बीमा कम्पनीहरुको गाँठो फुकाउने बीमा समितिका अध्यक्षको भनाई, बीमकले भने-‘तपाई सपना देख्नुहोस्, हामी पुरा गर्छौ’

  २०७३ पुष २७ गते १६:२८     विकासन्युज

चिरञ्जीवि चापागाई

चिरञ्जीवि चापागाई

काठमाडौं, २७ पुस । बीमा समितिका नवनियुक्त अध्यक्ष चिरञ्जीवि चापागाईले बुधबार पदभार ग्रहण गरेका छन् । बुधबार नै बीमा कम्पनीहरुको कार्यकारी प्रमुखहरु तथा यस क्षेत्रसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुले नयाँ अध्यक्षलाई बधाई तथा शुभकामना दिएका छन् ।

नवनियुक्त अध्यक्षको स्वागतका लागि बीमा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाईले बीमा कम्पनीहरुको समस्याका गाँठा फुकाई दिने बताए । ‘कम्पनीहरु समस्याबाट गुज्रिरहेको मैले पाएको छु । केही बीमा कम्पनीहरुको धेरै वर्षदेखि लेखापरिक्षण समेत हुन नसकेको, साधारणसभा समेत हुन नसकेको जानकारी पाएको छु’ नवनियुक्त अध्यक्षले भने-‘बीमा कम्पनीहरुमा के के गाँठो छन् । तिनीहरुलाई फुकाउने प्रयास गर्नेछु ।’

बीमा क्षेत्रको प्रमुख चुनौति नै बीमा सेवाको पहुँच वृद्धि गर्नु रहेको उनले बताए । ‘१९९४ मा नेपाल बैंकको स्थापना भयो । २००४ सालमा बीमा कम्पनी खुलेको रहेछ । बीमा भन्दा बैकिङ क्षेत्र १० वर्ष मात्र जेठो हो । तर बैकिङ क्षेत्र निकै फराकिलो भएको छ । बीमा क्षेत्रको पहुँच करिव ७ प्रतिशत मात्र रहेछ’ अध्यक्ष चापागाईले प्रश्न गर्दै भने-‘बीमा क्षेत्र किन यति धेरै पछाडि पर्यो ? हामी सबैले यसमा समिक्षा गर्नुपर्दछ । बीमा समितिले यसबारे विस्तृत अध्ययन गर्नेछ ।’

बीमा समितिले बीमा सेवा विस्तारमा जोड दिने बनाउँदै उनले भने-‘बीमा कम्पनीहरु मार्फत नै सरकारले, बीमा समितिले बीमाको पहुँच विस्तारका कार्यक्रम गर्नेछ । त्यसमा बीमा कम्पनीहरुको भूमिका प्रभावकारी हुनुपर्छ ।’
beema_samiti

उनले बीमा कम्पनीहरुको गतिविधि पारदर्शी र विश्वसनीय हुनु पर्नेमा जोड दिए । ‘बीमा कम्पनीहरुको संस्थागत सुशासन राम्रो हुनु पर्नेछ । त्यसमा हामी कुनै पनि हालतमा सम्झौता गर्ने छैनौं’ उनले भने ।

अध्यक्ष चापागाईले समितिको भूमिका सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरे । ‘कुनै पनि क्षेत्रको नियमक निकाय सशक्त हुनुपर्छ । आजै मैले बीमा समिति भित्र अन्तरक्रिया गरेँ । २७ वटा बीमा कम्पनी रहेछन् । केही पाइपलाईनमा पनि होलान्’ उनले भने-‘म सशक्त नियामक निकाय राष्ट्र बैंकबाट आएको थिए । बीमा समिति पनि सशक्त निकाय होला भन्ने अपेक्षा गरेको थिएँ । तर बीमा समिति संशक्त पाईन ।’

समितिमा कार्यरत कर्मचारीको क्षमता विकास र सशक्तिकरणमा आफूले जोड दिने बताए । उनले बीमा क्षेत्रको कानुनी पक्ष संशक्त नपाएको पनि टिप्पणी गरे । ‘बीमा क्षेत्रको कानुनी पक्ष दह्रिलो रहेनछ । त्यसमा गर्नु पर्ने काम हामी गर्नेछौं’ उनले भने ।

बीमा समितिबाट इजाजतपत्र लिएर काम गरिरहेका अधिकर्ता र सर्भेयरहरुलाई त्यसको अधिकतम सदुपयोग गर्न र सेवा प्रदान गर्न आग्रह गरे । ‘इजाजतपत्र लिएर झोलामा राख्ने काम बन्द गर्नुहोस्, बीमा समितिले अर्को निर्णय गर्न नपरोस्’ उनले भने ।
chirangibi_banner
कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष विजयबहादुर शाहले नयाँ नियुक्त अध्यक्षसँग बीमा क्षेत्रले धेरै अपेक्ष गरेको बताए । ‘नयाँ अध्यक्षको कार्यकालमा बीमा क्षेत्रले नयाँ उचाई प्राप्त गरोस्, वीमा क्षेत्र अझ समृद्ध होस्, यो क्षेत्र अझ व्यवसायिक होस्, बीमाका नयाँ क्षेत्र पहिचान हुन्, बीमा क्षेत्रका समस्या समाधान होऊन्, अन्यौलताहरु कम हुँदै जाउन र बीमा क्षेत्र यस्तो होस, जहाँ हामी सबैले गर्व गर्न सकौँ’ उनले भने- ‘तपाई सपना देख्नुहोस्, हामी पुरा गर्न तयार छौं ।’

बीमक संघका अध्यक्षको भनाईले आफूलाई मलाई उत्साहित बनाएको चापगाईले बताए । ‘बीमा समिति बीमक संघसँग मिलेर काम गर्छ । बीमा सर्भेयस् संघ, बीमा अभिकर्ता संघ, इन्स्यारेन्स प्रोफेशनल्स सोसाईटी लगायत सबैसँग छलफल गरेर, सहकार्य गरेर यो क्षेत्रको समस्या समाधान गर्न प्रयास गर्नेछौं’ उनले भने-अब बीमा समितिको निर्णय प्रक्रिया समावेशी प्रकृतिको हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.