म्याक्स हस्पिटलमा ५० बेडको कोभिड अस्पताल सञ्चालन
मोरङ । विराटनगर महानगरपालिकाको पहलमा म्याक्स इन्टरनेशनल हस्पिटल एवम् ट्रमा सेन्टर विराटनगर-१५ महेन्द्र चोकमा आज(कार्तिक ४ गते) देखि ५० बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा सेन्टरका प्रवन्धक निर्देशक हेमनारायण मेहताबीच आज(कार्तिक ४ गते) एक सहमती गरी अस्पताल सञ्चालन गरिएको छ । सेन्टरले आफ्ना अन्य सेवा स्थगित गरी पाँच भेन्टिलेटर र १२ बेडको सघन उपचार कक्ष (आईसियु) सहित ५० बेडको सेवा शुरु गरेको हो । सेन्टरले १२/१२ घण्टाको पालोमा चार चिकित्सक सहित ३८ जना स्वास्थ्यकर्मी कोभिडका सङकक्रमितका उपचारका लागि सेवा प्रवाह गर्ने निर्देशक मेहताले बताए । महानगरपालिकाको तीन र सेन्टरको अक्सिजन सहित एक एम्वुलेन्सले कोभिड सङक्रमितलाई आवश्यक सेवा प्रदान गर्ने भएको छ । सेन्टरको निरीक्षण पछि महानगरपालिकाका प्रमुख पराजुलीले नागरिकको स्वास्थ्य प्रमुख दायित्व भएकोले सङक्रमितको उपचारका लागि कुनै कमी हुन नदिन आवश्यक पर्ने सहयोग महानगरपालिकाले उपलव्ध गराउने बताए । उनले निजी क्षेत्रको सहयोगमा महानगरले न्यूरो अस्पतालमा १५० र अर्को एक स्थानमा अक्सिजन सहितको १०० बेडको कोभिड आइसोलेशन सञ्चालनमा ल्याउन लागि रहेको जानकारी दिए । महानगरपालिकाले कोभिड सङक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थान गर्नुका साथै विराटनगर-१९, बैजनाथपुर, मारवाडी सेवा सदन, जैन भवन, काली सेवा सदन लगायतमा आइसोलसन सञ्चालन गर्दै आइरहेको छ । रासस
रानीपोखरीकाे उद्घाटन ५ गते राष्ट्रपति भण्डारीले गर्ने
काठमाडौं । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन कात्तिक ५ गते बुधबारको दिन दिउसो १२ बजे हुने भएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने मन्त्री श्रेष्ठले बताए । २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्टपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गरेकी थिइन् । त्यसैले मन्दिरको उद्घाटन पनि राष्ट्रपति भण्डारीबाट नै गर्न लागिएको मन्त्री श्रेष्ठले बताए । समग्रतामा रानीपोखरीलाई जस्ताको तस्तै पुननिर्माण भई उद्घाटन गर्ने अवस्थामा आइपुग्नुले वर्तमान सरकार पुननिर्माण प्रति कत्तिको चिन्तित छ भन्ने पुष्टि हुनेपनि मन्त्री श्रेष्ठले बताए । यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ । १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर फेरी रानीपोखरीलाई आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्र्र रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको छ ।
स्थानीय तहमा अस्पताल बनाउँदै सरकार, मंसिर १५ गते एकैसाथ शिलान्यास गर्ने
काठमाडाैं । सरकारले सबै स्थानीय तहमा निर्माण गर्न लागेको अस्पताल भवनको शिलान्यास आगामी मंसिर १५ गते एकैसाथ गर्ने भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नका लागि सबै स्थानीय तहमा ५ देखि १५ शैया सम्मको आधारभूत अस्पताल स्थापना गर्ने नीति अनुरुप अर्थमन्त्राल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिच एकैपटक भवन शिलान्यास गर्ने सहमति भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको समुपस्थितिमा दुवै मन्त्रालयका पदाधिकारीबिच भएको बैठकमा यस्तो सहमति भएको अर्थमन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले बताए । सरकारले मुलुकभर एकैपटक ३ सय ७६ स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य चौकी निर्माण गर्ने महत्वाकाक्षी योजना अगाडि सारेको छ । एकीकृत योजना अन्तरगत प्रादेशीक र संघीय अस्पतालहरु समेत रहेका छन् । मन्त्रालयले १ हजार २ सय थान भेन्टिलेटर, ३ हजार ५ सय थान हाई डिफेडेन्सी यूनिट र ३ हजार थान आइसियूको प्रबन्ध गर्न बजेटको व्यवस्था गर्ने भएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने आइसियु, एचडियु, भेन्टिलेटर लगायतका मेशिन उपकरण तत्काल खरिद गर्नेगरी तयार भएको कार्ययोजना बमोजिमको खरिद प्रक्रिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि बढाउने र त्यसका लागि आर्थिक स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने सहमति पनि भएको छ । यस्तै कोभिड खोप सेवाको आपूर्ति सुनिश्चित गर्न आवश्यक कुटनीतिक र अन्य पहल अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा अगाडि बढाउने भएको छ । यसबाहेक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को विरुद्ध विकास हुने खोप लगायतका आपतकालिन औषधिको प्रयोगलाई व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधन गर्ने प्रकृया अगाडि बढाउने सहमति समेत दुई मन्त्रालयबिच भएको छ ।