलालको मन छटपटाइरहेको थियो । अरू हजारौं नेपाली युवाहरूजस्तै उनको आँखामा पनि सात समुद्रपारिको ‘मलेसिया’ सपना बनेर नाचिरहेको थियो । घरको आर्थिक बोझ थाम्ने र जीवनको रथ गुडाउने एउटै बाटो उनलाई वैदेशिक रोजगारी नै देखिन्थ्यो । पासपोर्ट तयार भयो, झोला कसियो । मनभरि परिवारका लागि केही गर्ने रित्तो सपना र गोजीमा विदेश जाने टिकटको आशा थियो । तर, गन्तव्यको अघिल्लो मोडमा पहाड बनेर उभिएका थिए बुबा दुर्गाप्रसाद गेलाल । बुबाको एउटा कठोर तर दूरदर्शी निर्णयले पारसमणिको जीवनको दिशा नै बदलिदियो । ‘म जस्तोसुकै दुःख गरेर पनि पढाउन सक्छु, तर मास्टर्स नगरी विदेश जान पाइँदैन,’ बुबाले भनेको त्यो शब्द अहिले पनि उनको स्मृतिमा घुमिरहन्छ । बुबाले यसो भन्दै छोराको पासपोर्ट दराजको भित्री कुनामा ताल्चा लगाइदिए । त्यो पल पारसका लागि सपना टुटेको जस्तो लागे पनि वास्तवमा त्यो एउटा नयाँ युगको आरम्भ थियो । दराजमा थुनिएको त्यो पासपोर्टले पारसमणिको एउटा सम्भावित ’श्रमिक’ परिचयलाई सदाका लागि अन्त्य गरिदियो र एउटा भविष्यको राजनीतिक नेता जन्माउने बीजारोपण ग¥यो । आज त्यही दराजमा थुनिएको सपना उदयपुरका हजारौं युवाहरूको भरोसा बनेर संघीय संसद्को रोस्टममा उभिनेछ । पारसमणिको व्यक्तित्व निर्माणमा शैक्षिक प्रमाणपत्रको मात्र हात छैन, उनको रगतमै सामाजिक न्यायको हुटहुटी थियो । विद्यालय पढ्दै गर्दा रेडियोमा बज्ने ‘प्रो पब्लिक’ का सार्वजनिक सुनुवाइ र भ्रष्टाचारविरुद्धका कार्यक्रमले उनको मानसपटलमा गहिरो प्रभाव पारेको थियो । विद्यालयको चार पर्खालभित्र मात्र उनको चेतना सीमित रहेन । आठ कक्षामा पढ्ने एउटा बालकले ‘लोकल गुड गभर्नेन्स’ नामक म्यागेजिन निकालेर स्थानीय निकायको पारदर्शितामाथि प्रश्न उठाउनु त्यतिबेला एउटा ठूलो साहस थियो । जतिबेला मानिसहरू बोल्न डराउँथे, त्यतिबेला पारसले सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई जनताको अगाडि उभ्याएर प्रश्न सोध्ने र जवाफ खोज्ने पुलको रूपमा काम गरे । सन् २००६ देखि २०१० सम्म जिल्ला असल शासन क्लबको सचिव भएर उनले सामाजिक जवाफदेहिताको क्षेत्रमा जुन जग बसाले, त्यसैले उनलाई आज जनताको ‘वाचडग’ बनाएको छ । हिरासतको अनुभव र सडकको संघर्ष सन् २०१९ मा जब विश्व कोभिड महामारीको त्रासमा थुरथुर काँपिरहेको थियो, पारसमणि भने सेवाको मैदानमा थिए । उनी केवल सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर बाँडेर मात्र चुप बसेनन् । जब राज्यले स्वास्थ्य सामग्री खरिदमा गरेको अनियमितता विरुद्ध उनी राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिए । ‘जब घर जल्छ, तब रमिता हेरेर बस्न सकिँदैन’ भन्ने मान्यता राख्ने पारसमणिलेभ्रष्टाचारविरुद्धको लडाइँमा प्रहरीको लाठी र चिसो हिरासतसमेत भोग्नुप¥यो । उनी भ्रष्टाचार विरुद्ध जति मौन रहेर काम गर्थे, अन्याय विरुद्ध उनको आवाज उति नै बुलन्द थियो । हिरासतको त्यो अनुभवले उनलाई थप खार्यो र राजनीतिमा नीतिगत हस्तक्षेपको आवश्यकता बोध गरायो । शिक्षण, व्यवसाय र राजनीतिको त्रिवेणी त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तह