मध्यभोटेकोशी आयोजनामा काम शुरु, निर्माण सामग्री अभाव

काठमाडौं । राष्ट्रिय प्राथमिकतामा परेको १०२ मेगावाट क्षमताको सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोशी आयोजनाको काम लकडाउनको अवस्थामा समेत सञ्चालन हुँदै आए पनि निर्माण सामग्रीको अभावमा बन्द हुने स्थितिमा पुगेको छ । नेपाली र चिनियाँसहित दैनिक ७० कामदारबाट काम हुँदै आएकामा मौज्दात रहेको सीमित सिमेन्ट र अभाव रहेको केमिकल तत्काल आपूर्ति हुन नसके चाँडै नै काम बन्द हुने अवस्थामा पुगेको आयोजना प्रमुख डा सुनिलकुमार लामाले बताए । आयोजनालाई कूल छ हजार ३०० मेट्रिक टन मात्र मौज्दात रहेकाले त्यसले धेरै दिन धान्न नसक्ने देखिन्छ । सम्झौताअनुसार शुरुदेखि नै चिनियाँ कम्पनीबाट उत्पादित होङ्सी सिमेन्ट प्रयोग हुँदै आएको छ । हाल उक्त सिमेन्टको कारखानासमेत बन्द भएकाले अन्य सिमेन्ट प्रयोग गर्न नमिल्ने हुँदा नेपाल सरकारलाई समन्वय गरी चाँडै नै आपूर्तिको व्यवस्था मिलाइदिन आयोजना प्रमुख डा लामाले आग्रह गरे । हाल आयोजनाको चाकुस्थित बाँधको काम एक महिनाभित्र सम्पन्न हुने गरी तीव्रगतिमा भइरहेको छ । बाँधको काम चाँडै सम्पन्न गर्न सकेको खण्डमा नदीमा बाढी आए पनि क्षति नपुग्ने उहाँको भनाइ छ । आयोजनाको कूल सात हजार ११८ मिटर लामो सुरुङमध्ये छ हजार ६१८ मिटर सम्पन्न भई ९३ प्रतिशत काम पूरा भएको छ । त्यस्तै छ मिटर उचाइ र ३७ मिटर लम्बाइको बाँधमध्ये ७० प्रतिशत र विद्युत्गृहको २५ प्रतिशत काम सम्पन्न भएको छ । कूल १४ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको आयोजना आगामी २०२० को डिसेम्बर अर्थात् नौ महिनाभित्र सम्पन्न गर्नुपर्ने पछिल्लो समयसीमा निर्धारण भएको छ । आयोजनाको सिभिलकार्य चीनको वाङ्सी हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्यूरो र इलेक्ट्रिकको काम अष्ट्रिया एण्डिज हाइड्रोको भारतीय कम्पनीद्वारा निर्माण भइरहेको छ । चिलिमे कम्पनीको सह प्रवद्र्धनमा निर्माण भइरहेको उक्त आयोजना सन् २०१३ डिसेम्बरमा शुरु भई २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर विसं २०७२ को विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र पटक–पटक आएको भोटेकोशी बाढीका कारण निर्धारित समयभन्दा चार वर्षपछि धकेलिएको थियो । रासस

सरकारलाई निर्माण व्यवसायीको अनुरोधः वर्षामा पुल निर्माण गर्न सकिँदैन, अहिले नै निर्माण गर्ने व्यवस्था गरिदिनु पर्यो

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले पुल र नदि नियन्त्रणका कार्यलाई निरन्तरता दिलाउन सरकरालाई आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा रहेको कोराना भाईरस (कोभिड १९)का कारण हाल निर्माण कार्यहरु ठप्प रहेको बताउँदै महासंघले पुल निर्माणका कार्यहरु निरन्तरता दिलाउन आग्रह गरेको हो । महासंघले सोमबार एक विज्ञप्ती जारी गर्दै सो कूरा आग्रह गरेका हुन् । पुल निर्माणका कामहरु बर्षा अगावै सकि सक्नुपर्ने हुँदा यी निर्माण कार्य तत्काल सुरक्षा अपनाई निरन्तरता दिन सहयोग गरिदिनका लागि सरकारको ध्यानाकर्षण गराएको हो । निर्माण व्यवसायीहरुले पुल निर्माणका लागि आफ्नो अरबौको लगानी गरि निर्माण स्थलहरुमा आवश्यक निर्माण सामग्रीहरू गिट्टी, बालुवा, सिमेन्ट, रड, फमी लगायत जम्मा गरिसकेको महासंघले बताएको छ । महासंघले परियोजनाहरुको निमाण स्थलमा सिमित श्रमिकहरु हने र निश्चित क्षेत्र भित्र रहने भएकाले सामाजिक दुरी कायम गर्न सकिने हुँदा कोरोना संक्रमण हुने खतरा पनि नरहने हुँदा काम निरन्तराताका लागि अनुमति दिन आग्रह गरेको छ ।

