आर्टिफिसियल इन्टेलिजेन्सले शिक्षककै विस्थापन गर्नसक्छ

काठमाडौं । पछिल्लो समयमा तिव्र गतिमा विकास हुँदै गएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले शिक्षा क्षेत्रमा ठूलो सुधार ल्याउन सक्ने अनुमान गरिएको छ । साथै एआईको प्रयोगमा वृद्धि हुँदै जाँदा धेरै संख्यामा शिक्षक समेत कटौती हुनसक्ने अनुमान विज्ञहरुले गरेका छन् । क्यालिफोनिर्या युनिभर्सिटीका कम्प्युटर वैज्ञानिक प्राध्यापक सटुअर्ट रसेलले जेनेभामा भएको संयुक्त राष्ट्रसंघको आर्टिफिसियल इन्टेलिजेन्स गुड ग्लोबल सम्मेलनको क्रममा एआई क्षेत्रमा भइरहेको विकासको कारणले स्कुलहरु बन्द हुने सम्भावना औंल्याएको थिए । यहाँसम्मकी शिक्षकको समेत आवश्यकता नहुनसक्छ । प्राध्यापक रसेल भन्छन् की च्याटजिपिटी जस्ता ट्युटरहरुसँग स्मार्टफोनको माध्यमबाट व्यक्तिगत ट्युटोरिङमार्फत शिक्षालाई उच्च गुणस्तरीय बनाउने क्षमता रहेको छ । उनका अनुसार शिक्षकले पढाउने भन्दा ट्युटोरिङ सिकाई दुईदेखि तीन गुणा बढी प्रभावकारी हुनसक्छ । अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयमा ट्युटर्सको उपयोग गर्ने गरिन्छ । विश्वका सबै बालबालिकाहरुको लागि ट्युटर्स प्रयोग गर्न असम्भव हुन सक्छ तर, एआईको माध्यमबाट यो कुरा सम्भव हुनसक्छ । जसले गर्दा विश्वभरका सबै विद्यार्थीहरुलाई एकै स्तरको शिक्षा प्राप्त गर्न समेत सम्भव हुनसक्छ । साथै शिक्षा क्षेत्रमा एआईको प्रवेशले शिक्षकको भूमिका पुरै निस्तेज पनि हुनसक्छ । तर, शिक्षा क्षेत्रमा एआईको प्रयोग शुरु पूर्व यसलाई प्रशिक्षित तथा नियन्त्रण गर्न भने जरुरी देखिन्छ । अहिलेको समयमा एआई प्रणालीको नियन्त्रण गर्ने प्रविधिमा निकै चुनौती देखिएको छ । यदि एआईमाथिको नियन्त्रण गुम्न पुग्यो भने यसको नतिजा घातमक पनि हुन सक्छ । यदि एआईमाथिको नियन्त्रण गुम्न पुग्यो भने विद्यार्थीको भविष्यमा यसले नकारात्मक स्थिति पैदा गर्न सक्छ । एजेन्सीको सहयोगमा ।

कक्षा ११ मा के–के विषय पढ्न पाइन्छ ?

