आफैँ होटेल सञ्चालन गरेर बिआइएचएम पढाउँदै आईआईएमएस कलेज

काठमाडौं । ब्याचलर अफ इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट (बिआइएचएम) आफैँमा पूर्ण प्रयोगात्मक विषय हो । जसको लागि सैद्धान्तिक भन्दा व्यवहारिक अभ्यासको बढी आवश्यकता पर्छ । मलेसियाको प्रतिष्ठित टेलर्स विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्दै आएको काठमाडौंको आईआईएमएस कलेजले बिआईएचएम पढ्ने विद्यार्थीहरुलाई पढाइकै क्रममा क्षमतावान बनाउने उद्देश्यले आफैँले होटेल सञ्चालनमा ल्याएको छ । जसले गर्दा विद्यार्थीहले पढाइको क्रममा अनिवार्य रुपमा जानुपर्ने इन्टर्नसिप अगाडि नै होटेलमा आफ्नो रुची अनुसारको अभ्यास गर्न पाएका छन् । चार वर्षे अवधिमा आठ सेमेस्टरमा पढाइने बिआइएचएम कार्यक्रमको छैठौं सेमेस्टरमा ५५ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । यतिबेला कलेजले विद्यार्थीहरुको अभ्यासलाई लक्षित गरेर ‘होटेल टेकओभर’ कार्यक्रम सञ्चालन गरेको छ । कलेजले विद्यार्थीहरुलाई सानो-सानो ग्रुप बनाएर नागपोखरीको आफ्नै प्रतिष्ठित अरन्या बुटिक होटेलमा अभ्यास गर्ने अवसर प्रदान गरिएको छ । कलेज सञ्चालनकै क्रममा आईआईएमएस सञ्चालक ग्रुपले व्यवसायिक तथा शैक्षिक उद्देश्यले ठूलो लागनीमा झण्डै छ महिना अगाडि सो होटेल खरिद गरेको हो । देश तथा विदेशमा राम्रो प्रतिष्ठा बनाएको सो होटेलमा कलेजका विद्यार्थीहरुले आफ्नो पढाइको अभ्यास गर्न पाएका छन् । बिआइएचएम कार्यक्रम अन्तर्गत फन्ट अफिस, किचन, वेटर लगायतका धेरै नै विधा भएपनि विद्यार्थीहरुले आफ्नो रुची अनुसारको क्षेत्र रोजेर होटेलमा अभ्यास गरिरहेका छन् । विशेष संवेदनशील जिम्मेवारी बाहेकका सम्पूर्ण काम विद्यार्थीहरुले नै सञ्चालन गरिरहेका छन् । किनकी होटेल तथा रेष्टुरेन्टमा नियमित रुपमा आउने ग्राहकलाई अभ्यासको फिलिङ नहोस भनेर सो गरिएको हो । तर, टेकओभरमा सहभागी भएका विद्यार्थीको पहिचान होस भन्ने उद्देश्यले कलेजले विद्यार्थीहरुई भिन्न पोशाकको भने व्यवस्था गरेको छ । विद्यार्थीहरुले आफूहरुलाई कलेजले इन्टर्नसिप अगाडि नै होटेलमा प्रत्यक्ष रुपमा काम गर्ने अवसर दिएकोमा आगामी पढाइ र करिअरमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । कलेजमा बिआइएचएम अध्ययन गर्दै गरेका अतिन श्रेष्ठले होटेल टेकओभर कार्यक्रममा फन्ट अफिस म्यानेजरको भूमिका निर्वाह गरिरहेका छन् । उनले कलेजले पढाइकै क्रममा अभ्यासका रुपमा उपलब्ध गराएको सो अवसरले आफूलाई राम्रो अनुभव भएको सुनाउँछन् । ‘मलाई यो एकदम एकदमै नयाँ अनुभव भइरहेको छ, होटेलमा आएर वास्तविक गेस्टसँग डिल गर्न पाउँदा एकदमै नयाँ अनुभव भएको छ’, उनी अनुभव सुनाउँछन्, ‘म अहिले यहाँ होटेल म्यानेजरको रुपमा काम गरिरहेको छु, डे टु डे होटेलको एक्टिभिटी कसरी ह्यान्डिल गर्ने भन्ने विषय सिक्न पाइरहेका छौं ।’ कलेजको बिआइएचएम छैठौं सेमेस्टर अध्ययन गर्दै गरेका गौरव कोइरालाले होटेल अरन्या बुटिक होटेलको बारमा अभ्यास गरिरहेका छन् । उनले गेस्टको अर्डर अनुसारको कफी बनाइरहेका छन् । उनले वास्तविक गेस्टहरुसँग जोडिएर काम गर्दा नयाँ अनुभव भएको सुनाउँछन् । ‘मैले अहिले बार्टेनिङ गर्दैछ्, मेरो विभागमा बारिष्ठा र बार टेन्डर दुईवटै पर्छ, यसमा कफिदेखि ड्रिंक्स सबै आइटम बनाउने काम हुन्छ’, गौरव सुनाउँछन्, ‘मैले गेस्टको अर्डरअनुसार बनाइरहेको छु ।’ त्यस्तै सुभेक्षा न्यौपानेले होटेल अरन्या बुटिकमा रेष्टुरेन्ट म्यानेजरको रुपमा काम गरिरहेकी छन् । उनले रेष्टुरेन्टको चौतर्फी अवस्थाको व्यवस्थापनमा ध्यान दिइरहेकी छन् । उनले आफूले वास्तविकतामा होटेल कसरी सञ्चालन हुन्छ भनेर सिक्ने अवसर पाएको बताउँछिन् । काठमाडौं नागपोखरीस्थित अरन्या बुटिक होटेल टेलर्स विश्वविद्यालयको बिआइएचएम कलेजका बिआइएचएम विभागका प्रमुख अश्विनिकुमार लघुका अनुसार बिआइएचएम कोर्ष भनेको अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रम हो । होटेल तथा हस्पिटालिटी व्यवसायिक क्षेत्रलाई चाहिने विषय बिआइएचएमको कोर्षमा समावेश गरिएको उनको भनाइ छ । उनले टेलर्स विश्वविद्यालयको सो मोडेल क्युएस र्याङकिङमा समेत सोह्रौं स्थानमा रहेको बताएका छन् । अनुसन्धान, लाइफ स्किल र प्रयोगात्मक विधिमा जोड दिएर पढाउने गरिएको समेत विभागीय प्रमुख लघुको भनाइ छ । ‘यहाँबाट तयार भएको विद्यार्थीले राम्रो टिमवर्क गर्छन्, समस्याको समाधान गर्छन्, उनीहरुलाई कलेजबाटै सफ्टवेयर र स्कील सम्बन्धी विषयहरु सिकेर पास आउट हुने आधारमा र्याङ्क प्राप्त भएको हो’, विभागीय प्रमुख लघु बताउँछन् । साथै कलेजले पनि नतिजामामुखी आधारमा प्रणाली सञ्चालन गरेको उनको भनाइ छ । विद्यार्थीले प्रत्येक च्याप्टरको अध्ययन पश्चात व्यवहारिक रुपमा के सिक्नुपर्ने भन्ने विषयलाई ख्याल गरेर पढाइने उनी बताउँछन् । कलेजमा चार वर्ष पढेको विद्यार्थीले सम्बन्धित क्षेत्रमा गएर काम गर्न सक्नेगरी सिकाइ तथा पढाइ कार्यक्रम सञ्चालन गर्ने गरिएको उनले बताए । बिआइएचएम पढाउँदा पनि विद्यार्थीलाई एकदिन सैद्धान्तिक र अर्को दिन प्रयोगात्मक विधि अपनाउने गरिएको विभागीय प्रमुख लघु बताउँछन् । उनका अनुसार विद्यार्थीलाई परीक्षा लिने तरिका पनि विषयको आधारमा प्रोजेक्ट, प्राक्टिकल, प्रस्तुती लगायत हुने गर्छन् । विद्यार्थीहरुले विश्वविद्यालयले उपलब्ध गराएको लर्निङ म्यानेजमेन्ट सफ्टवेयरमा आफूले सिकेका विषयहरु अपलोड गर्नुपर्ने हुन्छ । जसमा विद्यार्थीले अन्यत्रबाट कपी गर्न पाउँदैन । बिआइएचएमको पढाइमा विश्वविद्यालयले १४ हप्ताको एक सेमेस्टर हुने व्यवस्था मिलाएको छ । जसको प्रत्येक १६ औं हप्तामा नतिजा आउँछ । यदि विद्यार्थी असफल भएमा १७ औं हप्तामा उसले फेरि परीक्षा दिन सक्छ र नियमित पछिल्लो सेमेस्टर पढाइमा जोडिन सक्छ । विद्यार्थीले चारवर्षे पढाइको क्रममा तीन वर्ष कलेजको अध्ययन र पछिल्लो एकवर्ष देश विदेशका होटलमा इन्टर्नसिप गर्ने व्यवस्था रहेको विभागीय प्रमुख लघु बताउँछन् । उनले अहिलेसम्म कलेजबाट बिआइएचएम पढेका विद्यार्थीहरु सतप्रतिशत विद्यार्थी रोजगारमा जान सफल भएको बताए । एकजना विद्यार्थीलाई करिअरमा सफल हुनको लागि