लकडाउन: माथिल्लो तामाकोशीको निर्माण जारी राख्ने प्रयास, इन्धन र निर्माण सामग्री आयातमा समस्या

काठमाडौं । सरकारले केही ठूला विकास निर्माणका आयोजनालाई काम अगाडि बढाउन मार्ग प्रशस्त गरेपनि निर्माण सामग्री, इन्धन ढुवानीलगायत कारणले जटिलता उत्पन्न भएको पाइएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको यही २० गते बसेको बैठकले केही ठूला आयोजनाको काम जारी राख्न सक्ने निर्णय गरेको थियो । निर्माणाधिन आयोजनाले काम जारी राख्ने प्रयत्न गरेपनि निर्माण सामग्री, मजदुरलाई मानसिक रुपमा तयार नपार्दासम्म काम गर्न अझै समस्या रहेको जनाएका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण जारी राख्न हरसम्भव प्रयास गरिरहेको छ । लकडाउनको समयमा काम गर्न अप्ठ्यारो भएपनि आफूहरुले निर्माण जारी नै राखेपनि केही अत्यावश्यक सामग्रीको आयातसमेत सहज नहुँदा जटिलता पैदा भएको आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेकाअनुसार काम जारी राख्न हरसम्भव प्रयास भइरहेको छ, तर निर्माण सामग्रीको आयातमा देखिएको असहजताका कारण केही समस्या देखिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको कूल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ । कोरोना सङ्क्रमणको त्रास पछि पछिल्ला केही दिनमा आयोजनाको काममा समस्या पैदा भएको छ । सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तै अन्य उद्योगले पनि आफ्नै आवासीय मजदूर परिचालन गरेर सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको थियो । समितिको बैठकले तामाकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानीलगायत आयोजनाका मजदूर धेरै रहेकाले सुरक्षाका सबै उपाय अपनाएर बाहिरबाट प्रवेश गर्न नदिई भित्रकै कामदारलाई परिचालन गरी सञ्चालन गर्न दिने चैत २० गतेको निर्णयमा समावेश थियो । सोही निर्णयका आधारमा माथिल्लो तामाकोशीको काम जारी भएपनि अपेक्षाअनुसार काम गर्न भने लकडाउनका कारण समस्या देखिएको छ । आयोजनाको बाँध तथा बालुवा थिग्र्याउने पोखरीको यही चैत ३ गतेदेखि परीक्षण गरिएको थियो । परीक्षण सफल भएको छ । त्यसको समग्र पक्षको मूल्याङ्कन भने जारी नै छ । स्वदेशी लगानीमा निर्धाणाधीन आयोजनाको प्रमुख काम करिब सम्पन्न हुने चरणमा पुगेको भएपनि कोरोना कहरमा परेको छ । आयोजनाको जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान गर्ने काममा भने अपेक्षित प्रगति नभएको हो । तर, कूल ६८३ मिटर लामो दुई वटा ठाडो सुरुङमध्ये कोरोना कहर देखिनु अघिसम्म कूल ४६३ मिटर पाइप जडान भइसकेको प्रवक्ता न्यौपानेको भनाइ छ । उनका अनुसार कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमा १७५ मिटर पाइप जडान भएको छ । त्यसमा अब १३५ मिटर पाइप जडान गर्न बाँकी छ । यस्तै कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङमध्ये कूल २९० मिटरमा पाइप जडान भएको छ । सो सुरुङमा अब ८३ मिटर पाइप जडान गर्न बाँकी रहेको छ । समग्रमा हेर्दा दुवै सुरुङको २२० मिटर पाइप जडान कार्य बाँकी छ । निर्माण व्यवसायी र कामदारलाई विश्वासमा लिएर पाइप जडानको कार्य जारी राख्ने प्रयासमा आयोजना रहेको छ । आयोजनाको केही सामान नेपाल भारत सीमा क्षेत्रमा आइपुगेको भएपनि लकडाउनका कारण आयोजना स्थलमा पुर्याउन समस्या पैदा भएको छ । “बाटो सहज नभएका कारण ती सामान आयातमा जटिला देखिएको छ । कुनै उपाय लगाएर भएपनि