जमल किन डुब्छ ? महानगरको अध्ययनमा खुल्यो वास्तविक कारण

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा बर्खायाममा दोहोरिने डुबानको मुख्य कारण ढल निकास प्रणालीको क्षमता नमिल्नु रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ । साउन १५ गते काठमाडौं महानगरपालिकाको नेतृत्वमा सरकारी निकायका प्राविधिक टोलीले जमल क्षेत्रमा स्थलगत अध्ययन गरेको थियो । अध्ययनमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र स्थानीयबासी सहभागी थिए । कार्यवाहक प्रमुख सुनिता डंगोलले डुबानको वास्तविक कारण पहिचान गरी समाधानको उपायसहित प्रतिवेदन तयार गर्न निर्देशन दिएपछि टोली स्थलगत अध्ययनमा पुगेको हो । अध्ययनका क्रममा ज्याठा, निर्वाचन आयोग, येल्लो प्यागोडा र जनप्रशासन क्याम्पसतर्फबाट आउने गरी कुल २१५ सेन्टिमिटर व्यासका ढल प्रणालीको पानी जमलमा जम्मा हुने देखिएको छ । तर, उक्त पानीको निकास भने ६० सेन्टिमिटर व्यासको एउटा मात्र पाइपबाट हुने भएकाले डुबान हुने निष्कर्ष निकालिएको छ । डिभिजन सडक कार्यालय काठमाडौंकी इन्जिनियर श्रीयंका रौनियारका अनुसार २१५ सेन्टिमिटरभन्दा बढी क्षमताको पानी ६० सेन्टिमिटरको पाइपबाट एकैपटक निकास हुन नसक्दा पानी सडकमै जम्ने गरेको हो । प्राविधिकहरूले ढलभित्र फोहोर वा अन्य अवरोध नभेटिएको पनि बताएका छन् । जमलदेखि टुकुचासम्मको ढल प्रणाली निरीक्षण गर्दा ढल सफा रहेको देखिए पनि त्यसमा अन्य स्थानको ढल मिसाइएकाले निकास प्रक्रिया प्रभावित भएको पाइएको छ । स्थानीय ७० वर्षीय पुरुषोत्तम श्रेष्ठका अनुसार पहिले जमलको पानी छुट्टै ढलमार्फत निकास हुने व्यवस्था थियो । तर, पछि अन्य क्षेत्रको ढल पनि यही प्रणालीमा जोडिएपछि डुबान फेरि दोहोरिन थालेको हो । स्थानीय चित्राशोभा तुलाधरले पनि दरबारमार्ग क्षेत्रमा वर्षा हुँदा ढलको पानी माथिसम्म उछिट्टिने र ढकनसमेत उठ्ने अवस्था देखिने बताइन् । महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले काठमाडौंका धेरै स्थानमा डुबान हुनुको मुख्य कारण ढल सफाइको अभाव नभई माथिल्लो र तल्लो भागको ढल निकास क्षमताबीचको असन्तुलन रहेको बताए । उनका अनुसार माइतीघर मण्डलापछि अब जमल र दरबारमार्ग क्षेत्रको पनि विस्तृत प्राविधिक अध्ययन गरी दीर्घकालीन समाधानका उपाय अघि बढाइनेछ ।

माइतीघरको डुबान अन्त्य गर्न छुट्टै ढल र पानी निकास प्रणाली बनाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशेपानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गरिने बताएकी छन् ।   उनले अहिले अधिकांश स्थानमा ढल र वर्षाको पानी एउटै प्रणालीबाट बगाइने भएकाले सामान्यभन्दा बढी वर्षा हुनासाथ निकास प्रणालीले भार धान्न नसक्ने अवस्था सिर्जना भएको बताइन् । त्यस्ता समस्या हटाउन तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि महानगरले पहल गरिरहेको बताउँदै उनले त्यस्ता स्थानमा गुरूयोजना बनाएर काम गर्नुपर्ने आवश्यकता औँल्याइन् ।        कार्यवाहक उपप्रमुख डङ्गोलले दीर्घकालीन समाधानका लागि ढल र वर्षाको पानी व्यवस्थापनलाई छुट्टाछुट्टै प्रणालीमा रूपान्तरण आवश्यक रहेको बताउँदै सरोकारवाला निकायबीच समन्वय गरी यस्ता पूर्वाधार विकासमा लगानी बढाउनुपर्ने उनको भनाइ छ ।         सहरीकरणको तीव्र विस्तारसँगै पुरानो ढल प्रणालीले अहिलेको आवश्यकता धान्न नसकेको उल्लेख गर्दै कार्यवाहक प्रमुख डङ्गोलले दीर्घकालीन सोचका साथ आधुनिक वर्षा पानी व्यवस्थापन प्रणाली (स्टर्म वाटर ड्रेनेज) विकास गर्नुपर्नेमा जोड दिइन् । अतिक्रमणका कारण पनि यस्ता समस्या उत्पन्न हुने गरेको उनको तर्क थियो ।   

देवानगञ्ज घटनाप्रति मुस्लिम आयोगको चिन्ता, सरकारसँग क्षतिपूर्ति र निःशुल्क उपचारको माग

काठमाडौं । मुस्लिम आयोगले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा स्थानीय समुदायबीच भएको झडप र त्यसपछि उत्पन्न अशान्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सबै पक्षसँग अपिल गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीद्वारा बिहीबार जारी अपिलमा घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । आयोगले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । आयोगले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाज भएको उल्लेख गर्दै सदियौँदेखि कायम रहेको आपसी सद्भाव र सहिष्णुतामा पछिल्लो समय विशेषगरी तराई–मधेशका केही स्थानमा देखिएका गतिविधिले खलल पुर्‍याइरहेको जनाएको छ । यस्ता घटनाले सामाजिक तथा धार्मिक सहिष्णुतामा नकारात्मक असर पार्ने भन्दै आयोगले सबै समुदाय, नागरिक समाज, राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, धर्मगुरु, सञ्चारकर्मी तथा प्रबुद्ध व्यक्तित्वलाई संयमता अपनाउन र धार्मिक तथा सामाजिक सद्भाव जोगाउन जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेको छ । देवानगञ्ज घटनापछि उत्पन्न तनावलाई संवाद र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिँदै आयोगले शान्ति, सद्भाव र सामाजिक एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरेको छ ।