पूर्वाञ्चल विश्वविद्यालयले ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले मुलुकको निर्माण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यसै शैक्षिकसत्रदेखि स्नातकोत्तर तहमा ‘कन्स्ट्रक्सन म्यानेजनमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने भएको छ । विश्वविद्यालयले सम्बन्धित विषयविज्ञको सुझावका आधारमा उक्त विषयका पाठ्यक्रम स्वीकृत गरिसकेको छ । विश्वविद्यालयको आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा सो विषय अध्ययनका लागि २०÷२० जनाको कोटा तोकेर पठनपाठन सुरु गर्न लागिएको छ । इञ्जिनियरिङ काउन्सिलले उक्त विषय अध्ययन गराउन मान्यता दिइसकेको छ । नयाँ कार्यक्रमको पाठ्यक्रम निर्माण गर्न गठित विभिन्न समितिले पाठ्यक्रमका बारेमा छलफल गरी अन्तिम रुप दिएको छ । समितिले स्नातकोत्तर तहमा ‘अर्थक्वेक इञ्जिनियरिङ’को पाठ्यक्रमलाई परिमार्जन गरेको छ । समितिले विभिन्न विषयविज्ञसँग छलफल गरेर पाठ्यक्रमलाई अन्तिमरुप दिएको हो । समितिमा पाठ्यक्रमसम्बन्धी विज्ञ, टिप्पणीकर्ता, नेपाल विद्युत् प्राधिकरण, नागरिक उड्डययन प्राधिकरण, नेपाल कन्स्ट्रक्सन एशोसियसन, नेपाल उद्योग परिसङ्घ लगायतको प्रतिनिधित्व रहेको थियो । पाठ्यक्रमलाई अन्तिमरुप दिन आयोजित कार्यक्रममा पूर्वाधार विज्ञ डा सूर्यराज आचार्यले विश्वविद्यालय तथा औद्योगिक क्षेत्र जोड्न उपयोगी पाठ्यक्रम बनेकामा खुसी व्यक्त गरे । उनले राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा प्रतिस्पर्धामा उत्रिन सक्ने दक्ष जनशक्ति उत्पादनमा पाठ्यक्रम कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । विश्वविद्यालयले स्नातक तहमा इञ्जिनियरिङ सङ्कायअन्तर्गत सिभिल, इलेक्ट्रिकल, बायो मेडिकल, इलेक्ट्रोनिक्स, कम्प्युटरलगायत विषय अध्ययन गराउँदै आएको छ । प्राविधिक विषयमा दक्ष जनशक्ति उत्पादन गरी विश्वविद्यालयले स्वदेशको माग पूर्ति गर्दै आइरहेको छ । विश्वविद्यालयले स्नातक तहको सिभिल कार्यक्रमको पाठ्यक्रम परिमार्जन गरी आगामी १० वर्षमा चाहिने जनशक्तिको प्रक्षेपण गर्दै अनिवार्य ‘इन्टर्नसीप’को व्यवस्था गरेको छ । रासस

एसइईको पुनर्योगका लागि आवेदन माग, छात्रवृत्तिका लागि साउन २० गते परीक्षा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको छ । साधारण र प्राविधकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रियाबमोजिम पुनर्योग गराउन आवेदन दिन सक्नेछन् । सोका लागि बोर्डको कार्यालय या सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा तोकिएको आवेदन दिन सकिनेछ । सोका लागि आवश्यक व्यवस्था मिलाउन सबै एकाइहरुलाई बोर्डले भनेको छ । कामपाले छात्रवृत्ति परीक्षा लिँदै यसैबीच काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सञ्चालनको सूचना प्रकाशन गरेको छ । महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिकसत्र २०८०र८१ मा छात्रवृत्तिमा पढ्न चाहनेले यही असार २८ देखि साउन १२ गतेसम्म अनलाइन आवेदन फारम भर्न सूचनामा भनिएको छ । छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा सञ्चालन हुनेछ । रासस