सामान ल्याउने प्रयत्न भने जारी छ”, प्रवक्ता न्यौपानेले भने। आगामी असारभित्र आयोजनाको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । मुख्य सुरुङमा अन्तिम चरणको ढलान सम्पन्न हुनै लागेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी वैशाखभित्र ठाडो सुरुङमा पाइप जडानको कार्य सम्पन्न गर्न गत फागुन १४ गते आयोजनास्थल पुगेर निर्देशन दिएका थिए । कोरोनाको त्रासका कारण सो समयभित्र काम सम्पन्न हुने वा नहुने भन्नेमा भने आयोजनाले तत्कालै केही भन्ने अवस्था छैन । आगामी असारभित्र सबै बाँकी काम पूरा गरेर पहिलो युनिट सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो युनिट सञ्चालनमा आएपछि क्रमशः अन्य युनिट पनि राष्ट्रिय प्रणालीमा जडान गर्दै जाने लक्ष्य राखिएको छ । आयोजनाका अनुसार माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई वटा पाइप जडान गर्न क्रमशः सात र पाँच दिनमा आइसकेकाले कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्रमा पाइप जडान भइसक्ने आयोजनाले बताएको छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङको बीचमा रहेको तेस्रो भागमा पाइप जडान शुरु हुने र त्यसका लागि करिब साढे एक महिना लाग्ने छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष घिसिङले गत फागुन १४ गते निर्माणस्थलको निरीक्षण गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारसँग संयुक्तरूपमा निर्माण सम्पन्न हुने कार्यतालिका बारेमा छलफल गरे । ठेकेदार कम्पनीले आफ्नो तालिकाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यकारी निर्देशक घिसिङले आगामी असारभित्र कम्तीमा पनि एउटा युनिटबाट विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाई त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिए। पहिलो युनिटबाट कूल ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलगायतको गम्भीर चासो छ । विशेषगरी आयोजनाको लट–२ को ठेकेदारले पनि विगतमा भन्दा काममा केही सुधार गरेको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकलको ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच २०७५ पुस २३ मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्सम्याकोले नै गरिरहेको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलबाटै भारतमा रहेका टेक्सम्याकोका प्रमुखलाई फोन गरी निर्माणमा ढिलाइ नगरिदिन आग्रह गरेका थिए । केही महिनाअघि ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिसिङ, कार्यकारी निर्देशक घिसिङ, माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठसहितको टोलीले कोलकातास्थित टेक्सम्याकोको मुख्यालय गई कम्पनीको उच्च व्यवस्थापनलाई भेटेर निर्माणमा तीव्रता दिन भने । आयोजनाको सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कङ्क्रिटिङ गर्ने काम सम्पन्न हुने चरणमा छ । मुख्य सुरुङमा जाने प्रवेश सुरुङमा गेट राख्ने तयारी भइरहेको छ । विद्युत् गृहका सम्पूर्ण उपकरण जडान भई तयारी अवस्थामा छन् । प्रसारण लाइनको १२७ टावर निर्माण र ४७ किलोमिटर तार टाङ्ने कार्य सम्पन्न भएको छ । रामेछापको खिम्तीमा निर्माण भइरहेको न्यू खिम्ती २२० केभी सबस्टेशनको सिभिलतर्फका काम अन्तिम चरणमा पुगेको छ । उपकरणहरु जडान गरी चार महिनाभित्रमा सबस्टेसन सञ्चालनमा ल्याउन लक्ष्यका साथ काम भइरहेको छ । रासस