बालीविज्ञान पढ्ने १६ विद्यार्थीलाई गाउँपालिकाबाट छात्रवृत्ति
टक्सार । गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ भोजपुरको रामप्रसाद राई गाउँपालिकाले बालीविज्ञान पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकामा गत वर्षबाट सञ्चालनमा आएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयमा बालीविज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाकाले छात्रवृत्ति सहयोग गर्न लागेको हो । रामप्रसाद राई–५ मानेभञ्ज्याङ, आमबोटेमा गत वर्षबाट शिक्षालय खुलेसँगै बालीविज्ञान कक्षा सञ्चालन हुँदै आइरहेको छ । गाउँपालिकाभित्र रहेका आठ वडाका दुई/दुई गरी १६ विद्यार्थीलाई बालीविज्ञान अध्ययनका लागि गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको गाउँपालिकाको प्रशासन शाखाका अनन्त राईले जानकारी दिए । राईका अनुसार बहुप्राविधिक शिक्षालयमा तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर ९बाली विज्ञान० मा अध्ययन गर्ने विद्यार्थीले पालिकामार्फत छात्रवृत्ति पाउने छन् । गाउँपालिका शिक्षा शाखा प्रमुख दानबहादुर भट्टराईका अनुसार छात्रवृत्ति प्रदान गर्ने विषयमा गाउँकार्यपालिका र शिक्षा समितिले निर्णय गरिसकेको छ भने छात्रवृत्तिका लागि आवेदनसमेत माग गरिएको छ । गाउँपालिकाका अनुसार छात्रवृत्ति पाउन एसइई परीक्षामा कम्तीमा एक दशमलव छ जिपिए ल्याएको हुनुपर्नेछ । आफ्नै पालिकामा शिक्षालय सञ्चालनमा रहेकाले स्थानीयस्तरमा नै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले छात्रवृत्ति दिन लागिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । छात्रवृत्तिका लागि परेका आवेदनमा जेहेन्दार र विपन्नलाई प्राथमिकता दिइनेछ । गाउँपालिका अध्यक्ष राईले भने, ‘पालिकाले भोजपुर बहुमुखी क्याम्पसमा पढ्ने विद्यार्थीलाई समेत छात्रवृत्ति उपलब्ध गराइरहेको छ, यो आफ्नै पालिकामा रहेको बहुप्राविधिक शिक्षालयमा पनि अध्ययन गर्ने विद्यार्थीलाई पनि छात्रवृत्ति दिने निर्णय गरिएको हो ।’ यसले प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण पनि बढ्ने उनले बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा आफ्नै जन्मगाउँ मानेभञ्ज्याङको आमबोटेमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय खुलेको हो । भोजपुर जस्तो दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न उनको पहलमा ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण भएको थियो । पचपन्न रोपनी क्षेत्रफलमा निर्माण गरिएको प्राविधिक शिक्षालयलाई पूर्वराष्ट्रपति भण्डारीले ३७ रोपनी र उनका अन्य परिवारले १८ रोपनी जग्गा निःशुल्क प्रदान गरेको थियो । शिक्षालयमा एकेडेमिक भवनका साथै छात्राबास, कर्मचारी आवास गृह, कम्प्युटर ल्याब, प्रयोगात्मक भवन पनि निर्माण गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त शिक्षालयमा बालीविज्ञानको अध्ययन अध्यापन भइरहेको छ । रासस
आकर्षण बढेपछि महानगरसँग छैन सामुदायिक विद्यालय गाभ्ने योजना