काठमाडौं । विद्यालय शिक्षा अन्तर्गत कक्षा १० को (एसईई) परीक्षा पछि कक्षा ११/१२ मा के पढ्ने भन्ने विषयमा विद्यार्थीहरु यतिबेला छलफलमा केन्द्रित छन् । सामान्यतया भोलिको करिअरको शुरुवातको रुपमा मानिने कक्षा ११/१२ आफ्ना नानीबाबुहरुलाई के विषय पढाउने भन्ने विषयमा अभिभावहरुले पनि सोचिरहेका छन् । पाठ्यक्रम विकास केन्द्रले विद्यालय स्तरको शिक्षामा कुन–कुन विषय पढाउने भनेर पाठ्यक्रमको विकास गर्ने गर्छ । अनुसन्धान र मागका आधारमा केन्द्रले पाठ्यक्रमको विकास गर्ने कार्य गर्दै आएको छ । खासगरी विद्यालय तहको माथिल्लो कक्षा ११ र १२ लाई लक्षित गरेर हालसम्म केन्द्रले झण्डै एससय जति पाठ्यक्रमको विकास गरेको छ । केन्द्रले विकास गरेको पाठ्यक्रमकै आधारमा पाठ्यपुस्तक बन्ने र तीनै पाठ्यपुस्तक विद्यार्थीले पढ्न पाउने गर्छन् । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सञ्चालन भएका विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले विकास गरेको पाठ्यक्रममा आधारित विषयलाई नै पढाउनुपर्ने हुन्छ । त्यसमध्ये चालु शैक्षिक शत्रमा विद्यालयहरुले ८३ वटा विषय पढाएका थिए । सबै विद्यालयहरुले जनशक्ति, आवश्यकता र मागको आधारमा सबै विषय पढाउँदैनन् । तर, पछिल्लो समयमा एकै स्थानमा रहेका फरक–फरक विद्यालयहरुले पनि विद्यार्थी रुची र आवश्यकतालाई हेरेर फरक–फरक विषय पढाउने गरेको पाइन्छ । जसले गर्दा विद्यार्थीहरुलाई पनि आफ्नो रुचीअनुसारको विषय पढाइ हुने विद्यालय रोजेर पढ्न सजिलो भएको छ । कक्षा ११/१२ मा पढ्न पाइने कुन–कुन विषय छन् ? पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को लागि ९३ वटा विषयको पाठ्यक्रम र नमूना पाठ्यपुस्तकको विकास गरेको छ । जसमा, अनिवार्य तीनवटा विषय छन् भने बाँकी ऐच्छिक विषय रहेका छन् । विद्यार्थीहरुले अनिवार्य विषय पढ्नै पर्ने हुन्छ भने ऐच्छिक विषय आफ्नो इच्छा र क्षमता अनुसार रोजेर पढ्न पाइन्छ । तर, सबै स्कुलहरुमा भने विद्यार्थीले रोजेको विषय पढाइ नहुनसक्छ । जनशक्ति, विद्यार्थी संख्या र आवश्यकता जस्ता विषयहरुलाई हेरेर पनि स्कुलहरुले पढाउने विषयको व्यवस्था गरेका हुन्छन् । त्यसैले, विद्यार्थीहरुले केही विषय नजिकैको स्कुलमा प्राप्त गर्नसक्छन भने कतिपय ऐच्छिक विषयको लागि अन्यत्रको स्कुलमा पनि जानुपर्ने हुनसक्छ । मुख्य कुरा कक्षा ११ र १२ मा भर्ना हुन भन्दा अगाडि कुन–कुन विषय पढ्न पाइन्छ भनेर बुझ्दा विद्यार्थीको लागि राम्रो भने अवश्य हुन्छ । पाठ्यक्रम विकास केन्द्रले ९३ वटा विषयको विकास गरेको भएपनि ती विषयहरु विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानून, पत्रकारिता र प्राविधिक जस्ता संरचनामा जोडिएर विभाजन गरिएका हुन्छन् । के–के छन् अनिवार्य