१९ प्रधानाध्यापकले दिए संयुक्त रुपमा राजीनामा

काठमाडौं । मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु रहेका छन् । प्रधानाध्यापकहरुले दिएको सामूहिक राजीनामा साउन १ गतेदेखि लागू हुने गरी दिइएको पत्रमा उल्लेख छ । ‘सहमति बिपरितको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ,’ राजीनामा पत्रमा उल्लेख छ । विद्यालयको गुणस्तर सुधारको नाममा गाउँपालिकाले विना कारण प्रधानाध्यापकको सरुवा गर्न खोजेपछि सामूहिक रुपमा राजीनामा दिन बाध्य भएको बताइएको छ । एक प्रअका अनुसार प्रधानाध्यापकबाट राजीनामा दिए पनि पढाउन भने छाड्ने छैनन् । यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको जानकारी दिए । उनले शिक्षक महासङ्घका अध्यक्ष नवराज डोटेलले विषयलाई राजनीतिकरण गराएर अनावश्यक बखेडा झिक्न खोजेको दाबी गरे । ‘अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडिको हो । हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौँ, प्रधानाध्यापकलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौँ, उहाँहरुले नमानेपछि हामीले सरुवा गर्न खोजेका हौँ,’ अध्यक्ष कालाखेतीले स्पष्ट पारे । पालिकाको शिक्षा क्षेत्र सुधारका लागि पालिकाले शिक्षकलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता पाँच सयबाट बढाएर दुई हजार पुर्याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए । ‘शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवश्यक छ, यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो, सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौँ तर कसैले मान्दिन भन्छ भने हामी कानुनअनुसार अघि बढ्नेछौँ,’ अध्यक्ष कालाखेतीले भने ।

इक्यानको अध्यक्षमा भट्टराई विजयी

काठमाडौं । शैक्षिक परामर्श सङ्घ (इक्यान)को नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनबाट शेषराज भट्टराई अध्यक्षमा विजयी भएका छन् । अध्यक्षका लागि चार जना उम्मेदवार रहेकामा भट्टराईले दुई सय ३८ र निकटतम् प्रतिद्वन्द्धी विष्णुहरि पाण्डेले एक सय ४६ मत प्राप्त गरेका छन् । विद्युतीय मतदान प्रणालीबाट भएको निर्वाचनमा कुल चार सय १९ मतदाताले भाग लिएका थिए । कार्यसमितिको उपाध्यक्षहरूमा लन्ड्रयु पौडेल (लक्ष्मण), भुवनबहादुर क्षेत्री, गीता शिवाकोटी (गीताञ्जली) र महासचिवमा दीपक भुसाल निर्वाचित भएका छन् । सचिवमा भावनाथ हुमागाईँ र रत्नबहादुर भट्टराई तथा कोषाध्यक्षमा आशिष कार्की विजयी भएका छन् ।

देश परिवर्तनका लागि शिक्षा क्षेत्रको परिवर्तन आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले देश परिवर्तनका लागि शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् । परिवर्तन अभियान नेपालले आज काठमाडौंको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण परीक्षार्थी र विद्यालयलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा उनले नेपालको शिक्षा क्षेत्रलाई नयाँ तरिकाबाट सुरुआत गर्न जरुरी रहेको बताएका हुन् । ‘मुलुक परिवर्तन गर्न शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्छ, नयाँ तवरले अगाडि बढ्नुपर्छ’, उनले भने । उनले आफ्नो रुचिअनुसारको विषय पढेमात्र सफलता हासिल हुने भएकाले सोहीअनुसार अगाडि बढ्न विद्यार्थीलाई आग्रहसमेत गरे । उनले भविष्यको नेतृत्व पनि अहिलेको पुस्ता भएको भन्दै राजनीतिमा युवा सहभागिता अनिवार्य भएको बताए। तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले शिक्षा क्षेत्रमा नगरपालिकाले क्रमशः सुधारका कार्यक्रम अघि सारेको बताए । हरेक परिवर्तन शिक्षामार्फत नै हुन सम्भव हुने उनको भनाइ छ । नगरप्रमुख महर्जनले पछिल्लो समय तारकेश्वरले शिक्षा क्षेत्रमा बजेट वृद्धि गरेको उल्लेख गरे । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौं महानगरपालिका वडा नं १६ का सभापति मुकुन्द रिजालले बेरोजगार युवालाई सीपसहितको शिक्षा प्रदान गर्नु आजको आवश्यकता भएको बताए । विद्यार्थीलाई देशभित्रकै योग्य जनशक्ति बन्न सक्ने गरी उच्च शिक्षा अध्ययन गर्न उनले सुझावसमेत दिए । परिवर्तन अभियान नेपालका संयोजक सुशील भट्टले परिवर्तन अभियान नेपाल शिक्षा, स्वास्थ्यसहित सामाजिक र जनसरोकारका विषयमा निरन्तर क्रियाशील भइरहने बताए । कार्यक्रममा तारकेश्वर नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयबाट ‘जिपिए ४’ ल्याउने विद्यार्थी र त्यस क्षेत्रका झन्डै ९० विद्यालयलाई सम्मान गरिएको थियो । यसवर्ष तारकेश्वर नगरपालिकाबाट दुई हजार आठ परीक्षार्थी एसइई परीक्षामा सहभागी थिए । परिवर्तन अभियान नेपालका सदस्य माधव शर्माले हामीले खोजेको परिवर्तन के हो र अबको शिक्षा प्रणाली कस्तो बनाउने भन्नेबारे बहस आवश्यक रहेको बताएका थिए ।