जो आफ्नो मात्रै जित खोजिरहेका छन्

काठमाडौं । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा केपी शर्मा ओली एकै दिन पूर्वका तीन जिल्लामा आयोजना गरिएका आमसभामा हेलिकोप्टरमार्फत पुगेर सम्बोधन गरेको समाचार अहिले पनि खोज्यो भने सहजै भेटिन्छ । २०७९ को चुनावमा उनले सुदूरपश्चिमको धनगढीको आमसभालाई सम्बोधन गरेर सोही दिन डडेल्धुरा र दार्चलामा पनि पुगेर काठमाडौं फर्किएको समाचार अहिले पनि विभिन्न अनलाइनहरुमा सहजै भेटिन्छ ।   २०७० को संविधानसभा निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पादेखि चितवन र काठमाडौंसम्मको सभामा उपस्थित भएर पार्टीको राष्ट्रव्यापी उपस्थिति देखाउन सक्रिय थिए । उनले पनि एकै दिन ३/४ वटा सभामा पुगेर मतदातालाई रिझाउने काम गर्थे । २०७४ को बाम गठबन्धनमा त ओली र प्रचण्ड कयौं ठाउँमै एउटै हेलिकप्टरमा पुगेर एकैदिन ठाउँ-ठाउँमा आयोजना गरिएका जनसभालाई सम्बोधन गर्ने गरेका थिए ।  २०७९ मा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन हुँदा प्रचण्ड र कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा पनि हेलिकप्टरमा गएर ठाउँ-ठाउँका जनसभाहरुमा सम्बोधन गर्थे । उनीहरु आफू उम्मेदवार बनेको ठाउँभन्दा पनि जनसभामै सम्बोधन गरेर आफ्नो पार्टीप्रति जनताको आकर्षण बढाउन तल्लिन हुन्थे ।  उनीहरू देश दौडाहामा निस्केर आफ्नो पार्टीका उम्मेदवारका लागि माहोल बनाउने अभियानमा जुट्थे । उनीहरूलाई आफ्नो जित सुनिश्चित छ भन्ने आत्मविश्वास हुन्थ्यो, त्यसैले आफ्नो भन्दा पार्टीको जित प्राथमिकतामा राख्थे । हेलिकप्टरमा यात्रा गरेर एक किसिमको माहोल सिर्जना गर्थे । ती दृश्यहरु केवल प्रचार अभियान मात्र थिएनन्, शक्ति प्रदर्शनको प्रतिक पनि थिए ।   तर, अहिले परिदृश्य फरक छ । शीर्ष नेताहरुलाई चुनाव त लागेको छ । तर, आफू र आफ्नै लागि । उनीहरुको पार्टीले न जनसभा आयोजना गर्न सकेको छ नत उनीहरू आफू बाहेकका उम्मेदवारको निर्वाचन क्षेत्रमा पुगेर मतदातासँग मत मागिरहेका छन् । अहिले न हेलिकोप्टरको गर्जन सुनिन्छ नत विशाल आमसभामा गर्जिने नेताहरुका चिल्ला भाषण सुनिन्छन् । अहिले विशाल आमसभाहरू देखिन छाडेका छन् ।  फागुन २१ गतेको चुनाव आउन अब दुई साता पनि बाँकी छैन । नेताहरुलाई प्रचार प्रचार गर्न अधिकतम् अब एक सातामात्रै बाँकी छ । किनकी अर्को साताको मध्यतिर मौन अवधि सुरु हुन्छ । त्यो अवधिमा न प्रचारप्रसार गर्न पाइन्छ नत घरदैलो नै । तर, यो ‘प्राइम टाइम’ मा पनि नेताहरु सुस्त छन्, अहिलेसम्म उनीहरुले बृहत आमसभा त परै जाओस्, मतदातालाई मत दिनु है भनेर एउटा समान्य गल्ली र कोठे सभा पनि गरेका छैनन् ।  आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त शीर्ष नेताहरू अहिले आफ्नै निर्वाचन क्षेत्रमा सीमित भएका छन् । चुनावी मैदानमा उनीहरूको ध्यान राष्ट्रिय प्रचारभन्दा व्यक्तिगत जितमा केन्द्रित देखिन्छ । राजनीति जस्तो सामूहिक अभ्यासमा व्यक्तिकेन्द्रित राजनीतिक रणनीति हाबी हुँदै गएको संकेत यसले दिन्छ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओली अहिले झापा-५ मा मात्र सक्रिय छन् । ६ पटक सोही क्षेत्रबाट निर्वाचित भइसकेका उनी राजनीतिक जीवनको पहिलो पटक संघर्षपूर्ण घरदैलो अभियानमा देखिएका छन् । एमालेका एक नेताका अनुसार ओलीले संसदीय चुनावमा घरघरमा पुगेर मत मागेको यो पहिलो पटक हो । विगतमा उनी आफ्नो क्षेत्रमा सहज जितको विश्वासमा अन्य जिल्लामा प्रचार गर्न जान्थे । अहिले त्यो सहजता गुमेको छ । उनी आफ्नै जितको खोजीमा छन् । उनी मतदाताका अनेकन प्रहार सहेर सुस्त रुपमा चुनावी परिणाम आफ्नो पोल्टामा पार्ने संघर्ष गरिरहेका छन् । त्यति गर्दा पनि उनले झापा–५मा चुनौती महसुस गरिरहेका छन् ।  विगतका चुनावहरुमा काठमाडौंमै बसेर राष्ट्रिय चुनावी समन्वय गर्ने र आफ्नो निर्वाचन क्षेत्रमा केवल औपचारिक उपस्थिति जनाउने ओली यसपटक खल्तिमा ओखती बोकेर चुनावी प्रचार प्रसारमा छन् । जेन–जी आन्दोलनपछि सत्ता गुमाएका उनी एमालेका लागि भावी प्रधानमन्त्रीको अनुहार भए पनि मनोनयनयता देश दौडाहा छाडेर आफ्नै क्षेत्रमा सीमित हुनुपर्ने बाध्यतामा छन् ।  घरदैलोमा व्यस्त केपी शर्मा ओली । उनी मनोनयन दर्तापछि तीन पटक झापा पुगेर आधा महिना उतै काटिसके । घरदैलो अभियानमा उनले मतदाताका तीखा प्रश्नको सामना गरिरहेका छन् । तर, पनि मौन हुँदै मत मागिरहेका छन् ।  ओलीका प्रचारप्रसार संयोजक देवेन्द्र दाहालका अनुसार अबको चुनाव मुद्दामुखी र मतदातामुखी हुनुपर्छ । यसले गर्दा शीर्ष नेताहरू आफ्नै क्षेत्रमा केन्द्रित हुनु स्वाभाविक हो । आवश्यकता अनुसार प्रदेशस्तरका सभा र लक्षित आमसभा गर्ने योजना भएपनि प्राथमिकता घरदैलो र प्रत्यक्ष संवादलाई नै दिइएको दाहालको भनाइ छ ।  