चालु आर्थिक वर्षमा लक्ष्यभन्दा आधा सडक र पुल निर्माण सकिने

काठमाडौं । चालु आर्थिक वर्षमा लक्ष्यभन्दा झण्डै आधामात्रै सडक र पुल सम्पन्न हुने भएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ न्यूनीकरण र रोकथामका लागि सरकारले जारी राखेको ‘लकडाउन’ का कारण लक्ष्यभन्दा ५० प्रतिशत मात्रै सकिने अनुमान गरिएको हो । चालु आवमा १ हजार २ सयकिमी सडक कालोपत्र र ३ सय पुल निर्माण गरिने लक्ष्य राखिएको थियो । गत महिनासम्म ६ सय ३० किमी सडक कालोपत्र र १ सय ३२ पुल सम्पन्न भएको छ । अहिले देशभरमा २ सय ५० स्थानमा निर्माणको काम भइरहेको सडक विभागले जनाएको छ । अहिले निर्माणका लागि आवश्यक सामग्रीको उत्पादन र ढुवानी सहज भएसँगै अझै केही स्थानमा निर्माणले गति लिने सम्भावना रहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । मौसम अनुकूल भएमा केही सडक र पुल निर्माण सम्पन्न हुन सक्छ । विभागले दुई साता पहिले नै विभिन्न आयोजनामा निर्माण शुरु गरे पनि आवश्यक सामग्रीको अभावले अपेक्षाअनुसार काम हुन सकिरहेको थिएन । सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । तर, त्यो निर्णय कार्यान्वयन हुन अझै एक सातासम्म लाग्न सक्ने उनले बताए । उनले भने, “त्यहाँ काम शुरु भएर निर्माण नियमित आउन थालेपछि निर्माण अघि बढ्नेछ ।” पूर्वाधार निर्माणका लागि मौसम अनुकूल हुँदामात्रै काम गर्न सकिन्छ । यो महिनाको शुरुदेखि नै भइरहेको नियमित वर्षाका कारण काममा सहज नभएको महानिर्देशक शर्माले बताए । त्यस्तै लकडाउन कहिलेसम्म जारी हुन्छ भन्नेमा पनि चालू आवमा कति निर्माण सकिन्छ भन्ने निर्धारण हुने उनले भने । सरकारले लकडाउन हटाउँदा पनि आमनागरिकमा भय नहट्दासम्म काम गर्न नसकिने बताए । उनले भने, “सरकारले काम गर्न खुलाएरमात्रै हुँदैन, जनजीवन सामान्य अवस्थामा आउन अझै समय लाग्नसक्छ ।” विभागले अहिले उपलब्ध जनशक्ति र उपकरणबाटै निर्माण अघि बढाइरहेको महानिर्देशक शर्माले बताउनुभयो । मान्छेको स्वास्थ्यलाई ध्यानमा राखेर जनशक्तिभन्दा उपकरणको प्रयोगमा जोड दिइएको छ । कुनै एउटाखालको जनशक्ति घर फर्किएर गएको छ र ऊ सङ्क्रमण फैलिएको जिल्लाबाटै आउनुपर्ने भएमा तत्काल अर्को ठाउँमा लगेर काम गर्ने सम्भावना छैन । उनले भने, “त्यसैले सकेसम्म भएकै जनशक्तिबाट थोरै काम भइरहेको छ ।” हिजोआज नियमित वर्षा भइरहेकाले पनि लक्ष्यभन्दा कममात्रै निर्माण सम्पन्न हुने देखिएको विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बताए । अहिले विभागले वर्षा पहिले सम्पन्न नहुँदा वर्षाले क्षति पु¥याउने स्थानमा निर्माण अघि बढाएको छ । निर्माणाधीन पुलमा ढलानमात्रै गर्न बाँकी छ र वर्षामा त्यहाँ भएका सामग्री नै बगाउने अवस्था छ भने तिनलाई प्राथमिकता दिइएको छ । उनले भने, “अहिले मानव स्वास्थ्य महत्वपूर्ण भएकाले सम्भव भएका ठाउँमा काम भइरहेको छ ।” निर्माणाधीन कतिपय आयोजनामा कार्यरतमध्ये कतिपय भारतीय कामदार भए पनि अहिले उनीहरु आफ्नो देश फर्किसकेका छन् । अहिले तत्काल उनीहरुलाई फर्काउने सम्भावना छैन । देशभित्रै पनि सङ्क्रमित जिल्लाका कामदार फर्काउन नसकिएको उपमहानिर्देशक सापकोटाले बताए । प्रशासन कार्यालयले पनि सवारी पास सहज उपलब्ध गराइरहेको छैन । विभागले अहिले त्रिभुवन राजपथ, कोशी राजमार्ग र महेन्द्र राजमार्ग, कर्णाली राजमार्ग र हुलाकी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढिरहेको छ । त्रिभुवन राजपथको हेटौँडा–भैसे–लामीडाँडा सडकखण्ड, कोशी राजमार्गको देउराली–मुढे खण्ड र महेन्द्र राजमार्गको लम्की–अत्तरिया खण्डमा निर्माणको काम अघि बढेको हो । महेन्द्र राजमार्गको चुरे हेटौँडा खण्ड आवधिक मर्मतको काम भइरहेको छ । पृथ्वी राजमार्ग फिस्लिङ–जोगीमारा खण्ड पटके मर्मत अघि बढेको छ । दमकस्थित डिभिजन सडक कार्यालयले झापामा पुल र सडक निर्माण गरिरहेको छ । जुम्ला डिभिजन कार्यालयले गमगढी सडक स्तरोन्नति गरिरहेको छ । कोशी राजमार्गको विराटनगर–इटहरी सडक खण्डमा निर्माण अघि बढेको छ । विभिन्न आयोजनामा सडकसँगै पुलको समेत निर्माण अघि बढेको छ । त्रिशूली पुलमा ठिमुरा निर्माणको काम भइरहेको छ । बूढी खोला पुल निर्माणको काम अहिले अघि बढिरहेको छ । कर्णाली राजमार्ग कालीकोट खण्डमा सडक मर्मत र नवलपरासीमा तुरिया खोला पुल निर्माण अघि बढिरहेको छ । डिभिजन सडक कार्यालय दाङले पुलको फुटपाथ निर्माण गरिरहेको छ । सरकारले निर्माणाधीन आयोजनाको काम स्वास्थ्यमा सावधानी अपनाउँदै अघि बढाएको छ । निर्माणस्थलमा सामाजिक दूरी कायम गरेर निर्माण अघि बढिरहेको छ । ती स्थानमा भीडभाड नगर्ने, कामदारलाई त्यही ‘क्लोज क्याम्प’ मा राख्ने, मास्क र सेनिटाइजर प्रयोग गरेर काम भइरहेको विभागले जनाएको छ । आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले लकडाउनको अवधि थप गर्दा भौतिक पूर्वाधारको अलपत्र योजनामध्ये थोरै अघि बढिरहेका छन् । रासस

दुई करोडको पुल ६ महिना नि टिकेन

काठमाडाैं । निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले २ करोड १० लाख रूपैयाँको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत गत मङ्सिरमा सो पुल निर्माण गरेको थियो । ५ सय ३१ मिटर लम्बाइको सो पुलको बीच भागमा दुईवटा भ्वाङ परेको स्थानीयवासी सेते तिलिजाले जानकारी दिए । पुल दायाँबायाँ भागको जमीन भासिएको छ भने पर्खालसमेत भत्किन थालेकाले कुनै पनि बेला दुर्घटना हुनसक्ने स्थानीयवासीको भनाइ छ । पुलको अवस्था र त्यसबाट उत्पन्न सम्भावित जोखिमका बारेमा स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराइएको छ । ठेकेदार कम्पनीले पुल निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेको जनप्रतिनिधिलाई थाहा हुँदाहुँदै पनि चासो नराखेकाले यस्तो अवस्था आएको स्थानीयवासी सुबोध बरुवाल क्षेत्रीले बताए । ठेकेदारले एकसरो ढलान गरेको र स्थानीय जनप्रतिनिधिले पनि चासो नराखेको हुँदा छ महिना पनि नबित्दै पुल भत्किने अवस्थामा पुगेको स्थानीयवासी डिल गर्वुजाले जानकारी दिए ।  रासस

लकडाउनले नछोएको माथिल्लो तामाकोशी : यसरी हुँदैछ काम

