बाढीले क्षति भएकाे सालझण्डी–ढोरपाटन सडक फेरी बनाउन ६० करोड खर्च लाग्ने
गलकोट । जिल्लाको ढोरपाटन नगरपालिकामा भदौ १७ गते राती आएको बाढीले राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक खण्डमा ठूलो क्षति पु¥याएको छ । नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिरोले खोला थुनिएर अचानक फुटे पछि भूजीखोलाको बाढीले वडा नम्बर ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पु¥याउनुका साथै करिब १० किलोमिटर सडक बगाएको छ । बाढीले सबैभन्दा बढी ढोरपाटन नगरपालिका–९ मा ठूलो जनधनको क्षति गरेको छ । बाढीले भूजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडकसहित ११ लघुजलविद्युत् आयोजना, २ विद्यालय, एक स्वास्थ्य चौकी र ११ झोलुङ्गे पुल बगाएको ढोरपाटन नगरपालिकाले जनाएको छ । ढोरपाटनको बाढीले सडक बगाउँदा उद्दार र राहतमा समेत सकस भएको छ । जिल्ला सदरमुकामदेखि करिब १२१ किलोमिटरको दूरीमा रहेको बाढीग्रस्त क्षेत्रमा राहत पु¥याउन नसक्दा प्राप्त राहत पनि बुर्तिवाङमै थन्किएको छ । ढोरपाटन नगरपालिका–७ दोगाडीबाट अबरुद्ध भएको सडक बोबाङ गाउँ बाहेक बाढीले बगाएको शुरुको गाउँद्वारसम्मको सडक ठाउँ–ठाउँमा बगाएको छ । सडक भएको स्थानमा भूजीखोलाको बाढी आए पछि दुई किलोमिटर पैदल मार्गसमेत छैन । सालझण्डी ढोरपाटन सडक आयोजनासँगको सहकार्यमा तत्कालै सडक खुलाउने गरी काम तीव्ररुपमा भइरहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए । “धेरै ठाउँमा बाढीले सडक बगाएको छ, भूजीखोलाको तिरैतिर सडक भएका कारण खोलाले अधिकांश सडक कटान गरेको हो”, नगर प्रमुख नेपालीले भने “तत्कालै बाढीग्रस्त क्षेत्रमा सडक पु¥याउन असम्भव रहे पनि सडक सञ्चालन प्रयास जारी छ, तीन वटा डोजरले काम गरिरहेको छ ।” तीन दिनदेखि निरन्तरको प्रयासमा बोबाङको ढोकड गाउँमा यातायात पुग्नेगरी सडक सञ्चालन गरिएको छ । अबरुद्ध सडक खुलाउन सालझण्डी ढोरपाटन सडक आयोजनाले पनि अग्रसरता लिएको छ । आयोजनाले २१ गते स्थलगत अनुगमन गरी सडक मर्मतका लागि स्थानीय तह र जनप्रतिनिधिको रोहबरमा निर्माण कम्पनीलाई जिम्मा दिएको छ । बोबाङ गाउँदेखि माथी भूजीखोलाले पहाडको कुना सम्मै करिब १० किलोमिटर सडक बगाएका कारण ट्रयाक खोल्नै समस्या हुने देखिएको सडकको स्थलगत अनुगमनका लागि ढोरपाटन पुगेका सालझण्डी ढोरपाटन सडक आयोजनाका इञ्जिनियर सुरेश चौधरीले जानकारी दिए । सरकारको प्राथमिकरणको आयोजना मध्येको एक सालझण्डी ढोरपाटन सडक जतिसक्दो छिटो खुलाउनका लागि स्थलगत अनुगमनबाट लागत स्टिमेट तयार गरि काम थालिएको आयोजना कार्यालय सन्धिखर्क अर्घाखाचीका आयोजना प्रमुख जयलाल मरासिनीले बताए । “आयोजनाले सडक बगाएको खबर पाउँदा साथ आयोजनाका प्राविधिकलाई स्थलगत निरीक्षण गरी लागत अनुमान निकाल्न पठाएको थिए” मरासिनीले भने “विस्तृत लागत अनुमान बन्दैछ, हामीले सडक विभाग हुँदै अर्थ मन्त्रालयमा सडकमा पु¥याएको क्षतिको जानकारी गराएका छौं ।” मरासिनीका अनुसार, तत्कालै साना सवारी ढोरपाटनको देउराली पु¥याउनका लागि रु पाँच करोड लागत अनुमान गरेको भए पनि पुरानै