आज सेयर बेच्नेहरु चार वर्षपछि पछुताउने छन्, किनेर बस्ने मानिसहरु खुसी हुनेछन्- मनोज ज्ञवाली

२०७४ फागुन २१ गते १०:३० विकासन्युज

मनोज ज्ञवाली, कामु प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक लिमिटेड

ज्योति विकास बैंकमा डेपुटी सीईओको रुपमा तपाईको आगमनलाई पनि महत्वको साथ हेरिएको थियो । कामु सीईओ बन्नु भएको छ र भावी सीईओको रुपमा बैंकले स्वीकार गरेको पनि देखिन्छ । तपाई आएपछि ज्योति विकास बैंकमा के के सुधार भए ?

म यस बैंकमा जोडिएको डेढ वर्ष भयो । म आउँदा यो बैंक ८ बर्षमा थियो । ६ अर्ब रुपैयाँ कर्जा प्रवाह र १०/१२ करोड नाफामै बैंक खुम्चिएको थियो । आज धेरै सुधार भैसकेको छ । आज १३ अर्बको लोनको पोर्टफोलियो छ । मर्जरबाट ल्याएका बैंकबाट पनि केही पैसा आएको छ तर हाम्रो आफ्नै निक्षेप र कर्जा पनि राम्रो ग्रोथ भैरहेको छ । ग्रोथका साथमा गुणस्तरमा पनि सम्झौता गरेका छैनौं । बैंकको शाखा २१ वटा बढाएर ५० वटा पुर्याएका छौं । व्यापार र नाफामा भएको वृद्धि वित्तिय विवरणहरुले देखाईरहेकै छन् ।

कर्मचारीको आकर्षण पनि बढेको छ । म आएपछि शाखा प्रबन्धकमा नियुक्ती गर्नको लागि सार्वजनिक आव्हान गर्दा २५ जनाले आवेदन दिएका थिए र कुनै पनि व्यक्ति छान्न लायक थिएनन् । पछिल्लो पटक गरिएको भ्याकेन्सीमा हजार जना भन्दा बढीको आवेदन आएको छ । बाणिज्य बैंकहरुबाट पनि ज्योति विकास बैंकमा जागिर खोज्दै आउनेहरु देखिएका छन् । हामीले छानी छानी मान्छे राख्न सक्ने हैसियत बनाएका छौं ।

नियामकहरुले पनि पहिलेको ज्योति विकास बैंक र अहिलेको ज्योति विकास बैंकलाई हेर्ने नजर पनि बदलिएको छ । हाम्रा ग्राहक, सेयरधनी र कर्मचारीहरु सबै सन्तुष्ठ छन् र म पनि सन्तुष्ट छु । लक्ष्य धेरै छ, यात्रा धेरै तय गर्नु पर्नेछ ।

समग्र वित्तिय क्षेत्रको अवस्था चाँही कस्तो छ ?

अहिले वित्तिय क्षेत्र असहज परिस्थितीबाट गुज्रिरहेको छ । यो एक बर्ष पहिले देखिको समस्या हो । मैले पहिलेदेखि नै भन्दै आएको छु कि लगानी योग्य पुँजीको अभाव केहि समस्या लम्बिनेछ । केहि मानिसहरुले चुनावको पैसा, कालो धन, सेतो धनलाई देखाएर तर्क गर्दै आएका थिए । मेरो कुरा स्पष्ट छ, लामो राजनीतिक संक्रमणबाट गुज्रिएको नेपालको वित्तिय क्षेत्रले अझै केहि समय लगानीयोग्य पुँजी अभावको समस्या झेल्नुपर्छ । यो तत्कालै समाधान हुने सम्भावना छैन । पुँजीलाई पुग्ने गरि बजार विस्तार नभएसम्म लगानी योग्य पुँजीको अभाव निरन्तर रहन्छ । सरकारको बजेट कार्यान्वयनका क्षमता बढेको छैन । बैंकहरुको पुँजी ४ गुणाले बढेको छ । कम्पनीहरुले पनि सोही शैलीमा बजार बढाउन थाले । हाम्रो निक्षेपको वृद्धि दर औषत २० प्रतिशतको छ । तर बैंकहरुले ऋण प्रवाहलाई अत्याधिक बनाए । २० प्रतिशतको निक्षेप बढाएर शतप्रतिशत ऋण बढाउन थालेपछि समस्या आउनु स्वभाविक हो र यो क्रम अझै केहि समय निरन्तर रहन्छ । तरलता अभावका समयमा हामीले गर्ने व्यवहारले वित्तिय क्षेत्रलाई नराम्रो धक्का लाग्न पनि सक्छ ।

आजको दिनमा लगानी योग्य पुँजीको चरम अभाव झेलिरहेको वित्तिय क्षेत्रको भविष्य चाँही कस्तो होला ?

