प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौं । सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा नियुक्तिको प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान भएको छ ।  परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनअनुसार संवैधानिक परिषद सचिवालयले बिहीबारका लागि बैठक बोलाएको बैठक २०८३ वैशाख २४ गते बिहीबार (भोलि) बेलुका ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने  भएको हो । बैठकको प्रमुख एजेण्डा ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस रहेको सचिवालयले जनाएको छ ।  प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने उक्त बैठकमा सहभागी हुनका लागि परिषद्का सदस्यहरूलाई पत्राचार गरिएको छ ।  बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता, भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी ठाकुरको उपस्थित रहनेछ । संवैधानिक व्यवस्थाअनुसार परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका व्यक्तिको नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश नियुक्त गर्ने प्रावधान रहेको छ ।

पूर्वविशिष्टको सुविधामा कैंची, विवरण पठाउन ताकेता

काठमाडौं । राज्यकोषबाट दोहोरो र कानुनविपरीत असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई ‘अल्टिमेटम’ सहित निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयले गरेको आन्तरिक अध्ययनका क्रममा केही पूर्वविशिष्टहरूले कानुनले तोकेको भन्दा बढी गाडी प्रयोग गरेको र फरक-फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेपछि सरकारले यो कदम चालेको हो । सरकारले गृह मन्त्रालयलाई पत्र लेख्दै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरू, पूर्वप्रधानन्यायाधीशहरू, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूको सुविधाको पूर्ण विवरण आजै कार्यालय समयभित्र इमेलमार्फत पठाउन निर्देशन दिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार राज्यकोषको दुरुपयोग रोक्नु र सुशासन कायम गर्नु यस निर्देशनको मुख्य उद्देश्य हो । ‘कानुनले तोकेभन्दा बाहिर गएर लिइएका सुविधाको पहिचान गरी प्रणालीलाई पारदर्शी बनाउन सरकारले विवरण माग गरेको हो । सरकारी स्रोत-साधनको दुरुपयोग अब स्वीकार्य हुँदैन,’ दाहालले भनिन् । विगत लामो समयदेखि पूर्वविशिष्टहरूले मापदण्डविपरीत दर्जनौं सुरक्षाकर्मी र महँगा सवारीसाधन प्रयोग गरिरहेको भन्दै जनस्तरमा व्यापक आलोचना हुँदै आएको थियो । गृह मन्त्रालयबाट विवरण प्राप्त हुनासाथ मापदण्डभन्दा बढी सुविधा लिनेहरूको सवारी साधन फिर्ता गराउने र उक्त प्रक्रियालाई कानुनी रूपमै व्यवस्थित बनाउने सरकारको तयारी छ ।

बालेनको मौन शासनको सन्देश

अनुपम भट्टराई राजनीति र शासनसत्ताको इतिहासमा सामान्यतया प्रखर वक्तृत्वकला र ओजश्वी स्वरलाई शक्तिको प्रतीक मानिँदै आएको छ । तर इतिहासका विभिन्न कालखण्डमा यस्ता शासकहरू पनि उदाएका छन्, जसले शब्दभन्दा बढी मौनतालाई महत्व दिए । उनीहरूले स्वरको गम्भीरताभन्दा शान्तिको गहिराइबाट शासन सञ्चालन गर्दै मौनतालाई नै आफ्नो शक्तिशाली रणनीतिक हतियार बनाएका थिए ।  