नेकपा एमालेका कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार नारा र भीडभन्दा प्रत्यक्ष भेटघाट, घरदैलो, साना अन्तक्र्रिया र स्थानीय मुद्दामा स्पष्ट योजना अहिलेका मतदाताले खोजिरहेका छन् । सामाजिक सञ्जाल र डिजिटल प्रचारले ठूला भौतिक सभाको आवश्यकता केही हदसम्म घटाएको अनुभवका आधारमा यो राणनीति अपनाइएको उनको भनाइ छ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पनि कम्ता सास्ती छैन । पूर्वी रुकुममा खसीको कलेजो खाँदै र खल्तीमा भुटेको भटमास हालेर दिनरात उकाली ओराली गरिरहेका छन् प्रचण्ड । २०७९ को निर्वाचनमा गोरखा–२ बाट चुनाव लडेर जित हासिल गरेका उनी यस पटक पूर्वी रुकुममा पुगे । त्यसलाई उनी आफ्नो बहादुरी सम्झिन्छन् । उनले मतदाता र आलोचकहरुलाई भन्ने गरेका छन्, ‘देशका हरेक क्षेत्रबाट चुनाव लडेर जित्न सक्ने व्यक्ति म मात्रै हो ।’ स्थानीय मतदातासँग पुष्प कमल दाहाल ‘प्रचण्ड’ ।  संयोजक प्रचण्ड पनि अहिले आफ्नै जितमात्रै खोजिरहेका छन् । त्यसका लागि उनी माओवादी आधारभूमि पूर्वी रुकुम पुगे । त्यहाँ पनि उनी चुनौती महसुस गर्दै दिनरात प्रचारप्रसारमा लागि रहेका छन् । उनले पनि देशव्यापीरुपमा विगतको जस्तो आमसभा गरेर सम्बोधन गर्ने अभ्यास रोके ।  तीन पटक प्रधानमन्त्री बनिसकेका प्रचण्डले फागुन २१ लाई चुनौतीपूर्ण चुनावका रुपमा लिएका छन् । सोही क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीले सहिद पुत्र सन्दिप पुनलाई उम्मेदवार बनाएको छ ।  २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा पहिलो पटक भाग लिँदै उनी काठमाडौं-१० र रोल्पा-२ बाट उम्मेदवार बनेर विजयी भएका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा उनी काठमाडौं-१० र सिराहा-३ बाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनी काठमाडौं–१० मा पराजित भए भने सिराहा-३ बाट झिनो मतले विजयी बने ।  २०७४ सालको निर्वाचनमा उनी गृह जिल्ला चितवन-३ बाट निर्वाचित भएका भए । २०७० सालको निर्वाचनपछि सत्ताका लागि कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर संसदमा पुगे उनी । अहिले कुनै पनि पार्टीले गठबन्धन गरेका छैनन् । त्यसको चुनौती महसुस गर्दै उनी पूर्वी रुकुम पुगेका हुन् । त्यसैले पनि उनी अहिले पार्टीका अन्य उम्मेदवारको निर्वाचन वा जनसभामा सहभागी छैनन् । उनको दैनिकी पूर्वी रुकुममै बितिरहेको छ । नेपाली कम्युनिष्ट पार्टीले पनि अनावश्यक तामझाम घटाएर परिणाममुखी प्रचारमा ध्यान दिएको बताएको छ । पार्टीका कार्यालय सचिव गणेशमान पुन भन्छन्, ‘साना कार्यक्रम प्रभावकारी छन् । खर्च पनि कम हुन्छ, त्यसैले विगतको दोहोर्याएनौं ।’ सोही पार्टीका सहसंयोजक माधव कुमार नेपाल पनि अहिले ठूलो चुनौतीमा छन् । उनी पनि दिनरात लागेर रौतहट-१ का मतदातालाई रिझाइरहेका छन् ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि सर्लाही-४ बाहिर खासै सक्रिय देखिएका छैनन् । आन्तरिक संघर्षपछि नेतृत्वमा पुगेका थापाबाट देशव्यापी अभियानको अपेक्षा गरिएको थियो । इतिहासमै पहिलो पटक युवा नेतृत्व पाएको कांग्रेसले गगनको नेतृत्वमा देशव्यापी माहोल सिर्जना गरेर चुनावमा अनपेक्षित जित हासिल गर्छ भन्ने अनुमान धेरैको थियो । तर, गगन पनि आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भए ।  २०७० सालदेखि काठमाडौं-४ बाट निरन्तर निर्वाचित हुँदै आएका थापाले यसपटक वारेसानामार्फत सर्लाही ४ मा उम्मेदवारी दर्ता गराएपछि मुलुककै राजनीतिक वृत्तमा यो क्षेत्र चर्चाको केन्द्रमा रह्यो । जुन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह पनि उम्मेदवार बनेका छन् । कांग्रेसको गढ मानिएको सो क्षेत्रमा थापाको प्रवेशले नयाँ राजनीतिक माहोल सिर्जना गरेको छ ।  सर्लाही-४ मा घरदैलो गर्दै गगन कुमार थापा ।  गगनले अघिल्लो साता मधेशमै प्रतिज्ञा सभा आयोजना गरे । त्यसपछि अन्य प्रदेश र ठाउँमा आमसभा गर्नेबारे कांग्रेसले अहिलेसम्म योजना सार्वजनिक गरेको छैन । सभापति थापा पनि आफ्नो क्षेत्रबाहेकमा देखिएका छैनन् । नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका उनलाई पनि आफ्नो जित नै महत्वपूर्ण विषय रहेको महसुस गरेका छन् ।  नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे भन्छन्, ‘ठूल्ठूला आमसभा गर्नु हाम्रो परम्परा हो । तर, अहिले हामी मतदातासँग प्रत्यक्ष सम्पर्कमा जोड दिइरहेका छौं, केन्द्रीय स्तरका केही रणनीतिक सभा हुनेछन् तर अधिकांश कार्यक्रम निर्वाचन क्षेत्र केन्द्रित नै रहनेछन् ।’ उनले थपे, ‘हामी जनतामाझ पुग्ने अभियानमा छौं । आवश्यकता अनुसार आमसभा गर्ने योजना छ तर, अनावश्यक तामझामभन्दा परिणाममुखी प्रचारमा ध्यान छ ।’ प्रचारप्रसारको ट्रेण्ड परिवर्तन शीर्ष दलहरुका नेताहरु आफ्नै निर्वाचन क्षेत्रमा चुनौती महसुस गरिरहेको बुझ्न सकिन्छ । जनमत अब पहिले जस्तो स्थिर देखिँदैन । त्यसले पनि ठूला राजनीतिक दल र नेताहरुले प्रचारप्रसारको ट्रेण्ड फेरेका छन् ।  