सुरक्षा विधि अपनाएर जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार
काठमाडाैं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ । बन्दाबन्दीले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो । जेठ पहिलो साता नगरपालिका–४ र ७ मा गरी दुई जना सङ्क्रमित भएपछि दुवै वडा सिल गरिएको थियो । सङ्क्रमितसँग सम्पर्कमा आएका र परिवारका सदस्यलाई पनि आरडिटी एवं पिसिआर विधिबाट परीक्षण गर्दा प्रतिवेदन नेगेटिभ आएपछि सडक विस्तारको काम शुरु भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए । गत आर्थिक वर्षमै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको ७ किमी सडक पाँच वर्षदेखि अलपत्र छ । सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रविन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो । सात किमीको दूरीमा पर्ने करिब ९सय घरका धनीले ठेक्का अनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता ढुङ्गानाले जानकारी दिए । सहमतिसँगै चालु आर्थिक वर्षको अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो । ५८ करोड लागतमा भइरहेको काम असार मसान्तसम्म नसकिने निश्चित भएको बिस्तार आयोजना प्रमुख गुरुप्रसाद अधिकारीले बताए । बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाए पनि विद्युत्को पोल, तार लगायत संरचना हटेको छैन । सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी पार्वती तामाङले गुनासो गरे । यसैबीच जोरपाटी चोकबाट सुन्दरीजलतिर जाने मुखका स्थानीयवासी मुआब्जाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि हाल त्यहाँको काम रोकिएको छ । अन्य स्थानमा भने हाल सुरक्षाका विधि अपनाएर एक समूहमा १० जना मानिसले गर्ने एवं यन्त्रले गर्न सकिने ढलका लागि हिमपाइप राख्ने काम भइरहेको आयोजनाले जनाएको छ । त्यहाँभन्दा बढी कामदार जम्मा हुने काम भने हुन सकेको छैन । वर्षा अघि नै सडकमा ग्राभेलसम्म गर्न सकिने गरी काम अघि बढाइएको नगरपालिका वडा नं। ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले सुनाए । ग्राभेल हालेर डोजर र रोलरले सम्याएर वर्षाका समयमा हिलो एवं धुलो नहुने गरी काम गराउन नगरपालिकाले दबाब दिँदै आएको जनाइएको छ । निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनका इञ्जिनीयर सनम श्रेष्ठ बन्दाबन्दी शुरु भएपछि सुरक्षित तरीकाले काम गर्न कामदार पाउन नसकिएको बताए । यही महीना काम सकिनुपर्ने भएपनि हालसम्म मुस्किलले ४० प्रतिशत मात्र काम भएको निर्माण कम्पनीले जनाएको छ । रासस
लालबन्दी–मरिण जोड्ने सडकको डिपिआर बनाउने सहमति
सर्लाही । जिल्लाको लालबन्दी नगरपालिकाबाट छिमेकी जिल्ला सिन्धुलीको मरिण गाउँपालिका जोड्ने सडक निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरिने भएको छ । लालबन्दी नगरपालिका र मरिण गाउँपालिकाबीच शनिबार भएको छलफलमा नगरपालिकाको वडा नं १३ र १४ को चुरेक्षेत्र हुँदै गाउँपालिका–५ बडीमुहान, अम्बास जोड्ने सडक निमार्णका लागि डिपिआर तयार गर्ने सहमति भएको हो । नगरपालिकाका प्रमुख मानबहादुर खड्का र गाउँपालिका अध्यक्ष पानीराज बम्जनसहितको जनप्रतिनिधिबीच भएको छलफलले दीर्घकालीनरूपमा सडक निर्माणका लागि डिपिआर निर्माण गर्ने र तत्काल सञ्चालनका लागि सडकको स्तरोन्नति गर्ने सहमति भएको नगरपालिकाका उपप्रमुख शान्तिकुमारी लामाले जानकारी दिए । सडकको डिपिआर निर्माण र स्तरोन्नतिका लागि आगामी आर्थिक वर्ष २०७७÷७८ मा दुवै स्थानीय निकायले बजेट विनियोजन गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष बम्जनले बताए । “दुवै स्थानीय तहका जनप्रतिनिधिबीच छलफल भयो । तत्कालका लागि नगरपालिकाभित्र पर्ने सडक र गाउँपालिकाभित्र पर्ने सडकको स्तरोन्नति गर्ने र आगामी आवमा बजेट विनियोजित गर्ने सहमति भएको छ । दीर्घकालीनरूपमा सडक निर्माणका लागि डिपिआर तयार गर्ने सहमति भएको छ”, नगरपालिकाका प्रमुख खड्काले भने । दुवै स्थानीय निकायले आ–आफ्नो स्थानीय निकायभित्रका सडकको स्तरोन्नति गर्दा बाँकी थोरै क्षेत्रको मात्रै सडक जोड्ने काम बाँकी रहने र आर्थिक भार पनि कम पर्ने गाउँपालिकाका अध्यक्ष बम्जनले बताए । सडकको डिपिआर तयार गर्नका लागि आगामी आव २०७७÷७८ मा दुवै स्थानीय तहहरुले स्रोतले भएसम्म बजेट छुट्याउने सहमति भएको अध्यक्ष बम्जनको भनाइ छ । “यो सडक निर्माणमा स्थानीय तहहरुले मात्रै सकिँदैन । हामीले स्रोतले पुगेसम्म लगानी गर्छौँ । डिपिआरदेखि सडक निर्माणसम्मका लागि बजेट नपुगेको खण्डमा सङ्घ, प्रदेश सरकारसँग पनि बजेट माग गर्नुपर्छ ।” सङ्घ र प्रदेश सरकारबाट बजेट ल्याउन दुवै स्थानीय तहले समन्वय गर्ने सहमति भएको दुवै स्थानीय निकायका प्रमुखले बताए । करिब ३५ किलोमिटर लम्बाइ रहेको सडक निर्माणपछि तराईसँग मरिण गाउँपालिकाको आवातजावतमा सहज हुनेछ । सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको व्यापारिक केन्द्रका रूपमा रहेको लालबन्दी बजार उक्त सडक निर्माणपछि थप व्यस्त रहने हुँदा सोहीअनुसार व्यवस्थित बनाउने नगरले तयारीसमेत गरेको नगर उपप्रमुख लामाले बताए । रासस
एक करोड लागतमा सुनवोरा नदीकाे तटबन्ध निर्माण
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको सुनवोरा नदीमा १ करोड रूपैयाँको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ । नगरपालिकको वडा नं २, ३ र ४ मा गरी नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु गरिएको हो । तटबन्ध निर्माण समितिका अध्यक्ष जीवन धामीले वडा नं २ मा १५० मिटर, वडा नं ३ मा ५० मिटर र वडा नं ४ मा २ सय १० मिटर तटबन्ध निर्माण भइरहेको बताए । निर्माण भइरहेका तटबन्धमा लन्चिङ र स्परसमेत निर्माण हुनेछ । तीनवटै वडाका तटबन्धमा २ हजार ९ सय घनमिटर ढुङ्गा र १ सय ६७ टन तारजालीको प्रयोग गरिनेछ । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा निर्माण हुन लागेको तटबन्ध असार मसान्तभित्रै निमार्ण गरिसक्नुपर्ने सम्झौता गरिएको छ । तटबन्ध निर्माणपछि तीनवटै वडाका झण्डै २सय घरघुरी लाभान्वित हुने बताइएको छ । कृषियन्त्र र उपकरण हस्तान्तण शुक्लाफाँटा नगरपालिका–३ का किसानलाई अनुदानमा शनिबार पावरट्रिलरलगायतका कृषि औजार र उपकरण हस्तान्तरण गरिएको छ । कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाई उत्पादन अभिवृद्धि गर्नका लागि सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत अनुदानमा कृषि औजार तथा उपकरण हस्तान्तरण गरिएका हुन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्कालगायतले नौवटा पावरट्रिलर, प्लाष्टिक घर २६, पाँच पम्पसेट, इलेक्ट्रिक स्प्रे ट्याङ्कीलगायतका कृषि औजार तथा उपकरण हस्तान्तरण गर्नुभएको हो । किसानलाई बीउ, विषादी र सूक्ष्मतत्वसमेत आवश्यकतानुसार उपलब्ध गराइएको छ । मुख्यमन्त्री कृषि नमूना गाउँ समन्वय समितिका अध्यक्ष टीकुराम चौधरीले कार्यक्रम सञ्चालनका लागि रु ५० लाख बजेट परिचालन गरी कृषि औजार र उपकरण खरिद गरिएको बताए । सोमध्ये किसानलाई ८० प्रतिशत अनुदानमा पम्पसेट र ५० प्रतिशत अनुदानमा पावरटिलरलगायतका सामग्री उपलब्ध गराइएको हो । रासस