अवस्थामा सडक फर्काउनका लागि झण्डै रु ६० करोड खर्च लाग्ने प्रारम्भिक अध्ययनका क्रममा देखिएको छ । भूजीखोला बाढी पश्चात धार परिवर्तन गरेका कारण सर्वप्रथम नदीलाई पुरानै अवस्थामा फर्काएर सडक निर्माण गर्न आवश्यक रहेको छ । बाढीले ठूला–ठूला ढुङ्गा बगाएर सडकमा ल्याएको र कुनै स्थानमा चट्टान कटान गर्नुपर्ने भएकाले सडक सञ्चालन कठिन भएको हो । सामान्य ट्रयाक खोलेर राहत सामाग्री लैजाने गरी सोमबारदेखी काम थालिएको हो । सडक सञ्चालन गर्न नगरपालिकाले समेत आफ्नो डोजर खटाएको छ । सडक आयोजनाले थप डोजर परिचालन समेत गर्ने तयारीमा छ । आयोजनाले २० देखि २५ दिन भित्रमा ट्रयाक खोल्ने कार्य सम्पन्न गर्ने बताएको छ । रासस
कोरोनाबीच पनि अघि बढ्यो नागढुङ्गा–सिस्नेखोला सुरुङ निर्माण
काठमाडौं । कोरोना रोकथामका लागि जारी निषेधाज्ञाको समयमा पनि नेपालको सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला निर्माणको काम अघि बढिरहेको छ । निर्माणस्थलमा ‘क्लोज क्याम्प’ भित्र बसेर निर्माणको काम भइहेको छ । गत वर्ष निर्माण शुरु गरेको जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनले अहिले पनि भएका जनशक्तिमार्फत काम गरिरहेको छ । निर्माणस्थलमा अहिले झण्डै दुई सय कामदार कार्यरत छन् । काम अघि बढाउन जनशक्तिको अभाव नरहेको सडक विभागले जनाएको छ । बन्दाबन्दी पहिले नै कम्पनीले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिसकेको थियो । निर्माण शुरु भएको १० महिना हुँदा अहिलेसम्मको भौतिक प्रगति झण्डै चार प्रतिशत रहेको छ । अहिलेसम्म भौतिक प्रगति सातदेखि आठ प्रतिशत हुने लक्ष्य लिइएको थियो । निर्माणको काम अवरुद्ध नै नभए पनि कतिपय समस्या आइरहेकाले लक्ष्यभन्दा कम प्रगति भएको बताइएको छ । केही समय पहिलेसम्म निर्माण सामग्रीको अभाव रहेको थियो । धादिङकै कतिपय स्थानीय तहले गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको ढुवानी गर्न दिएका थिएनन् । अहिले स्थानीय तहसँगको समन्वयमा त्यसको समाधान खोजिएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । उनले भने, “केहीले अवरोध गर्न खोजे पनि सम्झाएर, बुझाएर अहिले निर्माण सामग्री ल्याउने वातावरण बनाइएको छ ।” सुरुङमा अहिले काठमाडौँतर्फ काम गर्न नसकिए पनि धादिङतर्फ ‘क्लोज क्याम्प’ मा काम भइरहेको छ । सिस्नेखोला ‘डाइभर्ट’ गर्ने काम भइरहेको प्रमुख थापाले बताउनुभयो । त्यससँगै जग्गा सम्याउने र सुरुङको मुखमा निर्माणको काम भइरहेको छ । सरकारले गर्नुपर्ने जग्गा अधिग्रहणको काम अघि बढिरहेको उनले जानकारी दिए । बलम्बुमा फ्लाइओभर निर्माणका लागि जग्गा मुआब्जाको प्रक्रिया बन्दाबन्दी पहिले नै अघि बढेको थियो । धादिङमा भने जग्गा अधिग्रहणको काम कम मात्रै रहेको छ । निर्माणस्थलमा रहेका धेरै जग्गा अधिग्रहण गरिएको छ भने समस्या भएका केही व्यक्तिको मात्रै अधिग्रहण बाँकी छ । उनले भने, “जग्गा रोक्का भएका व्यक्तिको मात्रै जग्गाको मुआब्जा दिन बाँकी छ ।” निर्माण कम्पनीको सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । अहिले योजना गरिएभन्दा