एकेडेमिक एक्सिलेन्स, लाइफ स्कील र सकारात्मक भावना चाहिनेमा ती सबै विषयहरु बिआइएचएमको कोर्षमा समावेश रहेको लघुको भनाइ छ । अश्विनिकुमार लघु बिआइएचएम विभाग प्रमुख कसरी कोर्षहरु सञ्चालन गर्ने भनेर विश्वविद्यालयले शैक्षिक क्यालेन्डर उपलब्ध गराएको छ । सोही आधारमा नै रहेर कलेजले वर्क लोड प्लान निर्माण गर्ने गरिएको बिआइएचएम प्रोग्राम को–अर्डिनेटर रिमा मानन्धर बताउँछिन् । विद्यार्थीहरुले पढ्दै गर्र्दा उनीहरुले पूरा गर्ने अभ्यास, परीक्षा, प्रोजेक्ट लगायतबाट पाउने नम्बर हेर्नको लागि विश्वविद्यालयले माई टाइम्स एप्लिकेसन उपलब्ध गराएको छ, जसबाट विद्यार्थीहरुले आफूले पढ्दै गर्दा प्राप्त गरेको नम्बर हेरिरहन सक्छन् । बिआइएचएम कार्यक्रमकी मोविलिटी एन्ड प्लेसमेन्ट को–अर्डिनेटर रोजिना महर्जनले विद्यार्थीले कलेजमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा सिकेका विषयहरुलाई इन्टर्नसिपको माध्यमबाट प्रस्तुत गर्ने अभ्यास रहने गरेको बताइन् । उनका अनुसार कलेजले होटेल टेक ओभर कार्यक्रम राखेर इन्टर्नसिप अगावै अभ्यास गर्न दिँदा विद्यार्थीहरुलाई आफूले पढेको विषय कत्तिको व्यवहारिक छ भन्ने जान्ने मौका मिलेको छ । साथै उनले विद्यार्थीहरुले आफ्नो कन्फिडेन्स विकास गरेको बताइन् । कलेजमा गर्ने प्रयोगात्मक अभ्यास भन्दा होटेल टेक ओभर कार्यक्रमले वास्तविक होटेल तथा हस्पिटालिटी क्षेत्रमा कसरी काम गर्न आवश्य हुँदोरहेछ भनेर विद्यार्थीले सिक्ने अवसर प्राप्त गरेको महर्जनको भनाइ छ । इन्टर्नसिपमा जाँदा आवश्यक पर्ने कन्फिडेन्स, कम्युनिकेसन स्कील लगायतका विषय होटेल टेकओभर कार्यक्रमबाट प्राप्त गर्ने हुँदा उनीहरुलाई पछि सजिलो हुने समेत उनले बताइन् । ‘विद्यार्थीहरुले पढ्दा होटल इन्डस्ट्री यस्तो हुन्छ होला है भनेर जसरी सोचेका हुन्थे वास्तविकतामा अनुभव गर्छन्, जसले गर्दा उनीहरुलाई इन्टर्नसिपमा जाँदा सजिलो हुन्छ’, उनले भनिन् । मोविलिटी एन्ड प्लेसमेन्ट को–अर्डिनेटर रोजिना महर्जन सामान्यतया होटेल तथा हस्पिटालिटी क्षेत्रमा काम गर्न रुची राखेका कक्षा १२ उत्तिर्ण भएका विद्यार्थीहरुले बिआइएचएम पढ्न सक्छन् । बिआइएचएकी एडमिसन अफिसर पुनम बानियाँका अनुसार कक्षा ११//१२ मा जुनसुकै विषय लिएर उत्तिर्ण गरेको विद्यार्थीले पनि सो विषय पढ्छन् । टेलर्स विश्वविद्यालयले कक्षा १२ मा ५० प्रतिशत अथवा २ जिपिए ल्याएर उत्तिर्ण भएको विद्यार्थीलाई बिआइएचएम पढ्न योग्य मानेको छ ।

प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राज्यको सीमित स्रोत र साधनका बाबजुद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको काम अगाडि बढाउन निर्देशित गरे । ‘राज्यको साधन स्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजुद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले धेरैहदसम्म सुधार गर्नसकिने शैक्षिक जगतमा प्रशस्त दृष्टान्त छन्’, उनले भने । प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका पदाधिकारीले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के–कस्ता