सफ्टवेरिका कलेजले आयोजना गरेको ‘टेक-एक्स २०२३’ सुरु (फोटो फिचर)
काठमाडौं । सफ्टवेरिका कलेजले बिहीबारदेखि ‘टेक–एक्स २०२३’ आयोजना गरेको छ । काठमाडौंको डिल्ली बजारस्थित कलेज परिसरमा विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी सुरु भएको हो । आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षणको रूपमा रहने कलेजले जनाएको छ । यस प्रदर्शनीको उद्घाटन सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले गरेको कलेजले जनाएको छ । यसका साथै एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीहरूले तयार पारेका विभिन्न प्रोजेक्टहरू समेत हेर्न पाइनेछ । प्रदर्शनीमा नवप्रवर्तन सम्बन्धी ३० भन्दा बढी प्रोजेक्टका स्टलहरू रहने छन् । जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटी सहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टम रहेका छन् । यसबाहेक रिमोट मनिटरिङसहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागि अग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट पनि कलेजका विद्यार्थीहरूले बनाएका छन् । ११ गतेदेखि १४ गतेसम्म चल्ने मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क रूपमा अवलोकन गर्न सकिनेछ ।
शिक्षक निमावि तहका लागि लाइसेन्सको परीक्षा खुल्यो
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षकको लागि अध्यापन अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न परीक्षाको लागि आवदेन खुला गरेको छ । साउन १० गतेको निर्णयअनुसार आज बिहीबारदेखि आवदेन गर्न सकिने गरी आयोगले आवेदन खुला गरेको हो । लाइसन्स प्राप्त गर्न योग्यता पुगेका इच्छुक व्यक्तिहरुले अनलाईन प्रणालीबाट नै आवेदन गर्न सक्ने आयोगले सूचनामा उल्लेख गरेको छ ।
रिद्धि सिद्धि सिमेन्टद्वारा ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ छात्रवृत्ति कार्यक्रमको आयोजना
काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले यस वर्षदेखि मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ । यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परिक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तिर्ण भएका मकवानपुर जिल्लाको विद्यार्थीहरुलाई लक्षित गरि उक्त एसईई परीक्षामा ३.६ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ । छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार रुपैयाँ, दोश्रो हुनेलाई ३५ सय रुपैयाँ र तेश्रो हुनेलाई २५ सय रुपैयाँ उपलब्ध गराउने छ । साथै, सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा १५ सय रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ । यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट वा फेसबुक पेजमा गइ उल्लेखित क्युआर कोडमा स्कान गरी फारम भनुपर्ने कम्पनीले जनाएको छ । आवेदकको फारम बुझाउने अन्तिम मिति श्रावण २१ गते तोकिएको छ ।