मुस्किलले गाई पालेर बसेको किसानलाई हात्ति पाल्न भनियो भने के हुन्छ ? चार गुणा बढाईको पुँजीका लागि बजार खोई ? लगानीकर्ताले हिजो २० प्रतिशत प्रतिफल दिने बैंकले आज २५ प्रतिशत प्रतिफल दिनु पर्यो भनिरहेका छन् । त्यो कसरी सम्भव छ ? हिजो १५ प्रतिशत प्रतिफल दिने बैंकले आज २० प्रतिशत दिनुपर्छ भन्ने मान्यता लगानीकर्तामा गडेर बसेको छ । आज बाणिज्य बैंकका राम्रा भनिएका सीईओहरुले भटाभट जागिर छोडिरहेका छन्, निकालिँदै छन् । त्यसको कारण के हो ? त्यसका बारेमा कसले सोचिदिने ? कसले अध्ययन गरिदिने ?

बैंक पनि व्यवसाय हो, हरेक बिजनेश डुब्न सक्छ, नोक्सानमा जान सक्छ, अनि के बैंक चाँही नोक्सानमा जानै नहुने ? गत वर्ष २० करोड कमाउने बैंकले यसपाली १८ करोड मात्रै कमायो भने उत्पात्तै बिग्रने ? बैंकमा चाँही नोक्सानी हुनै नसक्ने ? हुनै नहुने ?
हरेक व्यवासयमा नोक्सान हुन सक्छ । पुराना बैंकहरुले १० औं वर्षपछि मात्रै २०/२५ प्रतिशत प्रतिफल दिएका हुन् । आज ३ गुणा पुँजी बढेको छ अनि तत्कालै प्रतिफल सोही मात्रामा बढाउन त सकिन्न नि । समस्याको जड नै यहि गलत सोँच नै हो । धेरै नाफा कमाउन भटाभट ऋण बढाएर मात्रै हुन्न । अमेरिका जस्तो अर्थतन्त्र भएको देशमा एक वर्षमै १४१ संस्था डुबेका थिए । निक्षेपमा २०/२२ प्रतिशत र कर्जामा १७/१८ प्रतिशत हुनुपर्ने थियो ।

बजारको आँकलन नै नगरि लगानीकर्तालाई ठूला सपना देखाएर पुरा गराउन नसकेपछि सीईओहरुले जागिर छाड्नुपर्ने बाध्यता आईपरेको हो ।


मुस्किलले गाई पालेर बसेको किसानलाई हात्ति पाल्न भनियो भने के हुन्छ ? चार गुणा बढाईको पुँजीका लागि बजार खोई ?


हामी डायनोसर बन्न चाँही तयार छैनौं । रुख अग्लो बन्दै गयो भने घाँटी लम्ब्याउँदै जाने जिराफ नै बन्ने हो । म जिराफ हुन चाहान्छु ।


हाम्रा ग्राहक, सेयरधनी र कर्मचारीहरु सबै सन्तुष्ठ छन् र म पनि सन्तुष्ट छु ।


चार वर्षभित्र विकास बैंकहरु मध्ये हामी टपमा हुनेछौं ।


मलाई लाग्छ अझै एक डेढ बर्षमा लगानीयोग्य पुँजीको अभाव टर्दैन । कि त स्थानीय निकायको सबै पैसा बैंकमा आउनु पर्यो वा केन्द्रिय बैंकमा जाने सबै पैसा बैंकहरुमा च्यानलमा आउनुपर्छ । त्यो अवस्थामा बाहेक लगानी योग्य पुँजी अभावको समस्या तत्काल समाधान हुन्न । एकाध दिनमा सहज भएछ भने पनि फेरी आक्रामक रुपमाले ऋण बढाएर फेरी भयावह अवस्था आउन सक्छ । डेढ देखि २ वर्षसम्म लगानीयोग्य पुँजी अभावको समस्या समाधान हुने मैले चाँही देखेको छैन् ।

राम्रा भनिएका सिइओहरुले जागिर छोड्नु परिरहेको छ । यसमा दोष केन्द्रिय बैंकको, सञ्चालकको वा सिइओहरुकै हो ?