विषयहरु  : कक्षा ११ को अनिवार्य विषयमा नेपाली, सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा र अंग्रेजी रहेको छ । जुन विषय विद्यार्थीले अनिवार्य रुपमा पढ्नैपर्ने हुन्छ । त्यस्तै, ऐच्छिक विषय विद्यार्थीको करिअर अर्थात भोलि कुन विषयमा उच्च शिक्षा हासिल गर्ने भन्नेसँग महत्वपूर्ण ढंगले जोडिएको हुन्छ । त्यसैले स्कुलमा उपलब्ध धेरै विषयमध्ये विद्यार्थीले भोलि आफूले शिक्षक, डाक्टर, इन्जिनियर, कृषि, प्रविधि, व्यवस्थापन, मानविकी लगायतको संकाय मध्ये कुनमा अगाडि बढ्ने भनेर सोसँग सम्बन्धित ऐच्छिक विषय रोज्नुपर्ने हुन्छ । कुन ऐच्छिक विषय रोजेर पढ्ने ? विद्यार्थीले इच्छा लागेकै विषय पनि पढ्न सक्दैनन् । किनकी कतिपय विषय पढ्नको लागि एसईई परीक्षामा उत्तिर्ण हुँदा निश्चित प्रतिशत जिपिए ल्याएको हुनुपर्ने व्यवस्था गरिएको छ । कक्षा ११ मा गणित, रसायन विज्ञान, भौतिक विज्ञान र जीव विज्ञान पढ्नको लागि विद्यार्थीले कक्षा १० मा अंग्रेजी, गणित र विज्ञान विषयमा ‘सी प्लस’ सहित एसईईमा १.६ जीपिए ल्याउनुपर्छ । विद्यार्थीले कक्षा ११/१२ बाट नै प्राविधिक विषय अध्ययन गर्ने हो भने अर्थात प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिईभीटी) तर्फको कक्षा १२ बराबरको मान्यता पाउने १० वटा विभिन्न विषय पढ्न सक्छन् भने इन्जिनियरिङ तर्फ पनि एक दर्जन बढी विषय रोजेर पढ्न सक्छन् । अहिले धेरै जिल्ला र पालिकासम्मका धेरै स्कुलहरुले कक्षा ११÷१२ मा इन्जिनियरिङ, फार्मेसी, कृषि लगायतका धेरै प्राविधिक विषय र प्रि डिप्लोमा कोर्षहरु पनि सञ्चालन गरेका छन् । विद्यार्थीहरुले आफ्नो जातिगत तथा संस्कृत लगायतको भाषा पनि ऐच्छिक विषयको रुपमा अध्ययन गर्न सक्छन् । जसको बारेमा विद्यार्थीहरुले शिक्षक, साथीसँगी र अभिभावकहरुमार्फत पनि बुझ्न सक्छन् । कक्षा ११/१२ को लागि पाठ्यक्रम केन्द्रले विकास गरेका विषयहरु ऐच्छिक विषयहरु : १. भौतिक विज्ञान २. लेखाविधि ३. ग्रामीण विकास ४. विधिशास्त्र तथा कानुनी सिद्धान्त ५. नेपाली कानुनी प्रणाली ६. स्वास्थ्य तथा शारीरिक शिक्षा ७. खेलकुद विज्ञान ८. बाल विकास तथा सिकाइ ९. निर्देशनात्मक शिक्षाशास्त्र र मूल्यांकन १०. मनोविज्ञान ११. इतिहास १२. लैङ्गिक अध्ययन १३. हस्पिटालिटी व्यवस्थापन १४. प्राकृतिक चिकित्सा १६. मानवमूल्य शिक्षा १७. जीव विज्ञान १८. शिक्षा र विकास १९. भूगोल २०. प्रकृयागत कानून २१. कानुनी मस्यौदा २२. समाजशास्त्र २३. आयुर्वेद २४. व्यवसाय अध्ययन २५. भाषा विज्ञान २५. दर्शनशास्त्र २६. जनसङ्ख्या अध्ययन २७. खाद्य तथा पोषण २८. नृत्य २९. कम्प्युटर विज्ञान ३०. रसायन शास्त्र ३१. अर्थशास्त्र ३२. पर्यटन तथा पर्वतारोहण अध्ययन ३३. बजारीकरण ३४. बुढ्यौली तथा स्याहार