पार्टी र शीर्ष नेताहरुले चुनावी आमसभा तथा भाषणवाजी नगर्नुमा केही कारण देख्छन् राजनीतिक विश्लेषक पर्शुराम घिमिरे । उनका अनुसार निर्वाचन प्रणाली प्रत्यक्ष प्रतिस्पर्धामुखी भएकाले प्रत्येक नेताका लागि आफ्नै क्षेत्रमा मत सुरक्षित गर्नु सबैभन्दा ठूलो प्राथमिकता हो । खर्च र स्रोत व्यवस्थापनको दबाबले पनि हेलिकप्टर चार्टर गरेर ठूला मञ्च र आमसभामा पुग्नु नेताहरुका लागि महँगो पर्ने घिमिरेको बुझाइ छ ।  घिमिरेका अनुसार बदलिँदो मतदाता मनोविज्ञानले चुनावी रणनीतिमा ठूलो प्रभाव पारेको छ । विगतमा भीडको आकारले लोकप्रियता मापन गरिन्थ्यो । अहिले भने दलहरुले मतदातासँग प्रत्यक्ष संवाद, स्थानीय मुद्दामा स्पष्ट योजना र उम्मेदवारको पहुँचलाई प्राथमिकता दिन थालेका छन् । त्यसैले दलहरूले घरदैलो, टोलस्तरका अन्तक्र्रिया र साना छलफल कार्यक्रमलाई प्राथमिकतामा राखिरहेका छन् । दलहरूले पनि यही परिवर्तन स्वीकार गरेको बताएका छन् । एमालेका एक उपाध्यक्ष तथा गुल्मी २ का उम्मेदवार गोकर्ण विष्ट भन्छन्, ‘अबको चुनाव मतदातामुखी हुनुपर्छ । शक्ति प्रदर्शनभन्दा विश्वास जित्नु महत्पूर्ण छ ।’ उनी आफै पनि पहिलेदेखि नै सम्वाद र अन्क्र्रियामा लागेका उम्मेदवार हुन् । नेपाली कांग्रेसको काठमाडौं-१ का उम्मेदवार प्रवल थापाले पनि ठूला सभाभन्दा लक्षित अन्तक्र्रियालाई जोड दिएको जानकारी दिए । थापाले भने, ‘जनताले भाषणभन्दा कामको योजना खोजेका छन् । त्यसैले हामी घरदैलो र प्रत्यक्ष संवादमा केन्द्रित छौं ।’  विश्लेषक घिमिरेका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रभाव, खर्च व्यवस्थापनको दबाब र कडा प्रतिस्पर्धाले दलहरूलाई आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुन बाध्य बनाएको छ । यस पटकको चुनावमा भीडको आकारभन्दा संवादको गुणस्तर निर्णायक बन्ने संकेत देखिएको घिमिरेको बुझाइ छ । उनी भन्छन्, ‘राजनीतिक दलहरू शक्ति प्रदर्शनभन्दा विश्वास निर्माणको रणनीतिमा अघि बढिरहेका छन् ।’ यो परिवर्तनको कारण निर्वाचन आयोग पनि भएको धेरैको बुझाइ छ । निर्वाचन आयोगले चुनावी खर्च, प्रचार शैली र स्रोतको प्रयोगमा कडाइ गरेको  छ। हेलिकोप्टर प्रयोग अत्यन्त खर्चिलो हुने भएकाले त्यसको निगरानी कडा भएको छ ।  रास्वपाले जनकपुरमा आयोजना गरेको परिवर्तन उद्घोष सभामा रवि र बालेन ।  परिवर्तनको लहर, विकल्पको त्रास नेपाली राजनीतिमा नयाँ शक्तिको उदयले पुराना दललाई रक्षात्मक बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश, सुदूरपश्चिम र कर्णालीमा बृहत सभा आयोजना गर्दै आक्रामक अभियान चलाइरहेको छ । पार्टीका सभापति रवि लामिछाने वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विभिन्न प्रदेशमा पुगेर परिवर्तनको सन्देश बोलिरहेका छन् । उनीहरूको अभियानले युवा र असन्तुष्ट मतदातालाई आकर्षित गरिरहेको देखिन्छ ।  पुराना दलका शीर्ष नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा सीमित हुनु रवि र बालेन पनि हुन् । सामाजिक सञ्जालमा देखिएको प्रभावले शीर्ष नेताहरुका लागि राष्ट्रिय माहोल बनाउनेभन्दा व्यक्तिगत जित सुरक्षित गर्ने प्राथमिकता देखिन्छ । नेपालको मतदाता संरचनामा जेनजी पुस्ताको प्रभाव उल्लेखनीय रूपमा बढेको छ । सामाजिक सञ्जालमा सक्रिय यो पुस्ता परम्परागत भाषण र नाराबाट प्रभावित हुँदैन भन्ने विषय शीर्ष नेताहरुले बुझिसकेका छन् । उनीहरू जेनजीहरु तथ्य, पारदर्शिता र जवाफदेहिता खोज्छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिमा प्रश्न गर्ने संस्कृतिलाई बल दिएको छ । नेताहरू अब केवल आमसभामा ठूलो भीड जम्मा गरेर सन्तुष्ट हुन सक्दैनन् । सामाजिक सञ्जालमा उठ्ने प्रश्न, आलोचना र ट्रेन्डहरूले चुनावी समीकरण प्रभावित पार्न सक्छ । यही कारण नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिन थालेको अधिकांशको बुझाइ छ ।  यो नेपाली राजनीतिको ‘कोर्ष करेक्सन’का रुपमा पनि धेरैले बुझेका छन् । नेपालको चुनावी राजनीति अहिले संक्रमणकालीन अवस्थामा छ । हेलिकोप्टरमार्फत देश दौडाहा गर्ने नेताहरू घरदैलोमा सीमित भएका छन् । विशाल आमसभाको ठाउँमा व्यक्तिगत भेटघाटले प्राथमिकता पाएको छ । पुराना दल रक्षात्मक छन्, नयाँ दल आक्रामक छन् भने जेनजी पुस्ता निर्णायक भूमिकामा उभिएको छ । विश्लेषकहरु यसलाई राजनीतिक संस्कृतिको पुनर्संरचनाका रुपमा बुझ्छन् । नेताहरूको चुनौती अब केवल चुनाव जित्ने मात्र होइन, बदलिँदो मतदाता मनोविज्ञान बुझ्ने र विश्वास पुनर्स्थापित गर्ने पनि हो । 

काठमाडौं-५ मा रास्वपासँग प्रदीप र ईश्वरको टक्कर