यस्ता शासकहरूको मुख्य विशेषता कम बोल्नु र गहन चिन्तनपछि मात्र निर्णय लिनु हुन्थ्यो । उनीहरूका लागि शब्द केवल सञ्चारको माध्यम नभई एक रणनीतिक औजारका रूपमा रहन्थ्यो । भीडलाई उत्तेजित पार्ने भाषणबाजीमा अल्झिनुभन्दा उनीहरू पर्दा पछाडि बसेर गम्भीर योजना तर्जुमा गर्न र त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्न रुचाउँथे । उनीहरूको यो मौनता कमजोरी नभई उच्च आत्मविश्वास र आत्मसंयमको परिचायक मानिन्थ्यो । विश्व इतिहास र राजनीतिक दर्शनमा ‘मौन शासक’ का रूपमा चिनिने यी व्यक्तित्वहरूले शक्ति प्रदर्शनका लागि आवाजको सहारा लिएनन् । उनीहरूको शान्त स्वभावले विपक्षीहरूमाझ एक प्रकारको भय र कौतुहलता पैदा गर्ने गर्दथ्यो । जब शासक मौन रहन्छ, तब उसका आगामी कदमहरू पूर्वानुमान गर्न कठिन हुन्छ भन्ने सामरिक सिद्धान्तलाई उनीहरूले कुशलतापूर्वक प्रयोग गरेका थिए ।  मौनतामा रमाउने शासकहरूले सस्ता आश्वासनभन्दा ठोस परिणामलाई प्राथमिकता दिए । उनीहरूको बुझाइमा, अत्यधिक वाचालताले मानिसको ऊर्जा क्षय गर्छ र निर्णय प्रक्रियामा विचलन ल्याउन सक्छ । त्यसैले, उनीहरूले आफ्ना विचारहरूलाई सार्वजनिक बहसको विषय बनाउनुको सट्टा कार्यसम्पादनमार्फत नै आफ्नो प्रभाव पुष्टि गर्ने बाटो रोजे। नेतृत्वको वास्तविक सामथ्र्य आवाजको तिब्रतामा होइन, विचारको स्पष्टता र कार्यको दृढतामा लुकेको हुन्छ भन्ने तथ्यलाई उनीहरूले प्रमाणित गरिदिए ।  विश्व इतिहासलाई फर्केर हेर्दा, प्रभावशाली शासकहरूले कम बोलेर वा मौन रहेरै राज्य सञ्चालनमा कठोर र दूरगामी निर्णयहरू कार्यान्वयन गरेका अनेकौँ उदाहरणहरू छन् । विशेष गरी सङ्कटको समयमा वा आमूल परिवर्तनको खाँचो हुँदा ‘व्यावहारिक’ नेताहरूले भाषणबाजीभन्दा प्रशासनिक संयन्त्रको परिचालनमा जोड दिएका छन् ।  रुसका पिटर द ग्रेटदेखि चीनको आधुनिक आर्थिक रूपान्तरणका संवाहक देङ सियाओपिङसम्म आइपुग्दा ‘मौनताको शक्ति’ प्रस्ट देखिन्छ । सियाओपिङले ‘बिरालो कालो होस् वा सेतो, यसले मुसो समात्नुपर्छ’ भन्ने दर्शन अघि सार्दै कम प्रचार र बढी नतिजाको नीति अख्तियार गरेका थिए । चिनियाँ नेता देङ सियाओपिङले अघि सारेको ‘बिरालो कालो होस् वा सेतो, यसले मुसो समात्नुपर्छ’ भन्ने भनाइ विश्व राजनीति र अर्थतन्त्रमा व्यावहारिक दर्शनको एक उत्कृष्ट नमूना मानिन्छ । यसको मूल मर्म विचारधारा वा प्रक्रियाभन्दा परिणाम र उपलब्धि प्रधान हुनुपर्छ भन्ने हो । वर्तमान नेपालको राजनीतिक र प्रशासनिक परिवेशमा यो दृष्टान्त झनै सान्दर्भिक देखिएको छ । नेपाली राजनीति लामो समयदेखि विभिन्न राजनीतिक वाद र विचारधारामा अल्झिएको देखिन्छ । लोकतन्त्र, समाजवाद वा अन्य कुनैपनि राजनीतिक व्यवस्था केवल साधन हुन्, साध्य होइनन् । जनताको मुख्य चाहना सुशासन, आर्थिक विकास र दैनिक जीवनमा आउने सकारात्मक परिवर्तन हो ।  यो दृष्टान्तको सन्दर्भमा, सरकार कुन दल वा कुन विचारधाराको नेतृत्वमा छ भन्नेकुरा गौण रहन्छ; महत्वपूर्ण कुरा त्यस सरकारले मुलुकको आर्थिक संकुचन हटाउन, भ्रष्टाचार नियन्त्रण गर्न र नागरिकलाई आधारभुत सुविधा पुर्याउन कस्तो भुमिका निर्वाह गर्छ भन्ने हो । राजनीतिक स्थिरता र समृद्धिको लक्ष्य प्राप्तिका लागि दलहरूले वैचारिक कट्टरताभन्दा माथि उठेर व्यवहारिक नीति अपनाउनु आजको आवश्यकता हो ।  नेपालको सार्वजनिक प्रशासनमा प्रक्रियामुखी पद्धति हावी हुनु एक मुख्य चुनौतीका रूपमा रहेको छ । कर्मचारीको नियुक्ति, सरुवा वा बढुवामा कुन पक्षको झुकाव छ वा कुन प्रक्रियाबाट आयो भन्ने भन्दा पनि उसले दिने सेवा प्रवाह कति प्रभावकारी छ भन्नेकुराले प्राथमिकता पाउनुपर्छ ।  प्रशासनिक निकायले फाइल घुमाउने र प्रक्रियामा अल्झिने परम्परालाई त्यागेर नतिजा निकाल्ने कार्यशैली अपनाउनु पर्ने देखिन्छ । यदि प्रशासनिक संयन्त्रले जनताका समस्या समाधान गर्न र विकास निर्माणका कार्यलाई तिब्रता दिन सक्दैन भने त्यसको संरचनागत स्वरूप जतिसुकै आकर्षक भएपनि त्यसको सार्थकता रहँदैन ।   