सिम टिभी हरेक बस्ती र घरमा पुर्याउँदैछौं–दक्ष पौडेल

  २०७४ वैशाख ५ गते ९:५१     विकासन्युज

रेमिट्यान्स सेवाबाट उदाएको प्रभु समूहले बैंक, बीमा, पुँजीबजार, जलविद्युत, हवाई सेवा लगायत धेरै क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । यसअघि टेलिभिजन च्यानल सेवा प्रदायक कम्पनी डिस होममा २५ प्रतिशत सेयर लगानी गरेको प्रभु समूहले फरक प्रविधिबाट उस्तै सोवा दिने सिम टिभीमा पनि ठूलो लगानी गरेको छ । प्रभु समूहको विभिन्न कम्पनी समाल्दै हाल सिम्पल मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहनुभएको दक्ष पौडेलसँग हामीले सोधेका छौ–सिम टिभीमा लगानी गर्नेको कारण के हुन् ? सिम टिभीले बजार कसरी लिन्छ ?

दक्ष पौडेल, प्रबन्ध निर्देशक – सिम्पल मिडिया नेटवर्क

ग्राहकले सिम टिभी किन रोज्ने ?

सिम टिभी एकदमै क्लियर आउँछ । हामीले दिने सेवा उच्च गुणस्तरको छ । सस्तो पनि छ । हामीले प्रयोग गर्ने प्रविधि आधुनिक छ । अप्टिकल फाइबरबाट घरमा केवल जोड्छौं । हाम्रो नेटवर्क राम्रो छ । काठमाडौं, पोखरा, चितवन, बुटवल, दाङ लगायत धेरै क्षेत्रमा हामीले लोकल केबुल अपरेटरसँग सहकार्य गरेका छौं । ग्राहकले जुनसुकै ठाउँबाट सेटअप बक्स लिन सक्ने, जुनसुकै ठाउँबाट रिचार्ज गर्न सक्ने व्यवस्था मिलाएका छौं ।

नयाँ प्रविधिको प्रयोगसँगै मूल्य पनि सस्तो हुनुपर्ने । तर टेलिभिजनको प्रयोगकर्ताहरुले प्रविधिसँगै मूल्यमा लाभ लिन सकेका छैनन् । टिभी च्यानल किन सस्तो भएनन् ?

हामीले निकै सस्तो मूल्यको प्याकेजहरु दिएका छौं । सिम टिभीको सेटअप बक्स निःशुल्क छ । ५०० रुपैंयाँमा इन्स्टलेशन गर्दै आएका छौं । त्यसपछि तपाईँले विभिन्न किसिमको प्याकेजको लागि शुल्कहरु तिर्नुपर्दछ । हाई डेफिनिशन बक्सको लागि भने छुट्टै रकम तिर्नुपर्ने हुन्छ । हामीले दिएको जस्तो सेवा र मूल्य अन्य कम्पनीहरुले दिन सक्दैनन् ।

पहिला प्रयोग भएको एनालग सेवा कम गुणस्तरीय छन् । हामीले दिईरहेको सेवा भनेको डिजिटल केबल टेलिभिजन सेवा हो जसले ग्राहकहरुले सफा र प्रस्ट टेलिभिजन कन्टेन्ट हेर्न पाउँछन् । पहिला भन्दा धेरै गुणस्तरीय सेवा पहिलाको जस्तै मूल्यमा पाएका छन् । यसले उपभोक्तालाई लाभ नै भएको छ ।

इन्टरनेट सेवा सञ्चालनको तयारी कस्तो छ ?

यस कम्पनीले २ वर्षअघि नै केबल टिभीका साथै इन्टरनेट सेवा प्रदायकको अनुमति पाएको छ । तर अहिले हामी डिजिटल केबल टिभी सेवामा मात्र ध्यान केन्द्रित गरिरहेका छौं । तर हामी इन्टरनेट सेवा छिटै संचालन गर्ने योजनामा छौं ।

सिम टिभीको मुख्य बजार कुन हो ?

हाम्रो सबैभन्दा ठूलो बजार काठमाडौं नै हो । त्यसपछि  पोखरा, चितवन, इटहरी, लुम्बिनी, दाङ र भैरहवा लगायतका मुख्य सहरहरुमा आफ्नो सेवा दिईरहेका छौं । अरु सहरहरुमा, बाक्लो बस्ती भएका गाउँहरुमा, हरेक नगरपालिका, गाउँ पालिकामा पुग्ने हाम्रो लक्ष्य छ । अहिले नै हामीसँग ३ लाख भन्दा बढी ग्राहकहरु छन् । एक वर्षभित्रै ४ लाख ग्राहक बनाउने योजनामा छौं । हामी ५ वर्षभित्र १० लाख ग्राहक बनाउने योजनामा छौं ।

नेपाल सरकारले डिजिटल प्रविधिमा जाने निर्णय गरेको छ, सरकारको नीति र कार्यक्रमलाई सहयोग गर्छौ । सस्तो, सुलभ र भरपर्दो तरिकाले हरेक बस्तीमा, हरेक घरमा डिजिटल प्रविधिबाट टिभी हेर्न सक्ने सुविधा हामी दिन्छौं ।

प्रभु समूहले सिम टिभीमा कति लगानी गरेको हो ?

