भोक पहिलेभन्दा कम लागिरहेको छ ? तनावबाहेक यी पनि हुन सक्छन् कारण
काठमाडौं । पहिलेको तुलनामा भोक कम लाग्ने र दैनिक खाना घट्दै गएको छ भने त्यसलाई सामान्य भनेर बेवास्ता गर्नु हुँदैन । कहिलेकाहीँ मौसम परिवर्तन, तनाव, भाइरल संक्रमण वा औषधिको असरले केही दिनका लागि भोक कम हुन सक्छ । तर लामो समयसम्म भोक कम भइरहेमा, प्रयास नगर्दा पनि तौल घट्न थालेमा वा ज्वरो, बान्ता, पेट दुख्ने तथा खाना निल्न कठिन हुनेजस्ता लक्षण देखिएमा स्वास्थ्य समस्याको संकेत हुन सक्छ । हरेक व्यक्तिको भोक एउटै हुँदैन । उमेर, शारीरिक गतिविधि, मौसम र स्वास्थ्य अवस्थाअनुसार भोकमा परिवर्तन आउन सक्छ । एक–दुई दिन भोक कम लागेर फेरि सामान्य अवस्थामा फर्किएमा सामान्यतः धेरै चिन्ता गर्नुपर्दैन । तर लगातार दुई साताभन्दा बढी समय भोक कम भइरहेमा वा पहिलेको तुलनामा निकै कम खाना खान थालिएमा यसको कारण पत्ता लगाउनु आवश्यक हुन्छ । लामो समयसम्म भोक कम हुँदा शरीरमा पोषक तत्वको कमी, कमजोरी र तौल घट्ने समस्या हुन सक्छ । कहिले सामान्य र कहिले चिन्ताको विषय ? मेडलाइन प्लसका अनुसार अत्यधिक गर्मी, भाइरल संक्रमण, पेट खराब हुनु, यात्रा, निद्राको कमी वा भावनात्मक तनावका कारण केही दिन भोक कम हुन सक्छ । तर भोकमा आएको कमी लगातार भइरहेमा, प्रयास नगर्दा तौल घट्न थालेमा वा दैनिक कामकाजमा असर पर्न थालेमा शरीरभित्रको कुनै समस्याको संकेत हुन सक्छ । भोक कम हुनुका सामान्य कारण फ्लु, कोभिड–१९, डेंगु, टाइफाइडलगायत संक्रमण हुँदा शरीरको ऊर्जा रोगसँग लड्न प्रयोग हुन्छ । त्यसक्रममा भोक कम हुनु सामान्य प्रतिक्रिया हुन सक्छ । संक्रमण निको भएपछि अधिकांश अवस्थामा भोक पनि सामान्य अवस्थामा फर्किन्छ । पाचन प्रणालीमा समस्या एसिडिटी, ग्यास्ट्राइटिस, अल्सर, कब्जियत, इरिटेबल बाउल सिन्ड्रोम (आईबीएस) तथा कलेजोसँग सम्बन्धित समस्याले पनि भोक कम गराउन सक्छ । खाना खाएपछि पेट दुख्ने, पोल्ने वा भारी हुने समस्या भएमा मानिसले बिस्तारै खाना कम गर्न सक्छ। औषधिको असर केही एन्टिबायोटिक, क्यान्सरको औषधि, दुखाइ कम गर्ने औषधि, डिप्रेसनको औषधि तथा मधुमेहका औषधिले पनि भोक कम गराउन सक्छन् । नयाँ औषधि सेवन सुरु गरेपछि भोक कम भएको हो भने चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ। तनाव र डिप्रेसनले पनि भोक घटाउन सक्छ मानसिक स्वास्थ्यको असर भोकमा पनि पर्न सक्छ । तनावका कारण शरीरमा कोर्टिसोललगायत हर्मोनको स्तरमा परिवर्तन आउँदा केही व्यक्तिमा भोक बढ्न सक्छ भने केहीमा घट्न सक्छ । डिप्रेसन भएका व्यक्तिमा खाना खाने इच्छा कम हुनु, तौल घट्नु र ऊर्जा कम हुनुजस्ता लक्षण देखिन सक्छन् । यदि दुई साताभन्दा बढी समय उदासी, कुनै काममा रुचि नलाग्ने र भोकमा परिवर्तनजस्ता समस्या कायम रहेमा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ । भोक कम हुनु गम्भीर रोगको संकेत पनि हुन सक्छ लगातार भोक कम लाग्नु कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्याको सुरुवाती संकेत पनि हुन सक्छ । यसमा थाइराइडको समस्या, कलेजो तथा मिर्गौलाको रोग, क्यान्सर र दीर्घकालीन संक्रमण पर्न सक्छन् । थाइराइडसम्बन्धी समस्याले भोक र शरीरको मेटाबोलिज्ममा असर गर्न सक्छ । कलेजो वा मिर्गौलाको समस्या हुँदा शरीरमा विषाक्त पदार्थ जम्मा भएर वाकवाकी लाग्ने र भोक कम हुने हुन सक्छ । त्यस्तै, केही प्रकारका क्यान्सरमा कारणबिना तौल घट्नु र भोक कम हुनु प्रारम्भिक लक्षणका रूपमा देखिन सक्छ । क्षयरोग (टीबी), एचआईभीलगायत लामो समय रहने संक्रमणले पनि भोक घटाउन सक्छ। भोक कम लाग्दैमा सधैं गम्भीर रोग भएको हुँदैन । तर लामो समयसम्म समस्या कायम रहेमा वा तौल घट्ने, लगातार ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने वा अत्यधिक कमजोरी जस्ता लक्षण देखिएमा बेवास्ता गर्नु हुँदैन । समयमै स्वास्थ्य परीक्षण गराउँदा समस्याको कारण पत्ता लगाउन र आवश्यक उपचार सुरु गर्न सकिन्छ । सन्तुलित आहार, नियमित दिनचर्या, पर्याप्त निद्रा र तनाव व्यवस्थापनले पनि भोकलाई सामान्य राख्न सहयोग गर्छ । भोक लगातार कम भइरहेमा आफैं औषधि सेवन गर्नुको सट्टा चिकित्सकसँग परामर्श गर्नु सुरक्षित हुन्छ ।