थोरै ढिलो भए पनि त्यसले समग्रमा असर नगर्ने प्रमुख थापाले बताउनुभयो । निर्माण कम्पनीले बाँकी समयमा काम सञ्चालन गर्न सके समयमै सकिने बताउँदै आएका छन् । जापान सरकारको ‘सफ्ट लोन’ मा ४२ महिनामा सो सुरुङको निर्माण गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनबीच गत वर्ष असोजमा सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ । त्यस स्थानमा सयौँको सङ्ख्यामा सवारी साधन र धेरै व्यक्ति अलपत्र पर्ने गरेकामा त्यसको समाधान हुनेछ । त्यसको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ । बयालीस महिनाको अवधि निर्माण सम्पन्न गर्नका लागि पर्याप्त समय भएको विभागले बताउँदै आएको छ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुईवटा सुरुङको निर्माण हुनेछ । दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिगँ्रदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक टर्नेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने बताइएको छ । कमजोर ढुङगा माटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने प्रमुख थापाले बताए । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायतका स्टल हुने बताइएको छ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना रहेको छ । जाइकाको सफ्ट लोन (०.०१ प्रतिशत ब्याजदरको सहुलियत ऋण) सहयोगमा साढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु गरिएको थियो । यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । रासस
कर्णाली प्रदेश राजधानीमा सडकका ३६ योजना निर्माणाधीन
कर्णाली । गत आर्थिक वर्षमा एक हजार ८२० मिटर सडक मात्रै कालोपत्रे गरेर आलोचना खेपेको प्रदेश सरकारले यस वर्ष प्रदेश राजधानीका सडक विस्तार तथा स्तरोन्नतिलाई तीव्रता दिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय अन्तर्गत वीरेन्द्रनगरमा सडकका ३६ योजना कार्यान्वयनमा रहेका छन् । निर्देशनालयका इन्जिनीयर सूर्य शाहीले ती सडक योजनाहरु प्रदेश राजधानी सहरी सडक, जनता सडक र समपुरक प्याकेजअन्तर्गत निर्माण भइरहेको बताए । सडक निर्माणका लागि गत आर्थिक वर्ष पुस, माघ र जेठमा सम्झौता भएका थिए तर कोरोना भाइरसविरुद्ध अपनाइएको लकडाउनका कारण निर्माण रोकिएको थियो । प्रदेश सरकारले निर्माण आयोजनालाई ‘विशेष पास’ उपलब्ध गराएपछि ती सबै आयोजना जेठबाट सञ्चालनमा ल्याइएको हो । इन्जिनीयर शाहीका अनुसार रु ३७ करोड ८५ लाख लागतमा निर्माणाधीन सडक योजना चालु आवमै सम्पन्न गर्ने लक्ष्य छ । “लकडाउन खुकुलो भएसँगै असार मसान्तभित्र काम सक्ने गरी निर्माण व्यवसायीलाई ताकेता गरिएको छ”, उनले भने, “लकडाउनको शुरुआती चरणमा तीन महिना काम प्रभावित हुन पुग्यो, अहिले सबै आयोजनामा धमाधम काम भइरहेको छ ।” हाल सडक विस्तार गरी नाली निर्माण र ग्राभेलको काम भइरहेको छ । निर्माणाधीनमध्ये ६० प्रतिशत सडक कालोपत्रे गर्ने र बाँकी सडकको स्तरोन्नति गर्ने लक्ष्य रहेको बताइएको छ । यस वर्ष प्रदेश सरकारले सुर्खेत उपत्यकामा २५ किमी कालोपत्रे गर्ने लक्ष्य लिएको छ । रासस