नेपाल इन्स्योरेन्सको बोनस सेयर पारित, चुक्ता पुँजी एक अर्ब १५ करोड नाघ्यो
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रस्तावित ५ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको ७१औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत अर्थात ५ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । साथै, उक्त बोनस सेयरमा लाग्ने कर सहित चुक्ता पुँजीको २.८९ प्रतिशतले हुने ३ करोड १७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित भएको छ । यससँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ । साथै, उक्त नगद लाभांश रकमबाट गत आर्थिक वर्ष २०७४/०७५ मा जारी गरिएको बोनस सेयरमा तिर्नु पर्ने कर रकम चुक्ता नभएका सेयरधनीहरुका हकमा उक्त कर रकम समायोजन गरी बाँकी रकम नगद लाभांश भुक्तानी दिने प्रस्ताव समेत पारित भएको इन्स्योरेन्सले जनाएको छ । उक्त सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा असार ५ गते कम्पनीको भवन कमलादी काठमाडौंमा सम्पन्न भएको हो । आर्थिक वर्ष ०७५/०७६ मा कम्पनीको प्रगति विवरण कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेको र यस महामारीले आगामी दिनमा व्यवसाय गर्ने तरिका, सुरक्षा, प्रविधिको प्रयोग र यस प्रकारका भवितब्यबाट पर्न सक्ने प्रभावलाई व्यवस्थापन गर्ने तर्फ समेत सचेत रहि आफ्नो रणनीति बनाउने कम्पनीले बताएको छ । कम्पनीले प्रधान कार्यालय सहित आफ्नो ४९ शाखा कार्यालय र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्र गरी ५३ स्थानबाट बीमा सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा बीमाको पहुँचमा अझै अभिबृद्धि गर्न देशका विभिन्न स्थानहरुमा आवश्यकता अनुसार शाखा सञ्जाल विस्तार गरी देशको ग्रामिणस्तर सम्म सेवाग्राहीहरुलाई बीमा सेवाको पहुँच पुर्याउने कम्पनीको योजना रहेको छ ।
एनएलजी इन्स्योरेन्सले स्वेच्छिक रूपमा बुझायाे सरकारलाई ६ करोड ५१ लाख कर
काठमाडाैं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारलाई ६ करोड ५१ लाख २५ हजार २८१ रुपैयाँ कर तिरेको छ । कम्पनीले फागुन र चैतको मूल्य अभिवृद्धि कर बापत ३ करोड १९ लाख, अनुमानित करकाे दाेस्राे किस्ता ३ करोड र अग्रिम कर कट्टी वापत ३२ लाख २३ हजार १ हजार रुपैयाँ कर भुक्तानी गरेको छ । सर्वोच्च अदालतले लकडाउन समाप्त भएको एक महिनापछि मात्र करदातासँग कर लिन सरकारलाई आदेश दिएको र करदाताले अदालतको आदेशका आधारमा कर तिर्ने कार्यलाई पछि धकल्दै लगेको परिवेशमा एनएलजी इन्स्योरेन्स कम्पनीले स्वेच्छिक रूपमा सरकारलाई ठूलो मात्रमा कर बुझाएकाे हाे । ‘महामारीको बेलामा एकले अर्कालाई सहयोग गर्नुपर्छ । यतिबेला हामीले सरकारलाई ताेकिएकाे समयभन्दा अघि नै कर तिरेर सहयोग गरेका हौं’ एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले विकासन्युजसँग भने । कम्पनीले असार ५ गते शुक्रबार ठूला करदाता कार्यालयमा कर दाखिला गरेकाे हाे । ‘सरकारले कोभिड–१९ संक्रमित मानिसहरुको उपचार र व्यवस्थापनको लागि १० अर्ब रुपैयाँ खर्च भयो भनेको छ । राजश्व संकलन कम भएकोले सरकारलाई पनि आर्थिक स्रोत जुटाउन गाह्राे छ । यस्तो बेलामा हामी आफै जिम्मेवार बनेर स्वेच्छिक रूपमा सरकारलाई कर तिरेर सहयोग गर्नुपर्छ’ पन्तले भने । सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेपछि करदातालाई कर तिर्न विभिन्न चरणमा मिति सार्दै आएको थियो । गत जेठ २१ गतेको मन्त्रिपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर लगायतका विभिन्न शिर्षकका कर तिर्न असार ७ गतेसम्म समय दिएको थियो । गत जेठमा सर्वोच्च अदालतले लकडाउन सकिएको ३० दिनपछि मात्रै कर उठाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । तर, सो आदेश विरुद्ध सरकारले गरेको आदेश पुनरावलोक (भ्याकेट) माग सर्वोच्चले असार १ गते खारेज गरिदिएकाे छ । सरकारले अझै लकडाउन खुला गरेकाे छैन । लकडाउनलाई क्रमशः खुकुलाे पार्ने सरकारकाे ५१ दिने याेजना पुरा भएपछि लकडाउन खुला भएकाे मान्ने हाे भने सरकारले भदाैकाे तेस्राे साताबाट मात्र कर संकलन गर्न पाउँछ । राजश्व संकलनबाट नियमित खर्च धान्न नसकेपछि सरकार आन्तरिक ऋण उठाएर खर्च धान्ने अवस्थामा पुगेकाे छ भने विकास निर्माणका काम ठप्प हुँदैछन् । यस परिस्थितिमा स्वेच्छिक रूपमा कर तिरेर सरकारलाई सहयाेग नेपाल बैंकर्स संघले समेत सदस्यहरूलाई आग्रह गरेकाे छ । सम्बन्धित समाचार ढुकुटी रित्तियो भन्ने सरकारलाई अर्काे धक्का, भदाै २० अघि कर उठाउन नपाउने सरकारलाई बैंकर्स संघको साथ, चैतसम्मको कर तिर्न सम्पूर्ण बैंकलाई पत्राचार
प्रभु इन्स्योरेन्सको सञ्चालकमा बिजय कुमार श्रेष्ठ नियुक्त
काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा बिजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट श्रेष्ठलाई सञ्चालक पदमा चयन गरेको हो । कम्पनीको असार २ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । यसअघि कोषको तर्फबाट ओमकृष्ण श्रेष्ठले प्रतिनिधित्व गर्दै आएका थिए ।