धनुषाका १९४ मतदानस्थल अतिसंवेदनशील

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले यहाँका १९४ मतदानस्थल अतिसंवेदनशील रहेको जनाएको छ। जिल्लामा रहेका ३२२ मतदानस्थलमध्ये १९४ अति अतिसंवेदनशील,१०६ वटा संवेदनशील र २२ वटा सामान्य सूचीमा वर्गीकरण गरिएको कार्यालयको भनाइ छ ।  जिल्लामा मतदान केन्द्रको सङ्ख्या  ६४५  छ । खुल्ला सीमा नाका, बढी मतदाता, विगतका निर्वाचनमा मतदानको वर्षमा भएको विभिन्न किसिमको उत्पन्न समस्याका कारण मतदानस्थलहरूको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।  एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताए । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा प्रमुखको सहभागितामा अति संवेदनशील मतदानस्थलको आज पनि अनुगमन गरिएको छ । नेपाल–भारतको सीमानासँग जोडिएको मतदानस्थलको अनुगमन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए । मधेस प्रदेश निर्वाचन कार्यालयका अनुसार धनुषाका चार निर्वाचन क्षेत्रमा पाँच लाख १४ हजार ५७१ जना मतदाता छ । जसमा पुरुष दुई लाख ७६ हजार १२६ जना, महिला दुई लाख ३८ हजार ४३५ र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (अन्य) १० जना मतदाता छन् । सो निर्वाचनमा छ हजार ५०० कर्मचारी खटिनेछन् । खटिने कर्मचारीको विवरण सङ्कलन भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चारवटा निर्वाचन क्षेत्रमा १४२, क्षेत्र नं २ मा ३४, क्षेत्र नं ३ मा ४५ र क्षेत्र नं ४ मा ३७ जना उम्मेदवार छन् ।

सर्लाहीमा मतदातासँग भेटघाट गर्दै गगन, यस्तो छ आज दिनभरको कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्रका मददातासँगको भेटघाटमा व्यस्त छन् । सोमबार मध्यान्ह सर्लाही पुगेका थापाले मंगलबार (आज) बाट स्थानीय नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरिरहेका हुन् । स्थानीय कांग्रेस नेता रघु कार्कीका अनुसार थापाले आज बलरा गाउँपालिकास्तरीय स्थानिय नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसैको तयारीस्वरूप थापा अहिले अगुवा कार्यकर्तासँग भेटघाट गरिरहेका छन्।  आज अपरान्ह १ बजे गगनले बलराका अगुवा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए । बलराको कार्यक्रम सकिएपछि थापा अर्को दक्षिणी पालिका गोडैचा नगरपालिका पुग्नेछन् ।  थापाले गोडैचामा पनि सम्बोधन गर्ने र स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको कार्कीले जानकारी दिए । त्यसपछि समय रह्यो भने थापाले दक्षिणी पालिकामै भेटघाट गर्नेछन् ।

निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौं । निर्वाचन आयोगले सञ्चालन गरेका कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै जिज्ञासा प्राप्त भइरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले यही माघ ५ गतेदेखि कलसेन्टर सञ्चालन गरेको हो । कल सेन्टरले मतदाता, सरोकारवालाका विभिन्न जिज्ञासाको जवाफ दिने गरेको छ ।  आयोग परिसरमा सुरु भएको कल सेन्टरमा हिजो आइतबारसम्म ८८२ जनाले जिज्ञासा राखेका छन् ।    यस अवधिमा मतदाता नामावलीका विषयमा ४२० जिज्ञासाको सम्बोधन भएको छ । निर्वाचन आचारसंहिताका विषयमा ७२ प्रश्नको सम्बोधन गरिएको छ । मतदाता शिक्षासम्बन्धी ३६ र अन्य २६४ प्रश्नको जिज्ञासा सम्बोधन गरिएको आयोगले जनाएको छ । यसबाहेकका जिज्ञासा निर्वाचनसम्बन्धी अन्य विषयमा राखिएको थियो ।   आयोगले कल सेन्टरमार्फत बिहान ९ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म जिज्ञासाको जवाफ दिने गरेको छ । निःशुल्क टोल फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवाले जिज्ञासा राख्न सक्छन् । एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरू होल्डमा नरहने जनाइएको छ । निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण नभएसम्म कल सेन्टर सञ्चालनमा रहने सहायक प्रवक्ता जिसीले बताए ।