शिक्षा ३५. योग ३६. वाद्यवादन ३७. संवैधानिक कानून ३८. नागरिक र फौजदारी कानून तथा न्याय ३९. पाककला ४०. संस्कृति ४१. फेसन डिजाइनिङ ४१. पशु, पंक्षी तथा माछापालन ४२. नेपाली (ऐच्छिक) ४३. अंग्रेजी (ऐच्छिक) ४४. गणित ४५. प्रयोगिक ४६. व्यवसायिक गणित ४७. पुस्तकालय तथा सूचना विज्ञान ४८. गृह विज्ञान ४८. वातावरणीय विज्ञान ४९. साधारण कानून ५०. वित्त ५१. बौद्ध अध्ययन ५२. प्रायोगिक कला ५३. गायन ५४. मौरीपालन तथा रेशमखेती ५५. सौन्दर्य तथा केशकला शिक्षा ५६. जडीबुटी ५७. प्लम्बिङ तथा वाइरिङ ५८. होटल व्यवस्थापन ५९. आमसञ्चार ६०। संस्कृतरचना ६१। संस्कृतभाषाव्याकरणम् ६२। शुक्लयजुर्वेदः ६३। सामवेदः ६४। ऋग्वेदः ६५. अथर्ववेदः ६६। संस्कृतव्याकरणम् ६७। सिद्धान्तज्योतिषम् ६८। न्यायः ६९। संस्कृतसाहित्यम् ७०। इतिहासपुराणम् ७१। नीतिशास्त्रम् ७२। कर्मकाण्डः ७३। फलितज्योतिषम् ७४। वास्तुशास्त्रम् ७५. नेपाल भाषा ७६. मैथली भाषा ७७. राजनीतिशास्त्र ७८. कोरियन भाषा ७९. चिनिया भाषा ८०. हिन्दी भाषा ८१. संस्कृत भाषा ८२. उर्दु भाषा ८३. जापानिज भाषा ८४. पाली भाषा ८५. सिलाई बुनाई ८६. अतिरिक्त गणित ८७. आन्तरिक सजावट ८८. सहकारी व्यवस्थापन ८९. प्राणी विज्ञान ९०. सिभिल इन्जिनियरिङ ९१. कम्प्युटर इन्जिनियरिङ ९२. इलेक्ट्रिकल इन्जिनियरिङ ९३. वनस्पति विज्ञान कसरी बनाउँछ केन्द्रले पाठ्यक्रम ? पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय तहको पाठ्यक्रम प्रारुप २०७६’ का आधारमा पाठ्यक्रम निर्माण गर्छ । केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुंगानाका अनुसार प्रारुपले पाठ्यक्रमको विकास कसरी गर्ने भनेर स्पष्ट दिशानिर्देश गरेको छ । तर, केन्द्रले कतिपय अवस्थामा माग र अनुसन्धानका आधारमा पनि नयाँ–नयाँ पाठ्यक्रम विकास गर्ने कार्य गर्दै आएको उनी बताउँछन् । ‘ज्ञानको बजारले नयाँ पाठ्यक्रमको लागि माग गर्यो भने नयाँ पनि आइहाल्छ, पुराना विषयहरु विस्थापित हुँदै जान्छन्, नयाँ विषयहरु स्थापित हुँदै जान्छन्’, उनले भने, ‘पाठ्यक्रम प्रारुपले पनि स–साना परिमार्जन गर्नुपर्ने विषयहरु तुरुन्तै गर्न भनेको छ, त्यसपछि साना किसिमका सुधाररु हरेक ५/५ वर्षमा गरिरहन पर्छ भनेर भन्छ भने पाठ्यक्रमको परिवर्तन चाहिँ १० वर्षमा गर्नुपर्छ भनेर भन्छ ।’ केन्द्रले राष्ट्रिय स्तरका शैक्षिक आयोग, कार्यदल र समितिबाट दिइएका सुझाव, पाठ्यक्रम प्रयोगकर्ताको सुझाव र शिक्षक, अभिभावक, सामाजिक कार्यकर्ता र बुद्धिजीवीहरुबाट प्राप्त सुझावहरुलाई पाठ्यक्रम विकास तथा परिमार्जनको प्रकृयामा लिने काम गर्छ । त्यस्तै, अनुसन्धान तथा विकास र प्रवर्तनात्मक कार्यक्रम, नागरिक समाज र राजनीतिक दलबाट प्राप्त हुने सुझावहरुलाई पनि पाठयक्रमको विकास