स्वाभिमान लघुवित्तको १० प्रतिशत लाभांश घोषणा
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको जनाएको छ । फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीहरूलाई वितरण गरिनेछ ।
विदेशमा रहेका नेपालीले आजसम्म कालिन्चोक हाइड्रोको आईपीओमा आवेदन दिन सक्ने
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन १७ गते अन्तिम दिन रहेको छ । फागुन १३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १३ लाख ७५ हजार कित्ता सेयर जारी गर्नेछ । सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८२ हजार ५०० कित्ता सेयर श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
पुँजी ९९ करोड, लाभांश डेढ अर्ब रुपैयाँ
काठमाडौं । राजेश मेटल क्राफ्टस लिमिटेडले डेढ सय प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको फागुन १५ गते बसेको बैठकले १४९.९२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीका अनुसार चुक्ता पुँजी ९९ करोड रुपैयाँको १४२.४२ प्रतिशतका दरले १ अर्ब ४१ करोड रुपैयाँ बराबर बोनस सेयर र कर प्रयोजनसहितका लागि ७.५० प्रतिशतका दरले ७ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ नगद गरी कुल १४९.९२ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ४२ लाख १० हजार रुपैयाँ लाभांश प्रस्ताव गरिएको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत २ गते राजेश मेटल क्राफ्टस लिमिटेडको कार्यालय, थापाथली, काठमाडौंमा दिउँसो २ बजे विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सभाले प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने गर्नेछ । काठमाडौं । राजेश मेटल क्राफ्टस सन् १९९३ मा उद्योगी श्रवण कुमार अग्रवालद्वारा स्थापना गरिएको उद्योग हो । कम्पनी पारिवारिक स्वामित्वमा सञ्चालन हुँदै आएको छ । यसको सेयर संरचना ६ जना व्यक्ति र ४ वटा संस्थाको स्वामित्वमा छ । कम्पनीले इस्पातका पाइप, जस्ती पत्रा तथा रङ्गीन पत्रालगायत विभिन्न इस्पातजन्य सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले मुख्य कच्चा पदार्थका रूपमा हट रोल्ड कुइल भारतबाट आयात गर्छ । उक्त कच्चा पदार्थलाई आफ्नै कोल्ड रोलिङ मिलमार्फत प्रशोधन गरी कोल्ड रोल्ड कुइल उत्पादन गरिन्छ र त्यसपछि अन्तिम तयारी सामग्री निर्माण गरिन्छ । आरएमसीको मुख्य बजार आन्तरिक बजार नै रहेको छ । निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो मागलाई लक्षित गर्दै कम्पनीले स्वदेशमै इस्पातजन्य सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीले सन् २०२४ मा ४ अर्ब १० करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ४ अर्ब ४६ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ८ अर्ब ५७ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा ७ अर्ब ५७ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब २६ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ ।