नयाँ चार शहरः तीन शहरको डीपीआर स्वीकृत, ललितपुरको बन्नेमा अन्योल

काठमाडौं । काठमाडौं उपत्यकामा बन्ने भनिएका चार शहरमध्ये तीन शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार बसेको बैठकले तीन शहरहरुको डीपीआर स्वीकृत गरेको हो । तीनै शहरको डीपीआर स्वीकृत भएसँगै अन्तिम स्वीकृतीका लगि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय भएको छ । प्रस्तावित चार नयाँ सहरमध्ये ‘काठमाडौँ इसान’, ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ उत्तर’को प्रस्तावित स्मार्ट सिटीको तयार डीपीआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले बताए । ललितपुरमा बन्ने भनिएको नयाँ शहरमा भने अन्योलता देखिएको छ । ललितपुर महानगरपालिका नगरप्रमुख बैठकमा अनुपस्थित रहेकोले ललितपुर जिल्लामा पर्ने प्रस्तावित शहर ‘काठमाडौँ नैऋत्य’ को डीपीआरबारे निर्णय हुन नसकेको तिवारीले बताए । ‘हामीले तीन शहरको डीपीआर मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेका छौं, ‘काठमाडौँ नैऋत्य को शहरका लागि मेयरसाव दुई/तीन पटक बैठकमा बोलाएर पनि नआएपछि त्यतिकै रोकिएको छ, अर्को बैठकमा माग गरेर आयो भने स्वीकृत हुन्छ, नत्र त्यस्तै स्थगित रहन्छ,’ उनले विकासन्युजसँग भने । समितिका अध्यक्ष सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा बसेको बैठकले नयाँ शहरहरुको अन्तिम स्वीकृतीका लागि डीपीआर मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको तिवारीले बताए । उनले सो डीपीआर मन्त्रिपरिषदबाट पास भएपछि निर्माणका लागि ठेक्का प्रकृयाको काम सुरु हुनेबताए । आगामी आर्थिक वर्षको सुरु देखि नै नयाँ शहरको निर्माण प्रक्रियाका लागि गर्नुपर्ने ठेक्कापट्टा लगाउने काम सुरु हुने उनको भनाई छ । उपत्यका विकास प्राधिकरणका अनुसार पहिले एकै पटक ४ वटै नयाँ शहर निर्माण सम्भव नभएको बताएपनि अहिले भने तीनै शहरको निर्माण प्रक्रिया सँगै सुरु गर्ने भएकाे हाे । आगामी आर्थिक वर्षको सुरुदेखि नै तीनै शहरको निर्माण प्रक्रिया सुरु गरी समयावधि भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम हुने तिवारीले बताए । आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा तीन सानो सहरका लागि ५०/५० लाख र ठूलो शहरका लागि १ करोड रुपैयाँ विनियोजन भएपछि सबैको सँगै काम सुरु गर्ने उनले बताए । नयाँ शहर निर्माणका क्रममा ३० प्रतिशत जग्गा कटौती हुनेछ । त्यसको २० प्रतिशत जग्गा सडकमा आउने बताइएको छ । बाँकी ५ प्रतिशत खुल्ला मैदान र पार्कका लागि छुट्याइने छ । डीपीआर अनुसार सबभन्दा ठूलो स्मार्ट सिटी ‘काठमाडौँ इसान’ को कुल निर्माण लागत चार खर्ब रुपैयाँ हुनेछ भने अन्य तीन वटाको कुल निर्माण लागत ४०/४० अर्ब रुपियाँ प्रस्ताव गरिएको छ । त्यसैगरी, काम सुरु भएको मितिले ठूलो स्मार्ट सिटीको निर्माण अवधि पाँच वर्ष र बाँकीको तीन वर्षको हुनेछ । नयाँ शहरमा कलेज, दमकल स्ट्याड, हेल्थपोष्ट, पार्क, प्रहरी चौकी, स्कुल, सहरी विकासका भौतिक पूर्वाधारहरु विकास गरिने छ । मन्त्री नेम्वाङ भन्छन्ः चारै शहर बनाउने योजना पुरा गर्छौं शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं उपत्यकामा बन्ने चारै शहर बनाउने योजना पुरा गरेरै छाड्ने बताएका छन् । काठमाडौंको अव्यस्थित बस्ती विस्तार भएका कारण संघीय राजधानीलाई व्यवस्थित बनाउन स्मार्ट सिटीको अवधारणा ल्याइएको बताउँदै उनले चारै शहर निर्माण हुने बताएका हुन् । उनले चारै शहरको सिटीको काम आगामी आर्थिक वर्षमा तीव्र बन्ने बताए । विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सोमवार संसद्मा जवाफ दिँदै मन्त्री नेम्वाङले संघीय राजधानीको रूपमा स्वच्छ, सफा र प्रदूषणमुक्त शहर बनाउन स्मार्ट सिटी बनाउन लागिएको बताएका हुन् । ‘कुनै पनि भूमाफियाको प्रलोभन र दबाबमा सरकार पर्दैन, संसारभरिका राजधानीहरू अति सुन्दर हुन्छन्, वातावरणीय दृष्टिले, सांस्कृतिक र सभ्यताले व्यवस्थित हुन्छन्, संघीय राजधानीको रूपमा स्वच्छ, सफा र प्रदूषणमुक्त शहर बनाउन स्मार्ट सिटीको अवधारणा ल्याइएको हो,’ उनले भने । सम्बन्धित समाचार:  नयाँ चार शहरः आठ आनाभन्दा कम जग्गा हुनेले पनि छोड्नु नपर्ने, जमिनको मूल्य यस्तो छ चारै नयाँ शहरको डीपीआर तयारः न्युनतम ८ आना जग्गा किनबेच गर्न सकिने, मूल्य बढ्ने

