विश्वकपको उपाधि होड थप रोमाञ्चक

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेको सन् २०२६ को फिफा विश्वकप फुटबल अन्तिम आठ टोलीमा सीमित भएको छ ।  राउन्ड अफ १६ का रोमाञ्चक खेलपछि साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन, बेल्जियम, इङ्ग्ल्यान्ड, नर्वे, मोरक्को र स्विट्जरल्यान्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन् । तस्बिर :  फिफा विश्वकप  साविक च्याम्पियन अर्जेन्टिनाले राउन्ड अफ १६ मा इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो । २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटभित्र तीन गोल गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो ।  अब अर्जेन्टिनाले अन्तिम आठमा स्विट्जरल्यान्डको सामना गर्नेछ । स्विट्जरल्यान्डले भने कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो ।   यस्तै, स्पेनले छिमेकी राष्ट्र पोर्चुगललाई कठिन प्रतिस्पर्धामा १–० ले हराउँदै अन्तिम आठमा स्थान बनायो भने फ्रान्सले पनि पाराग्वेलाई १–० ले हराउँदै आफ्नो यात्रा निरन्तर राखेको छ ।  बेल्जियम, मोरक्को, इङ्ग्ल्यान्ड र नर्वेले पनि नकआउट चरणमा प्रभावशाली जित निकाल्दै उपाधि होडलाई थप प्रतिस्पर्धात्मक बनाएका छन् । बेल्जियमले अमेरिकालाई ४–१ ले हराएको हो भने मोरक्कोले आयोजक राष्ट्र क्यानडालाई ३–० ले हराएको हो ।  त्यस्तै, इङ्ल्यान्डले मेक्सिकोलाई ३–२ ले हराउँदा नर्वेले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्यो। क्वार्टरफाइनलमा पहिलो खेल फ्रान्स र मोरक्कोबीच जुलाई ९ (नेपाली समयअनुसार पर्सि शुक्रबार बिहान पौने २ बजे) हुनेछ । त्यसपछि स्पेन र बेल्जियमबीच नेपाली समयअनुसार शनिबार बिहान पौने १ बजे अर्को रोमाञ्चक भिडन्त हुनेछ ।  जुलाई ११ मा अर्जेन्टिना र स्विट्जरल्यान्डबीच (नेपाली समयअनुसार आगामी आइतबार बिहान पौने ७ बजे) खेल हुनेछ भने इङ्ग्ल्यान्ड र नर्वेबीच आइतबार बिहान पौने ३ बजे क्वार्टरफाइनल खेलिने तालिका छ ।  यी चार खेलका विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्। गोल्डेनबुटको प्रतिस्पर्धा पनि निकै रोचक बनेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी ८ गोलसहित प्रतिस्पर्धामा अग्रस्थानमा छन् । त्यस्तै,  फ्रान्सका स्टार फरवार्ड केलियन एम्बाप्पे र नर्वेका स्ट्राइकर अर्लिङ हालान्ड ७ गोलसहित उनीहरूलाई पछ्याइरहेका छन् । त्यस्तै, इङ्ग्ल्यान्डका ह्यारी केनले ६ गोल गरेका छन् । यस संस्करणको विश्वकपमा धेरै ठूला टोली बाहिरिँदा केही नयाँ टोलीले ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । विशेषगरी मोरक्को र नर्वेको प्रभावशाली प्रदर्शनले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ । अबको प्रत्येक खेल ‘गर वा मर’ को अवस्थामा हुने भएकाले सानो गल्तीले पनि उपाधि यात्रामा पूर्णविराम लाग्न सक्छ । विश्व फुटबलका समर्थकहरूको नजर अहिले क्वार्टरफाइनलतर्फ केन्द्रित छ । उपाधि दाबेदार टोलीबीच हुने कडा प्रतिस्पर्धाले यसपटकको विश्वकप झन् रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । सान्दर्भिक सामग्रीहरू : क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती  यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]  विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान  मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेखे

नक्कली प्रमाणपत्र पेस गरेर शिक्षक बनेका गुन्जेश्वर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा सिरहाका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार सिरहाको धनगढीमाई नगरपालिका–स्थित जनता माध्यमिक विद्यालय, वेतहा भवानीपुरमा माध्यमिक तह तृतीय श्रेणीका शिक्षकका रूपमा कार्यरत गुन्जेश्वर मण्डलले नियुक्तिका क्रममा झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । अनुसन्धानका क्रममा मण्डलले भारतस्थित बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, पटनाबाट आईएससी तथा चौधरी चरण सिंह विश्वविद्यालय, मेरठबाट विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेको भन्दै पेस गरेका प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ । ती झुट्टा प्रमाणपत्रका आधारमा शिक्षक पदमा नियुक्ति लिई ओहदा, तलब तथा अन्य सुविधा प्राप्त गरेको देखिएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कैद र जरिवाना सजायको माग गर्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

‘गृहमन्त्री गुरुङले सुरक्षाकर्मीको मोबाइल नियन्त्रणमा लिएको होइन’

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, झापाले गृहमन्त्री सुधन गुरुङले झापाको काँकडभिट्टा नाकाको निरीक्षण गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीसहित सुरक्षाकर्मीहरूको मोबाइल नियन्त्रणमा नलिएको स्पष्टीकरण दिएको छ । विभिन्न  सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारको जिल्ला प्रहरी कार्यालय, झापाले खण्डन गरेको हो । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालयले भ्रामक समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सुरक्षाकर्मीहरू तस्करीमा संलग्न रहेको भन्दै उनीहरूलाई निगरानीमा राखिएको र मोबाइल समेत नियन्त्रणमा लिइएको भन्ने समाचार प्रसारित भएका थिए । प्रहरीले प्रकाशनमा आएका समाचारहरू भ्रामक, कपोलकल्पित र निराधार भएको स्पष्ट पारेको छ ।  जिल्ला प्रहरी कार्यालय झापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रीले निरीक्षणका क्रममा सुरक्षाकर्मीको मोबाइल नियन्त्रणमा लिएको तथा उनीहरूलाई निगरानीमा राखिएको भन्ने समाचारमा कुनै सत्यता छैन । प्रहरीले पुष्टि नभएका र आधारहीन सूचनाहरू प्रकाशन वा प्रसारण नगर्न सम्पूर्ण सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा हार्दिक अपिल समेत गरेको छ । जिम्मेवार सञ्चार माध्यमबाट तथ्यहीन सूचना सम्प्रेषण हुँदा जनमानसमा गलत सन्देश जाने भन्दै सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न प्रहरीले आग्रह गरेको छ ।