जलविद्युत लगानी तथा विकास कम्पनीले ल्याउँदैछ ३० अर्बको ऋणपत्र, ५ प्रतिशत ब्याज सहित ५ वर्षमा फिर्ता

  २०७४ असोज ६ गते १४:५३     बाबुराम खड्का

काठमाडौं । सरकार स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ३० अर्ब रुपैयाँको ऊर्जा ऋणपत्र (पावर वण्ड) निष्कासन गर्ने भएको छ ।

जलविद्युत आयोजनामा लगानी जुटाउन नयाँ वित्तीय उपकरण अन्तर्गत एचआईडीसीएलले ऊर्जा ऋणपत्र बजारमा ल्याउन लागेको हो । छरिएर रहेको पुँजीलाई एकिकृत गर्न ऊर्जा ऋणपत्र निष्कासन गर्न लागेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए ।

बैंक तथा वित्तीय संस्था, बीमा, संगठित संस्था र सर्वसाधारणलाई ऋणपत्र बिक्री गर्ने योजना रहेको उनले सुनाए ।  ऋणपत्र निष्कासनका लागि आन्तरिक तयारी भइरहेको छ । एचआईडीसीएलले ऋणपत्रको प्रारुप (मोडालिटी) तयार गरिरहेको उनले जानकारी दिए । पोखरेलका अनुसार ५ वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको ब्याज दर न्युनतम ५ प्रतिशत हुने छ ।

चालु आर्थिक वर्षभित्रै ऋणपत्र निष्कासन हुने जानकारी दिदै उनले भने “यसका लागि आन्तरिक तयारी भइरहेको छ ।” मोडालिटी तयार भएपछि नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डलगायत अन्य सरोकारवालासंग छलफल गरेर ऋणपत्र निष्कासनका लागि काम सुरु गर्ने उनले जानकारी दिए ।

ऋणपत्रबाट प्राप्त हुने रकम ४६४ मेगावाटको फुकोट कर्णालीलगायत अन्य ठुला आयोजनामा लगानी गर्ने योजना छ । स्वदेशी लगानीमा जलविद्युत आयोजना बनाउन स्थानिय मुद्रामा ऋणपत्र निष्कासन गर्न लागेको उनले स्पष्टपारे । उनले आउदो पुससम्म ऊर्जा ऋणपत्रको मोडालिटी तयारी गरिसक्ने उनले जानकारी दिए ।

५ वर्षे व्यवसायीक योजनासंग जोडेर ऋणपत्र निष्कासन गर्न लागेको हो । ५ वर्षको व्यवसायिक योजना कार्यन्वनका लागि ठुलो रकम आवश्यक पर्ने भएपछि ऋणपत्रमार्फत जलविद्युतमा लगानी जुटाउन लागेको पोखरेलको भनाई छ ।

सरकारले विश्व बैंक अन्तरगतको अन्तराष्ट्रिय वित्त निगम (आईफसी) ले ५० अर्ब र एसियाली विकास बैंक (एडीबी) ले ५० अर्ब गरी १ खर्ब रुपैयाँ नेपाली रुपैयाँमा ऋणपत्र निष्कासका लागि स्वीकृति दिइसकेको छ । ऊर्जा क्षेत्रको विकासमा यो ऋणपत्र लगानी गर्ने तयारी एडीबी र आईएफसीको छ । यस्तै नेपाल विद्युत प्राधिकरणले पनि चमेलिया जलविद्युत आयोजनामा लगानी जुटाउन १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो ।

एचआईडीसीएलले आउदो ५ वर्षमा जलविद्युत विकासमा झण्डै ३६ अर्ब रुपैयाँ लगानी गर्ने लक्ष्य लिएको छ । कम्पनीले आगामी ५ वर्षका लागि व्यवसायिक योजना तयार पारी ३ हजार २३८ मेगावाट क्षमताका आयोजना निर्माणमा यो रकम लगानी गर्ने जानकारी दएको छ । कम्पनीको व्यवसायिक योजना सञ्चालक समितिले अनुमोदन गरिसकेको छ ।

आउदो ५ वर्षमा निजी क्षेत्रबाट निर्माण हुने ५६५ मेगावाट क्षमताका विभिन्न ८ आयोजनामा ५ अर्ब ९ करोड लगानी गर्ने छ । यस्तै सरकारी निकायबाट निर्माण गरिने १ हजार ६४० मेगावाट क्षमताका विभिन्न ५ आयोजनामा १६ अर्ब २१ करोड र निजी क्षेत्रबाट निर्माण हुने १ हजार ३३ मेगावाट क्षमताका ५ जलविद्युत आयोजनामा १४ अर्ब ४६ करोड रुपैयाँ लगानी गर्नेछ ।

कम्पनीसंग हाल १० अर्ब रुपैयाँ मात्र पुँजी भएकाले कर्मचारी संचय कोष, नागरिक लगानी कोष, बीमा संस्थान, नेपाली सेनाको कल्याणकारी कोषको रकम परिचालनका अतिरिक्त सर्वसाधारणबाट पनि लगानी जुटाउने छ ।

स्थापनाको ७ वर्षको अवधिमा कम्पनीले ५४१ मेगावाट क्षमताका १४ आयोजनामा ६ अर्ब ७८ करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ । ५ कम्पनीमा ३४ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको छ ।

कम्पनीले हालसम्म १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरी ९० करोड रुपैयाँ लाभांश वितरण गरेको उनले बताए । गत आवमा कम्पनीले ५२ करोड रुपैयाँ खुदनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.