दृष्टिविहीन बालबालिकाका लागि आवासीय भवन निर्माणमा नेपाल लाइफको सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै सहयोग गरेको हो ।  नवनिर्मित आवासीय भवनले ६० जना सम्म दृष्टिविहीन बालबालिकालाई सुरक्षित, सहज र स्नेहपूर्ण बसोबासको वातावरण प्रदान गर्नेछ । भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका आवश्यक सुविधा, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवश्यक आवासीय सुविधाहरू समावेश गरिएका छन् । यसअघि फाउन्डेसनले सानो भाडाको घरबाट सीमित स्रोत–साधनका बीच सेवा सञ्चालन गर्दै आएको थियो । नयाँ भवन सञ्चालनमा आएपछि दृष्टिविहीन बालबालिकालाई गुणस्तरीय आवास, शिक्षा तथा जीवनोपयोगी सीप प्रदान गर्ने संस्थाको क्षमता उल्लेखनीय रूपमा विस्तार भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले भने, ‘ त्रिनेत्र फाउन्डेसनमार्फत दृष्टिविहीन बालबालिकालाई सुरक्षित आवास, गुणस्तरीय शिक्षा तथा आत्मनिर्भर जीवनतर्फ अग्रसर हुने अभियानमा सहकार्य गर्न पाउँदा हामीले गौरवान्वित महसुस गरेका छौँ ।’ नेपाल लाइफ नेपालको अग्रणी जीवन बीमा कम्पनी हो । जिम्मेवार व्यावसायिक अभ्यास तथा प्रभावकारी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत कम्पनीले जीवन सुरक्षासँगै नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ ।  

नेपाल लाइफमा कामु सीईओको जिम्मेवारी अमितकुमार कयाललाई

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कामु सीईओमा अमितकुमार कयाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले कयाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । कयाल हाल कम्पनी नायब सीईओका रूपमा कार्यरत छन् । कम्पनीका सीईओ प्रवीणरमण पराजुली केही समयका लागि विदामा बस्ने भएकाले कम्पनीको दैनिक प्रशासकीय एवं अन्य आवश्यक व्यवस्थापकीय कार्यहरू गर्न कयाललाई कामु सीईओ जिम्मेवारी दिने निर्णय सञ्चालक समितिले गरेको हो । कामु सीईओको जिम्मेवारी कयालले साउन ४ गतेदेखि साउन २८ गतेसम्म कम्पनीको जिम्वेवारी सम्हाल्ने कम्पनीले जनाएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क ७ अर्ब रुपैयाँ

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आक्रामक व्यापार गरेको छ । कम्पनीले पहिलोपटक ७ अर्ब रुपैयाँ बढीको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।  कम्पनीले आव २०८२/८३ मा ७ अर्ब १० करोड ५८ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको हो । जुन अघिल्लो आवको तुलनामा १६.७९ प्रतिशतले बढेको छ ।  कम्पनीले अघिल्लो वर्ष २०८१/८२ मा ६ अर्ब ८ करोड ४५ करोड कम्पनीले प्रथम बीमाशुल्कबापत आम्दानी गरेको थियो। एक वर्षको अवधिमा कम्पनीले कम्पनीले २४ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष कम्पनीले २२ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क ९.९७ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा कम्पनीले नवीकरण बीमाशुल्कबापत १७ अर्ब ७४ करोड ५ लाख रुपैयाँ संकलन भएको गरेको छ। अघिल्लो आवमा कम्पनीले १६ अर्ब ५० करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीले नविकरण बीमाशुल्क ७.४६ प्रतिशतले बढेको छ ।