यसमा लगानीकर्ता र केन्द्रिय बैंकको कुनै दोष छैन । विजनेश प्लान बनाउने सिइओहरुले नै हो । बिजनेश यति बढाउँछु र नाफा यति कमाउँछु, बजारको अवस्था यस्तो छ भन्ने योजना बनाएर सञ्चालक समितिमा बुझाउने सिइओहरुले नै हो । उनीहरुले बजारको अवस्थाको एकिन गरेर मात्रै बिजनेश प्लान बनाउनु पर्ने थियो । बजारको आँकलन नै नगरि लगानीकर्तालाई ठूला सपना देखाएर पुरा गराउन नसकेपछि सीईओहरुले जागिर छाड्नुपर्ने बाध्यता आईपरेको हो । औषत बजारको वृद्धिलाई नहेरी महत्वकांक्षा देखाएपछि पुरा गर्न नसक्नु स्वभाविक हो । एउटा रोटी छ, खाने मुख धेरै छन् । लुछाचुँडी गर्ने कि बाँडेर खाने भन्ने निर्णय सहि ढंगले गरिनुपर्छ ।

सौहार्दपूर्ण वातावरणमा रोटी बाढेर खाने अवस्था बनाउन सकिन्छ ?

रोटी बाढेर खाने अवस्था निर्माण गर्न सकिन्छ । बैंकर्स एसोसियसन छ, डेभलपमेन्ट बैंकर्स एसोसियसन पनि छ । हामीले सँगै बसेर सहमति गर्न सक्छौं । एउटा लेभल भन्दा माथी नजाने भनेर निर्णय गर्न सकिन्छ । छीना झम्टी नगर्ने, सहमतिमा निक्षेप लिने जस्ता काम गर्नु पर्ने थियो । अहिले त निक्षेपको तानातान मात्रै होइन, कर्मचारीको तानातान पनि अस्वभाविक रुपमा बढिरहेको छ । यसले समग्र वित्तिय क्षेत्रलाई नै समस्यामा पारिरहेको छ ।

पढेलेखेका र उत्कृष्ठ मान्छेहरु रहेको भनिएको वित्तिय क्षेत्रमा पनि आफैंले तय गरेको लक्ष्य पुर्याउन नसक्ने, किन ?

मान्छेले व्यक्तिगत क्षमताका आधारमा काम गर्ने हो । आज बैंकका सीईओहरुले राम्रोसँग काम गरिरहेका छैनन् । बैंकरहरु व्यवसायिक भएनन् । हामीले ८ प्रतिशतमा घरका लागि ऋण दिने अनि अर्काे महिनामा १६ प्रतिशत पुर्याइदिएका छौं । ऋणको आम्दानी बढेको हुन्न अनि उसले ८ प्रतिशतको ऋणलाई १६ प्रतिशत बनाउँदा कसरी तिर्न सक्छ ।

के हामी बैंकरहरुमा इमान, जमान हुन्न ? हामीलाई नैतिकता भन्ने कुराले छुनु पर्दैन् । यति बेला हामी बैंकरहरुले ऋणको जोखिम लिन पनि छाडेका छौं । ऋणीहरुलाई धमाधम ब्याजदर बढाएर आफू सुरक्षित भैरहेका छौं । सबै क्षेत्र ओरालो लाग्दा पनि बैंकहरुले नाफा बढाईरहेकै छन् । हामी ब्याजदरमा ऋणीलाई दुःख दिईरहेका छौं ।

