बैंक तथा वित्तीय संस्थाको करिब ६६ प्रतिशत लगानी घर जग्गामा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले करिब ६६ प्रतिशत लगानी घर जग्गामा गरेका छन् । नेपाल राष्ट्र बैंकले सोबमबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७६/७७ मा ६५.७ प्रतिशत कर्जा प्रवाह घर जग्गामा गरेका छन् । २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.४ प्रतिशत र १३.५ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.५ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १८.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २२.१ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २७.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ७.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ८.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.१ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ११ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ३.८ प्रतिशतले घटेको छ ।

बेनी–भकुण्डे बाटो खुलेको १० वर्षपछि पनि यातायात सञ्चालन हुन सकेन

बेनी ।  बेनी नगर कार्यपालिकादेखि नगरपालिकाको २ नं वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्याक खुलेको १० वर्ष बितिसक्दा पनि यातायातका साधन चल्न सकेका छैनन् । विसं २०६७ मा ट्याक खुलेको, साढे सात किमी दूरीको बेनी–भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म लाखौँ रुपैयाँ खर्च गरिएको भए पनि न त्यो सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छन् न सडक मर्मत कार्यप्रति स्थानीय र जनप्रतिनिधि नै सन्तुष्ट हुन सकेका छन् । सडक मर्मतका नाममा खर्च भएको लाखौँ रकम बालुवामा पानी हालेजस्तै भएको स्थानीयको गुनासो रहेको छ । पटकपटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो सडकमा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीयवासीको भनाइ रहेको छ । “नगरपालिकाको गेटदेखि वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नति र दिगो विकासका लागि जनप्रतिनिधि र सरोकारवाला कसैले ध्यान दिएनन्, खाली बजेट सक्ने काममात्र भयो बाटोको स्थायित्व भएन, ज्यामरुककोटका कृष्णबहादुर सुवेदीले बताए ।” सुवेदीका अनुसार बेनीदेखि भकुण्डेसम्म जानका लागि सल्लेनधारासम्म चार वटा सडक बनाइएको भएपनि कुनै पनि कामलाग्ने अवस्थामा छैनन् । “बेनी–ठूलोगैरा–रोहोटेपानी हुँदै भकुण्डे जोड्ने सडकको सल्लेरीधारा, कन्थराजको थान नजिकको पहरो र ठूलोगैरामा सामान्य वर्षा हुँदा समेत बाटो बिग्रने गरेको छ”, सुवेदीले भने । विसं २०६७ यता बेनी भकुण्डे सडकमा करिब ७० लाखको हाराहारीमा बजेट खर्च भइसकेको छ । गत आवमा बेनी–बौर–ठूलोगैरा–खबरा (बिरायचौर)–भकुण्डे सडक उपभोक्ता समिति, बाङ्गघरा–पिपलडाँडा–भीरकुना–भकुण्डे सडक उपभोक्ता समिति र ठूलोगैरा–खबरा–भकुण्डे सडक उपभोक्ता समितिको गरी कूल रु २६ लाख ५० हजार खर्च गरी मर्मत गरिएको बेनी–खबरा–भकुण्डे सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सामान्य पानी पर्दा पनि सडक पानीले बगाउने गरेको छ । बेनी नगरपालिका­२ ज्यामरुककोटका वडाध्यक्ष हीराबहादुर थापाले कमजोर भू–बनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि वर्षामा काम लाग्ने अवस्थामा नरहने बताए । रासस

काष्ठमण्डप पुर्ननिर्माणको काम ७० प्रतिशत सकियो (फाेटाेफिचरसहित)

काठमाडौं । वि.स. २०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुर्ननिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । जनप्रतिनिधि र स्थानीय नागरिकको प्रत्यक्ष सहभागितामा निर्माण भइरहेको काष्ठमण्डपको काम ७० प्रतिशत सम्पन्न भएको हो । कोरोना भाइरसका कारण केही समय काम स्थगित गरिएपनि गत वैशाख दोस्रो साताबाट सुरु भएको काम अहिलेसम्म ७० प्रतिशत सम्पन्न भएको काष्ठमाण्डप पुर्ननिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए । पहिलो तलाको सम्पूर्ण काम सकिएको र दोस्रो तलाको काम जारी रहेको उनले बताए । काष्ठमाण्डप पुर्ननिर्माणमा प्राचिनकालमा प्रयोग गरिएको सामग्री र विधि प्रयोग भइरहेको छ । ऐतिहासिक सम्पदाहरुको पुर्ननिर्माण गर्दा आधुनिक मेसिनको प्रयोग नभइ स्थानीय जनशक्तिको परम्परागत सीप विधि माटो, इटा, काठ र ढुंगाबाट निर्माण भइरहेको उनले बताए । काठमाडौं महानगरपालिका, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, पुरातत्व विभाग र काष्ठमण्डप पुर्ननिर्माण भइरहेको छ । पुननिर्माणको खर्च महानगरपालिकाले व्यहोर्ने समझादारी अनुसार काम भइरहेको छ । अहिलेसम्म महानगरले तीन चरणमा गरी साढे १० करोड रुपैयाँ समितिलाई हस्तान्तरण गरिसकेको उनले बताए । कोरोना संक्रमणको जोखिम देशव्यापी रहेपनि आवश्यक सावधानि अपनाएर पुर्ननिर्माणको काम जारी रहेको उनले बताए । काष्ठमण्डप पुर्ननिर्माणका लागि अहिलेसम्म ७ हजार ९ सय २ क्यूफिट काठ महोत्तरी, मकवानपुर र कञ्चनपुर लगायतका क्षेत्रबाट ल्याइएको छ । अझै ३, ४ हजार क्यूफिट काठको आवश्यकता रहेको उनले बताए । ६४ वर्षमिटर क्षेत्रफलमा निर्माण भइरहेको काष्ठमण्डपको उचाइ साढे २६ मिटर रहेको छ । भग्नावशेषबाट संकलन गरिएका केही काठहरु अहिले पनि प्रयोग गरिएको छ । मुख्य चार खम्बामध्ये एक खम्बा पुरानो नै प्रयोग गरिएको छ । पुरानो काठ रेक्टोग्राफि टेष्ट गरेर मात्रै प्रयोग गर्ने गरिएको काष्ठमण्डप पुर्ननिर्माण समितिले जनाएको छ ।