पूरा गरेपछि केही समय उच्च माध्यमिक शिक्षकका रूपमा शिक्षण पेशामा आबद्ध पारसमणिको जीवनमा अटोमोवाइल व्यवसायले नयाँ व्यावसायिक मोड ल्यायो । विगत १४ वर्षदेखि उनी यो क्षेत्रमा सफल छन् । चिनियाँ ईभी ब्राण्ड ‘स्काईवेल’ का आधिकारिक वितरक उनी केवल व्यवसायी मात्र होइनन्, वातावरणमैत्री हरित यातायातका अभियन्ता पनि हुन् । रेनो, निसान, र बीवाइडीजस्ता ब्रान्डहरूसँगको सफल कार्यअनुभवले उनलाई अर्थतन्त्रको नाडी छाम्ने अवसर दियो । उनको एउटा दृढ मान्यता छ– ‘राजनीतिलाई पेशा बनाउनु हुँदैन । उनी भन्छन्, ‘जसको आफ्नो हातमा सीप र व्यवसाय छ, उसले मात्रै राजनीतिमा निष्ठा कायम राख्न सक्छ ।’ यही ‘नङ र मासु’ जस्तो व्यावसायिक र राजनीतिक सम्बन्ध बुझेकै कारण उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विचारलाई आत्मसाथ गरे । काठमाडौंमा बालेन शाहले ल्याएको कार्यशैली र परिवर्तनबाट प्रभावित उनी बालेनलाई सरकारले अप्ठ्यारो पार्दा सडकमा उभिने सच्चा सारथी पनि हुन् । ३० वर्षको ’धोका’ चिर्ने संकल्प उनी प्रतनिधिसभा निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ बाट भारी जनमतका साथ निर्वाचित हुँदा पारसमणिको काँधमा केवल एउटा सांसदको पदभार मात्र छैन, ३० वर्षदेखि उपेक्षित उदयपुरवासीको सपनाको भारी पनि छ । उनले ३० हजार ५ सय ९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका राजेशकुमार राई ११ हजार ६०६ मतमा सीमित भए । यो जित केवल अङ्कको खेल थिएन, यो त विकासका नाममा वर्षौँदेखि ठगिएका जनताको आक्रोश र आशाको सम्मिश्रण थियो । उनका लागि संसद् एउटा पद मात्र होइन, उदयपुरलाई आर्थिक समृद्धिको ‘मोडल’ जिल्ला बनाउने एउटा प्रयोगशाला हो । पर्यटन, उद्योग र दिगो विकासको माध्यमबाट उदयपुरको मुहार फेर्ने अठोटका साथ उनी संसद् छिरेका छन् । अटोमोवाइल क्षेत्रका समस्यादेखि युवामैत्री स्टार्टअप नीतिका लागि अब संसद्मा एउटा बलियो र तार्किक आवाज गुन्जिने निश्चित छ । व्यवसायी किन राजनीतिमा ? पारसमणिको तर्क आजको समयमा निकै सान्दर्भिक छ । उनी भन्छन्, ‘उत्पादनमूलक क्षेत्रबाट आएको व्यक्तिले मात्र उत्पादनको पीडा बुझ्छ । जसको आफ्नै आम्दानीको स्रोत छ, उसले भ्रष्टाचारको लोभ गर्दैन । व्यवसायीले बजार र उपभोक्ताको सम्बन्ध बुझेका हुन्छन्, जसले गर्दा उत्पादकले सही मूल्य पाउने र लगानीकर्ताले सुरक्षित वातावरण पाउने नीति बन्न सक्छ ।’ उनी आफू राजनीतिमा आउनुलाई एउटा ‘बाध्यात्मक परिस्थिति’ मान्छन् । देशका लाखौं युवा रोजगारीको खोजीमा खाडीमा पसिना बगाइरहँदा आफूजस्तो सफल र पढेलेखेको युवाले देश निर्माणको नीति बनाउन हस्तक्षेप नगर्ने हो भने मुलुकको भविष्य अन्धकार हुने उनको ठहर छ । उदयपुरको ज्यामिरेको सामान्य माटोबाट सुरु भएको पारसमणि गेलालको यात्रा काठमाडौंको व्यावसायिक सफलता हुँदै आज देशको ‘नीति निर्माण’ को सर्वोच्च थलोसम्म पुगेको छ । हिजो मलेसिया जान ठिक्क परेका ती हातहरू आज देश बनाउने कानुन लेख्न कलम समातिरहेका छन् । मलेसिया जाने त्यो पुरानो पासपोर्ट दराजमा थन्किएर नै आज उदयपुरले एउटा आशलाग्दो ‘मणि’ पाएको छ ।