काठमाडौं । काठमाडौं टोखाका कान्छाराम ड‌ंगोल (२७ वर्ष) को दैनिकी अहिले फेरिएको छ । उनको नजिकैको चोक र चिया पसल र गल्लीहरूमा अहिले कसलाई मत दिने भन्ने गफगाफले माहोल गर्माएको छ ।  हामीले काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ र टोखा नगरपालिकाका १५ वटै वडाका मुख्य बस्तीहरूमा तीन दिन लगाएर स्थलगत अवलोकन गर्यौं । यस क्षेत्रका रैथानेदेखि बसाइँसराइँ गरेर आएका कुल १२० जना मतदातासँग कुराकानी गर्यौं ।  सबैमा निर्वाचनको उत्साह छ, आशा छ र सँगै मनको कुनामा अन्योल पनि उत्तिकै छ । बसुन्धरामा किराना पसल सञ्चालन गर्दै आएका ५२ वर्षीय रामकृष्ण ढुंगेल पछिल्ला १० वर्षदेखि किराना व्यवसायमा संलग्न छन् । अघिल्ला दुइटा चुनावमा उनले यही क्षेत्रमा मतदान गरे । ढुंंगेललाई पनि चुनावले छपक्कै छोपेको छ । उनको पसलमा आउने ग्राहकसँग पनि उनी चुनावबारे सोधपुछ गर्छन् । उनी भन्छन्, ‘पहिले ग्राहकको पर्खाइ हुन्थ्यो, अहिले गफको पर्खाइ हुन्छ ।’  देश निर्वाचनको संघारमा पुगेपछि ढुंगेलको सोच बदलिएको छ । गत निर्वाचनमा उनले कांग्रेस उम्मेदवार प्रदीप पौडेललाई मत दिएका थिए । यस पटक भने उनी पुराना दललाई मत दिन इच्छुक छैनन् । ‘पुरानालाई धेरैपटक हे‍र्‍याैं । हाम्रो जीवनमा खासै परिवर्तन आएन । यसपटक नयाँलाई मतदान गर्ने सोच छ,’ उनी भन्छन् । रामकृष्ण ढुंगेल ढुंगेल एक्ला होइनन् । बसुन्धराकै सुरप्रसाद दंगाल (५१ वर्ष)को पनि उस्तै धारणा छ । ‘भ्रष्टाचार बढ्यो । युवाहरूलाई मौका दिनुपर्छ,’ उनले भने । यी दुवै मतदाताको झुकाव अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ देखिन्छ । विशेषगरी घण्टी चुनाव चिन्हले उनीहरूलाई आकर्षित गरेको छ । काठमाडौं–३ कै मञ्जु हमाल (५४ वर्ष) भन्छिन्, ‘अहिलेको माहोलले मतदाता दोमनमा छन् । सामाजिक सञ्जालले धेरै अलमल बनाएको छ ।’ उनका अनुसार नयाँ र पुरानो भन्ने भन्दा पनि एजेण्डा महत्त्वपूर्ण हुनुपर्छ । परिवर्तनका स्पष्ट योजना ल्याउने उम्मेदवारलाई मत दिने उनी बताउँछिन् । हमाल मतदान गर्दा विवेक प्रयोग गर्ने विचारमा छिन् । निजामती कर्मचारी समेत रहेकी सूर्यकुमारी अधिकारी (५७ वर्ष) पनि दलभन्दा उम्मेदवार हेर्ने पक्षमा छिन् । यस पटक विवेक प्रयोग गरेर मत हाल्ने हो उनी बताउँछिन् । उनका अनुसार यस क्षेत्रका परीचित व्यक्तिलाई मतदाताले स्वीकार्ने छन् । ‘यसपटक मतदान आदत भन्दा विचारबाट हुनेछ,’ उनले भनिन् । बुढानीलकण्ठ नगरपालिका–६ की कमला कुमाल (५३ वर्ष) स्पष्ट भन्छिन्, ‘पुराना दलसँग वाक्क भइसक्यौं । नयाँलाई एक पटक मौका दिनुपर्छ ।’   उनको तर्क छ, ‘स्थानीय तहमा देखिएको नयाँ नेतृत्वको कामले पनि राष्ट्रिय स्तरमा नयाँ विकल्प खोज्न प्रेरित गरेको छ ।’  सबै मतदाता नयाँ तर्फमात्र ढल्किएका छैनन् । बुढानीलकण्ठ–३ का दमनसिंह कार्की (६९ वर्ष) भने एमालेप्रति निष्ठावान छन् । ‘सूर्य चिन्हमा लगाइरहेको मत अरूमा हाल्न सकिँदैन,’ उनी भन्छन् ।  उनका अनुसार समस्या दलमा होइन, कार्यान्वयनमा छ । ‘कडा कानुन ल्याउनुपर्छ । कानुन कार्यान्वयनमा तदारुकता अपनाउनुपर्छ । नेताको मान्छेलाई सुविधा दिने प्रचलन हट्नुपर्छ,’ उनले भने ।  टोखाका ३० वर्षीय प्रकाश डंगोल पनि एमालेको देश पहिला भन्ने नाराबाट प्रभावित छन् । उनी भन्छन्, ‘मेरो मत देश निर्माणका लागि हो ।’ टोखाकै ४७ वर्षीय हीराकाजी महर्जन कांग्रेस उम्मेदवार प्रदीप पौडेल पछिल्लो सरकारमा रहँदा गरेका कामबाट प्रभावित छन् । ती कामलाई पूर्णता दिन पनि कांग्रेसलाई मत दिने महर्जन बताउँछन् ।  चिन्ह चिन्ने, उम्मेदवार नचिन्ने मतदाता टोखा नगरपालिका क्षेत्रका मतदातामा रोचक विषय देखियो । धेरै मतदाताले उम्मेदवारको नाम नचिने पनि चुनाव चिन्ह भने प्रस्टसँग चिनेका छन् । ‘पार्टीको नाम थाहा छैन, चुनाव चिन्ह थाहा छ, टोखा पोखरी अगाडिको पसलकी कान्छीमाया श्रेष्ठ (८५ वर्ष) ले हाँस्दै भनिन्, ‘यसअघि रुखमा मतदान गरेकी थिएँ, अब घण्टीमा भोट हाल्छु ।’ २०६४ सालको संविधानसभा निर्वाचनदेखि तत्कालीन नेकपा माओवादीलाई मत दिएका केही मतदाताले पनि यस पटक घण्टी रोज्ने बताएका छन् । परिवर्तनको लहरमा चिन्ह प्रतीकात्मक रूपमा शक्तिशाली बनेको देखिन्छ ।  अर्को पसलकी सञ्चालक रमादेवी कर्माचार्य (४१ वर्ष) आफ्नो हरेक पटकको मतदान परिवर्तनको पक्षमा गएको बताउँछिन् । ‘२०६४ सालमा माओवादीलाई मत दिइएको  हो । त्यसपछि माओवादीलाई नै दिइयो, अहिले घण्टीमा दिने हो,’ उनले भनिन् ।  यी त प्रतिनिधि मत हुन् । हामीले यस क्षेत्रका विभिन्न उमेर समूह, जाती, लिङ्ग र वर्णका मतदातालाई भेटेका छौं । उनीहरूसँग लामो कुराकानी गरेका छौं । १२० जना मतदातासँग तीन दिन समय लगाएर कुराकानीमा हामीले नयाँको लहर बढी देख्यौं । मतदाताहरूले उम्मेदवार चिनेका छैनन्, उम्मेदवारहरू उनीहरूकहाँ पुगेका पनि छैनन् । तर, उनीहरुलाई चुनाव चिन्ह भने थाहा छ ।  