नवीकरण नगर्ने क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले कारबाही गर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ। विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक-पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो । नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ । विश्वविद्यालयले कुनै क्याम्पसले नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । यसअघि त्रिविले २०७९ पुस २० गते र चैत २८ गते नवीकरणका लागि सूचना प्रकाशित गरेको थियो ।
प्राविधिक शिक्षाका लागि एसईईपछि सिटिइभिटी हुनसक्छ सजिलो विकल्प
काठमाडौं । विद्यालय शिक्षाको महत्वपूर्ण ढोका एसईईको नतिजा केही दिन अगाडि आइसकेको छ । एसईई पछि अब के पढ्ने भन्ने विषयमा धेरै विद्यार्थीहरुको उत्सुकता छ । कसैले साथीभाईसँग, कसैले शिक्षक र कसैले अभिभावकसँग यी विषयमा पक्कै छलफल गरिरहेका छन् । एसईई उत्तिर्ण भएका विद्यार्थीहरुले विद्यालयमा कक्षा ११ र १२ को विकल्पमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले सञ्चालन गरेको विभिन्न प्राविधिक विषय पढेर पनि आफ्नो अध्ययनलाई अगाडि बढाउन सक्छन् । सिटिइभिटीले कक्षा ११ र १२ कै सरहको शैक्षिक मान्यता पाउने गरी तीन वर्षे डिप्लोमा कोर्षका विभिन्न प्राविधिक विषयहरुको डिजाइन गरेर थुप्रै विद्यालय तथा कलेजहरुलाई पठनपाठनको लागि स्वीकृति दिएको छ । त्यस्तै, सिटिइभिटीले १८ महिना पढेर सकिने प्रि–डिप्लोमा तहका औद्योगिक प्रशिक्षार्थी तालिम कोर्ष पनि सञ्चालन गर्दै आएको छ । सिटिइभिटीले सञ्चालन गर्ने यी दुबै कोर्षहरु पाठ्यक्रम, पाठ्यपुस्तक सहित समय तालिकाअनुसार नै पढाइ हुन्छ । एसईई पछि सिधै छोटो अवधिको सिपयुक्त तालिम लिएर काममा लाग्न चाहनेहरुलाई लक्षित गरेर पनि सिटिइभिटीले निजी तालिम प्रदायक संस्थालाई पनि स्वीकृति दिन्छ । जुन कार्यक्रम देशैभरी विभिन्न निजी संस्थाहरुले सञ्चालन गर्ने गर्छन् । पछिल्लो समयमा सैद्धान्तिक भन्दापनि व्यवहारिक, प्राविधिक एवं जीवनउपयोगी शिक्षाको महत्व बढ्दै गएको छ । सिटिइभिटीले डिप्लोमा तहको कार्यक्रमका लागि ४९, प्रि–डिप्लोमा तहको कार्यक्रमका लागि ३३ र छोटो अवधिको व्यवसायिक तालिमको लागि २७४ र इलेक्ट्रोनिक सिकाइ सामग्री २९८ वटा तयार पारेको छ । त्यस्तै, सिटिइभिटीले २७ वटा व्यवसायिक क्षेत्रको सीप परीक्षण र ३११ वटा विषयमा पेशा वा व्यवसायको राष्ट्रिय सीप प्रमाणिका दिने गरेको छ । कहाँ पढ्न पाइन्छ र कति लाग्छ शुल्क ? गत फागुन मसान्तसम्मको तथ्यांकअनुसार सिटिइभिटीले देशैभरी ६५ वटा आफ्ना आंगिक शिक्षालय सञ्चालन गरेको छ । त्यस्तै, ५२ वटा साझेदारीमा, ६३६ वटा सामुदायिक विद्यालय र ४२२ वटा निजी संस्थाहरुले सिटिइभिटीका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । यसरी सिटइभिटीका प्राविधिक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाहरु सबै प्रदेशमा फैलिएका छन् । सिटिइभिटीले प्राविधिक शिक्षाको क्षेत्रमा ठूलो संख्यामा शैक्षिक कार्यक्रम निर्माण गरेको हुँदा विद्यार्थीहरुलाई रोज्ने धेरै विकल्पहरु पनि रहेका छन् । जस्तै, विद्यार्थीहरुले डिप्लोमा तर्फ स्वास्थ्य, इन्जिनियरिङ, कृषि, हस्पिटालिटी लगायतका विषयमा ३३ वटा विषय रोजेर अध्ययन गर्न सक्छन् । त्यस्तै, प्रि–डिप्लोमा तर्फ इन्जिनियरिङ, कृषि, अप्रेन्टिसिप, हस्पिटालिट लगायतका २३ वटा विषय मध्ये छानेर अध्ययन गर्न पाइने सुविधा रहेको छ । सिटिइभिटीले आंगिक, सामुदायिक र साझेदारी प्रतिष्ठानहरुमा डिप्लोमा र प्रि–डिप्लोमा अध्ययन गर्दा लाग्ने शुल्क पनि निर्धारण गरेको छ । जसमा प्रि–डिप्लोमा अन्तर्गत कृषि र हस्पिटालिटी तथा होटल म्यानेजमेन्ट विषय अध्ययन गर्दा आंगिकमा १५ हजार र सामुदायिक र साझेदारी प्रतिष्ठानमा ५५ हजार रुपैयाँ शुल्क लाग्छ । प्रि–डिप्लोमाकै इन्जिनियरिङ अध्ययन गर्दा आंगिकमा २२ हजार र सामुदायिक र साझेदारी प्रतिष्ठानमा ६५ हजार रुपैयाँ लाग्ने सिटिइभिटीले जनाएको छ । त्यस्तै, प्रि–डिप्लोमाको व्यवस्थापन र अन्य प्राविधिक विषयमा भने आंगिक शिक्षालयमा १८ हजार र सामुदायिक र साझेदारी प्रतिष्ठानहरुमा ५५ हजार शुल्क लाग्छ । डिप्लोमा