वाम एकतासँग रुष्ट सेयर बजार १७ अंकले घट्यो, लगानीकर्ता भन्छन- राहतको प्याकेज चाहियो

  २०७४ फागुन ८ गते १५:३६     विकासन्युज

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकिकरण सम्झौताले पनि बजारलाई बढाउन सकेन् । केपी शर्मा ओली प्रधानमन्त्री बनेको दिन सेयर बजार ३६ अंकले बढेको थियो ।

त्यसपछि बजार निरन्तर घट्दै गएको छ । दुई पार्टी एकिकरण भएपछि बजार बढ्ने अनुमान गरिएको थियो । बजार खुल्दा यसको केही सकरात्मक संकेत देखिए पनि पछि बजारमा निरन्तर गिरावट आएको छ ।

बजार घट्दै गएपछि लगानीकर्तामा मनोबैज्ञानिक असरले गर्दा मंगलबार पनि बजार १७.१८ अंकले घटेको छ । बजार निरन्तर घटेपछि नेप्से परिसूचक पनि १ हजार ३९६ अंकमा झरेको छ ।

बैंकको ब्याजदर उच्च भएका कारण सेयर बजार बढ्न नसकेको एक ब्रोकरले बताए । “अहिले न्युनतम १४ प्रतिशत ब्याज पुगेको छ, त्यसमा पनि १ प्रतिशत सेवा शुल्क समेत गर्दा ब्याजदर १५ प्रतिशत पुग्छ” उनले भने “ब्याज लगानी पनि उठाउन नसक्ने अवस्था आएपछि ठुला लगानीकर्ताको बजारमा नआएका हुन ।”

सरकारले राहत योजना नल्याएसम्म बजार नबढ्ने उनको तर्क छ । बजार घटेपछि मंगलबार सेयर कारोबारमा पनि असर परेको छ । मंगलबार ४० करोड ५८ लाख रुपैयाँ मात्र सेयर कारोबार भएको छ । होटल बाहेक सबै क्षेत्रको सेयर मूल्य घटेको छ ।

मंगलबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ओम डेभलपमेन्ट बैंकको सबैभन्दा बढी संस्थापक सेयर कारोबार भएको छ । नेपाल लाईफको प्रतिकित्ता १ हजार १ सयमा ५ करोड ७० लाख ६२ हजार रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ ।

यस्तै ओम डेभलपमेन्टको पनि प्रतिकित्ता २४० मा २ करोड १५ लाख १२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार सबैभन्दा बढी बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।

बोटलर्सका लगानीकर्ताले प्रतिकित्ता ३९७ रुपैयाँ गुमाएका छन् । यस्तै नेसनल माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, जनउत्थान सामुदायीक लघुवित्त र समिट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.