गुण्डुमा एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्यलाई पालिका इञ्चार्ज तोक्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बैठक बस्ने तय भएको छ ।

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारीका अनुसार बैठकको मुख्य एजेन्डा नेताहरूको कार्य विभाजन रहेको छ । पार्टीको ११औँ महाधिवेशनपछि हालसम्म केन्द्रीय तहका नेताहरूको कार्य विभाजन हुन नसकेको कारण यो विषयलाई प्राथमिकतामा राखिएको हो ।

यसअघि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेका कारण आजका लागि सारिएको थियो ।

पार्टीभित्रका एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरूलाई पालिकास्तरको जिम्मेवारी दिने तयारी गरिएको छ । प्रत्येक केन्द्रीय सदस्यलाई कुनै न कुनै स्थानीय तहको इन्चार्ज तोकेर संगठन सुदृढीकरण तथा आगामी स्थानीय तह निर्वाचनमा पार्टीको स्थिति बलियो बनाउने योजना रहेको छ ।

त्यसैगरी विभिन्न केन्द्रीय विभाग तथा निकायहरूको जिम्मेवारी बाँडफाँट पनि बैठकको एजेन्डामा रहेको छ ।

बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठक बोलाउने मिति पनि तय गर्ने जनाइएको छ ।

Share News