भारतसँग सीमा जोडिएका पाँच नाका बन्द, चारमा हेल्थ डेस्क

बैतडी ।     कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका बैतडीका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए । बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द गरिएका जनाइएको छ । भाइरसको पूर्वसतर्कता अपनाउन ती नाकामा आवतजावत बन्द गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । जिल्लाका भारतसँग सीमा जोडिएका चार नाकामा स्वास्थ्य परीक्षण कक्ष (हेल्थ डेस्क) सञ्चालनमा तयारी गरिएको छ । मुख्य नाकाका रुपमा रहेको झुलाघाटमा यही फागुन १० गतेदेखि कक्ष सञ्चालनमा रहेको छ । तल्लोस्वराडमा रहेका अन्य चार नाकामा तत्काल कक्ष सञ्चालन गर्ने निर्णय भएको हो । झुलाघाटमा दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्त रुपमा सहायता कक्ष स्थापना गर्न लागेका हुन् । डुङ्गाबाट आवतजावत हुने तल्लोस्वराडमा चार घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बसेको सरोकारवालाको बैठकले पञ्चेश्वरको रोलघाट, डिम्बरघाट र विनायक घाट तथा शिवनाथको नागार्जुन घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिएका छन् । जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्ट लगायतको सरोकारवाला सम्मिलित बैठकले हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको हो । हेल्थ डेस्कमा उपकरण अभाव तल्लोस्वराडका घाटमा कक्ष स्थापना गर्ने निर्णय भए पनि तत्काल उपकरणको भने अभाव भएको छ । सो कक्षमा आवश्यकपर्ने उपकरण अभाव हुँदा सहायता कक्षमा स्वास्थ्य परीक्षणको काम नहुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले जानकारी दिए । ज्वरो मापन गर्ने इन्फ्रारेड थर्मोमिटरलगायतका उपकरण नहुँदा सहायता कक्षमा जाँजको काम हुँदैन उनले भने, “ज्वरो मापन गर्ने इन्फ्रारेड थर्मोमिटरलगायतका उपकरण पुग्न एक हप्ता लाग्छ ।” तत्कालका लागि स्वास्थ्यकर्मीले हेल्थ डेस्कबाट परामर्श सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्ला अस्पतालमा ‘आइसोलेशन कक्ष’ स्थापना शङ्कास्पद लक्षण भएका बिरामीका लागि जिल्ला अस्पतालमा तीन श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । सो कक्षमा शङ्कास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिँगानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. वसन्तराज जोशीले जानकारी दिए । “शङ्कास्पद बिरामीको खकार र सिँगानको नमूना पठाउने माध्यम प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मगाइसकिएको छ”, उनले भने, “कोरोना भाइरसको त्रास बढिरहेकाले पूर्वतयारीस्वरुप जिल्ला अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएको हो ।” यसअघि केही दिन अगाडि मात्रै प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा आइसोलेशन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो । कोरोनाको सङ्क्रमण फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय र सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले भीडभाड नगर्न, भेला नहुन, विभिन्न उत्सव महोत्सव नमनाउन आग्रह गरेको छ । प्रशासन र नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै कोरोना भाइरसको सम्भावित जोखिमको बहानामा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कारवाही गरिने जनाइएको छ भने भाइरसको सम्भावित सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा सजगता अपनाउन जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयलाई जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । सङ्क्रमणबाट बच्नका लागि मास्क लगाउन, साबुन पानीले राम्ररी हात धुन, हात नमिलाउन आग्रह गरिएको छ । रासस

दाङमा राष्ट्रिय पाँच योजनाकाे निर्माण प्रक्रिया अघि बढाइयाे

दाङ । तुलसीपुर उपमहानगरपालिकामा चालू आर्थिक वर्षमा राष्ट्रिय योजनाको विशेष र समपूरक अनुदानका आयोजनाअन्तर्गत आएका पाँच वटा योजनाको निर्माण प्रक्रिया अघि बढेको छ । यस वर्षमा आएका पाँच योजनामध्ये सबैको टेण्डर प्रक्रिया अघि बढेको उपमहानगरपालिकाले जनाएको छ । ती योजना निर्माण गर्न उपमहानगरपालिकामा सङ्घीय सरकारले रु पाँच करोड करोड ७४ लाख बजेट विनियोजन गरेको थियो । तुलसीपुर– १२ मा बहुप्राविधिक शिक्षालयमा समपूरक अनुदानको एक करोड १९ लाख, वडा नं १८ को मावि बिजौरी भवन निर्माण गर्न एक करोड बजेछ अाएकाे छ । यसैगरी, वडा नं ४ मजुवा खानेपानी योजनाको रु ८० लाख, वडा नं ८ को भीमसेन शहरी स्वास्थ्य पवद्र्धन केन्द्र भवनको रु ७५ लाख, जनता आवास कार्यक्रम जस्तापाता सहयोगका लागि रु दुई करोड बजेट प्राप्त भएको उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिए ।  उनका अनुसार ती योजना निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाइएको छ । रासस

नख्खु–बङ्मती सडक निर्माण अघि बढ्यो

काठमाडाैं । विस्तारका क्रममा रहेको नख्खु खोलाबाट भैँसेपाटी हुँदै बुङ्मतीसम्मको सडकका विभिन्न खण्डमा काम अघि बढेको छ । भैँसेपाटीको उकालोलगायतका स्थानमा निर्माण अघि नबढे पनि धेरै स्थानमा निर्माण भइरहेको छ । तीन वर्ष पहिले शुरु भएको सडक विस्तार विभिन्न अवरोधका कारण अहिलेसम्म आधा सकिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडक विस्तार दुई ठेक्कामार्फत निर्माण अघि बढाइएको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको सीमाङ्कन गरेपछि मात्रै जिल्ला प्रशासन कार्यालयले निर्माणस्थल खाली गर्छ । निर्माणस्थल खाली हुन समय लाग्दा निर्माण शुरु हुनै लामो समय लागेको थियो । प्राधिकरणले चिह्न लगाएर सडक खाली गराएपछि आयोजनाले निर्माण व्यवसायीमार्फत विस्तारित सडकमा निर्माणको काम अघि बढाइरहेको छ । यस सडकको केही स्थानमा विद्युत्, टेलिफोनका तार र कतिपय स्थानमा रुखसमेत हटाउन कठिन भएको थियो । अझै पनि कतिपय स्थानमा घर हटाउन नसकिएको इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । उनले भने, “ती स्थानमा खाली गराउन लागिएको छ, मापदण्डानुसार जग्गा भएका स्थानमा काम भइरहेको छ ।” यस सडकमा भैँसेपाटी क्षेत्रमा सडक निर्माण भइरहेको इञ्जिनीयर देवकोटाले बताए । साँघुरा बस्ती रहेका स्थानमा भने स्थानीय तहसँगको समन्वय छलफल भइरहेको छ । पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ असारदेखि शुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो । रासस