तर डायनोसर बन्ने चाहाना मलाई छैन । त्यसैले २८ वटा बाणिज्य बैंक र दर्जन जति राष्ट्रिय स्तरका बाणिज्य बैंकहरुको भिडमा रहेकाले मैले पनि एसएमएस पठाएर ब्याजदर बढाउनुपर्ने बाध्यता छ । यद्यपि आजसम्म कर्जाको ब्याजदरमा हामीले कुनै पनि ग्राहकलाई अप्ठेरो पारेका छैनौं । तैपनि हामी डायनोसर बन्न चाँही तयार छैनौं । रुख अग्लो बन्दै गयो भने घाँटी लम्ब्याउँदै जाने जिराफ नै बन्ने हो । म जिराफ हुन चाहान्छु । अहिले हाम्रो बिजनेशको आकार राष्ट्रिय स्तरको विकास बैंकहरुको बटम लाइनमै छ । त्यसैले हामी पनि जिराफ बन्ने बाटोमा लागेर केहि न केहि ब्याजदर बढाउने काम नै गरिरहेका छौं ।

वित्तिय क्षेत्र भने साह्रै संवेदनशिल छ । एकाध बैंक ओरोलो लागे भने धेरै बैंक माथी समस्या आउछ । त्यसकारण हामीले, विकास बैंक र बाणिज्य बैंकहरुका सीईओहरुले सँगै बसेर वित्तिय क्षेत्रको वास्तविकताको सुक्ष्म अध्ययन गर्नुपर्छ । व्यवसाय र नाफाबारे एउटा स्पष्ट धारणा बनाएर आ-आफ्ना सञ्चालक समितिमा सोही अनुसारको कुरा राख्नुपर्छ ।

तपाई कामु सीईओ हुुनुहुन्छ र सीईओ बन्ने लाईनमा हुनुहुन्छ । चार वर्षपछि ज्योति विकास बैंक कुन पोजिसनमा पुग्छ ?

म डेपुटी सिइओ थिए, अहिले एक्टिंग सिइओ छु । म सपना बोकेर यहाँ आएको हुँ । हिजो पनि काम गरेको हुँ र आज पनि काम गर्छु । नयाँ सिइओ आउनु भयो भने पनि यति स्पीडमा काम गर्ने हो ।

आजका दिनमा ज्योति विकास बैंक एक ढिक्का भएर काम गरिरहेको छ । बोर्ड देखि उच्च व्यवस्थापन र सबै कर्मचारी एकजुट छन् । हामी उच्च मनोबलका साथ बैंकलाई अघि बढाईरहेका छौं ।

हामीलाई व्यवसाय बढाउन ठूलो चुनौती छ । गत वर्ष हामीले शत प्रतिशत व्यवसाय बढाएका छौं । ६ अर्बको कर्जालई १३ अर्ब बनाएका हौं । ५० वटा शाखा र ६५० कर्मचारी छन् । त्यो इफोर्टले डेढ वर्षमा शत प्रतिशत व्यवसाय बढाएका हौं । यो भनेको औषत विकास मात्रै हो ।
एक वर्षभित्र अरु विकास बैंकको हाराहारीमा व्यवसाय पुर्याउँछौं । हामी एक वर्षपछि करिब २६ अर्ब हाराहारीको व्यवसाय पुर्याउँछौं । ५० वटा शाखाले मासिक एक करोडको दुईवटा फाइल गर्यो भने एक वर्षमा १२ अर्बको व्यवसाय बढ्छ । अब विदेशी मुद्रा सटहीको सुबिधा पनि लिँदै छौं ।

पहिलो वर्षमा व्यवसाय बढाएसँगै दोश्रो वर्षमा नाफा स्वभिावक रुपमा वृद्धि हुन्छ । तेश्रो वर्षमा सेवा र प्राबिधिमा व्यापक सुधार गर्छाै । व्यवसाय, नाफा, सेवा र प्रबिधिमा सुधार गरेसँगै चौथो वर्षमा टप बैंकका रुपमा स्थापित भैसक्नेछौं । चौथो वर्षमा हामीलाई पछाडी छाड्न अन्य विकास बैंकहरुलाई हम्मेहम्मे पर्नेछ । आजको दिनमा ज्योति विकास बैंकको सेयर बेच्नेहरु चार वर्षपछि पछुताउने छन् । यतिबेला सेयर किनेर बस्ने मानिसहरु खुसी हुनेछन् ।

प्रतिफल कति पाउँछन लगानी कर्ताले ?

यो वर्ष हामी दुई अंकको प्रतिफल दिने योजनामै छौं । अर्काे वर्षदेखि हामी २० प्रतिशतको हाराहारीमा प्रतिफलको वृद्धिदर कायम गराउँछौं ।