काठमाडौं । नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो । कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आयोजनाको काम केही समय प्रभावित भयो । एकाध दिन रोकिए पनि आयोजनाले सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम चालू नै राखिएको छ । लकडाउनले नागरिक घरभित्र छन् । मुलुकमा आर्थिक गतिविधि ठप्प प्रायः छ । यस्तो विषम अवस्थामा पनि केही भौतिक निर्माणका आयोजना भने आफ्नै रफ्तारमा अगाडि बढेका छन् । प्रगति पनि लोभलाग्दो देखिएको छ । देशको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण स्थान राख्ने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम यतिखेर पनि जारी छ । लकडाउनमा पनि काम भइरहेको छ ? हो, आम मानिसले सोचेभन्दा भिन्नै तरिकाले माथिल्लो तामाकोशीको काम धमाधम भइरहेको छ । मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयपछि त झन् आयोजनालाई थप सहज भएको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सबैभन्दा जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत लकडाउनको समयमा उल्लेख्य प्रगति भएको छ । कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये अब बाँकी ११६ मिटर मात्रै छ । गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङमध्ये शुक्रबारसम्म ३५७ मिटर खण्डमा पाइप जडान कार्य भइसकेको छ । अब मात्रै १६ मिटरमा पाइप जडान गर्न बाँकी छ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लाग्ने भएकाले अब १५ दिनमा तल्लो ठाडो सुरुङमा पाइप जडानको काम सम्पन्न हुनेछ । सो काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले गरिरहेको छ । यस्तै कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले पनि लकडाउनको समयमा आफूलाई अब्बल सावित गर्ने प्रयास गरिरहेको छ । प्राप्त विवरणअनुसार कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये शुक्रबारसम्म २१० मिटरमा पाइप जडान भइसकेको छ । अब सो सुरुङमा मात्रै १०० मिटर पाइप जडान गर्न बाँकी छ । पाइप जडानको काम प्रभावकारीरूपमा अगाडि बढेको र एउटा पाइप जडानका लागि पाँच कार्य दिन लाग्ने गरी व्यवस्थापन मिलाइएको प्रवक्ता डा न्यौपानेले जानकारी दिनुभयो । राष्ट्रिय गौरवको आयोजना भएकाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर निर्माण सामग्रीको ढुवानीको प्रबन्ध गरिदिनुभएकाले पनि थप सहजता पैदा भएको छ । आयोजनाले अत्यावश्यक सिमेन्ट, रडलगायत सामग्रीको नियमित आपूर्ति गरिरहेको छ । आयोजनास्थलमा झण्डै ६ सय ५० श्रमिक हाल पनि कार्यरत छन् । यस्तै आयोजनामा बाँकी रहेको लाइनिङको र केमिल ग्राउटिङको कामसमेत जारी छ । केही श्रमिकले भने घर जान पाए हुन्थ्यो भन्ने माग आयोजनासमक्ष राखेका छन् । उनीहरुलाई उत्प्रेरित गरेर काममा लगाइएको जानकारी प्राप्त भएको छ । आगामी जेठ र असारको पहिलो सातासम्म पाइप जडानको काम सम्पन्न गर्ने लक्ष्य आयोजनाले राखेको छ । लकडाउनका कारण यही वैशाखमै पाइप जडानको काम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि केही दिन काम बन्द हुँदा समयसीमा पर सरेको हो । यस्तै ठाडो सुरुङमा पाइप जडानका अलावा त्यसको गास (जोड्ने स्थान) मा पनि पाइप जडान गर्नुपर्ने काम बाँकी छ । सो काममा लागि थप १५ दिन लाग्ने भएकाले असारभरिमा निर्माणको काम सम्पन्न गर्ने तयारीमा आयोजना छ । यस्तै विद्युत् उत्पादन गर्ने उपकरणलगायत सामग्री भने जडान गरेर तम्तयारी हालतमा राखिएको छ । पाइप जडानलगायत अन्य प्राविधिक काम सम्पन्न गरेर सकेसम्म चाँडो पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरणसमेत जुटेको छ । एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने छ । आयोजनामा कूल छ वटा विद्युत् उत्पादन गर्ने युनिट रहेका छन् । माथिल्लो तामाकोशी यस्तो आयोजना हो, जहाँ सुरक्षाका सम्पूर्ण उपाय अपनाएर लकडाउनमा समेत काम भइरहेको छ । जुन अन्य आयोजनाका लागि समेत अनुकरणीय देखिएको छ । काम भइरहँदा आयोजनाका पदाधिकारीलाई अन्य कुराले भन्दा पनि निर्माण सामग्रीको ढुवानी रोकिँदा भने समस्या आइलाग्छ कि भन्ने चिन्ताले सताएको थियो । सो समस्यासमेत हल भएकाले आयोजनाको गतिमा कुनै कमी आएको छैन । जिल्ला प्रशासन कार्यालय दोलखाले आयोजनालाई सहजीकरण गरिरहेको छ । अत्यावश्यक पास तथा अन्य सुविधासमेत उपलब्ध गराएको छ । आयोजनाको महत्व र गाम्र्भीयतालाई बुझेर जिल्ला प्रशासन कार्यालयले आवश्यक सहयोग गरेको छ । आयोजनामा कार्यरत श्रमिकलाई व्यक्तिगतरूपमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ । प्रवक्ता न्यौपानेका अनुसार बाँधतर्फको सिभिलको काम पूरा भएको छ । हाइड्रोमेकानिकल गेट राख्ने तयारी गरिएको छ । सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । पछिल्लोपटक यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा समेत काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेका कारण पनि थप सहजता भएको छ । आयोजनास्थलमा एक एम्बुलेन्स अनिवार्यरूपमा राख्नैपर्ने, निर्माणस्थलमा खटिएका कामदारलाई आइसोलेसनमा बसेजस्तै गरी स्थानीयवासीसँगको सम्पर्क गर्न नदिने तथा व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै आयोजनास्थलमा एक मेडिकल टिम अनिवार्यरूपमा राख्ने व्यवस्था गरिएको छ । कुनै स्वास्थ्य समस्या देखिनेबित्तिकै उपचारको प्रबन्ध गर्न व्यवस्था गरिएको छ । कोभिड–१९ समन्वय समितिको बैठकले ठूला आयोजना तथा दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको छ । सोही आधारमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशीको काम चालू हालतमा छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनका अनुसार निर्माण सामग्री आयातमा समेत सहजीकरण गरिएको छ । मन्त्री पुनका अनुसार ठूला आयोजनामा काम गर्ने वातावरण गत चैत २० गतेदेखि नै मिलाइएको थियो । ऊर्जाका आयोजना मात्रै नभइ अन्य खालका उद्योग सञ्चालन गर्ने भन्ने निर्णय भएअनुसार नै प्रक्रिया अगाडि बढाइएको मन्त्री पुनको भनाइ छ । विशेषगरी कोरोनाको सङ्क्रमण फैलन नदिन श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने विषय प्रमुख प्राथमिकतामा छ । अन्य नागरिकसँग घुलमिल नहुने वातावरण बनाउने, हरेक आयोजनामा एक एम्बुलेन्स र मेडिकल युनिट रहनैपर्ने व्यवस्था गरिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव चार प्रतिशत पुगेको छ । निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजनाको कामलाई निरन्तरता दिन अत्यावश्यक निर्माण सामग्री ढुवानीका लागि गृह मन्त्रालयले आवश्यक व्यवस्था मिलाइदिएको छ । यस्तै प्रसारण लाइन निर्माण र सवस्टेशनको कामसमेत सम्पन्न हुने चरणमा पुगेकाले आर्थिक समृद्धिको लक्ष्यमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको माथिल्लो तामाकोशीबाट एकाध महिनामा विद्युत् उत्पादन हुने विश्वास गर्न सकिन्छ । रासस