भक्तपुरका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिइने

भक्तपुर । निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) एवं हिसानले विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेका छ । विद्यालय तहदेखि उच्च शिक्षासम्ममा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने अभियानमा जुटेको हिसानले सो घोषणा गरेको हो । भक्तपुर जिल्लाका प्याब्सनमा आवद्ध विद्यालयबाट एसइई उत्तीर्ण गरी जिल्लाभित्रकै हिसान आवद्ध स्कुल एवं कलेजमा कक्षा ११ भर्ना हुने ५० प्रतिशत छात्रवृत्ति अनिवार्यरुपमा दिने र विद्यार्थीको ग्रेड सिट हेरेर अझै थप छात्रवृत्ति दिने घोषणा गरिएको हो । प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठ र हिसान भक्तपुर जिल्ला अध्यक्ष अनिल कसपालबीच शुक्रबार एक कार्यक्रममा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ । चारबुँदे सम्झौतामा प्याब्सन सदस्य विद्यालयका प्रिन्सिपलको सिफारिस, विद्यार्थीको प्राप्त ग्रेड, प्रवेश परीक्षाको नतिजाको आधारमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई हिसान सदस्य विद्यालय एवं कलेजले आवश्यक थप छुट सहुलियत प्रदान गर्ने भएको छ । त्यस्तै प्याब्सन र हिसान दुवै संस्थाले अध्ययनरत विद्यार्थीको व्यक्तित्व विकास, अध्यापन शिक्षकको सीप अभिवृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि हुने शैक्षिक कार्यक्रम सञ्चालन गर्दै जाने सम्झौता भएको छ । भक्तपुरका विद्यार्थीलाई भक्तपुरमा नै कक्षा ११ र १२ पढ्ने वातावरण निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्तरुपमा कार्यक्रम गर्दै जाने सम्झौता भएको छ । सम्झौताका बारेमा जानकारी दिँदै हिसान भक्तपुरका अध्यक्ष कसपालले भने, ‘भक्तपुरका विद्यालयले हरेकवर्ष एसइईसम्ममा उच्च अङ्क ल्याएर विद्यार्थीलाई उत्तीर्ण गराइरहेका छन्, यहाँका विद्यालय एवं कलेज अब्बल छन्, उच्च शिक्षा अध्ययन गर्ने विद्यालय तथा कलेज पनि यहाँका उत्कृष्ट छन्, अब्बल छन्, त्यसैले प्याब्सन र हानको सहकार्यमा भक्तपुरका विद्यालयबाट एसइई उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षासम्म भक्तपुरकै विद्यालय एवं कलेजमा अध्ययन गर्ने गराउने वातावरण गर्न सहकार्य सुरु गरेका हौं ।’ यसबारेमा प्याब्सन भक्तपुरका अध्यक्ष श्रेष्ठले निजी र सरकारी विद्यालयका शिक्षाका बारेमा कुनै विभेद नभएको भन्दै सरकारीमा राज्यको लगानी र निजीमा व्यक्तिको लगानीमा मात्रै भन्नता रहे पनि शिक्षा र परीक्षा सबैमा राज्यकै भएको बताए ।उनले भने, ‘शिक्षामा विभेद छैन, पाठ्यक्रम राज्यले बनाउँछ, शुल्क राज्यले नै तोक्छ, अहिले पनि स्थानीय सरकारले तोकेको मापदण्डभित्रै रहेर शुल्क लिइएको छ, प्रश्नपत्र निर्माणदेखि परीक्षा राज्यले नै सञ्चालन गर्छ, नतिजा राज्यले नै प्रकाशित गर्छ, अनि शिक्षामा कसरी विभेद हुन्छ ?’ मध्यपुर नगर प्याब्सनका अध्यक्ष निलेष आचार्य, हिसानका कोषाध्यक्ष दिनेश पाण्डे, सूर्यविनायक नगर प्याब्सन अध्यक्ष दिनेश मैनालीलगायतल भक्तपुरका अभिभावकले काठमाडौं, ललितपुरका विद्यालयलाई मात्रै उत्कृष्ट देखेको अवस्थामा भक्तपुरका विद्यालय कलेजले पनि आवश्यक संरचनामा सुधार गर्दै भक्तपुरमा पनि उत्कृष्ट विद्यालय छन् भन्ने सन्देश प्रचारात्मकरुपमा अभिभावकसम्म पुर्याउनुपर्ने औँल्याए । रासस