लकडाउनको समयमा कालोबजारी, निर्माण सामग्रीको मूल्य बढ्याे  

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट, डण्डी, गिटी, बालुवालगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि भएको बताएको छ । लकडाउनको समयमा निर्माण सामग्रीहरुके मूल्य बढेको भन्दै महासंघको गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । महासंघका अध्यक्ष रवि सिँहले एक विज्ञप्ति जारी गरी अव्यावहारिक ढंगले अप्रत्याशित मूल्यवृद्धि भएको जनाउँदै तत्काल कालोबजारी गर्नेलाइई नियन्त्रणमा लिन तथा मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको समयमा निर्माण सामग्रीमा अप्राकृतिक र अप्रत्याशित ढंगले भएको चर्को मूल्यवृद्धिका कारण देशभरका निर्माण कार्य प्रभावित भई लागतसमेत बढ्ने भएकाले व्यवसायी ठूलो मारमा परेका छन् ।’ नेपाल निर्माण व्यवसायी महासंघले लकडाउनको अवसरमा निमार्ण सामग्रीमा मुल्य वृद्धि गरिएको भन्दै तत्काल रोक्न सरकारसंग आग्रह गरेको छ। महासंघले निर्माण सामग्री र ढुवानीमा कृत्रिम रुपमा मूल्य बढाएको भन्दै रोक्न माग गरेको हो। ‘प्रतिकूल अवस्थाको फाइदा उठाउँदै निर्माण सामग्री र ढुवानीमा कृत्रिम रुपमा मिलोमतोमा अत्यधिक मूल्यवृद्धि गरिएको प्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, महासंघले भनेको छ, ‘बन्दाबन्दी अगाडिको मूल्य र हालको मूल्यमा सिमेन्ट प्रतिबोरामा ८० देखि १२० रुपैयाँ र रड प्रतिकिलो १० देखि १५ सम्म मूल्यवृद्धि भएको छ। त्यस्तै निर्माण सामग्री ढुवानीमा पनि बन्दाबन्दी अगाडिको मूल्यमा डेढ गुणा बढी मूल्यवृद्धि भएको महासंघले उल्लेख गरेको छ। विश्व बजारसहित नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेको अवस्थामा ढुवानीमा चर्को मूल्यवृद्धि हुनु कुनै पनि दृष्टिकोणबाट मान्य नहुने महासंघले जनाएको छ।

कोरोना सङ्क्रमितका कारण रोकियो जोरपाटी–सुन्दरीजल सडक

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ । बन्दाबन्दीको एक महिनापछि सुरक्षा विधि अपनाएर पुनः शुरु भएको सडक निर्माण अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हलुका सवारी चालक पदमा कार्यरत ५८ वर्षीय स्थानीयवासीमा कोरोना पुष्टि भएपछि नगरपालिकाको वडा नं ४ सिल गरिएकाले रोकिएको हो । सङ्क्रमितसँग सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण नगरेसम्म वडा नं ४ मा सडक बिस्तारको काम नगरिने वडाध्यक्ष श्रीकुमार श्रेष्ठले बताए । यही जेठ ६ गते नगरवासीमा कोरोना पुष्टि भएपछि धेरै ठाउँमा भइरहेको काम रोकिएको हो । वडा नं १ को केही भागमा भने पर्खाल लगाउने काम भइरहेको छ । गत आर्थिक वर्षमै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक दायाँबायाँ घर भएका स्थानीयवासीले विरोध गरेपछि बिस्तार हुन सकेको थिएन । केन्द्रविन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो । सात किमीको दूरीमा पर्ने करिब ९ सय घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए । सहमतिसँगै चालु आर्थिक वर्षको अन्त्यसम्म काम सक्ने गरी ५८ करोड रुपैयाँ लागतमा भइरहेको काम नसकिने भएको छ । बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाइए पनि विद्युत्को पोल, तारलगायत संरचना हटेको छैन । सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी श्याम तामाङले गुनासो गरे । रासस

बन्दाबन्दीमा एकदिन पनि रोकिएन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण

काठमाडाैं । राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने आयोजनाको चालू आर्थिक वर्षको शुरुका नौ महिनाको प्रगति निकै अगाडि रहेको पाइएको छ । राष्ट्रिय योजना आयोगको अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले तयार पारेको प्रतिवेदनअनुसार चालू आवको साउनदेखि चैत मसान्तसम्मको नौ महिनाको अवधिमा मन्त्रालय मातहतको निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति उल्लेख्य रहेको हो । पर्यटन मन्त्रालयअन्तर्गत पाँचवटा राष्ट्रिय गौरवका आयोजना पर्छन् । यो अवधिमा गौतमबुद्ध विमानस्थलको १५ प्रतिशत कार्य प्रगति भएको छ भने पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति १४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्तसम्ममा ७५ प्रतिशत काम सम्पन्न भएको गौतमबुद्ध विमानस्थलकोे भौतिक प्रगति चालू आर्थिक वर्षको नौ महिनामा १५ प्रतिशत बढेर ९० प्रतिशत पुगेको छ । त्यस्तै गत आर्थिक वर्षको अन्त्यसम्ममा ४२ प्रतिशत काम पूरा भएको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको चालू आर्थिक वर्षको नौ महिनामा १४ प्रतिशत बढेर ५६ प्रतिशत पुगेको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले आयोजनाका प्रमुखसँग गत वैशाख १८ र २२ गते अनलाइन छलफल गरी पछिल्लो प्रतिवेदन तयार पारेको जनाएको छ । आयोगको उक्त प्रतिवेदनका अनुसार, राष्ट्रिय गौरवका अरू आयोजनाहरुमा चालू आर्थिक वर्षको चैतसम्ममा मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९७.५ प्रतिशत सकिए पनि गत असारयता २.३८ प्रतिशत मात्र भौतिक प्रगति भएको देखिन्छ । हुलाकी राजमार्ग भौतिक प्रगति ४८ प्रतिशत र असारयता चार प्रतिशत मात्र छ भने उत्तर दक्षिण लोकमार्गको काम असारयता ०.१ प्रतिशत मात्र प्रगति भएको देखिएको छ । असार अघिसम्म २० प्रतिशत काम पूरा भएकामा चालू आवको चैतसम्ममा २०.१ प्रतिशत मात्र काम भएको छ । त्यस्तै भेरी डाइभर्सन काम ४०.६१ प्रतिशत सम्पन्न भए पनि असारयता २.२१ प्रतिशतमात्र काम भएको देखिएको छ । त्यस्तै बबई सिँचाइ आयोजना ४७.७८ प्रतिशत काम सम्पन्न भए पनि असारयता १.३८ प्रतिशत बढेको छ । बन्दाबन्दीमा विमानस्थलको निर्माण नियमित बन्दाबन्दीका बेला पनि पर्यटन मन्त्रालयअन्तर्गत पर्ने दुई क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको काम एक दिन पनि रोकिएको छैन । ‘अवस्था सामान्य भइदिएको भए पर्यटन मन्त्रालय अन्तर्गतका आयोजनाको प्रगति अवस्था निकै राम्रो हुने थियो’, पर्यटनमन्त्री योगेशकुमार भट्टराईले भने, ‘लकडाउनकै समयमा पनि हामीले भ्याएसम्म साधन स्रोतको प्रयोग गरेर काम गरिरहेका छौँ ।’ लकडाउन खुलेर अवस्था सामान्य भएपछि गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडै नै सम्पन्न हुने र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको काम यही अवस्थाबीच पनि तोकिएकै समयमा सम्पन्न हुने मन्त्री भट्टराईले बताए । गौतम बुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा अहिले पनि २९ चाइनिजसहित १५० जनाले काम गरी रहेको सो विमानस्थल आयोजनामा प्रमुख प्रवेश अधिकारीले बताए । सन् २०२० को मार्चसम्ममा निमार्ण सम्पन्न गरिसक्ने गरी सन् २०१४ नोभेम्बरबाट निर्माण थालिएको यस विमानस्थलको काम विश्व महामारीको रुप लिएको कोभिड-१९ का कारण केही समय पर धकेलिए पनि महामारीकै बीच पनि उपलब्ध साधन स्रोतको उच्चतम प्रयोगका साथ भइरहेको आयोजना प्रमुख अधिकारीले बताए । तीन महिनामा सबै काम पूरा हुने कोभिडको महामारी शुरु हुनुअघि भौतिक प्रगति ८५ प्रतिशत तथा आर्थिक प्रगति ५५ प्रतिशत रहेको यो विमानस्थलको काम अहिलेसम्म भौतिकतर्फ ९० प्रतिशत तथा आर्थिकतर्फ ६३ प्रतिशत प्रगति भइसकेको आयोजना प्रमुख अधिकारीले बताए । मार्चमम्ममा काम सकिने भने पनि जनवरीबाटै चीनवाट आउनुपर्ने सामग्री रोकिएपछि काम प्रभावित भएको हो । अहिले पनि कतिपय सामग्रीबीच बाटो (ल्हासा)मा आएर रोकिएका छन् भने कतिपय सामग्री प्याकिङ नै नभएको अधिकारीले जानकारी दिए । उनले भने, ‘हामीले चिनियाँ पक्षलाई आउनुपर्ने सामग्री चीनको सीमासम्म ल्याउने पहल गरिदिन आग्रह गरिरहेका छौँ । त्यहाँसम्म ल्याउने अवस्था भयो भने यताबाट हाम्रै पहलमा ल्याएर भने पनि कामलाई गति दिने थियौँ ।’ सबै निर्माण सामग्री आएको खण्डमा तीन महिनामा निर्माणको सबै काम पूरा हुने उनको भनाइ छ । अहिलेसम्म विमानस्थलमा तीन किलोमिटर धावनमार्ग निर्माणको काम सम्पन्न भइसकेको छ भने ट्याक्सी वे र एप्रोन निर्माणको काम पनि सकिएको छ । कार्गो टर्मिनलभवनको काम पनि करीब ५० प्रतिशत सकिएको छ । कार्गो टर्मिनल भवन आगामी कात्तिक १२ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सेक्युरिटी भवन निर्माणको काम करिब ९० प्रतिशत सकिएको छ । त्यस्तै, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा २५० चिनियाँ र नेपाली १०० गरी ३५० जनाले काम गरिरहेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । उनले केही सामग्री केरुङ नाका र कलकता बन्दरगाहमा रोकिए पनि स्टक सामग्री भएकाले अहिलेसम्म काममा बाधा नआएको बताउनुभयो । मुनकर्मीले भने, ‘अझै पनि स्टक सामान एक महिनाका लागि छ, केरुङमा रोकिएका सामान मात्र ल्याउन सकियो भने तीन महिनालाई काम गर्न पुग्छ ।’ आगामी जुलाईसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि काम प्रगतिका आधारमा लक्ष्यभन्दा छ महिना अगाडि नै योजना सम्पन्न हुने अपेक्षा गरिएको थियो । अहिले पनि बाहिरबाट सामग्री ल्याउन लकडाउनले असर नपारेको अवस्थामा तोकिएकै समयमा काम पूरा हुने पनि आयोजना प्रमुख मुनकर्मीले बताए । रासस