लकडाउन: पूर्वाधारमा कार्यरत मजदुर प्रभावित, पसलमा खाद्यान्न समेत नपाएको दुःखेसो

काठमाडौं । भौतिक पूर्वाधारका विभिन्न आयोजनामा कार्यरत मजदुर ‘लकडाउन’बाट प्रभावित भएका छन् । सरकारले कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्युनिकरण गर्न चैत ११ गतेदेखि देशभर लकडाउन गरेपछि विशेषगरी जिल्लाका विभिन्न आयोजनामा कार्यरत मजदुरलाई खाद्यान्न आपूर्तिमा कठिनाइ परेको बताइएको छ । अस्थायी रुपमा बसेका मजदुरसँग खाद्यान्न सकिएको र व्यवस्थापन गर्न मागभइ आएको नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । जिल्लामा अहिले सबै आयोजनाको काम रोकिएको बताइन्छ । सङ्खुवासभाबाट यहाँ आइ सेती नदी नियन्त्रण आयोजनामा कार्यरत मजदुर विक्रम राइले अहिले काम पनि बन्द भएको र पसलमा खाद्यान्न समेत नपाएको दुःखेसो व्यक्त गरे । अस्थायीवास बनाएर बसेका आफूहरुलाई काम पनि नभएको र कहिले खुल्छ भन्ने पनि एकिन नहुँदा घर फर्कन नपाएको उनले बताए । सङ्घले जिल्लाका विभिन्न आयोजनामा कार्यरत दश हजार हाराहारीको सङख्यामा मजदुर प्रभावित भएको जनाएको छ । उनीहरुलाई वैकल्पिक व्यवस्था मिलाउन जिल्ला प्रशासनलाई माग गरेको सङ्घले जनाएको छ । दिनहुँ गुनासो आएकाले मजदूरलाई आ–आफ्नो स्थानमा पु¥याउने व्यवस्थाका लागि प्रशासनसँग अनुरोध गरिएको सङ्घका अध्यक्ष सुरेश श्रेष्ठले बताए । “अहिले व्यवसायीको साइटमा खानेकुरा नहुँदा मजदुर भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । खाद्यान्न पु¥याउन सकिने अवस्था छैन । गुनासो फोनमा सुन्ने बाहेक अरु विकल्प छैन।”उनले भने,“जिल्लामा सबै योजनाको काम अहिले पूर्ण बन्द भएको अवस्थामा मजदुर आआफ्नो घर जान चाहेकाले उनीहरुलाई सम्वन्धित स्थानमा पु¥याउनका लागि प्रशासनसँग अनुरोध गरेका छौँ । ” प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले मजदुलाई खाद्यान्न आपूर्तिका लागि प्रशासनले सहयोग गर्ने जानकारी दिए । निर्माण व्यवसायी सङ्घसँग कुन आयोजनामा कति मजदुर प्रभावित भएको बारेमा एकिन तथ्याङ्कको माग गरिएको उनले बताए । “निर्माण व्यवसायीबाट मजदुरको बारेमा दैनिक गुनासा आएका छन् । हामीले त्यसको अहिल्यै केही योजना बनाएका छौँ। उनीहरुलाई सम्वन्धित ठाउँमा लैजानका लागि कति जना अप्ठ्यारोमा परेका छन् भनेर पहिला लिष्ट मागेका छौँ।” प्रजिअ ढकालले भने । रासस

ठप्प बने निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना

काठमाडाैं । विश्वरभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र त्रास बढ्दै गएको बेला नेपालका निर्माणाधीन आयोजनाहरु ठप्प बनेका छन् । नेपाल सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि देशभर नै लक डाउन गरेपछि ती आयोजनाहरु ठप्प बनेका हुन् । विभिन्न समयमा सम्पन्न हुने भनिएका राष्ट्रिय गौरवका आयोजनाहरु यतिखेर ठप्प बनेका छन् । देशैभर सरकारले लक डाउन घोषणा गरेपछि ती आयोजनाको काम रोकिएको हो । अब आएर ती आयोजनाहरुको निर्माण कार्य समयमै सम्पन्न हुनेमा शंका उब्जिएको छ । देशका विभिन्न ठाउँमा निर्माणाधीन अवस्थामा रहेका ती आयोजनाका कोरोनाम भाइरसको प्रत्यक्ष असर परेको आयोनजा कार्यालयहरुले जनाएका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरसको असर निर्माणाधीन परियोजनाहरुमा पनि देखिएको छ । नेपाल सरकारले राष्ट्रिय गौरवका आयेजनाका रुपमा लिइएका परियोजनाहरुमा कोरोनाको असर देखिएको बताइएको हो । यसले पनि निर्माणाधीन आयोजनाहरुको काम समयमै सम्पन्न हुनेमा शंका उब्जिएको छ । निर्माणाधीन परियोजनाका लागि प्रायः जसोे सामग्रीहरु विदेशबाट आयात हुन्छन् भने धेरै कामदारहरु पनि भारत र चीनबाट आउने गर्दछन् । अहिले लक डाउनकै कारण निर्माण सामाग्राी आयात रोकिएको छ । आयोजना निर्माणको ठेक्का लिएको ठेकेदाहरुले पनि कोरानाको कारण निर्माण कार्य ठप्प भएको बताएका छन् । उनीहरुले लक डाउनकै कारण काममा निरन्तरता दिन नसकेको बताएका छन् । स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आउँदो असारबाट विद्युत उत्पादन गर्न सुरु गर्ने बताए पनि कोरोनाको कारण यसको काम लम्बिने सम्भावना बढेको छ । आयोजनामा प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले लक डाउनको कारण निर्माण कार्यमा निरन्तरता दिन नसकेको बताए । उनले हाल इमरजेन्सीको मात्र काम भइरहेको बताए । निर्माणाधीन आयोजना एकान्त ठाउँमा भएकोले सिमित कामदारले काम गरिरहेका छन् । यस्तै, १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम सबै रोकिएको मध्यभोटेकोशी जलविद्युत आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए । वर्षा अघि नै हेडवक्र्सको काम सम्पन्न गर्नुपर्ने भएपनि कोरोनाका कारण काम गर्न समस्या भउको प्रमुख लामाले जानकारी दिए । अरु काम बन्द भएपनि हेडवक्र्सको काम चाँही गर्ने हो कि भनेर टिमसँग बसेर छलफल भइरहेकाे उनकाे भनाइ छ । साढे सात किलोमिटर सुरुङ मध्ये आयोजनको अब करिब ५ सय मिटर मात्रै सुरुङको काम बाँकी रहेको आयोजना प्रमुख लामाले जानकारी दिए । तिन वटा टनेल मध्ये टनेल थ्रिको बे्रक थु्र भएपनि टनेल १ को ४५० र २ को ५० मिटर खन्न बाँकी रहेको छ । समग्रमा आयोजनाको ९३ प्रतिशत काम पुरा भएको छ । २०२० को अन्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य भएपनि सबै कारणले गर्दा अब फेरी यो मिति पर धकेलीने आयोजना प्रमुख लामाले जानकारी दिए । आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । बलेफी करिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाका सबै काम पनि रोकिएको छ  । नेपाल नागरिक उडड्यन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालका अनुसार देशभर निर्माधीन अवस्थामा रहेको सबै विमानस्थलहरु अहिले ठप्प भएको बताए । देशभरि नै लक डाउन भएकोले काम गर्ने वातावरण नभएको उनको भनाइ छ । उनले निर्माणधीन विमानस्थलहरुमा धेरै असर पार्न सक्ने बताए ।  यस्तै, पोखरा क्षेत्रिय विमानस्थलको निर्माणको निर्माण कार्यमा पनि समस्या आएको छ । परियोजना प्रमुख विनेश मुनाकर्मिका अनुसार देशभर भइरहेको लक डाउनले पोखरा विमानस्थललाई धेरै समस्या परिरहेको छ । उनले हाल थोरै कामदारले मात्रै भित्र बसेर काम गरिहेको बताए । निर्माण कार्यमा सिमेन्टको अभाव देखिएको उनको भनाइ छ । हाल विमानस्थलको निर्माण कार्य ५६ प्रतिशत भइसकेको छ । उक्त विमानस्थलको कुल लागत २२ अर्ब हो । २०२१ जुलाईमा निर्माण कार्य सक्ने भनिएको विमानस्थलको ६ महिना अगावै काम सक्ने आयोजना कार्यालयको दावि थियो । अब भने कोरोनाको कारण काम लम्बिने खतरा बढेको छ । हाल कोरोना भाइरसकै कारण धेरै राष्ट्रिय गौरवका आयोजनाहरु प्रभावित भएका छन् । यस्तै, काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा पनि ठूलो समस्या देखा परेको छ । कोरोनाका कारण आयोजनामा त्यति समस्या नपरेको भनिए पनि अहिलेको लक डाउनले समस्या देखा परेको छ । एक साता अघि मात्रै खानेपानी मन्त्री विना मगरको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो । दशै अघि नै मेलम्चीको पानी काठमाडौमा ल्याउने योजना अनुसार तिव्र गतिमा काम भइरहेपनि कोरोनाका कारण अब ढिला हुन सक्ने कार्यकारी निर्देशक खत्रीले बताए । आयोजना स्थलमा काम गर्ने स्थानीय मजदुरहरु घर फर्केपनि विदेशी मजदुरहरु भने आयोजना स्थलमा नै सुरक्षीत संग बसिरहेको खत्रीले बताए । आयोजना क्षेत्रमा अहिले ६ स्थानमा काम भइरहेको छ । ६ स्थानमा गरी २ सय ५० बडी कामदार भएपनि स्थानीय कामदारहरु सबै घर गएको खत्रीले बताए । आयोजनामा ४२ चिनियाँ मजदुरहरु रहेको आयोजनाले जानकारी दिएको छ । अहिले आयोजना स्थलमा बाँध बनाउने, सुरुङमार्गमा गेट बनाउनेलगायतका कामहरु भइरहेको छ । अडिट टनेल बन्द गर्ने,भेन्टीलेसन लगायतका काम पनि भइरहेपनि त्यो सबै काम अहिले रोकिएको आयोजनाले जानकारी दिएको छ । इटालीयन ठेकेदार कम्पनी सिएमसीले काम छाडेपछि बाँकी काम पुरा गर्न सरकारले चिनियाँ सिनो हाइड्रोलाई खानेपानी आयोजनाको काम दिएको थियो । असोज भित्र आयोजनाको काम सम्पन्न हुने गरी सिनोसँग ठेक्का सम्झौता भएको थियो । साढे २६ किलोमटिर सुरुङ मध्ये बाँकी रहेको काम पुरा गर्न ८५ करोड र हेडवक्स लगायत अन्य संरचनाको काम गर्न १ अरब २ करोड रुपियाँमा सिनो सँग ठेक्का सम्झौता भएको थियो । असोज भित्र सुरुङको काम पुरा गरे ठेकेदार कम्पनीलाई आयोजनाको तर्फबाट १० प्रतिशत बोनस दिने घोषणा समेत आयोजनाले गरेको थियो । हाल सबै निर्माधीन राष्ट्रिय गाैरवका आयोजनाहरुकाे काम ठप्प बनेकाे छ ।

कोरोनाले प्रभाव नपारेको माथिल्लो तामाकोशीको काम ९९ प्रतिशत सम्पन्न

काठमाडौं । बाँधलगायत हेडवक्र्सको प्राविधिक परीक्षण गरिरहेको माथिल्लो तामाकोशी आयोजनाको काममा अहिलेसम्म कोरोना भाइरसको प्रकोपले खासै प्रभाव नपारेको आयोजनाले जनाएको छ । स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा अहिले बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट, स्टपलगलगायत अन्य हेडवक्र्सका संरचनाको प्राविधिक परीक्षण शुरु भइरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए । उनका अनुसार परीक्षणका क्रममा बाँधमा पानी राखेर परीक्षण शुरु गरिएको र अहिलेसम्मको परीक्षण राम्रो रहेको छ । परीक्षणको काम आवश्यकताअनुसार दुई हप्तासम्म चल्न सक्ने परीक्षणमा संलग्न प्राविधिकहरुले बताएका छन् । आयोजनामा मुख्य कामदार र प्राविधिक चिनियाँ, इटालियाली र भारतीय नागरिक छन् तर उनीहरु कोरोनाको समस्या हुनुअघिदेखि नै निरन्तर आयोजनाको काममा नै रहेकाले समस्या नभएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए । आयोजनामा ठेकेदार कम्पनीको काममा अहिलेसम्म समस्या नभए पनि कन्सल्टेन्टको काममा भने केही समस्या देखिएको छ । कोरोना भाइरसको प्रकोपपछि आयोजनाको कन्सल्टेन्ट कम्पनीमा काम गर्ने विज्ञ तथा प्राविधिकले अहिले आफ्नै घरबाट निर्देशन गरिरहेको आयोजनाले जनाएको छ । नेपालमा कोरोनाको समस्या नरहेको र आयोजनामा काम गर्ने कामदार, प्राविधिकहरु कोरोना प्रकोपअघिदेखि नै काममा रहेकाले समस्या नभएको तर आजदेखि भने आयोजनाको भ्रमणमा बाहिरको मानिसलाई आउन नदिइने श्रेष्ठले बताए । आयोजनाको काम अहिलेसम्म ९९ दशमलव चार प्रतिशतले काम सकिएको र आगामी असारभित्र एउटा टर्वाइनबाट ७६ मेगावाट परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको श्रेष्ठले जनाए । आयोजनामा छ वटा टर्वाइन रहेको र प्रत्येक टर्वाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने उनको भनाइ छ । विसं २०६७ भदौ १७ गतेदेखि मुख्य सिभिल निर्माणकार्य शुरुआत गरिएको यस आयोजनामा विसं २०७२ वैशाख महिनामा गएको भूकम्प र त्यसपछिको तराई आन्दोलन तथा लामोसाँघु चरिकोट सडकको स्तरोन्नतिका कारणले निर्माण सम्पन्न हुने अवधिमा विलम्ब हुन गएको आयोजना प्रवक्ता डा गणेश न्यौपानेले बताए । प्रवक्ता न्यौपानेले भने, “वर्तमान कार्यप्रगतिका आधारमा यस आयोजनाबाट विसं २०७७ को असार मसान्त या साउन पहिलो साताभित्र परीक्षण उत्पादन शुरु गरिने र कुनै समस्या नभए त्यसले निरन्तरता पाउने छ ।” दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको यो आयोजनाका लागि ब्याजबाहेक ४९ अर्ब २९ करोड रूपैयाँ लागत प्रक्षेपण गरिएको जनाइएको छ । रासस