यो निर्वाचन क्षेत्रमा कुल १५ वटा वडा पर्छन् । जसमध्ये काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५ गरेर ४ वटा वडा यस क्षेत्रमा पर्छन् । बुढानिलकण्ठ नगरपालिकाका ११ देखि १५ सम्मका ५ वटा वडा र टोखा नगरपालिकाका ५ देखि ९ सम्मका ६ वटा वडा यस क्षेत्रमा पर्दछन् । लाजिम्पाटको धोबीचौरदेखि टोखासम्म, बानियाँटारदेखि बुढानीलकण्ठसम्म फैलिएको यो क्षेत्र सामाजिक रूपमा विविधताले भरिएको छ । रैथाने नेवार समुदाय, काँठ क्षेत्रका बाहुन क्षेत्री तथा बसाइँसराई गरेर आएका विभिन्न समुदायका मतदाता यहाँ बसोबास गर्छन् । क्षेत्र नम्बर ५ मा ७८ हजार ११४ मतदाता रहेका छन् । जसमध्ये पुरुषको संख्या ३७ हजार २७८ छ । यस क्षेत्रमा महिलाको संख्या ४० हजार ८३२ छ भने ४ जना अन्य पहिचान भएका मतदाता रहेका छन् । ति मतदाता मध्ये १९ वर्षदेखि ८४ वर्षसम्मका मतदातासँग हामीले संवाद गर्यौं । लाजिम्पाटको धोबिचौर आसपास र टोखाका रैथाने नेवार समुदायदेखि काँठका रैथाने ब्राह्मण क्षेत्री र पछिल्लो समय बसाइँ सरेर आएका मतदातासँग हामीले संवाद गर्यौं । हामीसँगको संवादमा अधिकतम युवा मतदाता परिवर्तनप्रति बढी आकर्षित देखिए भने ज्येष्ठ मतदाता स्थिरता र अनुभवलाई प्राथमिकता दिने भेटिए । झिनो मतले हुनेछ हारजित  हामीले भेटेका १२० मतदातामध्ये २८ प्रतिशत मतदाताले रास्वपालाई मत दिने बताए । तीमध्य धेरैजसो पहिलोपटक मतदान गर्ने मतदाता छन् । २५ प्रतिशत मतदाताले एमालेलाई रुचाएको देखियो । एमालेलाई समर्थन गर्नेहरूको समूहमा रैथाने नेवार समुदायदेखि काँठ क्षेत्र र बसाइँ सरेर आएका मतदाताको संख्या अधिक देखिन्थ्यो ।  हामीले भेटेका मध्ये एमाले र कांग्रेसलाई मतदान गर्छु भन्ने मतदाता बराबर देखिए । एमालेलाई जस्तै कांग्रेसलाई मतदान गर्ने मतदाता पनि २५ प्रतिशत नै देखिए । क्षेत्रीय हिसाबले हेर्दा कांग्रेसलाई मतदान गर्ने मतदाता तुलनात्मक रुपमा छरिएर बसेको पाइयो ।  उमेर समूहमा दोस्रो पटक मतदान गर्नेदेखि पाका उमेर समूहका मतदाताले कांग्रेसलाई रुचाएको देखियो । यस्तै, १० प्रतिशत मतदाता अहिलेसम्म निर्णय गरिसकेका छैनन् । उनीहरूले कसलाई मतदान गर्ने भन्ने निर्णय गरिसकेका छैनन् । यो तथ्यांकले स्पष्ट देखाउँछ । यस क्षेत्रमा तीन दलबीच कडा प्रतिस्पर्धा छ । यस निर्वाचनमा विशेषगरी १० प्रतिशत अनिर्णित मतदाता निर्णायक शक्ति बन्न सक्ने देखिन्छ । तीमध्ये धेरैले अघिल्ला निर्वाचनहरूमा एमाले वा कांग्रेसलाई मत दिएको बताएका थिए ।  यस निर्वाचनमा भने सन्तानको दबाब, आफ्नै अन्तरआत्माबीचको द्वन्द्व र केही पुराना नेताप्रतिको वितृष्णाको कारण आफुहरु निर्णयमा पुगि नसकेको उनीहरुले बताएका छन् । यस्तै, ३ प्रतिशत मतदाताको रुचिमा नेपाली कम्युनिष्ट पार्टी परेको छ ।  यस क्षेत्रमा राप्रपा, नेमकिपाको पनि उपस्थिति रहेको मतदाताको धारणाबाट बुझ्न सकिन्छ ।  पुरानासँग असन्तुष्टि, नयाँसँग आशंका  बसुन्धाराका प्रताप बस्नेत (४८ वर्ष) भन्छन्, ‘पुराना पुस्ताले गल्ती गरेकै कारण नयाँ दल रोज्ने चाहना छ । तर, नयाँप्रति पनि धेरै आशा छैन ।’ उनको अपेक्षा स्वास्थ्य र शिक्षा निःशुल्क होस् भन्ने छ । त्यस सम्बन्धित प्रतिवद्धता उनले नयाँहरूमा खोजेका छन्।  प्रताप बस्नेत लाजिम्पाटका सुनिल रजक (४१ वर्ष) रोजगारी सुनिश्चितता र युवालाई विदेश पलायनबाट रोक्ने योजना सहितको दललाई मत दिने बताउँछन् । यसको सम्भावना उनले स्थापित दलमै खोज्ने चाहना राखेका छन् । उनले यसअघि कांग्रेसको रुख चिन्हमा मतदान गरेका थिए । बसुन्धाराका मदनबहादुर कार्की (६८ वर्ष)पनि एजेण्डा केन्द्रित मतदाता हुन् । व्यक्तिको विगतको काम र योजना हेरेर मत दिने उनको तर्क छ । युवालाई उद्योग, कारखाना र रोजगारीमार्फत देशमै रोक्ने योजना सबैजसो मतदाताको साझा माग देखिन्छ । पुराना दलको प्रतिरक्षा निर्वाचन नजिकिँदै जाँदा यहाँका धेरै मतदाता नयाँ विकल्पतर्फ आकर्षित देखिन्छन् । यस क्षेत्रका केही मतदाता भने पुराना दलकै पक्षमा दृढ उभिएका छन् । उनीहरूको तर्क स्पष्ट छ कि देश निर्माण अनुभव, संगठन र स्थिरताबाट मात्र सम्भव हुन्छ ।  धापासीका भुवनकुमार हमाल (४१ वर्ष) र प्रदीपबहादुर खड्का (४३ वर्ष) जस्ता मतदाता भने पुराना दलकै पक्षमा छन् । ‘देश निर्माणमा कांग्रेसको योगदान ठूलो छ,’ खड्का भन्छन् । उनीहरूका अनुसार नयाँ दलसँग अनुभवको अभाव छ । परिवर्तनको चाहना भए पनि स्थिर शासन पुराना दलले मात्र दिन सक्छन् भन्ने उनीहरूको विश्वास छ । एमालेलाई मत दिने हमाल पुराना दलको अनुभव र स्थिरताले मात्र देश बन्छ भन्ने मान्यता राख्छन् । काठमाडौं-५ मा देखिएको परिवर्तनको बहसबीच पुराना दल समर्थक मतदाताले स्थायित्व, संस्थागत अनुभव र ऐतिहासिक योगदानलाई आधार बनाउँदै आफ्नो अडान दोहो¥याइरहेका छन् । निर्वाचनको परिणामले परिवर्तन रोज्छ कि निरन्तरता, त्यो भने आगामी मतदानले तय गर्नेछ । स्थानीयहरूका अनुसार यसपटकको चुनावी माहोल विगतजस्तो चर्को छैन । ठूला सभा, जुलुस र नाराबाजी कम देखिन्छ । तर, सामाजिक सञ्जालमा बहस तातिएको छ । फेसबुक, टिकटक र मेसेन्जर समूहमा उम्मेदवार र दलबारे तीखा टिप्पणीहरू भइरहेका छन् । यसले मतदाताको धारणा निर्माणमा ठूलो भूमिका खेलेको देखिन्छ । नयाँ दलले आशा जगाएका छन् । पुराना दलसँग अनुभव र संरचना छ । तर, अनिर्णित मतदाता भने झुकाव पर्खिरहेका देखिन्छन् । काठमाडौं-५ मा चुनावी प्रतिस्पर्धा त्रिपक्षीय देखिन्छ । यो महासंग्राममा अहिलेसम्म रास्वपा सबैभन्दा बलियो देखिन्छ । अन्य कुरा यथावत रहेको अवस्थामा उसले २८ प्रतिशत मतसहित नेतृत्व गर्ने देखिन्छ । एमाले र कांग्रेस २५-२५ प्रतिशत मतसहित रास्वपालाई पछ्याउने मत विश्लेषणबाट देखिन्छ । यस समीकरणमा १० प्रतिशत अनिर्णित मत निर्णायक हुनेछ । यो मत रास्वपातिर ढल्केमा उसले ठूलो मतान्तरमा विजयी हासिल गर्नेछ भने एमाले र कांग्रेसतर्फ गएमा रास्वपालाई चुनौती बढ्नेछ । तर, यो मत एमाले र कांग्रेस एउटै पार्टीलाई जाने सम्भावना भने न्यून छ । पुराना पार्टीलाई नै यो मत गए पनि विभाजित हुनेछ । यो अवस्थामा भने रास्वपा नै अगाडि हुने देखिन्छ ।  