काठमाडौं । काठमाडौँ महानगरपालिकाले हाल सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा थप राम्रो बनाउन लागिएको भन्दै तत्काल गाभ्ने सोच नभएको जनाएको छ । हाल कामपा ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । जसमा ५९ मावि रहेका छन् भने अन्य आधारभूत तहका विद्यालय सञ्चालन रहेका छन् । त्यस्तै पाँच सय चार संस्थागत विद्यालय रहेका छन् । सञ्चालनमा रहेका सबै विद्यालयको स्तरोन्नती गर्ने कसरी गर्ने भन्नेतर्फ महानगरको ध्यान रहेको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए । प्रमुख कोइरालाले भने, “कम विद्यार्थी सङ्ख्या भएको विद्यालयमा कसरी बढाउने, भौतिक संरचना आकर्षण र राम्रो बनाउने, आवश्यकताअनुसार शिक्षक दिने र थप गुणस्तर बढाउने काम गर्नु हाम्रो मुख्य उद्देश्य रहेको छ ।” उनका अनुसार पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । यही अनुपातमा विद्यार्थी बढिरहने हो भने अबको केही वर्षमा कामपाले छुट्टै सामुदायिक विद्यालयल सञ्चालन गर्नुपर्ने हुनसक्छ । त्यसैले हाल सञ्चालनमा रहेको सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि कामपा सक्रियपूर्वक लागिरहेको छ । यसअघिका वर्षहरूमा कामपाले विद्यार्थी सङ्ख्या कम भएका विद्यालयहरू एकापसमा गाभ्ने भन्दै आएको थियो । “सञ्चालनमा रहेका केही सामुदायिक विद्यालयमा अहिले नै विद्यार्थी थेगिनसक्नु छ जहाँ नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि स्थान छैन”, प्रमुख कोइरालाले भने । प्रचलित शिक्षा ऐन, २०२८ ले गरेको व्यवस्था र कामपाको शिक्षा ऐन, २०७५ तथा विद्यालय व्यवस्थापन नियमावली, २०७४ ले गरेका प्रावधानअनुरूप विद्यालयहरू सञ्चालनमा छन् । त्यस्तै कामपाले चालु आवदेखि नै एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयलाई सधँै सुन्दर र हराभरा बनाइराख्न कामपाले रु पाँच करोड विनियोजन गरेको छ । नयाँ निजी विद्यालय सञ्चालन गर्नका लागि आवेदन नआए पनि सञ्चालनमा रहेका विद्यालयमा कक्षा थप गरिदिन अनुमतिका लागि कामपा शिक्षा विभागमा वार्षिक ६० वटासम्म प्रस्ताव आउने गरेका छन् । आएका प्रस्तावका आधारमा कामपाले सम्बन्धित स्थानको स्थलगत अनुगमन गर्छ र मागअनुसार शिक्षक, भौतिक संरचनाजस्ता मापदण्ड पूरा भएको अवस्थामा अनुमति दिने गरेको छ । चालु अर्थिक वर्षमा कामपाले समग्र शिक्षाका लागि १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ रकम विनियोजन गरेको छ ।रासस
सिटिइभिटीले ५५ सय विद्यार्थीलाई दिने छात्रवृत्तिमा कसरी गर्ने आवेदन ?
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन गर्ने तीन हजार छ सय ७४ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने भएको छ । सिटिइभिटीले उक्त छात्रवृत्ति सरकारी, सामुदायिक र परिषदका आंगिक शिक्षालयहरुबाट एसएलसी, एसईई र प्रि–डिप्लोमा उत्तिर्ण गरेका विद्यार्थीलाई उपलब्ध गराउने जनाएको छ । त्यस्तै, प्रि–डिप्लोमा तहमा पनि सरकारी, सामुदायिक तथा सरकारी विद्यालय र प्रि–डिप्लोमा तह उत्तिर्ण गरेका विद्यार्थीहरुले छात्रवृत्तिको लागि आवेदन गर्नसक्ने सिटिइभिटीले जनाएको छ । इच्छुक विद्यार्थीहरुले अनलाईनबाट प्रवेश परीक्षा शुल्क बुझाएर आवेदन गर्नसक्ने समेत सिटिइभिटीले सूचनामा उल्लेख गरेको छ । छात्रवृत्तिको लागि विद्यार्थीहरुले साउन १२ गते सम्म आवदेन गरिसक्नुपर्ने सिटिइभिटीले जनाएको छ । हेर्नुहोस् डिप्लोमा तथा प्रमाणपत्र तहको लागि छात्रवृत्तिको सूचना तथा आवेदन गर्ने तरिका र हेर्नुहोस् प्रि–डिप्लोमा तहको लागि छात्रवृत्तिको सूचना तथा आवेदन गर्ने तरिका ।