एसईईमा २२ हजार चारसय ७५ जना विद्यार्थीले ल्याए ए प्लस, कति विद्यार्थीको जिपिए कति ?
काठमाडौं । एसईईको नतिजामा २२ हजार चार सय ७५ जना विद्यार्थीले ए प्ल ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज एसईई परीक्षाको नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी भएका चार लाख ८४ हजार नौ सय ३९ विद्यार्थी मध्ये जम्मा २२ हजार चार सय ७५ जनाले मात्रै ए प्लस ल्याएको जनाएको छ । बोर्डका अनुसार जिपिएको आधारमा २२ सय जना विद्यार्थीले ०.८० देखि १.२० जिपिए, ३८ हजार ७७० जनाले १.२० देखि १.६० र ८८ हजार चारसय ४७ जना विद्यार्थीले १.६० देखि २.०० जिपिए अंक ल्याएका छन् । त्यस्तै, एक लाख दुई हजार दुईसय ९३ जना विद्यार्थीले २.०० देखि २.४०, ८९ हजार तीनसय ३१ जना विद्यार्थीले २.४० देखि २.८०, ७२ हजार तीनसय ६२ जना विद्यार्थीले २.८० देखि ३.२० र ५५ हजार ६९ जना विद्यार्थीले ३.२० देखि ३.६० जिपिए अंक ल्याएको बोर्डले जानकारी दिएको छ ।
एसईईको नतिजा प्रकाशित, नतिजा कसरी हेर्ने ?
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा बसेको बोर्डको आज बसेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्ताकङ्क हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी प्लस ग्रेड प्रदान गरिन्छ । साथै ६० देखि ७० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताङ्क हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताङ्क हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताङ्क हुनेलाई ई ग्रेड प्रदान गरिन्छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए । नतिजा कसरी हेर्ने ? एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np नेपाल टेलिकमको www.svv.gov.np, www.khalti.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconnectplus.com , www.see.edusanjal.com, www.admissionnepal.com, www. seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.neducationportal.com , www.ayoresult.com, www.results.com, www.matereducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।
विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालय गम्भीर हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उच्च शिक्षाका लागि बर्सेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेमात्र विश्वविद्यालयले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताएका छन् । पोखरा विश्वविद्यालयको सिनेट बैठकलाई आज सम्बोधन गर्दै उनले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको अस्वाभाविक आकर्षण बढेको विषयलाई नेपालका विश्वविद्यालयले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताएका हुन् । विश्वविद्यालयको २३ औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘पछिल्लो समय नेपाली विद्यार्थीमा विदेश अध्यययन गर्न जाने अस्वाभाविक आकर्षण बढेको छ, यस विषयलाई नेपालका विश्वविद्यालयले गम्भीर समीक्षा गर्न जरूरी छ ।’ सङ्घीय शिक्षा ऐन छिटो पारित गर्न सरकारले उच्च प्राथमिकता दिएको समेत उनले बताए । उनले भने, ‘सङ्घीय शिक्षा ऐन सङ्घीय संसद्मा प्रस्तुत भइसकेको छ, यसलाई प्रक्रियामा लगेर छिटो पारित गर्ने हाम्रो कोशिस भइराखेको छ, शिक्षा क्षेत्रसम्बन्धी जति पनि समस्या छन्, त्यसको समाधानका निम्ति ऐन निकै महत्त्वपूर्ण हुने हामीले विश्वास लिएका छौँ ।’ प्रधानमन्त्री दाहालले विश्वविद्यालयको रणनीतिक योजनामा रहेका विषयवस्तु र कार्ययोजना राम्रो रहे पनि रणनीतिक योजनामा यसअघिको रणनीतिक योजनामा लक्ष्य निर्धारण भएका क्रियाकलाप कति परिणाममुखी भए, कति कार्यान्वयन हुनसके वा सकेनन्, केकस्ता जोखिम आए भन्ने जस्ता विषयमा गम्भीर बहस हुनुपर्ने बताए । सबै विश्वविद्यालयले शैक्षिक क्यालेन्डर बनाइ दृढतापूर्वक लागू गर्नुपर्ने उनकाे भनाइ छ । उनले भने, ‘अध्ययनका लागि विद्यार्थी विदेशिने परिस्थिति रोक्न विश्वविद्यालयले एकेडेमिक क्यालेन्डर बनाइ विद्यार्थी भर्ना, पठनपाठन र परीक्षा सञ्चालन समयमै हुने एवं तोकिएको शैक्षिक अवधिमा अध्ययन पूरा हुने व्यवस्था गरिनुपर्दछ ।’ विश्वविद्यालयले देशको आवश्यकता र विद्यार्थीको मागअनुसारको समय सान्दर्भिक पाठ्यक्रम निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ । उनले कार्यक्रम विस्तार गर्दा सर्वसुलभ शिक्षाको पहुँचबाट टाढा रहेका क्षेत्र तथा जनतालाई प्राथमिकता दिनुपर्ने बताए । सो अवसरमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई र विश्वविद्यालयका पदाधिकारीको उपस्थिति थियो । रासस