फ्लाईओभर नै जाम व्यवस्थित बनाउने उपाय हो: मन्त्री नेम्वाङ

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बषन्त कुमार नेम्वाङले काठमाडाैं उपत्यकाकाे जाम व्यवस्थित बनाउने एउटा मात्र उपाय फ्लाईओभर भएकाे बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शिर्षकमा विनियोजित बजेट र कार्यक्रममाथि सांसदहरुको प्रश्नको जवाफ दिदै उनले साे कुरा बताएका हुन्। उनले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि मन्त्रालयको बजेट २२ अर्बले कम रहेको बताउँदै उनले संघीय राजधानीलाई सुन्दर बनाउन, ट्राफिक जामलाई व्यवस्थित बनाउने एउटै मात्र उपाय फ्लाईओभर भएकाे बताएका हुन् । लामो समयदेखि महत्वपुर्ण बाटोको रुपमा रहेको पुर्वपश्चिम राजमार्गको ४ लेन विस्तार र निर्माण कार्यलाई थालनी गरिएको र केही वर्ष यसको पुर्णतामा लाग्ने भएकाले हुलाकी सडक चार लेनको बनाउने योजना अहिले भएको उनले स्पष्ट पारे। उनले सबै निर्वाचन क्षेत्रहरुमा तराई मधेश पूर्वाधार कार्यक्रममा भने सबै निर्वाचन क्षेत्रमा विस्तार गरिएको, पुर्वपश्चिम विद्युतीय रेलमार्गको सबै डीपीआर कार्य सम्पन्न भएको र डीपीआर बमोजिम बर्दिबासमा काम सुरु भईसकेको जानकारी दिए। राजधानीमा फ्लाईओभर बनाउन छुट्याएको बजेट प्रदेशमा पठाउनुपर्ने भन्ने सांसदहरुको थियाे । तर, उनले भने, ‘फ्लाई ओभरको बजेट प्रदेशलाई पठाउनुपर्ने भन्नुभएको छ, यो होइन, संसारभरीका राजधानीहरु अत्यन्तै व्यवस्थित हुन्छन् । हाम्रो राजधानी धार्मिक, सांस्कृतिक सबै कुराले धनी छ । बाटाहरु साना छन् । ट्राफिक बढ्दो भएकाले जाम नियन्त्रण गर्नुपर्ने भएकाले एउटा दुईवटा मात्रै होइन काठमाण्डौमा साह्रै धेरै आवश्यकता छ ।’

भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा ‘शान्ति पार्क’ निर्माण हुँदै

मेलम्ची । इन्द्रावती गाउँपालिकामा शान्ति पार्क निर्माण भइरहेको छ । भूकम्पमा परेर मृत्यु भएकाको स्मृतिमा शान्ति पार्कको निर्माण गरिएको हो । गाउँपालिकाको नवलपुरमा १ करोड ५० लाखमा पार्क निर्माणको काम भइरहेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । उनका अनुसार भूकम्पमा मृत्यु भएका गाउँपालिका भरका मानिसको नाम सो पार्कमा लेखिनेछ । गाउँपालिकाभर भूकम्पमा परी ५ सयले ज्यान गुमाएका थिए । तत्कालीन सात गाविस मिलेर इन्द्रावती गाउँपालिका बनेको हो । भूकम्पमा सिन्धुपाल्चोकबाट मात्रै तीन हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका थिए । आगामी आर्थिक वर्ष ०७७/७८ मा शान्ति पार्क निर्माण भइसक्ने अध्यक्ष तामाङले बताए ।   रासस