नेपालको सन्दर्भमा ‘मुसो समात्नु’ भनेको गरिबी निवारण, पूर्वाधार विकास, सुशासन र नागरिक सन्तुष्टि प्राप्त गर्नु हो । राजनीतिक दल र कर्मचारीतन्त्रले कुन रङको बिरालो (विचारधारा वा पद्धति) प्रयोग गर्ने भन्ने बहस गर्नुभन्दा पनि कसरी छिटो र प्रभावकारी रूपमा जनअपेक्षा पूरा गर्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ । जबसम्म राज्यका संयन्त्रहरू परिणाममुखी हुँदैनन्, तबसम्म देशले समृद्धिको मार्ग समात्न कठिन देखिन्छ । तसर्थ, नेपालको समग्र विकासका लागि व्यवहारिक र नतिजामुखी दृष्टिकोण नै वर्तमान समयको अपरिहार्य माग हो । त्यस्तै, सिङ्गापुरको आधुनिक विकासका निर्माता ली कुआन युले पनि आफ्नो प्रारम्भिक शासनकालमा लोकतान्त्रिक वाचालताभन्दा अनुशासित कार्यसम्पादनलाई प्राथमिकता दिएका थिए । उनीहरूको शासन शैलीमा शब्दहरूको आडम्बरभन्दा कानुनको कार्यान्वयन र भौतिक प्रगति सर्वोपरि हुन्थ्यो ।  नेपालको इतिहासमा पनि पृथ्वीनारायण शाहको एकीकरण अभियान ताका होस् वा जङ्गबहादुर राणाको उदयका बेला, रणनीतिक मौनता र आकस्मिक कार्यसम्पादनलाई सत्ता सञ्चालनको मुख्य कडी मानिन्थ्यो । तर पछिल्लो समय बहुदलीय प्रजातन्त्र र गणतन्त्रको आगमनसँगै राजनीतिमा चर्को भाषण र शब्दजालको संस्कृति हाबी भयो । नेपाली जनतामा परम्परागत राजनीतिप्रति बढ्दो निराशा र वितृष्णाका बीच एउटा नयाँ धारको उदय भएको छ, जसले स्थापित वाचालतालाई चुनौती दिइरहेको छ । यसै धारको पछिल्लो र सशक्त उदाहरणका रूपमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को कार्यशैलीलाई विश्लेषण गर्न थालिएको छ । साहले सार्वजनिक पद सम्हालेदेखि नै परम्परागत पत्रकार सम्मेलन, सञ्चारमाध्यमसँगको अनावश्यक संवाद र लामा भाषणहरूलाई त्यागेका छन् । उनको यो शैलीलाई धेरैले ‘मौन शासन’ को आधुनिक अभ्यासका रूपमा लिएका छन् । साहको कार्यशैली परम्परागत राजनीतिक व्याकरणभन्दा भिन्न छ । उनी सार्वजनिक मञ्चहरूमा कम बोल्छन्, तर आफ्ना निर्णय र कार्यप्रगति सामाजिक सञ्जालमार्फत सिधै जनतासम्म पुर्याउँछन् । उनको शासन पद्धतिमा कार्यक्षेत्र (फिल्ड) मा हुने सक्रियता र प्रशासनिक कडाइ मुख्य देखिन्छ ।  राजनीतिक विश्लेषकहरूकाअनुसार यो शैलीले एक प्रकारको ‘प्राविधिक नेतृत्व’ को झल्को दिन्छ, जहाँ भावनाभन्दा तथ्याङ्क र नतिजालाई सर्वोपरि मानिन्छ । परम्परागत दलका नेताहरूले सपना बाँड्ने र भाषण गर्ने शैली अपनाइरहँदा, ‘मौन तर आक्रामक’ कार्यशैलीले नयाँ पुस्ताको ध्यान खिचेको छ ।  इतिहास साक्षी छ कि धेरै बोल्ने शासकहरू सधैँ सफल हुँदैनन् । कतिपय अवस्थामा शासकको मौनताले उसको कार्यसम्पादन प्रतिको दृढता र गम्भीरतालाई झल्काउँछ । विश्व इतिहासका सफल प्रयोगहरू र नेपालमा हाल देखिएको यो नवीनतम शैलीले लोकतन्त्रमा नेतृत्वको नयाँ मानक स्थापित गर्न खोजेको देखिन्छ । जनताले अब भाषणको मिठासभन्दा पनि कार्यको ठोस नतिजा खोजिरहेको वर्तमान अवस्थामा ‘मौन शासन’ को महत्व र सान्दर्भिकता झन् बढेर गएको छ । यस परिप्रेक्ष्यमा साहले अवलम्वन गरेको जस्तो नतिजामुखी र व्यावहारिक दृष्टिकोण नै नेपालको समग्र विकासका लागि अपरिहार्य मार्ग देखिन्छ । नेतृत्वको वास्तविक सामर्थ्य आवाजको तीब्रतामा होइन, विचारको स्पष्टता र कार्यको दृढतामा निहित हुन्छ भन्ने तथ्यलाई वर्तमान राजनीतिक परिवर्तनले पुष्टि गर्दै लगेको छ ।