काठमाडौं-५ को मत परिणामले केवल एक सांसद मात्र तय गर्ने छैन, बदलिँदो शहरी मतदाताको मनोविज्ञान पनि उजागर गर्नेछ । काठमाडौं-५ मा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल, नेपाल कम्युनिस्ट पार्टीका कल्पना शर्माm राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा उम्मेदवार छन् ।  निर्वाचनका लागि यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपालबाट दानिन्द्र जोशी, नेपाल मजदुर किसान पार्टीबाट शोभालाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट अशोक बिक्रम जिसी, प्रगति लोकतान्त्रिक पार्टी विष्णु श्रेष्ठ, मङ्गोल नेसनल अर्गनाइजेसनबाट मीरा गुरुङ, संयुक्त नागरिक पार्टीबाट स्याम काजी सुनुवार उम्मेदवार बनेका छन् ।  नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) निमेस खनाल, गतिशील लोकतान्त्रिक पार्टीबाट नीशा अधिकारी, जय मातृभूमि पार्टीबाट बसन्तराज कुँवर, श्रम संस्कृति पार्टीबाट अमित थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट ज्ञानेन्द्र प्रजापति, उज्यालो नेपाल पार्टीबाट श्रीराम गुरुङ, त्रिमूल नेपालबाट रमेश तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी) (एकल चुनाव चिह्न) बाट युवराज काफ्ले, आम जनता पार्टी (एकल चुनाव चिह्न) बाट कोमल पौडेलले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारका रूपमा क्यामुना मिजार, ढकबहादुर कार्की, धर्म डङ्गोल, प्रभा श्रेष्ठ र रमिता सापकोटा रहेका छन् । 

ह्याट्रिकका लागि तम्सिएका अमरेशसँग गगनको लडाइँ

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा झापा-५ पछि बढी चर्चामा भएको क्षेत्र हो सर्लाही-४ । जहाँ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंह, नेकपा एमालेका रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीका डा. रगनिश राय यादवबीच प्रतिस्पर्धा हुँदैछ । एमाले र नेकपाका उम्मेदवारको खासै चर्चा र चासो नभए पनि यस क्षेत्रमा मुख्य दाबेदार र प्रतिस्पर्धीका रुपमा थापा र सिंहलाई हेरिएको छ ।  नेपाली कांग्रेसजस्तो देशको ठूलो पार्टीका सभापति प्रतिस्पर्धा गर्ने क्षेत्र भएकोले पनि सर्लाही-४ अहिले बढी चर्चामा छ । विगतमा आफू चुनाव लड्दै आएको काठमाडौं-४ लाई छोडेर गगन सर्लाही-४ पुग्नुलाई धेरैले आश्चर्य, संशय र सहस्यपूर्ण विषयका रूपमा लिएका छन् । यद्यपि उनको प्रवेशले पनि सर्लाही-४ को माहोल गर्मराएको छ ।  यसअघि दुई पटक सोही क्षेत्रबाट जितेर लोकप्रिय नेताको छवि निर्माण गरिसकेका अमरेशकुमार जितको ह्याट्रिक गर्ने दाउमा रहेको बेला सोही क्षेत्रमा गगनको प्रवेशले मधेशमात्रै होइन, देशको राजनीतिक माहोल पनि तातेको हो । नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार बनाएर गगनलाई सर्लाही-४ मा उम्मेदवार बनाएको छ । रास्वपाले सर्लाही-४ जित्नै पर्ने रणनीतिका साथ अमरेशकुमारलाई अगाडि बढाएको छ ।  अमरेश सो क्षेत्रमा पराजित भएको खण्डमा रास्वपाले एक थान सांसद गुमाउने छ । तर, गगनको पराजयले भने सिंगो नेपाली कांग्रेस, गगन थापा र भावी प्रधानमन्त्रीको उम्मेदवारको पराजय हुनेछ । यसले गगनको राजनीतिक जीवनमा पनि ठूलो धक्कामात्रै लाग्ने छैन, नेपाली कांग्रेसको आगामी राजनीतिक रणनीति पनि असफल हुने अनुमान लगाउन सकिन्छ ।  यस्तो छ मत विश्लेषण सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलारा नगरपालिका, बरहथवा नगरपालिकाको वडा नं. १-४ र १३-१५, विष्णु गाउँपालिकाको वडा नं. १-४ र बासबरिया गाउँपालिकाको वडा नं. १-३ समेटिएको छ । यो क्षेत्रमा कुल एक लाख २१ हजार बढी मतदाता छन् ।  २०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंह २० हजार १७ अर्थात् कुल खसेको मतको २८.