नेकपा एमाले र नेकपाबीच ३ बुँदे सहमति, कुन प्रदेशमा कसको सरकार ?

काठमाडौं । नेकपा एमाले र नेकपाबीच प्रदेश सरकार सञ्चालन तथा गठनका विषयमा ३ बुँदे सहमति भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्दै जनताको चाहनाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले दुवै दल सहकार्य गर्न सहमत भएका छन् । सहमतिको पहिलो बुँदामा प्रदेशसभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने उल्लेख गरिएको छ । दोस्रो बुँदाअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा संयुक्त सरकारको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ । त्यसैगरी, तेस्रो बुँदामा मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख गरिएको छ । उक्त सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् । 

देशको नेतृत्व लिन कम्युनिष्ट आन्दोलन एक हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनतामाथि सङ्कट आएको बताएका छन् । शनिबार नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । संयोजक दाहालले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न जरुरी रहेको उल्लेख गरे । उनले कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्दै देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको बताए । देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक रहेको उनको भनाइ थियो । संयोजक दाहालले भने, ‘अहिले नेपालको कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको बेलामा हामीले कमरेड पुष्पलाल, कमरेड नरबहादुर कर्माचार्यजस्ता नेताहरूलाई स्मरण गर्दै कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्ने, पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने अवस्था आएको छ । जतिबेला हामी कमरेड पुष्पलाल वा कमरेड नरबहादुर कर्माचार्यप्रति श्रद्धा र सम्मान प्रकट गर्छौँ, त्यतिबेला यो हाम्रो लागि औपचारिक कार्यक्रम मात्रै होइन ।’ संयोजक दाहालले देशमा निरङ्कुश प्रवृत्ति देखापरेको र त्यसका विरुद्धमा एकपटक पुनः सङ्घर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।

कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले वर्तमान समयमा केही धक्का खाएको स्वीकार गर्दै नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका हुन् । सहसंयोजक नेपालले कम्युनिष्ट आन्दोलनमा उतारचढाव आउनु स्वाभाविक भएको उल्लेख गरे । आजको अवस्थामा आइपुग्दा केही धक्का खानुपरेको भए पनि घोडाबाट लडेपछि जिउको धुलो टकटक्याएर पुनः नयाँ उत्साहका साथ अगाडि बढेझैँ कम्युनिष्ट आन्दोलन पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । पूर्वप्रधानमन्त्री नेपालले इतिहासका महत्त्वपूर्ण घटनाक्रम र दस्तावेजहरूको संरक्षण गर्नुपर्नेमा विशेष जोड दिए । उनले जनआन्दोलनका क्रममा आफूहरूको घरमा आगलागी हुँदा महत्त्वपूर्ण अभिलेखहरू नष्ट भएको स्मरण गरे । सहसंयोजक नेपालले भने, ‘नरबहादुर कर्माचार्यसँग जोडिएका धेरै स्मृतिहरू र ऐतिहासिक सामग्रीहरू सम्भवतः यस प्रतिष्ठानले सङ्कलन र प्रकाशन गरेको पनि होला । उहाँसँग सम्बन्धित अभिलेखहरू पनि सुरक्षित रूपमा राखिएका होलान् । मेरो आग्रह के हो भने इतिहासका ती महत्त्वपूर्ण घटनाक्रमहरू अवश्य पनि सुरक्षित राखिनुपर्छ ।’  नरबहादुर कर्माचार्यको योगदानको चर्चा गर्दै नेता नेपालले वि.सं. २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएदेखि प्रतिबन्धित कालखण्डमा समेत पार्टीलाई जीवन्त तुल्याउन कर्माचार्यले खेलेको भूमिका अविस्मरणीय रहेको बताए । विशेषगरी मजदुर आन्दोलनलाई उचाइमा पुर्‍याउन कर्माचार्यले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको उनले प्रशंसा गरे । इतिहासका विभिन्न मोडमा योद्धा र नेताहरूले पुर्‍याएको योगदानकै कारण कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले ती कीर्तिमानहरूलाई संस्थागत गर्नुपर्ने बताए ।