कोरोना बीमा फेरि सुरु भयो, अर्थमन्त्रालय सहयोग गर्न तयार

काठमाडौं । कोरोना बीमा फेरि सुरु हुने भएको छ । यो बीमामा अत्याधिक चाप परेपछि दायित्व बढी सिर्जना भएको कारण स्थगित गरिएको कोरोना बीमा दाबी भुक्तानीमा अर्थमन्त्रालय सहयोग गर्न तयार भएपछि पुनः सुरु हुन लागेको हो । अर्थमन्त्रालयको असयोगले रोकिएको कोरोना बीमामा सरकारले दाबी भुक्तानीमा सहयोग गर्ने जनाएको छ । नयाँ सहमति अनुसार पहिलो १० हजार बिमितको दाबी भुक्तानी बीमा कम्पनीहरु आफैले गर्नेछन् । यो दाबी भुक्तानी सबै बीमा कम्पनी मिलेर गर्ने हो । त्यसपछिको १० हजार बिमितको दाबी भुक्तानी गर्नु परेमा नेपाल पुनर्बीमा कम्पनीले गर्नेछ । सोभन्दा बढी ५ हजार बिमितलाई दाबी भुक्तानी गर्नुपरेमा बीमा कम्पनीहरुमा रहेको महाविपत्ति कोष प्रयोग गरेर दाबी भुक्तानी दिइनेछ । यसरी दाबी भुक्तानी गर्दा २५ हजार बिमितको दाबी भुक्तानी हुनेछ । त्यसभन्दा बढी १० हजार बिमितको दाबी भुक्तानी गर्नुपर्ने अवस्थामा बीमा समितिले आफ्नो कोषमा रहेको रकमबाट भुक्तानी दिनेछ । यसरी दाबी भुक्तानी दिदाँ कोरोना बीमा गरेका मात्रै ३५ हजार नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भइसकेको (पीसीआर परीक्षणबाट) हुनेछ । सोभन्दा बढीको दाबी भुक्तानी गर्नुपर्ने अवस्थामा सरकारले दाबी भुक्तानी दिने गरी व्यवस्था मिलाइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । यस्तो बीमाको अवधि एक वर्ष भनिएकोमा आगामी चैत मसान्तसम्म मात्रै कायम गरिएको छ । सम्बन्धित सामग्री अर्थमन्त्रालयको असहयोगले कोरोना बीमा अप्ठेरोमा, भोलिदेखि रोकिने

काठमाडौं महानगपालिकाले करिब २ हजारकाे गरायाे काेराेना बीमा

काठमाडाैं । काठमाडौं महानगपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा गरेको छ । कामपाले बिहीबार राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरी एक हजार ९८२ जनाको बीमा गराएको जनाएको छ । सम्झौतामा कामपाको तर्फबाट प्रशासन विभागका प्रमुख नमराज ढकाल र राष्ट्रिय बीमा कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक सुवास कोइरालाले हस्ताक्षर गरेका हुन् । कारोना भाइरस (कोभड–१९) को प्रतिकूल समयमा पनि सेवाग्राहीका बीचमा बसेर काम गर्ने कर्मचारीको मनोबल उच्च बनाउन बीमा गरिएको हो कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने । सम्झौताबमोजिम आगामी वर्ष (२०७८) जेठ २२ गतेभित्र बीमित व्यक्तिमा पिसिआर (पोलिमेयर चेन रियाक्सन) रिपोर्टमा पहिलोपटक पोजेटिभ देखिए महानगरको सिफारिसमा एक लाख रूपैयाँ प्राप्त हुनेछ । प्रतिव्यक्ति ६०० रूपैयाँ शुल्क तिरेर एक वर्षका लागि बीमा गरिएको हो । हाल कामपामा १६० जनप्रतिनिधि, ३० जना सामाजिक परिचालक छन् । यसैगरी स्थायी, अस्थायी, करार र सञ्चार क्षेत्रमा काम गर्ने गरी एक हजार ७९२ जना जनशक्ति कार्यरत रहेका छन् । रासस

यूनियन लाइफका बीमितहरुले अनलाईन मार्फत बीमाशुल्क भुक्तानी गर्न सक्ने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमितहरुले अनलाइन सेवा प्रदायक कम्पनीहरु कनेक्ट आइपिएस, खल्ती र सेल पे बाट जुनसुकै प्रकारको बीमाशुल्क रकम भुक्तानी गर्न पाउने भएका छन् । यूनियन लाइफले हालै अनलाइन सेवा प्रदायक कम्पनीहरु कनेक्ट आइपिएस, खल्ती र सेल पे संग बीमाशुल्क भुक्तानी सम्बन्धी संझौता गरेको छ । यो संझौता भए संगै कम्पनीका बीमितहरुले घरमै बसेर प्रथम बीमाशुल्क, नबिकरण बीमाशुल्क तथा बीमालेख अन्तर्गतको ऋण लगायत सबै प्रकारका शुल्कहरु भुक्तानी गर्न सक्ने भएका छन् । यसैगरी उक्त अनलाइन सेवा प्रदायकहरुबाट अभिकर्ताहरुले समेत रकम भुक्तानी गर्न सक्ने ब्यवस्था गरिएको छ । बीमित तथा अभिकर्ताहरुले घरमा बसेर नै बीमाशुल्क भुक्तानी गर्ने ब्यवस्था गरिएको कारण कम्पनीको बीमा सेवा उपभोग गर्न निकै सहज हुने कम्पनीले जनाएको छ । लकडाउनको जटिल अवस्थामा अनलाइन भुक्तानीबाट बीमित तथा अभिकर्ताहरुले फाईदा लिने कम्पनीले अपेक्षा गरेको छ । आगामी दिनमा बीमित तथा अभिकर्ताहरुलाई फाइदा पुग्ने गरी थप प्रविधियुक्त सेवा सुविधाहरु उपलब्ध गराउदै जाने कम्पनीले जानकारी दिएको छ । देशब्यापी रुपमा शाखा संजाल बिस्तार गरेको यूनियन लाइफल बीमा क्षेत्रमा समेत छोटो अवधिमा स्थापित हुन सफल भएको छ ।