त्रिपुरेश्वरमा आत्मदाह प्रयास गर्ने नेपाली राइड सेयरिङका चालक

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट अगाडि आत्मदाह प्रयास गर्ने गणेश नेपाली राइड सेयरिङको चालक रहेको खुलेको छ । नेपालीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अनलाइन प्लेटफार्ममार्फत मोटरसाइकबाट यात्रु ओसारपोसारको काम गर्दै आएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले ह्वील लक लगाएको खुलेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । राइड सेयरिङका चालक भएकाले विभागका वरपर ग्राहकको खोजीमा पुगेको हुन सक्ने उनले बताए । घटनाको बारेमा प्रहरीले बुझ्ने प्रयास गरिरहेको छ ।   प्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका हुन् । घटनालगत्तै प्रहरीले उनको उद्धार गरी काठमाडौंको महाबौद्धस्थित वीर अस्पताल पुर्याएको छ । अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्राफिक जरिवाना नतिर्ने साढे २ लाख चालकलाई यातायात कार्यालयको सेवा रोक्का

काठमाडौं । दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम राज्यकोषमा दाखिला नगरेको पाइएको छ ।   काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित हुने छन् । त्यस्तो जरिवाना नतिर्ने चालकले नयाँ सवारीसाधन खरिद, सवारीसाधन नामसारी (खरिद–बिक्री), सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण तथा यातायात कार्यालयबाट प्रदान गरिने अन्य सेवा लिन पाउने छैनन् । लामो समयसम्म ती चालकले जरिवाना नतिरेपछि ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठाएको विवरणका आधारमा सेवा रोक्का प्रक्रिया अघि बढिसकेको छ । उक्त जरिवानावापतको रकम दाखिला नगरेसम्म त्यहाँबाट पाउने विभिन्न सेवा रोक्का हुने प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । जरिवानावापतको रकम पूर्णरूपमा बुझाएपछि मात्रै ती सेवा पुनः प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । यातायात व्यवस्था कार्यालयले अब कुनै पनि नयाँ सेवा लिनुअघि सम्बन्धित चालकले ट्राफिक जरिवानावापतको रकम राज्यकोषमा तिरेको पुष्टि अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । जरिवानावापतको रकम जम्मा गर्न बाँकीलाई मोबाइल सन्देश (एसएमएस) मार्फत जानकारी गराउने कार्य सुरु गरिएको छ । ट्राफिक प्रहरीका अनुसार यो कदम जरिवानावापतको रकम राज्यकोषमा जम्मा गर्ने अभियानलाई प्रभावकारी बनाउनका साथै ट्राफिक नियम पालना गर्ने संस्कृतिको विकास र सडक अनुशासन कायम गर्न लागू गरिएको जनाइएको छ । ट्राफिक नियम उल्लङ्घन गरी जरिवानावापत रकम राज्य कोषलाई नतिर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्तो व्यवस्था प्रभावकारी हुने विश्वास गरिएको प्रवक्ता सुवेदीले बताए । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको पूर्णपालना गर्न  चालकलाई अनुरोध गरेको छ ।    

तनहुँ ‘बर्डफ्लु’ को जोखिममा : सतर्कता अपनाउन आग्रह

दमौली । जिल्ला ‘बर्डफ्लु’ को जोखिममा पर्न सक्ने भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।          पन्छी तथा पन्छीजन्य उत्पादनको आवतजावतका कारण तनहुँमा रोग भित्रिन सक्ने जोखिम रहेकाले कृषक, पन्छी व्यवसायी, उपभोक्ता तथा सम्बन्धित सबै सरोकारवालालाई आवश्यक सावधानी अपनाउन कार्यालय प्रमुख रविनसन अधिकारीले अनुरोध गरेका हुन् ।  अण्डा राख्ने पुराना क्रेट पुनःप्रयोग नगर्न, ढुवानीका सवारीसाधनलाई निसङ्क्रमण गर्न, कागलगायत जङ्गली पन्छीसँग घरपालुवा पन्छी वा तिनको दाना सम्पर्कमा आउन नदिन, दाना ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र ढुवानी गर्न, अन्य सङ्क्रामक रोगविरुद्ध नियमित खोप लगाउन तथा सङ्क्रमण पुष्टि भएमा मरेका पन्छीलाई तत्काल गहिरो खाडलमा पुरेर फार्मलाई निसङ्क्रमण गर्न र प्राविधिकको सल्लाहअनुसार आवश्यक रोग नियन्त्रणका उपाय अपनाउन कार्यालयले आग्रह गरेको छ ।