राणा प्रधानमन्त्रीका पनाति, प्रधानसेनापतिका नाति सहकारीको ऋणमा डुबे, प्रबल शम्शेर जंगबहादुर राणाको सम्पत्ति लिलामीमा

  २०७४ वैशाख १७ गते १०:४३     विकासन्युज

काठमाडौं । समय बलवान  हुन्छ । दिन सधैं एक नास हुँदैन । माटोमा जन्मिएका बालक माटो मै लडिबुढी गर्दै हुर्केर एउटै पुस्तामा ठूलो परिवर्तन गर्न पनि सक्छन् । सत्ता शक्तिमा पुग्न सक्छ, धनाढ्य बन्न पनि सक्छ । साथै, दरवारमा जन्मेका मान्छेको जीवन पनि आर्थिक रुपमा चौपट बन्न सक्छ ।

प्रवल शमशेर जंगबहादुर राणा

जुद्ध शम्शेर जंग बहादुर राणा दरवारमा जन्मिएका थिए । उनी सन् १९३२ देखि १०४५ सम्म प्रधानमन्त्री भए, राणाकालमा प्रधानमन्त्रीलाई श्री ३ भनिन्थ्यो । राणकालमा १३ वर्ष निरन्तर प्रधानमन्त्री हुनु धेरै ठूलो कुरा हो ।

जुद्ध शम्शेर जंग बहादुर राणाका छोरा किरण शम्शेर जंग बहादुर राणा हुन । उनी सन् १९५१ देखि १९५६ सम्म शाही नेपाली सेनाका प्रधानसेनापति भए । उनी सन् १९७३ देखि १९७७ सम्म नेपाली राजदूत भई बेलायतमा बसेर काम पनि गरे । किरण शम्शेरले सरकारबाट दुई दर्जनभन्दा बढी राष्ट्रिय स्तरको पुरस्कार र सम्मान पाएका थिए ।
किरण शमशेरका छोरा प्रवल शमशेर जंगबहादुर राणाले पनि सेनाको उच्च पदमा रहेर काम गरे । इतिहासले यो परिवार करिब ६० वर्ष जुद्ध सत्ता र शक्तिको केन्द्रमा रहेको देखाउँछ । तर अहिले जुद्ध शम्शेरका नाति र किरण शम्शेरका छोरा प्रबल शम्शेर जंगबहादुर राणाको सम्पत्ति सहकारीले लिलामीमा राखेको छ ।

काभ्रेका सिबी लामाले नेतृत्व गरेको कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडले पूर्वप्रधानमन्त्री, पूर्व प्रधानसेनापति सहित चार पुस्ताको नाम, धितोमा राखिएको सम्पत्ति सहित उल्लेख गर्दै कर्जा चुक्ता नगरेको र धितो लिलामी प्रक्रिया अगाडि बढाएको सूचना प्रकाशित गरेको छ ।

काठमाडौं महानगरको वडा ११ मा रहेको प्रवल शमशेर राणाको नाममा रहेको करिव २२ आना जग्गा लिलामीमा राखेको सहकारीले जनाएको छ । प्रवल शम्शेर जंगबहादुरका छोरा प्रविर शमशेर जंगबहादुर राणाले ऋण लिएर नतिरेको सहकारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.