अन्तर्गत कृषि तथा वन विज्ञान, इन्जिनियरिङ, स्वास्थ्य, हस्पिटालिटी र व्यवस्थापन तथा अन्य विषयहरु आंगिक शिक्षालयमा अध्ययन गर्दा क्रमशः ८५ हजार, ९८ हजार, एक लाख ६० हजार र ९९ हजार शुल्क लाग्छ । त्यस्तै सामुदायिक र सरकारी अनुदान प्राप्त हुने साझेदारी प्रतिष्ठानमा अध्ययन गर्दा क्रमशः एक लाख ७५ हजार, एक लाख ९० हजार र एक लाख ७५ हजार रुपैयाँ शुल्क लाग्छ । त्यस्तै, सरकारी अनुदान प्राप्त नभएका साझेदारी प्रतिष्ठानहरुमा इन्जिनियरिङ डिप्लोमा अध्ययन गर्दा दुई लाख पाँच हजार शुल्क लाग्ने सिटिइभिटीले जनाएको छ । डिप्लोमा र प्रि–डिप्लोमा अध्ययन गरेपछि सिटिइभिटीले विद्यार्थीलाई प्रमाणपत्र पनि उपलब्ध गराउने गर्छ । तीनवर्षे डिप्लोमा कोर्ष अध्ययन गरेका विद्यार्थीहरुले सोही विषयमा विश्वविद्यालयको स्नातक तह पनि अध्ययन गर्न सक्छन् भने प्रि–डिप्लोमाको तालिमलाई पनि सरकारी तथा गैह्र सरकारी निकायहरुले मान्यता दिने गरेका छन् । त्यस्तै, विभिन्न निजी संस्थाहरुबाट छोटो अवधिको तालिम लिएकाहरुलाई पनि राष्ट्रिय सीप परीक्षण समितिले सिप परीक्षण गरेर सर्टिफिकेट प्रदान गर्ने गर्छ ।
इक्यानको अध्यक्षमा चार जनाको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?
काठमाडौं । असार ३० गते हुन लागेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचनमा अहिलेसम्म चार जना आकांक्षीहरुले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । इक्यानका पूर्व अध्यक्ष विष्णुहरी पाण्डे, वर्तमान उपाध्यक्षहरु शेषराज भट्टराई, कृष्णहरी केसी र देवीदास भट्टराईले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका हुन् । शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो संगठनको रुपमा स्थापित इक्यानको आगामी नेतृत्वमा को आउला भन्ने विषयलाई अहिले निकै चासोका साथ हेरिएको छ । अध्यक्ष पदका लागि चारजनाले उम्मेदवारी घोषणा गरेको भएपनि प्यानल बनाएर विष्णुहरी पाण्डे र शेषराज भट्टराईले मात्रै प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै प्यानको तर्फबाट पदाधिकारी तथा सदस्यमा आकांक्षी रहेका व्यक्तिहरुले उम्मेदवारी समेत घोषणा गरिसकेका छन् । त्यसैले, मुलतः संगठन र सदस्यको आधारमा हुने मतविभाजनको अनुमान गर्दा नेतृत्वमा विष्णुहरी पाण्डे र शेषराज भट्टराईबीचमा नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । चारैजनाले व्यवसायीहरुसँग मत माग्नको लागि आ–आफ्ना चुनावी एजेन्डा अगाडि सारेका छन् । अध्यक्षका उम्मेदवार विष्णुहरी पाण्डेले आफूले विगतको कार्यकालमा संस्थाको लागि गरेको राम्रो काम र त्यसको निरन्तरताको लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले आगामी दिनमा इक्यानको आफ्नै भवन बनाउने, इक्यानलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लगायतका महत्वपूर्ण एजेन्डा अगाडि सारेका छन् । त्यस्तै, अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका शेषराज भट्टराईले संस्थाको थप गतिशिलतामा टेवा पुर्याउन आफ्नो नेतृत्वको सक्रिय संलग्नता, पहुँच, व्यापार वृद्धि, नीति निर्माण लगायतका विषयमा आफ्नो भूमिका रहने दावी गरेका छन् । सदस्यमैत्री इक्यान, बैंकमा रहेको इक्यानको पैसाको सदुपयोगमा आफ्नो एजेन्डा रहेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका देवीदास भट्टराईको भनाइ छ । स्वतन्त्र मतदाताहरुको मत नै आफ्नो जित्ने आधार रहेको उनले बताए । ‘मलाई मतदाताहरुले लामो समयदेखि चिन्दै आएका आउनुभएको छ, मैले सदस्यदेखि दुइपटक उपाध्यक्षसम्म निर्वाचित भएर इक्यानको निम्त काम गरेको छु’, उनले भने । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका कृष्णहरी केसीले प्यानलको निर्माण नगरीकन अध्यक्ष पदमा मात्रै एक्लैले उम्मेदवारी घोषणा गरेका छन् । केसीले आफूले स्वतन्त्र प्रतिस्पर्धामा विश्वास गर्ने एउटै पदमा व्यक्ति दोहोरिरहनु हुँदैन भन्ने मान्यता रहेको बताए । ४६७ जना सदस्य संख्या रहेको इक्यानको निर्वाचनले २६ जना पदाधिकारी तथा सदस्य निर्वाचित गर्नेछ । साथै, नयाँ कार्यसमिति निर्माणसँगै सल्लाहकारको नयाँ बोर्ड र निवर्तमान अध्यक्षहरुको काउन्सिल समेत निर्माण हुनेछ ।