८८ प्रतिशत मत पाएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए । अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले पनि १४ हजार ६२२ मत प्राप्त गरेकी थिइन् । अन्य मधेशवादी दलले भने ५ हजारको हाराहारीमा मत पाएका थिए । २०७९ को चुनावमा रास्वपाका उम्मेदवार धिरज ठाकुरले भने १७० मत पाएका थिए । यो क्षेत्र राजनीतिक रूपमा चलाख भएको मतदाताको मतदानबाट पनि स्पष्ट हुन्छ । लामो समयदेखि राजनीतिक संगठन बनाएर क्रियाशील राजनीतिक दलको अघि दुई स्वतन्त्र उम्मेदवारले कुल खसेको मतको ५० प्रतिशत मत प्राप्त गरेका थिए । २०७९ मा सो क्षेत्रमा कुल ६९ हजार २८३ मत खसेको थियो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेसका उम्मेदवार अमेरशकुमार सिंह निर्वाचित भएका थिए । उनले २९ हजार ६७५ मत प्राप्त गर्दा राष्ट्रिय जनता पार्टी नेपालका राकेशकुमार मिश्रले २८ हजार १३६ मत पाएका थिए । अन्य दल तथा उम्मेदवारले ५०० मत पनि कटाउन सकेका थिएनन् । २०७४ र २०७९ को निर्वाचनमा पार्टीबाट र स्वतन्त्र भएर पनि अमरेश कुमार सिंहले नै विजयी हासिल गर्नुले उनको त्यहाँका मतदातासँग राम्रो सम्बन्ध रहेको र उनलाई मतदाताले पनि पत्याएको पनि बुझ्न कठिन छैन ।  २०७४ को संविधान सभा निर्वाचनमा भने सो क्षेत्रमा तराई-मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार महेन्द्र राय यादव विजयी भएका थिए । त्यतिखेर नेपाली कांग्रेसका उम्मेदवारले सो क्षेत्रमा २ हजार ६०५ मतमात्रै प्राप्त गरेको थियो । २०६४ को संविधान सभा निर्वाचनमा सद्भावना पार्टीका राजेन्द्र महतो १७ हजार ७३ मतले विजयी भएका थिए । त्यतिखेर सो क्षेत्रमा नेपाली कांग्रेसले ४ हजार २०७ मत मात्रै प्राप्त गरेको थियो ।  अघिल्ला निर्वाचन र ती निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको मतलाई विश्लेषण गर्ने हो भने प्रत्येक निर्वाचनमा कांग्रेसले मत बढाउँदै लगेको देखिन्छ । तर, कांग्रेसले प्रत्येक पटक स्थानीय नेतालाई नै उम्मेदवारका रूपमा उठाएको छ । २०७४ मा कांग्रेसबाट जितिसकेका अमरेश कुमार २०७९ मा स्वतन्त्रबाट उठ्दा र कांग्रेसको आधिकारिक उम्मेदवारसहित तत्कालीन सरकारमा भएको दलले पनि कांग्रेसलाई सहयोग गर्दा कांग्रेस त्यहाँ पराजित हुन पुग्यो । अमरेशले नै बाजी मारे । यसले अमरेश व्यक्तिगत र सांगठनिक रुपमा पनि सर्लाही-४ मा बलियो उम्मेदवारका रूपमा हेरिएका छन् । म यहाँका जनताको सुख दु:खमा सँगै छु, काठमाडौंबाट आएर यहाँ चुनाव जित्न सकिँदैन, यहाँको समस्या यहाँकै मान्छेलाई थाहा हुन्छ, त्यो कुरा यहाँका मतदातालाई राम्रोसँग थाहा छ । अहिले रास्वपाले बोलेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ । रास्वपाले पहिलो पटक देशमा मधेशको छोरा प्रधानमन्त्री बन्ने नारा लगाएको छ । रास्वपाले जनकपुरमा उद्घोषसभा गर्दा सर्वसाधारणको ठूलो भीड उपस्थित थियो । बढ्दै गइरहेको रास्वपाको क्रेज, अमरेशको व्यक्तिगत मत र प्रभाव र बालेन प्रधानमन्त्री बन्ने लगायत एजेण्डाले अमरेश जित्न सक्ने आधार बलियो बन्दै गएको छ ।  रास्वपाका उम्मेदवार सिंहले मधेशकै छोरा प्रधानमन्त्रीको उम्मेदवार रहेको र आफूले पनि राम्रो काम गरेकोले आफ्नो जित सुनिश्चित रहेको सुनाए । ‘म यहाँका जनताको सुखदुखमा सँगै छु, काठमाडौंबाट आएर यहाँ चुनाव जित्न सकिँदैन, यहाँको समस्या यहाँकै मान्छेलाई थाहा हुन्छ, त्यो कुरा यहाँका मतदातालाई राम्रोसँग थाहा छ,’ उनले भने ।  कांग्रेसको गढमा गगनको रणनीति सर्लाही-४ नेपाली कांग्रेसको गढका रुपमा चिनिँदै आएको छ । विगतका निर्वाचन हेर्दा मधेशबाट कांग्रेसले धेरै सिट जित्ने गरेको थियो । २०४८ सालको आमनिर्वाचनमा अहिलेको मधेश प्रदेशमा पर्ने आठ जिल्लाका ३७ क्षेत्रमध्ये कांग्रेसले २८ सिट जितेको थियो । कांग्रेसका तत्कालीन नेता महन्थ ठाकुरले यहाँबाट तीन पटक विजयी हासिल गरेका थिए ।  २०७९ को निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेस मधेशमा सबैभन्दा ठूलो दल बनेको थियो । कांग्रेसले तीन लाख ७२ हजार ७३४ मत पाएको थियो भने दोस्रोमा रहेको एमालेले तीन लाख २३ हजार ४२ मत पाएको थियो । सर्लाही-४ मा मात्रै पनि कांग्रेस समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याउने पार्टी बनेको थियो । २०७९ को निर्वाचनमा कांग्रेसले १६ हजार २९, जनमतले १२ हजार ५९५, माओवादी केन्द्रले ९ हजार ७९० र एमालेले ९ हजार ४७१ मत पाएको थियो ।  यस्तै, यो निर्वाचन क्षेत्रमा ५१ वटा वडा पर्छन् । त्यसमध्ये कांग्रेसले १९ वडा जित्दा माओवादी केन्द्रले १२, एमालेले १०, लोसपाले ८ र जसपाले २ वटा वडा जितेको थियो । कांग्रेसकै वडाध्यक्षले बढी मत पाएका थिए । मधेशसँगै सर्लाही-४ मा कांग्रेसको क्रेज देखेर सभापति थापा मधेश झरेका छन् ।  आफूले तीन पटक विजयी हासिल गरेको काठमाडौं–४ छोडेर सर्लाही–४ जाने गगन कुमार थापाको निर्णयलाई धेरै पृथक रुपले विश्लेषण गरिरहेका छन् । कतिपयले काठमाडौं–४ उनका लागि चुनौतीपूर्ण बनेको र जित्न कठिन भएकोले सुरक्षित निर्वाचन क्षेत्र रोजेको विश्लेषण गरिरहेका छन् भने कतिपयले उनले आफूलाई परीक्षण गर्न र कांग्रेसको पुरानो गढ फिर्ता गर्न मधेश झरेको तर्क राखिरहेका छन् ।  मधेशलाई कांग्रेसले आफ्नो गढमात्रै नभई, सुरक्षित राजनीतिक आश्रयस्थलका रूपमा पनि लिँदै आएको छ ।  