तथा परिमार्जनमा लिने गर्छ । विश्वमा पाठ्यक्रमको विकासमा भएको प्रयोग, श्रमबजारले गरेको माग र विज्ञान प्रविधिको विकासलाई पनि पाठ्यक्रम विकासको आधारको रुपमा लिने गरिएको डा. ढुंगानाको भनाइ छ । त्यसरी विभिन्न क्षेत्रबाट प्राप्त सुझाव सल्लाहको संकलन गर्ने, वक्र्स सप गर्ने, अनुसन्धान, विज्ञ तथा प्राध्यापकहरुको सुझाव लिने र विषयगत समितिहरुमा छलफल गरेर मन्त्रालयको मन्त्रीको आवश्यक निर्देशन पश्चात पाठ्यक्रमलाई आकार दिने गरिने उनले बताए । केन्द्रका सूचना अधिकारी डा. ढुंगानाका अनुसार प्रारुपका आधारमा प्रत्येक १० वर्षमा हरेक पाठ्यक्रम पूर्ण रुपमा परिमार्जन हुँदै आएको छ भने, विकसित राजनीतिक, सामाजिक र प्रविधिसँग जोडिएर पनि पाठ्यक्रम विकास हुँदै आएको छ । पछिल्लो १० वर्षमा धेरै नै नयाँ पाठ्यक्रम केन्द्रले विकास गरेको उनको भनाइ छ ।

इक्यानको अध्यक्षमा निवर्तमान अध्यक्ष पाण्डेले गरे उम्मेदवारी घोषणा

काठमाडौं । एजुकेसन कन्सल्टेन्सी एसोसियसन अफ नेपाल (इक्यान)को अध्यक्षमा इक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत इक्यानको अध्यक्ष पदमा उम्मेदवारी सार्वजनिक गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै पाण्डेले इक्यानले नेपालमा शैक्षिक वातावरण सुधारका लागि इक्यानले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले इक्यानको भूमिका अझै बलियो र सार्थक बनाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको स्पष्ट पारेका छन्  । इक्यान नेपालको एजुकेसनल कन्सल्टेन्सीको रूपमा सबैभन्दा ठूलो कन्सल्टेन्सी भएको भन्दै यसको श्रीवृद्धि र थप सशक्त नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले आफ्ना मतदाताहरूलाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईंको भोट अत्यन्त महत्त्वपूर्ण छ किनकि यसले ईक्यान कसरी विकास गर्छ र हामी कहाँ जान्छौं भन्ने निर्णय गर्नेछ।’ उनले आफू अध्यक्ष बनेपछि इक्यानभित्र हरेक मतदाताको आवाज सुन्ने, पारदर्शी तथा समावेशी र स्वतन्त्र सञ्चार स्थापित गराउने उल्लेख गरेका छन् । आफूले अहिले यो क्षेत्रमा रहेका समस्या न्यूनीकरणका लागि विशेष पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन्  । उनले भनेका छन्,‘समस्या समाधानका लागि रणनीतिक योजना बनाएर अगाडि बढ्नेछौं भन्ने मलाई विश्वास छ ।’ केही दिनमा नै इक्यानलाई थप बलियो र सशक्त बनाउने गरि घोषणापत्र सार्वजनिक गर्ने र बृहत् छलफल गर्ने उनको उद्घोष छ । पाण्डे अघिल्लो कार्यकालमा संघको अध्यक्ष थिए । हाल भने प्रकाश पाण्डे संघको अध्यक्ष छन् । निवर्तमान अध्यक्ष  पाण्डेले आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् । संघको निर्वाचन आगामी असार ३० मा हुँदैछ ।