काम गर्न सकिन्छ, सोको गहिरो अध्ययन गरी सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट र नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्न निर्देशन दिए । विश्वविद्यालयले स्थापनाको छोटो अवधिमै नेपालको उच्चशिक्षाको विकासमा प्रशंसनीय भूमिका निर्वाह गरिरहेको चर्चा गर्दै प्रधानमन्त्रीले उच्चशिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समयसापेक्ष रुपमा अगाडि बढ्नुपर्ने बताए । सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तहका कार्यक्रमलाई सुव्यवस्थित बनाउँदै दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रम सञ्चालन गरी अनुसन्धानमूलक गतिविधिलाई प्राथमिकता दिइनु आफैमा महत्वपूर्ण र प्रशंसनीय रहेको उनको भनाइ छ । विश्वविद्यालयले आफूलाई नेपालको उच्चशिक्षाको थलोको रूपमा स्थापित गरी देशको आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानुपर्ने उनको भनाइ छ । अनुसन्धान कार्यलाई आर्थिक तथा सामाजिक विकाससँग जोडी विज्ञान तथा प्रविधिका विषयलाई उच्च प्राथमिकतामा राखेर दक्षजनशक्ति उत्पादन गरी देशको बेरोजगारी र गरीबी न्यूनीकरण गर्नेतर्फ पनि विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । विश्वविद्यालय विकासको प्रारम्भिक अवस्थामै रहेकाले जनशक्ति, भौतिक संरचनाको अभावसँगै स्रोत साधनसम्बन्धी प्रशस्त समस्या रहेकामा आफू जानकार रहेको उल्लेख गर्दै उनले समस्या पहिचान गरी समाधान गर्न गम्भीर प्रयत्न गर्नुपर्ने बताए । विद्यमान समस्या समाधान गर्न सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक हुने भएकाले विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारी तथा समुदायसँग छलफल गरी यस शैक्षिक संस्थाको उन्नति, विकास र सहयोगका लागि सरकार सदैव गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ छ । सुदूरपश्चिम प्रदेशभित्रका १५ वटा क्याम्पसलाई आङ्गिक क्याम्पसका रूपमा विश्वविद्यालमा समायोजन गर्ने कार्यलाई पूर्णता दिन गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरी थप ११ वटा क्याम्पसलाई पनि समायोजन गर्नका लागि सरकारका तर्फबाट गर्नुपर्ने काम अगाडि बढाइने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘दक्ष र अर्धदक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने अवस्था रहेको कटु यथार्थ हाम्रो सामू छ । अब हाम्रो शिक्षा नीति र विश्वविद्यालयहरूले रोजगारीका लागि विदेशिनुपर्ने यस अवस्थाको अन्त्य गर्ने योजनाहरू अगाडि बढाउनुपर्दछ । यसरी युवा विदेशिनुको मुख्य कारण शिक्षाको कमजोर गुणस्तर र गरिबी नै हुन् ।’ गुणस्तरमाथि उकास्न सके र देशभित्र रोजगारीको अवसर सिर्जना भए युवा विदेशिने क्रमलाई रोक्न सकिने प्रधानमन्त्रीको भनाइ छ । विश्वविद्यालयमा पढ्दै र कमाउँदै कार्यक्रम लागू गर्न सकिए बीचमै विश्वविद्यालयको पढाइ छोडेर विद्यार्थी विदेशिने समस्या एक हदसम्म समाधान हुने सम्भावना आफूले देखेको उनको भनाइ छ । ‘कुन क्षेत्रमा कुन किसिमको कति जनशक्ति आवश्यक पर्दछ भन्ने कुरा अध्ययन गरी त्यसैअनुसार सम्बन्धित विषयमा कोटा निर्धारण गरी विश्वविद्यालयले विद्यार्थी भर्ना लिने र उत्पादित जनशक्तिले प्राप्त गरेको ज्ञान र सीपअनुसार देशभित्र काम पाउने वातावरण निर्माण गर्न सकिए शैक्षिक बेरोजगारीको समस्या व्यवस्थापन गर्न सकिन्छ’, प्रधानमन्त्री प्रचण्डले भने ‘विश्वविद्यालयले देशलाई कुन किसिमको जनशक्तिको आवश्यकता छ त्यसैअनुसार जनशक्ति उत्पादन गर्ने कार्यक्रम सञ्चालन गर्नतिर ध्यन दिनुपर्ने देखिन्छ ।’ शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएर आधुनिक र मर्यादित तुल्याउन सकिए मात्र २१औँ शताब्दीको आजको विश्वमा प्रतिस्पर्धा गर्न योग्य एवं समाज र राष्ट्रका निम्ति कर्मठ र लगनशील नागरिक उत्पादन गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उच्चशिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी अनुसन्धानमा आधारित बनाउनुपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले त्यस्ता अनुसन्धान देशको सर्वाङ्गीण विकासमा केन्द्रीत हुनुपर्ने बताए । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, विश्वविद्यालयका पदाधिकारीको सहभागिता थियो ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले नयाँ तस्विर कसरी बनाउँछ ?

काठमाडौं । तस्विर बनाउने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक जटिल प्रणालीबाट तस्विर निर्माण गर्ने काम गर्छ । लाखौं तस्विर र सो सँग प्राप्त जानकारीको आधारमा एआईले तस्विर निर्माण गर्ने काम गर्छ । तपाईंले एआईले त्यो तस्विर पनि बनाउन भन्न सक्नुहुन्छ, जुन कुनै पनि घट्ना, वातावरण वा पात्रसँग सम्बन्धित छैन । उदाहरणको रुपमा तपाईंले मंगल ग्रहमा टहलिँदै गरेको मान्छेको तस्विर बनाउन पनि भन्न सक्नुहुन्छ । तपाईंले एआईलाई कुनै रचनात्मक तस्विर बनाउन पनि लगाउन सक्नुहुन्छ । उदाहरणको रुपमा तपाईंले प्रशिद्ध चित्रकार पिकासोको शैलीमा कुनै प्रशिद्ध खेलाडीको तस्विर बनाउन अनुरोध गर्न सक्नुहुन्छ । एआईसँग अनियमित ढंगले रंगहरुको प्रयोग गरेर तस्विर निर्माृण गर्नसक्ने प्रविधि जोडिएकोछ । यसको अलावा विभिन्न वस्तुहरुको तस्विर निर्माण गर्न थोप्लाहरु र तरिकाको प्रयोग गर्न सक्छ । थोप्लाहरुको सहायताले एआईले पहिला एक सतहको निर्र्माण गर्छ र त्यसमाथि निर्देशित ढाँचासँग मिल्ने तस्विर निर्माण गर्छ । यसो गर्दा पहिलो सतह हराउन पुग्छ । एआईले मंगल ग्रह, अन्तरिक्षमा टहलिँदै गरेको व्यक्ति लगायतका तस्विरहरुलाई पनि फरक प्याटर्नमा राखेर नयाँ तस्विर पनि निर्माण गर्न सक्छ । जुन कुनै पनि घटनामा नभएको अलग प्रकारको तस्विर हुन्छ । एआईले अरबौं तस्विरसँग जोडिएका अरबौं प्याटर्नका आधारहरुलाई प्रयोग गरेर सो काम गर्छ । कलाकारहरुले हजारौं वर्षदेखि गरेको तस्विर निर्माण गर्ने काम एआईले एउटा काल्पनिक अवधारणाका आधारमा निर्माण गर्न सक्छ । पछिल्लो समयमा एआईले निर्माण गरेका तस्विरहरुको अर्थ र यसको अधिकारका सम्बन्धमा चर्चा शुरु भएको छ ।