सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँ : उपसभापति शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले हालै गरेको आदेशले पार्टीको आन्तरिक विवादका सन्दर्भमा गत वैशाख ४ गते भएको फैसलालाई नउल्ट्याएको स्पष्ट पारेका छन् । निर्वाचन आयोगले गरेको दलको अभिलेख अध्यावधिकलाई समेत उक्त आदेशले बदर नगरेको उल्लेख गर्दै उनले अदालतको प्रक्रियालाई स्वाभाविक रूपमा लिइएको बताए । अदालतको पछिल्लो आदेशमाथि प्रतिक्रिया दिँदै उपसभापति शर्माले कुनै नयाँ प्रमाण भेटिएमा वा विगतको नजिरसँग बाझिएमा आफ्नै फैसला पुनरावलोकन गर्ने स्थापित कानुनी मान्यता रहेको बताए । यद्यपि, यस प्रकरणमा कुनै नयाँ तथ्य वा नजिरसँग बाझिने अवस्था आफूहरूले नदेखेको उनको जिकिर छ । उपसभापति शर्माले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम महाधिवेशनपश्चात् विवरण अध्यावधिक गर्ने क्रममा सुनुवाइ गर्ने परम्परा नरहेको स्पष्ट पारे । उपसभापति शर्माले भने, ‘हिजोको आदेशले पुनरावलोकनको ढोका मात्र खोलेको हो । निर्वाचन आयोगले अध्यावधिक गर्दा निवेदन दिने पक्षको सुनुवाइ नगरेको भन्ने आधारमा पुनरावलोकनको अनुमति दिइएको देखिन्छ । तर यो दल विभाजनसम्बन्धी मुद्दा नभएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ यसमा आकर्षित हुँदैन ।’ पार्टीको विशेष महाधिवेशनपछि तत्कालीन कार्यवाहक सभापतिसहितको टोलीले निर्वाचन आयोग पुगेर आफ्ना तर्कहरू राखिसकेकाले त्यसलाई एक प्रकारको सुनुवाइ नै मान्न सकिने उनको तर्क छ । साथै, सर्वोच्च अदालतमा समेत लामो समय बहस र सुनुवाइ भएपछि मात्र वैशाख ४ को फैसला आएकाले ‘सुनुवाइको मौका नदिइएको’ भन्ने तर्क खण्डित हुने शर्माले बताए । पार्टी अहिले १५औँ महाधिवेशनको संघारमा रहेको स्मरण गराउँदै उपसभापति शर्माले राजनीतिक दलका आन्तरिक विवादहरू मूलतः निर्वाचन आयोगबाटै निरूपण हुनु उपयुक्त हुने धारणा राखे । उनले भने, ‘अदालतको आदेश र व्याख्यालाई हामी सम्मान गर्छौं । पुनरावलोकनको प्रक्रियामा हामी विशेष महाधिवेशनको वैधानिक र राजनीतिक तथ्यहरू पुनः केस्रा–केस्रा केलाएर राख्नेछौँ । यसलाई हामीले तथ्य स्थापित गर्ने अर्को अवसरका रूपमा लिएका छौँ ।’ नेपाली कांग्रेस सबै नेता तथा कार्यकर्तालाई गोलबद्ध गर्दै विधान र संविधानको परिधिभित्र रहेर अगाडि बढ्न प्रतिबद्ध रहेको समेत उनले प्रस्ट पारे ।
केही दिनभित्रै ग्यास आपूर्ति सहज हुन्छ, हतारिएर सञ्चय नगर्नू : उद्योगमन्त्री
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बजारमा देखिएको खाना पकाउने ग्यासको आपूर्ति समस्या अस्थायी रहेको बताउँदै केही दिनभित्रै अवस्था पूर्ण रूपमा सामान्य हुने विश्वास व्यक्त गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री कुमारीले ग्यास अभावबारे फैलिएका अफवाह र भ्रमपूर्ण सूचनाले उपभोक्तामा अनावश्यक त्रास सिर्जना गरेको उल्लेख गर्दै संयमता अपनाउन आग्रह गरिन् । उनले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गर्दै सरकारले आपूर्तिलाई नियमित र सहज बनाउन आवश्यक समन्वय