कांग्रेस महाधिवेशन प्रतिनिधि तथा सर्लाही–४ कै मतदाता रघु काकीले सर्लाही-४ लाई विगतमा दिएको प्राथमिकता र योगदानको आधारमा उनको जित हुनेमा दुईमत नरहेको तर्क राखे । ‘सर्लाही–४ कांग्रेसको गढ पनि हो, सर्लाही–४ मा पर्ने ५१ वटै वडा सभापतिको सर्वसहमति गरेर उहाँको नाम सिफारिस भएको हो, उहाँको आगमनले कार्यकर्ता र मतदातामा नयाँ उत्साह र क्रेज बढेको छ,’ उनले विकासन्युजसँग भने । कार्कीका अनुसार सर्लाही–४ मा पहाडी र मधेशी समुदाय बसोबास गर्छन् । सबैले गगन कुमार थापालाई रोजेको उनको भनाइ छ । ‘उहाँ विगतमा पनि सर्लाही–४ आएर यहाँका समस्या समाधान गर्न क्रियाशील हुनुहुन्थ्यो, सर्लाही-४ उहाँको प्राथमिकताको क्षेत्र पनि थियो, त्यसैले पनि उहाँलाई यहाँका मतदाताले रोज्छन्, मतदान गर्छन्,’ उनले भने ।  तथापि कांग्रेसको गढ भनेर चिनिएको सर्लाही–४ मा रास्वपाको क्रेज र बालेनको प्रवेशले थप माहोल सिर्जना गरेको छ । यसलाई कांग्रेसीजनले चुनौतीका रुपमा लिएका छन् । मधेशकै छोरा पहिलो पटक प्रधानमन्त्रीको उम्मेदवार बनेकोले मधेशी समुदायलाई देशको पहिलो प्रधानमन्त्रीका रूपमा उनीहरू हेर्न चाहन्छन् । यसले कांग्रेसी मतदाता र कार्यकर्तालाई थप चुनौती थपिएको विश्लेषकहरू बताउँछन् । रास्वपाले गत सोमबारको सभामा ‘अब कि बार, बालेन सरकार’ नारा लगाएपछि मधेशको राजनीतिमा नयाँ कोर्सको निर्माण भइरहेको छ । त्यसमा पनि मधेशकै परिचित नेता अमरेश कुमार सिंह रास्वपामा प्रवेश गर्नुलाई थप चुनौतीको रुपमा हेरिएको छ ।  मधेशलाई कांग्रेसको गढ भनिए पनि विशेष महाधिवेशनताका देखिएको विमतिले विगतको जस्तो एकता हुन नसक्ने टिप्पणी पनि कतिपयको छ । शेरबहादुर देउवा पक्षलाई असन्तुष्ट र रुष्ट बनाएर सभापति थापा अगाडि बढेपछि देउवा समूहको साथ नपाउने अवस्था सिर्जना हुन सक्ने र त्यसको लाभ रास्वपाले पाउने विश्लेषण पनि कतिपयको छ ।  गगन-अमरेश ‘नेक टु नेक’  सर्लाही-४ को चुनाव गगन-अमरेशबीचको प्रतिस्पर्धा मात्र नभई यो नेपाली राजनीति, नेपाली कांग्रेस र रास्वपाको लडाइँ र टकराव पनि हो ।  गगन नेपाली राजनीतिमा स्थापित केन्द्रीय नेता हुन् । सर्लाही-४ नेपाली कांग्रेसका कार्यकर्ताले आफ्ना एजेण्डा राष्ट्रिय रूपमा पुर्याएर समस्या समाधान गर्नका लागि थापा एक अब्बल नेतृत्व हुन् । उनले मधेशको सवालमा संसदमा बलियो रूपमा उठान गर्न सक्छन् ।  गगन कुमार थापा सर्लाही-४ का स्थायी तथा स्थानीय नेता होइनन् । मतदाताले उनलाई पत्याउने आधार उनीसँग देखिँदैन । मधेशको समुदाय बढी समुदाय केन्द्रित पनि छ । यसलाई उनले कसरी सामना गर्छन् भन्ने हेर्न बाँकी छ ।  युवा पुस्ताका लागि गगन एक प्रेरणा पनि हुन् । जसको प्रमाणित उनले कांग्रेसको विशेष महाधिवेशनको आयोजना गरेर देखाइसकेका छन् । नेपाली कांग्रेसको सभापति भएकोले कांग्रेसले सभापति थापालाई जिताउन सर्लाही–४ मा भए भरको शक्ति प्रयोग गर्न सक्छ । गगनले चाहेमा सर्लाही-४ मा कांग्रेसको संगठन, प्रचारप्रसार  संयन्त्र र राष्ट्रिय नेटवर्कको लाभ लिन सक्छन् । उनले चुनावी प्रचारप्रसारमा प्रयोग गर्ने अर्को महत्त्वपूर्ण एजेण्डा र विषय कांग्रेस–मधेश सम्बन्ध हो । उनले ऐतिहासिक पृष्ठभूमिलाई जोड्दै मतदातालाई आकर्षित गर्न सक्छन् ।  यो सँगै उनलाई मधेशवासी र विपक्षीहरुले टुरिष्ट उम्मेद्वारको ट्याग भने लगाउन सक्ने सम्भावना छ । तनहुँमा भएको उपनिर्वाचनमा गगनले रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई लक्षित गर्दै टुरिष्ट उम्मेदवारलाई जिताउन नहुने टिप्पणी गरेका थिए । उनले जित्नको लागि सोही ठाउँको हावापानी खानुपर्ने तर्क राखेका थिए । उनको त्यो भाषण अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।  थापा सर्लाही-४ का स्थायी तथा स्थानीय नेता होइनन् । मतदाताले उनलाई पत्याउने आधार उनीसँग देखिँदैन । मधेशको समुदाय बढी समुदाय केन्द्रित पनि छ । यसलाई उनले कसरी सामना गर्छन् भन्ने हेर्न बाँकी छ ।  उनको प्रतिस्पर्धी अमरेशकुमार सिंह भने स्थानीय नेता हुन् । उनीसँग स्थानीय भाषा, सम्बन्ध र बलियो नेटवर्क छ । उनी स्थानीय समस्याको पहिचानसँगै मतदाताले चाहेको बेला उपस्थित हुन सक्ने क्षमता राख्छन् । मधेशी समुदायकै भएकोले पनि उनलाई मतदाताले पत्याउने आधार पनि बलियो देखिन्छ । अमरेशले यसअघि दुई पटक सोही क्षेत्रबाट जितिसकेको हुनाले पनि उनीसँग त्यो क्षेत्रको अनुभव, एजेण्डा पहिचान गर्न सक्ने क्षमता र मतदाताको मनोविज्ञान बुझ्न सक्ने कला उनीसँग छ ।  तर, उनले जितेर पनि राष्ट्रिय राजनीति र नीति निर्माणमा ठूलो प्रभाव पार्न नसक्ने अनुमान र मूल्यांकन मतदाताले गर्न सकेमा उनलाई ठूलो चुनौती हुन सक्छ । उनको अर्को कमजोर पक्ष भनेको कमजोर संगठनात्मक आधार हो । मधेशसँगै सर्लाही-४ मा रास्वपाको बलियो संगठन छैन । उनको व्यक्तिगत सम्बन्धले मात्रै उनलाई जित्नका लागि पर्याप्त नहुन सक्छ ।  यद्यपि, यो सबै मूल्यांकन भने सर्लाही-४का मतदाताले गर्नेछन् । उनीहरूलाई राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने नेता चाहिएको हो वा स्थानीय समस्या बुझ्न सक्ने त्यो भने हेर्न बाँकी छ ।