मुलुकभर स्मार्ट पेट्रोल पम्पलाई लाईसेन्स वितरण गरिदै, एक सातामा नै ७२ वटा आवेदन

  २०७४ वैशाख १० गते १३:३९     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले मुलुकभर स्मार्ट पेट्रोल पम्प विस्तार गर्ने तयारी गरेको छ । उपभोक्तालाई आफ्नो मूल्य अनुसारको पेट्रोल उपलब्ध गराउन निगमले नयाँ प्रविधि युक्त पम्प जडान गर्न लागेको हो । परम्परागत पेट्रोल पम्पका कारण उपभोक्ता ठगिने क्रमलाई रोक्न सरकारले नयाँ प्रविधि युक्त स्मार्ट पेट्रोल पम्प जडान गर्ने तयारी गरेको हो । हाल नेपालमा स्मार्ट पेट्रोल पम्प सञ्चालनमा छैन ।

स्मार्ट पम्पमा एकै पटकमा आठ वटा सवारीमा तेल भर्न मिल्ने, कम्तिमा चार वटा पेट्रोल नोजल र चार वटा डिजल नोजलबाट रिफिलिङ गर्ने गरी पम्पले व्यवस्था गर्नुपर्नेछ । न्यूनतम २० वटा साना तथा ठूला गाडी पार्क गर्न मिल्ने ५ सय वर्गमिटरको पार्किङ क्षेत्र हुनु पर्ने प्रावधान राखिएको छ । उक्त पेट्रोल पम्प २४ सैं घण्टा सञ्चालनमा रहनु पर्नेछ ।

नयाँ बन्ने स्मार्ट पेट्रोल पम्प अत्याधुनिक सुविधा सम्पन्न हुनेछन् । पम्प राख्नको लागि जग्गाको क्षेत्रफल तराई तथा भित्री मधेशमा एक विगाहा र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा पाँच रोपनी हुनुपर्ने प्रावधान राखिएको छ । ५ सय मिटरको क्षेत्रफल बाहिरमात्र राजमार्ग वा अन्य सडकबाट स्मार्ट पेट्रोल पम्प निर्माण गर्न सकिने छ ।

निगमले गत पुस १८ यस्ता पेट्रोल पम्प खोल्नका लागि इच्छुक निकाय तथा व्यवसायीसँग आवेदन माग गरेको थियो । पम्प स्थापनाको लागि ७२ वटा आवेदन परेको निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिए ।  साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) ले ४ वटा, नेपाली सेनाले ४ वटा, साझा सहकारीले ४, नेसनल ट्रेडिङले ७ वटा स्मार्ट पम्प खोल्ने आवेदन दिएका छन् भने बाँकी निजी क्षेत्रको आवेदन परेको हो ।

निगमका अनुसार यही वैशाख १ गते थप नयाँ पेट्रोल पम्पका लागि सार्वजनिक सूचना जारी गरेर आवेदन माग गरेको थियो । व्यवसायीहरूले आगामी असारसम्ममा स्मार्ट पम्प स्थापनका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.