सिम्पल मिडिया नेटवर्कको पुँजी एक अर्ब हो । यसमा टिभी नेपालको २० प्रतिशत र इम्रेस इनभेष्टमेन्टको ८० प्रतिशत लगानी छ । यो विदेशी लगानी हो । हामीले किनेको सिम टिभी सबै सेयर किनेका हौ ।

डिस होममा पनि प्रभु समूह लगानी छ, प्रतिस्पर्धी कम्पनी सिम टिभीको पनि सेयर किन्नुको कारण के हो ?

प्रभु समूहले समस्यामा परेका कम्पनी लिदै सुधार गर्दै आएको छ । समस्यामा परिको किष्ट बैंक लियौं, सुधार गर्यौ, समस्यामा परेको ग्राण्ड बैंक हामीले लियौं, सुधार गरेका छौं । सिम टिभी लियौं, यसको पनि सुधार गर्छौ ।

डिस होममा २५ प्रतिशत सेयर छ । सिम्पल मिडिया नेटवर्कको हामीले २० प्रतिशत सेयर हामीले किनेका छौं । डिस होम र सिम टिभीको ग्राहक फरक हुनसक्छ । डिसहोम एन्टिनाबाट चल्ने प्रविधि हो । त्यसको लागि छानामा वा कौसीमा छाता राख्नुपर्छ । सिम टिभी अप्टिकल फाइबारबाट चल्ने प्रविधि हो । यसको लागि केबुल जोड्नुपर्छ । च्यानल दुबैमा आउने उही नै हो । अर्कोकुरा, सिम टिभीले एलसीओ (लोकल केवल अपरेटर)सँग मिलेर काम गर्ने हो । हामी सोझै ग्राहकसँग डिल गर्दैनौ । डिसहोमले प्रत्यक्ष ग्राहकसँग डिल गर्छ ।

सिम टिभी र डिस होम मध्ये कुन सेवा बढी प्रभावकारी हुन्छ ?

दुबैमा आउने च्यानलहरु उस्तै हुन् । जमाना वायर लेसको आएको छ, टिभी च्यालन पनि इन्टरनेटबाट तान्ने प्रविधि आएको छ । प्रविधिमा छिटो छिटो परिवर्तन भएको छ । अहिलेलाई सबैभन्दा राम्रो क्वालिटी अप्टिकल फाइबारमा नै छ ।

तर सिम टिभीको क्वालिटी प्रति ग्राहकहरुको धेरै गुनासो सुनिन्छ, किन ?

प्रभु समूहले सिम टिभीको सेयर किनेपछि समस्या देखिएको छैन । अहिले प्राविधिक रुपमा क्वालिटी धेरै राम्रो छ । हामीले नयाँ कार्यलय सञ्चालनमा ल्याएका छौं । यहाँ मनिटरिंग सिस्टम स्थापना गरेका छौं । समस्या समाधान गर्न २४ घण्टे कल सेन्टर संचालन गरिरहेका छौं । त्यसैगरी समस्या आएमा टेक्निकल टिम पनि राखेका छौं । हामीले मोबाइलबाटै सिम टिभी चार्ज गर्ने सुविधा पनि दिएका छौं । कुनै स्थानमा फाइबर केबल गेटवेमा समस्या देखिएमा तत्काल हाम्रो स्थानीय केबल कम्पनीलाई भनेर मर्मत गर्ने गरेका छौं । हामीसँग अहिले १०० भन्दा बढी च्यानलहरु छन् । हामीसँग विभिन्न टिभी च्यानल डाउनलिंकको लागि विभिन्न स्थानमा हेडन पनि राखेका छौं । अहिले नै २१ भन्दा बढी एचडि च्यानल दिईरहेका छौं । सिम टिभीको क्वालिटी सबैभन्दा राम्रो छ अहिले । हामी बजार विस्तारसँगै ब्राण्ड इमेज पनि राम्रो बनाउँदै छौं ।
तपाईलाई थाहा नै छ प्रभु समूहले समस्यामा परेका कम्पनी लिदै सुधार गर्दै आएको छ । समस्यामा परिको किष्ट बैंक लियौं, सुधार गर्यौ, समस्यामा परेको ग्राण्ड बैंक हामीले लियौं, सुधार गरेका छौं । बिग्रेको सिम टिभी लियौं, यसको पनि सुधार गर्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.