दामनमा बन्यो नेपालकै अग्लो फलामे भर्याङ

काठमाडाैं । पर्यटकीय आकर्षणको केन्द्र मानिने मकवानपुरस्थित थाहा नगरपालिकाको दामनमा १५७ खुड्किलाको ७० मिटर लामो फलामे भर्याङ निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख रूपैयाँ आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरणमा फलामे भर्याङसहित पार्क निर्माण गरिएको हो । थाहा नगरपालिका-४ का वडाध्यक्ष दिपकसिंह लामाले प्राकृतिक टाकुरासम्म पुग्न निर्मित भर्याङ नेपालकै अग्लो फलामे भर्याङ भएको दाबी गरे । भर्यारङबाट माथि समुद्री सतहबाट करिब दुई हजार ४०० मिटरको उचाइमा रहेको अग्लो स्थानलाई प्राकृतिक टावरको रुप दिइएको छ । अग्लो टाकुरालाई वरपरबाट ढुङ्गा र सिमेन्टको गारोले घेरेर प्राकृतिक टावरको रुप दिइएको निर्माण समितिका अध्यक्ष कान्छा लामाले बताए । दामनमा ७० मिटर लामो भर्याङसहित प्राकृतिक टावर बनेपछि थाहा नगरपालिकामा अब अर्को दृश्यावलोकन स्तम्भ थपिएको र यो स्तम्भ नेपालकै पर्यटकीय केन्द्र बन्न सक्ने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको भनाइ छ । हाल निर्माण भएको दृश्यावलोकन केन्द्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आधा दर्जन उच्च हिमश्रृङ्खला दृश्यावलोकन गर्न सकिन्छ । रासस

हेटौँडामा ४९ करोड बजेटमा साढे ३२ किलोमिटर सडक पक्की

वाग्मती । हेटौँडा उपमहानगरपालिकाले एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की गरेको छ । उपमहानगरले गएको एक वर्षमा जनसहभागितासहित ४९ करोड ५१ लाख बजेटमा १९ वटा वडामा साढे ३१ किलोमिटर सडक स्ल्याप ढलान र एक किलोमिटर सडक कालोपत्रे गरेको नगरपालिकाले जनाएको छ । उपमहानगरपालिका क्षेत्रमा रहेका कच्ची सडकलाई पक्की बनाउने अभियानअनुसार ३२ किलोमिटरभन्दा धेरै सडकलाई पक्की गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । उपमहानगरका गाभिएका नयाँ वडाहरुलाई विशेष प्राथमिकता दिइएको भए पनि सबै वडाका सडकलाई पक्की बनाउने काम गरिएको उनले बताउ । चाँडो बिग्रने भएकाले कालोपत्रेलाई प्राथमिकता नदिई एकपटक बनाएपछि वर्षौँ टिक्ने स्ल्याप ढलानलाई प्राथमिकता दिइएको प्रमुख महतले जानकारी दिए । उनका अनुसार उपमहानगरले खर्च गर्ने बजेटमध्ये सडकका लागि सबैभन्दा बढी खर्च भएको छ । रासस

सर्लाहीमा १५ करोडमा सबस्टेशन निर्माण शुरु

सर्लाही । जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सबस्टेशन निर्माण शुरु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२/३३ केभीए लाइनका लागि सबस्टेशनको निर्माण शुरु भएको हो । जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले सबस्टेशन निर्माणलाई तीव्रता दिइएको हो । नेपाल विद्युत् प्राधिकरणको करिब रु १५ करोड लागतमा विद्युत् सबस्टेशन निर्माण शुरु भएको हो । अठार महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७६ भदौबाट सबस्टेशन निर्माण शुरु गरेको सबस्टेशनका प्रमुख निरञ्जन साहले जानकारी दिए । सबस्टेशन निर्माण सम्पन्न भएपछि हरिपुर, मलङ्गवाका सबस्टेशनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत्सम्बन्धी समस्या समाधान हुने प्रमुख साहले बताए । अहिले जिल्लामा आफ्नो व्यवस्थित सबस्टेशन नहुँदा धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सबस्टेशनबाट विद्युत् ल्याउनु परिरहेको छ । यसरी बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेको कार्यालय प्रमुख साहले बताए । सो क्षेत्रबाट विद्युत् ल्याउँदा जङगल क्षेत्र भएका कारण पनि सामान्य समस्या आएमा विद्युत् घण्टौँ अवरुद्ध हुने गरेको समस्यालाई मध्यनजर गर्दै जिल्लामै सबस्टेशन निर्माण शुरु गरिएको उनले बताए । डेढ वर्षभित्र सम्पन्न गर्ने गरी पावाटेक र वाइवा (जेभी) निर्माण कम्पनीले निर्माणको जिम्मा लिएका छन् । जिल्लामा केन्द्रीय प्रसारण लाइनको पहुँच पुर्याउन सबस्टेशन निर्माण शुरु भएको हो । जिल्लामा अरु पनि सबस्टेशन रहेका भए पनि सबस्टेशनको क्षमताले अपुग भएपछि छुट्टै यो सबस्टेशन निर्माण थालिएको सबस्टेशनका प्रमुख साहले बताए । जिल्लामा उद्योगधन्दा तथा कलकारखाना दिन प्रतिदिन खुल्ने क्रम बढेपछि विद्युत् क्षमता विस्तारको अवस्थालाई मध्यनजर गर्दै जिल्लामा विशेष क्षमताको सबस्टेशन निर्माण शुरु गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधीरकुमार रायले बताए । रासस