गरिरहेको जानकारी दिइन् । मन्त्री कुमारीले वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सबै ग्यास डिलरलाई खरिदकर्ताको विवरण अभिलेखीकरण गर्न निर्देशन दिइएको बताइन् । साथै, वैकल्पिक सिलिन्डरको व्यवस्था नभएका सर्वसाधारण उपभोक्तालाई पहिचान गरी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउने व्यवस्था तत्काल कार्यान्वयन गर्न पनि आग्रह गरिएको उनले स्पष्ट पारिन् । उनका अनुसार सरकारको प्राथमिकता सबै उपभोक्ताले समान र न्यायोचित रूपमा ग्यास प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नु रहेको छ । केही दिनभित्र आपूर्ति प्रणाली पूर्ण रूपमा सहज हुने भएकाले हल्लाको पछि नलाग्न उनले सर्वसाधारणलाई पुनः आग्रह गरिन् ।
देउवा पनि राष्ट्रिय भेलामा सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्ने राष्ट्रिय भेलामा पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जनाएको छ । भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी विवादमा पूर्वनिर्णय पुनरावलोकनका लागि निस्सा दिएपछि पार्टीभित्र नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको र त्यसले राष्ट्रिय भेलाप्रति कार्यकर्ताको उत्साह थप बढाएको उनले बताए । उनले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै अन्तिम न्यायिक निर्णयबाट आफूहरू न्याय पाउनेमा विश्वस्त रहेको उल्लेख गरे । अदालतको पछिल्लो आदेशले राष्ट्रिय भेलाको उद्देश्य वा कार्यदिशामा कुनै परिवर्तन नआएको, बरु पार्टीभित्र वैचारिक तथा सांगठनिक अभियानलाई थप बल पुगेको उनको भनाइ थियो । कोइरालाका अनुसार सुरुमा १० देखि २० हजार प्रतिनिधि तथा कार्यकर्ताको सहभागिता हुने अनुमान गरिएको भए पनि अदालतको आदेशपछि सहभागिता अपेक्षाभन्दा धेरै हुने संकेत देखिएको छ । उनले पार्टीका वरिष्ठ नेता पूर्णबहादुर खड्का स्वास्थ्य अवस्थाका कारण तथा नेता डा. शेखर कोइराला पूर्वनिर्धारित कार्यक्रमका कारण विराटनगरमा रहेकाले पत्रकार सम्मेलनमा उपस्थित हुन नसकेको स्पष्ट पारे । यद्यपि राष्ट्रिय भेलाप्रति दुवै नेताको पूर्ण समर्थन रहेको उनले बताए । साउन २६ गते पूर्वसभापति देउवा स्वदेश फर्कने क्रममा सम्भावित धरपकडको चर्चा भइरहेका बेला कोइरालाले त्यस्तो कुनै सम्भावना नरहेको दाबीसमेत गरे । यदि कुनै प्रकारको हस्तक्षेप वा धरपकडको प्रयास भए कांग्रेसले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी पनि उनले दिए । कोइरालाले मुलुकको वर्तमान राजनीतिक अवस्थाले कांग्रेसलाई वैचारिक रूपमा पुनः एकताबद्ध र सांगठनिक रूपमा पुनर्संरचना गर्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रिय भेला त्यस दिशामा महत्त्वपूर्ण मोड साबित हुने दाबी गरे। उनले कांग्रेसका भातृ संस्था, शुभेच्छुक तथा देशभरका कार्यकर्तालाई भेलामा सक्रिय सहभागिताका लागि आह्वान गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल विचारलाई केन्द्रमा राखेर पार्टीलाई नयाँ ऊर्जा र नयाँ दिशा दिने अभियानका रूपमा राष्ट्रिय भेलालाई सफल बनाउन आग्रह गरे ।