गाभीले नेपाललाई करिब ४ करोड डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने
काठमाडौं । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ले सन् २०२७ देखि २०३० सम्मको अवधिमा नेपाललाई करिब ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप र १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ । सरकार र गाभीबीच आगामी चार वर्षको रणनीतिक सहकार्यबारे भएको उच्चस्तरीय छलफलमा खोप सहयोग र नगद अनुदान उपलब्ध गराउने गाभीले प्रस्ताव गरेकाे हो । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगानको नेतृत्वमा आएको टोलीबीच भएको बैठकमा गाभीको आगामी सहयोगबारे छलफल भएकाे थियाे । प्रस्तावअनुसार गाभीबाट प्राप्त हुने सहयोगका लागि नेपालले १ करोड ७१ लाख अमेरिकी डलर सह-वित्तीय लगानी गर्नुपर्ने विषयमा समेत छलफल भएको छ । नेपाल र गाभीबीच सन् २००१ देखि सहकार्य हुँदै आएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार २५ वर्षको अवधिमा गाभीले नेपालमा ५५ करोड अमेरिकी डलरभन्दा बढी बराबरको खोप, कोल्ड चेन पूर्वाधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरिसकेको छ । हाल गाभीले सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत उपलब्ध गराउने ११ प्रकारका खोपमध्ये पाँचवटामा सहलगानी गर्दै आएको छ भने एक प्रकारको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको राष्ट्रिय खोप कार्यक्रममार्फत नियमित खोपका साथै विभिन्न खोप अभियान सञ्चालनमा समेत गाभीको सहयोग रहँदै आएको छ । बैठकमा विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोत घट्दै गएको अवस्थामा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई आगामी दिनमा कसरी वित्तीय रूपमा दिगो बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो । गाभीका प्रतिनिधिहरूले राष्ट्रिय खोप कार्यक्रममा मन्त्री मेहताले देखाएको नेतृत्व तथा नेपालले खोपको क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष लाइसेन्स (स्पेसल एक्जामिनेसन) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागीमध्ये ९३.४८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलका अनुसार विभिन्न विशेषज्ञता (स्पेसालिटी) तर्फ सञ्चालन गरिएको परीक्षामा १ हजार १३ जना सहभागी भएका थिए । तीमध्ये ९४७ जना उत्तीर्ण, ६५ जना अनुत्तीर्ण भएका छन् भने एक जनाको नतिजा रोक्का भएको छ । त्यसैगरी, नेपालका मेडिकल तथा डेन्टल कलेजका स्नातकको विशेष परीक्षामा ९ सय १९ जना सहभागी भएकामध्ये ९ सय ४ जना उत्तीर्ण र १५ जना अनुत्तीर्ण भएका छन् । यस समूहको उत्तीर्ण प्रतिशत ९८.३७ रहेको छ। कलेजगत नतिजाअनुसार काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, किस्ट मेडिकल कलेज, पाटन एकेडेमी अफ हेल्थ साइन्सेज, नेपाल मेडिकल कलेज, नेसनल एकेडेमी अफ मेडिकल साइन्सेज (वीर अस्पताल), पोखरा एकेडेमी अफ हेल्थ साइन्सेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज, लुम्बिनी मेडिकल कलेज, नेपाली आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, नेपालगञ्ज मेडिकल कलेज, पिपुल्स डेन्टल कलेज, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र कान्तिपुर डेन्टल कलेजले शतप्रतिशत नतिजा हासिल गरेका छन् । यस्तै, विशेषज्ञता तहको नतिजामा अधिकांश विषयमा शतप्रतिशत सफलता देखिएको छ । रेडियो डायग्नोसिस/रेडियोलोजीमा भने सबैभन्दा कम ७३.५३ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । उक्त विषयमा ६८ जनामध्ये १८ जना अनुत्तीर्ण भएका छन्, जुन सबैभन्दा धेरै अनुत्तीर्ण हुने विषय बनेको छ । त्यसैगरी, प्रोस्थोडोन्टिक्समा १५ जनामध्ये एक जना तथा पेडियाट्रिक्स मा ६१ जनामध्ये दुईजना अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत साउन ७ र ८ गते सञ्चालन गरेको विशेष लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो । काउन्सिलका अनुसार उक्त परीक्षा नेपालका मेडिकल तथा डेन्टल कलेज तथा प्रतिष्ठानमा अध्ययन पूरा गरेका चिकित्सकका लागि सञ्चालन गरिएको थियो ।