मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन निर्वाचन आयोगको आग्रह

  २०७४ असोज ३ गते १४:२८     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ ।

नेपाल सरकारको असोज २ गते दुई राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्ने कार्यले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने आयोगले ठहर गरेको आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘आचारसंहिता जारी भइसकेपछि भएको सरकारको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने, राज्यका संवैधानिक निकायबीच संवैधानिक दायित्वबमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अवमूल्यन हुने र निर्वाचन आचारसंहिता प्रतिकूल समेत हुने भएकोले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन आयोग सरकारसँग आग्रह गर्दछ ।’’

यसअघि गत भदौ २६ गते पनि आयोगले मन्त्रिपरिषद् विस्तारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने जनाउँदै यस किसिमका कार्य नगर्न नगराउन सरकारसँग आग्रह गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.